अमेरिकी सेनामा नेपाली चेली- जाङ्वु शेर्पा, सन्फ्रान्सिस्को

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

अमेरिकी सेनामा नेपाली चेली Share:      - जाङ्वु शेर्पा, सन्फ्रान्सिस्को सन् १७७५ देखि महिलाले स्थान पाएको अमेरिकी राष्ट्रिय सेनामा नेपाली चेलीहरू पनि थपिंदैछन् । स्वेता लामिछाने । काठमाडौंकी एलिजा रञ्जित (२६) लाई ६ वर्षअघिसम्म संयुक्त राज्य अमेरिका एउटा सपना थियो । अहिले उनी यो स्वप्नदेशको राष्ट्रिय सेनामा छिन् । आफूलाई नेपाली नामबाट चिनाउँदै अर्कै देशको सेनामा काम गर्नुलाई बाध्यता नभई रहरको विषय मान्ने एलिजा भन्छिन्, “यो अवसर मेरा लागि चुनौती पनि हो ।” एक वर्षअघि अमेरिकी सेनामा छनोट भएकी पीएफसी दर्जाकी उनी आमनागरिकको भन्दा भिन्न सैनिक जीवनमा चौबीसै घण्टा ‘अलर्ट’ अर्थात् ड्युटीमा रहनुपर्ने भएकोले निजी जीवनका स्वतन्त्रताहरू सीमावद्ध हुने बताउँछिन् । “यस्तोमा कहिलेकाहीं अति धैर्य चाहिन्छ”, एलिजा भन्छिन् । आठ वर्षअघि अमेरिकी सैनिक भएकी श्वेता लामिछाने (२८) ले भने रहरले नभई वाध्यताले यो पेशामा आएको बताइन् । उनी अमेरिकामा काम गर्दै अध्ययनलाई अगाडि बढाउन कठिन भएपछि सेनामा भर्ति भएकी थिइन् । सानैदेखि अभिनयमा रुचि भएकी श्वेतालाई भर्तिपछिको एकवर्ष साह्रै नियास्रो लाग्यो । “बिहानदेखि बेलुकासम्म शारीरिक प्रशिक्षणमा व्यस्त हुनुपर्ने शुरुका दिनहरू ज्यादै कठिन रहे”, एक दिन पनि एक वर्षजस्तै भएको बताउँदै करपोरल श्वेता भन्छिन्, “घरपरिवारको यति याद आउँथ्यो कि छिनछिनमै आँखाहरू आँसुले भरिन्थे ।” शुरुको त्यो अनुभवले सैनिक जीवनमा आफूलाई मजबुत बनाएको उनको अनुभव छ । सैनिक जीवनले पाँचौं वर्ष प्रवेश गरेसँगै श्वेताले आफ्नो रुचिको अभिनय कलालाई पनि अँगालिन् । नाटक विधामा हलिउडसँग जोडिन खोजिरहेकी श्वेता मातृभूमिको सेवाका लागि ‘केयर फर कर्णाली’ संस्थामा पनि आवद्ध छिन् । “अहिले लाग्छ, अमेरिकी सेनामा भर्ति हुने मेरो निर्णय सही थियो”, श्वेता भन्छिन्, “सहज हुन सकियो भने आर्मीजस्तो राम्रो पेशा अरु केही छैन ।” प्रेसिका चौधरीको रातो घेरामा । श्वेताका अनुसार अमेरिकी सेनामा प्रवेश गर्ने उनी नै पहिलो नेपाली महिला हुन् । काठमाडौंबाट सान्तारोसा आएकी प्राश्ना श्रेष्ठ (२०) चाहिं अमेरिकी मरिन बन्ने सम्भवतः सबभन्दा पछिल्लो नेपाली युवतीमा पर्छिन् । आठ महिनाअघि सैनिक बनेकी उनले अहिले धेरै कुरा सिकिरहेको बताइन् । यसैगरी अफगानिस्तानबाट भर्खरै फर्केकी प्रेसिका चौधरी (२१) ले पनि अनलाइन संवादमा भनिन्, “सेनामा जहिल्यै जहाँ गए पनि काम लाग्दो नयाँ कुरा सिकिन्छ । अमेरिकाको माउन्टेन भ्यूदेखि अफगानिस्तानको कान्दाहारसम्मको यात्रामा मेरो अनुभव यस्तै छ ।” एलिजा रञ्जित । त्यस्तै, पाँच वर्षअघि अमेरिकी मरिन बनेकी सोलुखुम्बुकी फुर्वा याङ्जी शेर्पा (२७) ले सैनिक जीवन सुख र दुःख दुवैले भरिभराउ हुने अनुभव सुनाइन् । उनका अनुसार सैनिक जीवनमा कुन बेला कुन दुःख र कुन बेला कुन मस्तीको मोड आउँछ पत्तो हुन्न । “दुःख र मस्ती दुवैमा सहकार्य हुन्छ”, फुर्वाले भनिन्, “टीममा एकले अर्कालाई स–सम्मान सघाउने परम्परा छ ।” फुर्वा याङ्जी शेर्पा । चुनौती र अवसरको संसार मानिने अमेरिकी सेनामा हाल करीब १५ प्रतिशत महिला कार्यरत छन् । तीमध्ये ९० प्रतिशत मेडिकल विभागमा छन् । चिनियाँ मूलकी कोरल पिट्च अमेरिकी सेनाको जनरल अफिसर तहबाट निवृत्त भएकी थिइन् । पछिल्लो समय २०–२५ वर्ष उमेर समूहका करीब डेढ दर्जन नेपाली युवती अमेरिकी सेनामा कार्यरत छन् । उनीहरूमध्ये धेरैजसोले मेडिकल विभागभन्दा बढी जोखिमपूर्ण सेवाको क्षेत्र रोजेका छन् । http://nepalihimal.com/article...

_____ · Oct 23, 2013 6:22 AM · 2,604 views

Replies
No replies yet.

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion

You might be interested in...

Recent Classifieds View all
Upcoming Events View all
Service Providers View all