अमेरिकामा चुनावी रन्को

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

नेता हारे हारुन्,पार्टी हारे हारोस्,तर देश नहारोस्,देश हार्नु हुन्न | यसका लागि विवेक पु-याएर मतदाताहरुले मत अधिकार प्रयोग गर्नुपर्छ | गौतम दाहाल    'पार्टी सभापति सुशील दाईलाई नै आर्थिक अभावका कारण चुनावी प्रचार अभियानमा असर परेको समाचार सुन्दा मन रोएको छ,त्यसैले आर्थिक संकलनको अभियानमा हातेमालो गर्न सबैको सहभागिता चाहिएको छ |'  'एक महिने तुफानी नेपाल र दुबई यात्रापछि आज कर्मथलो फर्कियो | दशैँ, तिहार मनाएर बँचेको समय, चुनाब र त्यसैको वरिपरि खर्च गरियो |  नेपाली मतदाताहरुले निर्धक्क भएर, तोकिएकै समयमा आफ्नो मत जाहेर गर्न पाउन भन्ने कामना गर्दछु |  राजनीतिक दल र नेताहरुमाथि जत्तिकै रीस पोखेपनि, मुलुकलाई निकास दिन निर्बाचन नै उत्तम उपाय हो भन्ने प्रस्टै छ | सबैको जय होस् |'    यी दुई उद्धरण अमेरिकामा रहेका दुई प्रतिनिधि नेपालीहरुको फेसबुक वालबाट साभार गरिएको हो | चुनाव हुनु तीन साता पहिले प्रकाशित कांग्रेस सभापति सुशील कोइरालालाई चुनाव प्रचारमा खर्चको समस्या शीर्षकको समाचार पढेपछि अमेरिकामा रहेका कांग्रेसका महासमिति सदस्य एवं नेपाली जनसम्पर्क समितिका पूर्व अध्यक्ष आनन्द विष्ट फेसबुकमा आफ्ना साथीहरुको समूहमा यही संदेश प्रेषित गर्दै थिए | अनि आफ्नै परिवारका सदस्य उम्मेदवारको रुपमा मैदानमा दौडधुप गरिरहँदा पनि उनलाई छाडेर चुनाव पहिले नै कर्मथलो अमेरिका फर्किएका वासिंगटन डिसी मेट्रो क्षेत्रमा बसोवास गर्ने सुवास पोखरेल नेपालबाट फर्किए लगत्तै नोभेम्वर ७ तारिख फेसबुक वालमा आफ्नो स्टाटस अपडेट गर्दै थिए | विष्ट र पोखरेल मात्र होइन मातृभूमि नेपालबाट दुई दशक पहिले अमेरिका आएर यतै स्थायी बसोवासमा अभ्यस्त भैसकेकाहरु पनि मंगलवार नेपालमा हुन लागेको संविधान सभाको दोश्रो निर्वाचनप्रति त्यत्तिकै चासो राखिरहेका छन् | सात समुद्र पारीको सपनाको देश अनि अवसरको भूमि अमेरिकामा रहेका अधिकांश नेपालीहरुलाई अहिले चुनावी रन्को लागेको छ | दलका कार्यकर्ता र शुभेच्छुकहरु यो चुनावलाई 'मिस' गरिरहेका छन् | १५ वर्षदेखि न्यूयोर्कलाई कर्मथलो बनाएर नेपाली कांग्रेसको संगठन निर्माणमा जुटेका आनन्द विष्ट पारिवारिक कारणले गर्दा चुनावका लागि काटिसकेको टिकट पनि क्यान्सिल गरेर बस्नुपरेकोमा पछुतो मानिरहेका छन् | 'हामी राजनीतिक प्राणीलाई यति ठूलो चाड र अवसर पनि मिस गर्नुपर्दाको बेचैनी र पीडा त कसरी व्यक्त गर्न सकिन्छ र खै ?'विष्टले फोनमा भने | तैपनि उनलाई नेपालमै छु जस्तो लागेको छ रे,साथीभाई,शुभेच्छुकहरुसंग मिलेर पार्टीका लागि आर्थिक संकलन गर्न जुटिरहेका बेला विष्टले भने अब मातृभूमि नेपालमा लोकतान्त्रिक संविधान बनाउने जिम्मेवारी कांग्रेसले मात्र पुरा गर्न सक्छ | उनी जस्तै कोलोराडोमा रहेका धर्मराज श्रेष्ठले यसपटक काटिसकेको टिकट पनि क्यान्सिल गरे |'के गर्नु,मन थाम्नै गाह्रो छ यहाँ त,तै पनि सूचना प्रविधि र फेसबुकले गर्दा हरेक राती म मेरो जन्मथलो खांदबारी पुग्छु, धेरैबेर त्यहीं साथीभाईसंग रमाउंछु,अनि उज्यालो भएपछि दिनभर कर्मथलो अमेरिकामा फर्कन्छु,' कांग्रेसको अमेरिकास्थित महाधिवेशन प्रतिनिधि समेत रहेका श्रेष्ठ भन्छन् | २२ वर्ष भो श्रेष्ठले जन्मथलो छाडेको | 'चुनाव पनि गज्जबले पो लागेको छ सर' श्रेष्ठले भने फेसबुक हेर्दा मात्र पनि देशैभर कांग्रेसको लहर आएको देखिन्छ,त्यसैले मलाई विश्वास छ कांग्रेसले अत्यधिक बहुमत ल्याउँछ र संविधान पनि बनाउँछ | 'कांग्रेस बाहेक अरु शक्तिले संविधान बनाउन नसक्ने विश्लेषण छ श्रेष्ठको | मिस भयो चुनाव,आक्रोश र  वितृष्णा कायमै     चुनावमा स्वदेश फर्कन नसकेका सबै राजनीतिक कार्यकर्ताहरुलाई पछुतो त छैंदैछ,त्यो भन्दा ठुलो आक्रोश र गुनासो पनि छ आफ्नै दलका नेताहरुप्रति | तैपनि उनीहरु आशावादी नै छन् | विगतमा चुनाव लडेका,पार्टीमा नेतृत्व गरेका र हाल अमेरिकामा रहेका त्यस्ता पात्रहरु खोज्दा यति धेरै प्रतिनिधि नामहरु फेला पर्छन् कि जसले नेपाली राजनीतिको केही भाग अमेरिकामा रहेको प्रष्ट देखिन्छ | गत संविधान सभामा प्रत्यक्षतर्फ कैलाली क्षेत्र नम्वर २ बाट कांग्रेस उम्मेदवार रहेकी टिका चौधरी अहिले लस एञ्जलसमा छिन् | उनले पनि यो पटकको चुनाव मिस गरिन् | 'तैपनि एक महिनाको आम्दानी त चुनावमै खर्च गरें'नेपाल फर्कन परिस्थितिवश नसकेकी टीकाले फोनमा भनिन् | उनी मात्रै होइन नेविसंघको नेतृत्वमा कुनै समय क्रियाशील उर्मिला पंजियार,सन्तोष पहारी,झलक सोती,जगदम्वा अधिकारी,संजीव अधिकारी,हेममोहन भट्टराई,हरिहरप्रसाद भट्टराई लगायतका व्यक्तिहरु पनि अमेरिकामै छन् | अनि २०५१ सालको मध्यावधि निर्वाचनमा ३५० मतले संखुवासभा क्षेत्र नम्वर दुईमा एमालेबाट पराजित भएकी कांग्रेसकी पियुष दाहाल,गोर्खा कांग्रेसको पार्टी सभापति र ५१ को मध्यावधिमा स्वतन्त्र चुनाव लडेका भोजराज कंडेल,सिद्धार्थनगर नगरपालिका भैरहवाका पूर्व मेयर एवं कांग्रेस महासमिति सदस्य डाक्टर बलराम गौतम,मुस्ताङ्ग कांग्रेसका पूर्व सभापति एवं जिविसमा समेत सभापति भैसकेका निर्मल गौचन,अछाम कांग्रेसका पूर्व सभापति पदम रावल,सोही जिल्लाका महाधिवेशन प्रतिनिधि विष्णु शाह,विनोद मोक्तान,कान्छा लामा,वेद खरेल,गोरखामा राम्रो पकड बनाएका र पहिलो संविधान सभा निर्वाचनमा चुनाव प्रचार प्रसार समितिको संयोजक रहिसकेका  बुद्धि लामिछाने, राजेन्द्र राउत,यादव दुलाल जस्ता थुप्रै विभिन्न तह र तप्कामा नेतृत्वदायी भूमिकामा रहेका कांग्रेसजन अहिले अमेरिकामा पौरख गर्दैछन् | सबैको एकै भनाइ छ,मिस त गरिएको छ ,यो चुनावलाई तर नेताहरुले अझै के गर्ने हुन् भन्ने आशंका कायमै छ | यस्तै भनाइ छ, लस एञ्जलसमा रहेका मुकुन्द ढुंगानाको पनि | नेपाली जनसम्पर्क समितिमा क्रियाशील ढुंगाना र उनकी श्रीमती निर्जा ढुंगाना दुवै संविधान सभामा मतदान गर्ने अवसर गुमाएको भन्दै  पछुतो मान्दैछन् | 'नेपालमा रहंदा खुबै लागियो,अहिले मिस हुँदैछ | तैपनि सबै मिलेर देशमा शान्ति,स्थिरता र संविधान दिन सके हामीलाई पनि राम्रो हुन्थ्यो | नेताहरु मिलून्,संविधान बनाउन्,विकासको अभियान चलाउन्,हाम्रो चाहना र शुभेच्छा यही नै हो' ढुंगानाले शनिवार राती फोनमा भने | पहिलो संविधान सभाको निर्वाचनमा मतदान गर्न अन्तिम समयमा अमेरिकाबाट अछाम पुगेका विष्णु शाह भन्छन्,अहिले चाहिं मेरो विशेष कारणले जान सकिन,निकै मिस भा'को छ, तैपनि जिल्लामा,परिवार,भाईसाथीहरुसंग निरन्तर सम्पर्क गरिरहेको छु | अधिकांशको समय एकाबिहानै नेपाली समाचार हेर्न र वेभ साइट सर्च गरी दैनिकी शुरु हुन्छ |  यताको बसाई अस्थायी हो भन्छन् कुराकानीका क्रममा सम्पर्कमा आएका अधिकांश प्रवासी नेपालीहरु | नौ वर्ष भयो एक जुझारु युवा जो अहिले नेपालमै भए सम्भवत उम्मेदवारको रुपमा गाउँघरमा भोट माग्दै गरेका हुन्थे होलान् देश छाडेर अमेरिका आएको,उनको नाम यादव पण्डित | उनी पनि देशै फर्कने कुरा गर्छन् | 'अहिलेको अमेरिका बसाइ अस्थायी हो,अबको दुई वर्षपछि म नेपाल नै फर्कन्छु,नेतृत्वमा रहन्छु,रहन्न तर राजनीतिमा चाहिं अवश्य क्रियाशील हुन्छु' नेविसंघका महामंत्री समेत भैसकेका पण्डित अहिले अमेरिकी राष्ट्रपति बाराक ओबामाको गृहराज्य इलिनोइको शिकागोमा आणविक भट्टी विज्ञानमा अनुसन्धान गर्दै छन् | पण्डितको कार्यकालका नेविसंघ अध्यक्ष विश्वप्रकाश शर्मा र कार्यसमितिकै सदस्य हुँदै दोश्रो कार्यकालमा उपसभापति समेत रहेका गगन थापा लगायत आफ्ना समकक्षी युवा साथीहरुले आफुहरुको पुस्ताको प्रतिनिधित्व गरिरहेको देख्दा गौरव महसुस गर्ने पण्डित भन्छन्,विगत दुई महिनादेखि हरेक दिन दुई घण्टा नेपालको चुनावका लागि समय दिएको छु,साथीभाईसंग कुरा गर्ने,सम्पर्क गर्ने,शुभेच्छा दिने र सर सहयोग जुटाउने काम भैरहेको छ | एक जना साथीको व्यक्तित्व निर्माण गर्न धेरै पक्षको साथ र सहयोग रहेको हुन्छ भन्ने प्युठानका पण्डित आफ्ना समकालीन साथीहरुको नामै सम्झदै भन्छन्,विश्वजी,गगनजी,शंकर भण्डारी,किशोर राठौर,भुपेन्द्रजंग शाही लगायतका साथीहरु राष्ट्रिय राजनीतिमा स्थापित हुँदा मलाई गौरव लागेको छ,म प्युठानको नेविसंघ अध्यक्ष हुँदा सचिव रहेका साथी आज उम्मेदवार बनेर मैदानमा हुनुहुन्छ,त्यो पनि मेरा लागि गौरव हो भन्दै पण्डितले थपे,पार्टीले आवश्यक ठान्छ भने व्यक्तिगत इच्छा त्यहाँ गौण हुन्छ,म राजनीतिक प्राणी हुँ,म अहिले नै नेपाल फर्कन्छु | त्यस्तै भनाइ छ सन् फ्रान्सिस्कोमा रहेका तेह्रथुमका रुद्र कन्दंगवाको पनि | नेपाल तरुण दलको केन्द्रीय सदस्य र नेपाली कांग्रेस तेह्रथुमको कार्य समिति सदस्य समेत रहिसकेका रुद्र भन्छन्,'परिस्थितिवस संविधान सभाको निर्वाचनमा जान नसकेपनि पनि पार्टीको १३ औं महाधिवेशनमा त जिल्लाबाटै प्रतिनिधि बन्ने हो |'उनलाई पनि यसपटक आफु नेपालमै भएको भए चुनावी दौडमा उम्मेदवार बन्ने अवसर पार्टीले दिन्थ्यो होला भन्ने लागेको छ | उनको विश्लेषणमा कांग्रेस पहिलो,एमाओवादी दोश्रो र एमाले तेश्रो शक्ति बन्नेछ | यद्यपी कांग्रेसले जनताको भावना अनुरुप आफुलाई परिचालित गर्नुपर्ने उनको सुझाव छ |    न्यूयोर्कमा वकालत गरेर बसेका कानुन व्यवसायी खगेन्द्र जीसीलाई त कांग्रेसले हरेक संकटमा जिम्मेवारी दिएको छ | यसपटक चुनावमा अमेरिकाबाट आर्थिक संकलन गर्न संयोजकको जिम्मेवारी पाएका जीसीले नारा नै तय गरे, एनआरएनहरुको एकपटकको नेपाली सधैंको नेपाली भन्ने मागलाई आगामी संविधानमा सुनिश्चित गर्नुस्,नेपाली कांग्रेसलाई सहयोग गर्नुस् भन्ने | उनी भन्छन्,कांग्रेसले घोषणा पत्रमै यो विषयलाई उल्लेख गरिसक्यो,त्यसैले कांग्रेस बाहेक अरुले जिते एनआरएनको माग पनि संविधानमा आउँदैन,त्यसैले कांग्रेसको विजय आवश्यक छ | झलक सोती लम्जुङ्गबाट उच्च शिक्षा हासिल गर्न राजधानीको अस्कल क्याम्पसमा भर्ना भएका थिए | उनको राजनीतिक चेतनाले उनलाई अस्कलमा नेविसंघको जुझारु नेता बनायो,जसले आशालाग्दो युवा नेतृत्वको रुपमा राष्ट्रिय छबी बनायो | तर जब कांग्रेस देउवा र गिरिजाप्रसादको अन्तरसंघर्षमा फुट्यो तब उनलाई विरक्त लाग्यो अनि त्यही विरक्ती वितृष्णामा बदलियो र उनी राजनीतिबाट निष्क्रिय भए | तैपनि उनलाई गिरिजाप्रसाद कोइराला जस्तो उचाई भएको नेता समकालीन नेपाली राजनीतिमा कोही भएन भन्ने लागेको छ | पार्टी विभाजनपछि पनि आफुलाई माओवादीले टाउको काट्ने सूचीमा नाम राखेको थाहा पाएपछि झन् निराश बनेका झलक अध्ययनका लागि ब्रसेल्स पुगे र ब्रसेल्सबाट सन् २००५ मा अमेरिका आएर कोलोराडोमा बसेका छन् | अझै पनि उनलाई राजनीतिक चासोले छाडेको छैन | भन्छन,नजिकबाट नेपालको राजनीति र चुनावलाई हेरिरहेको छु, लिन्छु,खान्छु भन्ने बाहेक दिन्छु भन्ने नेता कोही भएनन् | दलाल,घुसखोरी बढ्यो राजनीतिमा | कांग्रेसमा मूल्यांकनको परिपाटी बसेन | आन्तरिक प्रजातन्त्र भएन,नेताहरुको विवेक र सनकमा पार्टी चल्न थाल्यो,परिपाटी र सिद्धान्त गौण हुन थाल्यो | योगदानको उचित मूल्यांकन र कदर हुन छाड्यो,अनुशासन हरायो,अनि कसरी सुध्रिन्छ पार्टी ? उल्टो प्रतिप्रश्न गर्दै सोतीले सम्झे,२०३६ सालमा कृष्णप्रसाद भट्टराई लम्जुङ्ग जाँदा उहाँमाथि कम्युनिष्टहरुले आक्रमण गर्न खोज्दा बचाउने हामीहरु आज पार्टीभित्र कहाँ छौं ? संगैका नेविसंघका सहयोद्धा साथीहरु बालकृष्ण खाँण,नविन्द्रराज जोशी,सुरेन्द्र पाण्डे आज नेतृत्वमा छन् तर योगदान गरेका अन्य साथीहरु कहाँ छन् ? खै कहिल्यै पार्टीले खोजेको छ ? तैपनि हामी पार्टीप्रति चासो राख्छौं र भन्छौं,कांग्रेसले मात्र लोकतान्त्रिक सम्विधान दिन सक्छ | अब कांग्रेसले नै जित्नुपर्छ अनि शान्ति,संविधान र विकास अनि कानुनी शासनको राज हुन्छ | २६/२७ सालदेखि नै वीपी कोइरालाको संगतले कांग्रेसमा क्रियाशील डाक्टर बलराम गौतम त्यस्तै नेतृत्वदायी व्यक्ति हुन् | उनी छ वर्षदेखि अमेरिकामा छन् | लामो अवधि राजनीतिक उतारचढाव झेलेका पात्र मध्ये एक गौतम २०४६ पछि कांग्रेसले आफ्ना असल र इमान्दार कार्यकर्तालाई पाखा लगाउन थालेको तर्क गर्छन् | कांग्रेसकै कार्यकालमा कृषि विकास बैंक र वाणिज्य बैंकको बोर्डमा समेत रहेका उनले अर्थशास्त्रमा विद्यावारिधि गरेका छन् | पार्टीभित्र आन्तरिक प्रजातन्त्रको बदला तानाशाही प्रवृत्ति हावी भएको जिकिर गर्ने उनी नेताहरु अरुको कुरै नसुन्ने र ग्रुपिज्ममा रमाउने गरेका कारण कांग्रेसले वीपीको समाजवाद नै भुलेको र नयाँ दृष्टिकोण पनि दिन नसकेको आफ्नो मूल्यांकन सुनाउछन् | ३४ वर्षभन्दा बढी पार्टी राजनीतिमा योगदान गरेका उनी भन्छन्,अझै मन पोल्छ,छटपटी हुन्छ,कांग्रेसले सही आर्थिक नीति ल्याउन सकेन,माओवादी युद्ध जन्मियो | फेरि कांग्रेसले सवक लिन सकेन | त्यसैले चिन्ता छ | यसपटक कांग्रेसले जित्ला भन्ने लाग्या छ तर फेरि पनि कांग्रेस आफैं लड्छ कि भन्ने चिन्ता पनि छ | कांग्रेसमा सही नेतृत्व नदेखिएको ठान्ने गौतमको ठम्याई यसपटकको निर्वाचनमा शीर्ष/ठूला भनाउदा नेताहरु कोही पनि देशव्यापी चुनाव प्रचारमा निस्कन नसक्नुले पनि सार्थक बनेको छ | यस्तै पार्टी विभाजनको वितृष्णाले राजनीतिबाट निष्क्रिय भएर अमेरिका आएको भन्छन् मुस्ताङ्गका निर्मल गौचन पनि | अनि नेताहरुको गुलामी गर्न स्वाभिमानले नदिएपछि बाध्यतावश अमेरिकातिर आइपुगेको भन्छिन् पियुष दाहाल | कुराकानीका क्रममा भावविव्हल हुँदै पियुषले भनिन्,गिरिजाबाबु र शेरबहादुर दाइबीचको विवादले चरम रुप लिएर पार्टी विभाजन भएपछि मैले आफ्नो स्वाभिमान गुमाएर नेताको गुलामी गर्न चाहिन,त्यही भएर मलाई माया गर्ने सबै भाई साथीहरुको विश्वास तोडेर म बाध्य भएर विदेश हिंडे | देशमा शान्ति आओस्,नेताहरु मिलून्,स्थिरता होओस्,म जस्ता थुप्रै व्यक्तिहरु हामी त्यहीं फर्कन्छौं | सन् १९८५ देखि नै मुलुक बाहिर रहेका गोर्खाका ध्रुव वन्त चाहिं नेपाल र नेपालीका लागि मौलिक पहिचानको नेपाली कांग्रेस नै आवश्यक ठान्छन् | 'अरु सबै आयाराम गयाराम हुन्,कांग्रेसले मात्र विकास,शान्ति र संविधान दिन सक्छ,कांग्रेसले नयाँ पुस्तालाई अवसर दिनुपर्छ, फेरि कम्युनिष्ट आए त पहिलो संविधान सभाको जस्तै अवस्था हुन्छ अर्थात् संविधान बन्दैन' वन्तको तर्क छ | आफु राजनीतिमा चासो मात्र राख्ने व्यक्ति हुँ भन्ने वन्त दिनको ६ घण्टा जसो नेपाल बारे चियोचासो गरेर अनलाईनमा समय बिताउने बताउछन् | यता अछामका पूर्व पार्टी सभापति समेत रहिसकेका पदम रावल भन्छन्,'नेपालमा शान्ति,संविधान,स्थायित्व र विकास होस्, अहिले कांग्रेसको माहौल छ,नेताहरुले यो माहौल आफ्नो पार्टी अनुकुल बनाएर देश निर्माणमा लगाउन पहल गरुन् |'  उनी पहिलोपटक यसरी निर्वाचन मिस गर्दै छन् | बन्ला त संविधान ? उता गोरखाका भोजराज कंडेललाई चाहिं अहिले पनि चिन्ता छ के संविधान बन्छ त भन्नेमा | उनी भन्छन्,लौ संविधान त बन्ला तर के त्यो संविधानले सबै समस्याको समाधान गर्ला त ? उनलाई अझै विश्वास छैन | उल्टो थप संकट र जटिलता निम्त्याउने पो हो कि भन्ने उनको चिन्ता छ | दल र दलका नेताहरु व्यक्तिगत र पार्टीगत स्वार्थभन्दा माथि उठ्न नसकेको ठम्याई छ उनको | सबै दलमा आन्तरिक द्वन्द रहेको र दलहरु  जनताको भावना अनुरुप चल्न नसकेको विश्लेषण गर्छन् कंडेल | उता निर्मल गौचन पनि आफु लामो समयसम्म जिल्लाको राजनीति गरेर बसेको हुँदा चुनाव लाग्दा आफुलाई उकुसमुकुस भएको र त्यही उकुसमुकुस र छटपटीलाई कम गर्न अनलाइन पत्रपत्रिका हेरेर,साथीभाईसंग कुरा गरेर आफुलाई सम्हाल्ने प्रयास गरिरहेको छु भन्छन् | 'कांग्रेसलाई कांग्रेसले नहराए,यसपटक कांग्रेसले जित्ला भन्ने लाग्छ,तर चाकरी र चाप्लुसीमा रमाइरहेका नेताहरुले के यस्तो नगर्लान् र ? शंकै लाग्छ',गौचन भन्छन् | उनलाई फेरि पनि संविधान बन्ला भन्नेमा शंकै लागेको छ | पदम रावल भन्छन् कांग्रेसप्रतिको अपार मायालाई पार्टी नेतृत्वले अनुकुल बनाउन सक्नुपर्यो,तब बन्छ संविधान | यता भर्जिनियामा नेपाली जनसम्पर्क समितिको राज्य तहको नेतृत्व गरी बसेका चितवन क्षेत्र नम्वर ४ का केशब बराल यसपाली कांग्रेसले आफ्नो नेतृत्वमा संविधान बनाउनेमा आशावादी छन् | भन्छन्,- उत्साह व्यापक छ,मेरो आफ्नै जन्मक्षेत्रमा कांग्रेसका केन्द्रीय सभापति सुशील कोइराला आफैं चुनाव लड्दा पनि जान सकिएन त्यो पछुतो त छ तर पनि यहाँबाट हामी सहयोगको वातावरण बनाई रहेका छौं | जे होस् सबैको आफ्नै तर्क,चिन्ता र चासो छ | सबै भन्छन्,नेता हारे हारुन्,पार्टी हारे हारोस्,तर देश नहारोस्,देश हार्नु हुन्न | यसका लागि विवेक पु-याएर मतदाताहरुले मत अधिकार प्रयोग गर्नुपर्छ | http://www.globenepal.com/2013...

globenepaldotcom · Nov 18, 2013 8:58 PM · 10,231 views

Replies
No replies yet.

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion

You might be interested in...

Recent Classifieds View all
Upcoming Events View all
Service Providers View all