ना.२.ख. ४३१७

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

उ रातका अन्तिम प्रहरमा खुइय सुस्केरा काड्दै भन्छ। " मलाई थाहा छ म तँलाई माया गर्दिन। तर एउटा प्रश्नले मलाई पिरोल्छ सँधै, तँ मलाई माया गर्छेस् कि गर्दिनस् !" म उत्तर खोज्छु। भेट्दिन, अनि जवाफ फर्काउँछु । "मैले माया के हो कहिल्यै थाहा पाइन, मैले त जे गरेँ मात्र सम्झौता गरेँ !" सडक विभागले मेरो झ्यालवाट वाहिर देखिनेवाटोमा खासै ध्यान दिँदैन। उनीहरुको हजार किलोमिटरमा ति केहि मिटरले कति नै महत्व राख्लान र ! तर मेरो त परिधि नै त्यहि। वाटो धुले भएको छ।मेरो जीवनमा पनि धुलोले मन छोपिदिएको छ। म मन खोजिरहन्छु धुलोमात्र फेला पर्छ। तल खोला सुसाउँछ,त्यो सुसेलीले मलाई वोलाए झैँ लाग्छ।मेरा दिनहरु याद दिलाउँछ। पछाडीवाट केटाहरु सुसेली वजाउँथे, खोई के देखेर पो वजाउँथे ! एक मन ले रिस उठ्थ्यो,एक मनले गर्व लाग्थ्यो केहि देखेर न वजाउँथे। म पछाडी फर्केर रिसाइदिए जस्तो गर्थेँ। अनि मनमनैँ मुस्कुराउँदै अघी वढ्थेँ।अहिले सोच्छु समय त्यहिँ अड्किए कति जाति हुन्थ्यो। तर समयका आफ्नै नियमहरु छन् ।अटेर हुनु उसको यथार्थ हो। मेरो घरको टिनको छानो पानी पर्दा अनवरत कराइरहन्छ। म त्यसलाई सुनेर वस्छु। जव जव पानी पर्छ मलाई धुर्वेको याद आउँछ। उसको ४३१७ ग्याँसका सिलिण्डर काठमाण्डौ पुर्याउन यहि वाटो आउँछ। मलाई हरेक ट्रकमा उहि छ जस्तो लाग्छ। पानी परेको रात त झन उसको याद गहिरिन्छ। तलको खोलाको सुसेली उसका सुस्केरा जस्ता लाग्छन्।सामान्यतय उसको ट्रक हफ्ताको दुई चोटी यो वाटो कुद्छ। मेरो जीवन लाग्छ त्यहि ट्रकका पांग्राको भरमा रोमान्चक यात्रा गरिरहेछ।उसले उसको ट्रकको अघिल्लो भागमा अरु ट्रक ड्राईभर जस्तै नक्कल गरेर कागति र खोर्सानी झुण्ड्याको छ। कसैको आँखा नलागोस भनेर गरेको अरे! मेरा आँखा भने उसैमा लागिरहन्छन्। पछिल्लो चोटी कागती कालो भइसकेको देखेको थिएँ। त्यसको शक्ति क्षिण हुँदैछ,शायद! धुर्वेले किन्देको मोवायल आज वज्यो। उ आज राती आउँछ।मेरो मन फेरि खुशी भयो।छुँदा चल्ने मोवायलले मेरो औँलामा नै काउँकुति लागे जस्तो भाको थियो।  "कस्तो मोवायल किन्दिस हौ, कहिले उठाउन नजान्ने, कहिले काट्न नजान्ने !" मैले मनमनै खुशी हुँदै भनेकी थिएँ। " तैँले छोएपछि मोवायललाई पनि काउँकुति लाग्यो होला नि त !" उसले पनि मलाई अंगालोमा वेर्दै भनेको थियो। "मलाई मात्रै किन्दिन्छस् ,घरमा वुढी छोरीलाई केहि लग्दिदैनस् काठमाण्डौको चिनो ?" मलाई लाग्यो, वेक्कारमा सोधेँ यो प्रश्न , किन कोट्याइदिएँ उसको स्वास्नीप्रेमलाई मेरो तातोमा वसेको वेला। उसको माया त ओदाने माया हो तिनतिर फर्केको! वेक्कारमा एउटा खुट्टो अर्कोमा जोडिदिएँ! उसको मौनता चिच्याएर भन्छ! "म तँलाई माया गर्दिन मेरी स्वास्नी जत्ति, मेरी छोरी जत्ति !" म दोधारमा पर्छु ! के हो त यो ? जव सम्वन्धका नाम हुन्नन् तव सम्वन्ध जटिल हुन्छ। खोइ के ले पो वाँधेको छ हामीलाई! टाँसिन्छौ,थाकेर छुट्टिन्छौँ !फेरि टाँसिन्छौ अनवरत ! धेरैजसो उ मेरो छेउमै वस्छ। अनि मेरै दोकानमा वेच्न राखेको रक्सीका वोतलहरु खोल्छ! तातो पानी मिसाउँछ ।सुरुप्प पार्छ,मेरै छेउमा! उसको रक्सिको लतले गर्दा न हो उ मेरो नजिक भएको ! तर पनि मलाई उसले रक्सि खाएको मन पर्दैन। उ खराव लतमा नपरोस् भन्ने लाग्छ एक मनले, त्यो मन उसको लागि म राम्रो लत हुँ वा खराव लत भने छुट्याउन मान्दैन। "मैले भनेको मान्छस् भने रक्सि छोड्दे !" म उसलाई भनीरहन्छु। "तेरै व्यापार चौपट हुन्छ भनेर डर लाग्छ नत्र त उहिले छोड्दिन्थे!" धुर्वे खिस्स हाँस्छ। अँध्यारोमा सामान्यतय म उसको हाँसेको अनुहार देख्दिन। मात्र अनुमान लगाउँछु। जीवन अनुमान लाउँदा लाउँदै वितेको छ मेरो! ********** ********* ********** ******** ********* ********** ********* ********* "जा नुहाएर आइज, गन्दे मोरो !" शर्ट खोल्ने वित्तिकै पसिनाको गन्ध मैले सहन सकिन। गन्जि पनि कालो रातभर नै  निसास्सिएला भन्ने पिर भयो मलाई! त्यसै त एउटा मात्र कोठो त्यसमाथी एउटै खाटमा कम्तिमा सात घण्टा ! "कति कराउँदि रछे,तौलिया दे न त !" उसले नाक खुम्च्याउँदै भन्यो। अघिल्लो चोटी उसले छोडेको तौलिया मैले सम्हालेर राख्देकी थिएँ।मेरा सम्झना जस्तै पोको पारेर। " ला तेरो अस्ति सम्मको पैसा तिरे मैले !" उसले तिनहजार मलाई दिँदै भन्यो ! मैले हिजो मात्र हिसाव गरेकी थिएँ उन्नाइस सय भएको थियो खर्च ! अर्को हजार किन त ? मैले शरीर वेचेकी हैन! उसलाई चिथोर्न मन लाग्छ कहिलेकाहिँ जव उ मलाई वढी वढी पैसा दिन्छ। "दुइ हजार पनि पुगेको छैन , यो अर्को हजारको नोट किन ?" म थोरै वटारिएँ। "राख न राख, तेरो पनि घर खर्च टर्छ!" उसले कपाल कन्याउँदै सँधै जस्तै वहाना वनाइदियो। "एक्लो ज्यानलाई के घर भन्छस्!" "वना न त दुक्लो ज्यान !! विहे गर, घर वना !" उसले स्टोभमा चुरोट झोस्दै निरस उत्तर फर्कायो। मैले उसको अनुहार हेरेँ ! मलाई गिज्याएँ झैँ लाग्यो। लाग्यो उ मवाट टाढा हुने वहानाहरु खोजीरहन्छ। तर आफु टाढा हुन भने सक्दैन। म टाढिदिए उसलाई पनि सजिलो हुन्थ्यो जस्तो गर्छ। मलाई चस्स विझ्छ। म उसको घरवार राम्ररी नै चलोस् भन्ने चाहन्छु। उसको स्वास्नी सँग मेरो कुनै वैर छैन, उसकी छोरीको फोटो मैले देखेको छु, चिटिक्क परेकी छे पुतली जस्ती। मलाई त्यो सानी छोरीले उसको वाउ अर्कै आइमाइसँग सल्किएको थाहा पाओस् भन्ने पनि छैन। तर पनि म उसको नाउमा छिद्र खोज्छु,लाग्छ यात्रा टुंगियोस् ,डुवौँ हामी दुवै वरवाद भएर ।त्यसरी मात्र भेट्टाउनेछु मैले धुर्वेलाई! "मेरी वुढी पैसा कम कमाइस् भनेर गनगन गरिरहन्छे!" उसलाई खाना खाँदा किनकिन उसको वुढीको याद आयो।तर सम्झिँदा पनि गनगन सम्झियो। के प्रतिकृया जनाउनु पर्ने खुट्याउन सकिन। "कमाको मैमा खर्च गर्छस् त , के भनोस् विचरी !!" उ चुप भयो।उसको मौनता खेलाई रहेँ। मेरो लागि खेलौना न हो उ ,खुशी खोज्ने खेलौना। उसको मौनता पनि ओढुँ ओढुँ लाग्छ पानी परेको रातमा! " तँ वुझ्दिनस् कुरा, म तिमीहरु दुवैलाई एकै नजरले हेर्दिन !!" "म तँलाई वुझ्न चाहन्न,म सँग भएको वेला वाँड्न पनि चाहन्न !" उ फेरि मैतिर कोल्टे फर्कियो। रात छिप्पियो, उ पोखियो रित्तियो अनि मलाई अँगालोमा वेरेर निदायो। रातभरी नै म उसका वारेमा सोचीरहेँ।म उठ्नु अघी नै उ उठ्यो ,आफ्ना लुगा लगायो। "चिया खान्छस् ?" उसले टाउको हल्लायो। म अल्छि गर्दै स्टोभसम्म पुगेर पानी तताएँ। "तँलाई म सँग कहिलेकाहिँ त धेरै रिस उठ्दो हो है ?" "किन रिसाउनु?" उ सँग उत्तर छैन। उसले चिया सुरुप्प पार्यो। उत्तरको मौनतामा उसको चियाको आवाज पनि ठूलो सुनियो। "अव कहिले आउँछस् ?" "थाहा छैन!" "ला तेरो उन्नाइस सय !! वुढीलाई साडी किनेर लग खुशी हुन्छे !" मैले उसको पैसा उसैलाई फर्काइदिएँ।उसले लिन मानेन। "पैसा लाँदैनस् भने फेरि नआइज यहाँ !!" म रिसाए जस्तो गरेँ। मेरो कृत्रिम रिसले उसलाई पगाल्यो। उसले हात पसार्यो।मैले पैसा थमाइदिएँ। धेरै वेर मेरो अनुहारमा केहि खोजिरह्यो। भेट्टायो भेट्टाएन थाहा छैन।फरक्क फर्कियो। आफ्नो झोला वोक्यो । तौलिया फेरि यहिँ छुट्यो।फेरि आउँछ भन्ने आशाको त्यान्द्रो !! ट्रक गुड्यो, मनमा अर्को पत्र धुलो जम्यो।ट्रकको पछाडी को "फेरि भेटौँला " एक चोटी फेरि पढेँ। धुर्वे फेरि पक्कै आउँछ होला!!!! समाप्त      

fucheketo · Oct 21, 2013 9:07 AM · 27,916 views

11 Replies

फुच्चे, राम्रो कथा भनेर के फुर्काइ रहनु, तर रमाइलो लाग्यो, सुधा र तिम्रो कथा भन्दा अलग! अस्ती पनि तिमीले bird फ्लु} र त्यसले परेको असरको बारेमा कथा लेखेको थियौ। मैले पढे तर प्रतिकृया गरिन। तर मलाई तिम्रो कथाको धारमा आएको परिवर्तन मन पर्‍यो। यो कथा पनि समाजको त्यस बर्गको प्रतिनिधित्व गर्छ, जो सँग मन छ, माया गर्न सक्दैन। सम्बन्ध छ, इमान्दार हुन सक्दैन र समाजको चक्रमा घुमिरहन्छ नैतिक र अनैतीक परिभाषामा तर कहिल्यै अन्त्य हुँदैन यो पाटो न त निको नै हुन्छ। धन्यवाद साथी, यस्तो राम्रो कथा पढ्ने अबसर दिएकोमा।

crazy_love · Oct 21, 2013 12:02 PM

फुच्चे साथी , फेरी पनि समाजको कथामा आउन नसकेको वा धेरै नआएको हाइवे का अनगिन्ति ब्यथाहरु(कथाहरु) मध्ये एउटा सानो पाटो पस्किन भो... यो पढेर अस्तिना तपाईंले भनेकै कुरा झिलिक्क याद आयो .... नारि बुझी नसक्नु छ ....  क्रेजी जी ले कस्तो मजाले केहि वाक्य मै रस निचोरीदिनु भाछ.... दुवै स्रस्टामा यो शिर नतमस्तक छ अनि कृतज्ञ छ कथा का लागि  - थाहा छैन (थाने) 

ThahaChaena · Oct 21, 2013 4:32 PM

वाह हजुर, साचै लेखन शैली मान्नु  पर्छ / एउटा ट्रक चालक र भट्टी पसल्निको सम्बन्ध राम्रो संग बर्णन गर्नु भयो, धन्यबाद हजुरलाई/

adhikari_bandhu · Oct 21, 2013 9:34 PM

गजब! मजाको लाग्यो!

somewhereondearth · Oct 22, 2013 4:46 PM

साहिँली - तिमी फुर्क्याउँछौ र त लेखीरहन मन लाग्छ ;) थाने- प्रतिकृयाको लागि धन्यवाद , यसपाली नछोएको पात्र कोट्याइहेरौँ की भनेर प्रयास गरेको ,लेखिसकेपछि रमाइलो नै लाग्यो अधिकारीवन्धु- प्रतिकृयाको लागि धन्यवादसोमदाजु- धेरै धेरै धन्यवाद, BTW ।।तँपाइको "मेरो आकाश" वाट प्रभावित भएर शैली सापटी लिन खोजेको !!! न्याय नगरेको भए माफ पाउँ..वाँकी भेटमैँ ;) अन्य पढिदिने साझावासी सवैलाई धन्यवाद...

fucheketo · Oct 23, 2013 12:08 PM

Fucheketo, I saw this article is published in this week edition of Nepal weekly magzine. Just want to confirm If you have send your story to Nepal magzine. If YES, then CONGRATULATIONS!!!, otherwise send the Kantipur publication to hold his royalty money and at the same time you cand send more stories under your pen name. As this story already got appericiaiton on the magine, I believe this is the right time you can (SHOULD) go to the broader audience.

khoikkhoik · Nov 29, 2013 2:08 AM

khoikkhoik- sorry for responding you late, yes thats me who sent this story.thank you for your wishes,I was out of internet connection for few days,when I came back saw that Nepal published that story.Felt good to get recognition. Its Sajha and some friends like you who always praised me and helped me to write more and more Thanks to all sajhabasis :)

fucheketo · Dec 12, 2013 11:20 AM

Simply awesome! Keep it up. Quality writing.

ANS · Dec 12, 2013 10:22 PM

मैले फुच्चे साथिलाई ध्वाँसे लेख्ने मान्छे भनेर चिनेको थिएँ | अनि फेरी यो कथा केहि पहिले कान्तिपुरमा (नाम यहाँ भन्न चाहन्न ) ओझाको नाम मा पढेको थिएँ र निकै प्रभावित भएको थिएँ | यहाँ साझामा पुराना कथाहरु पढ्ने क्रममा यो फेला पारें र देखें एउटै मान्छेले लेखेको रैछ | व्हाट अ प्लिजेन्ट सर्प्राईज | धेरै नै स्तरीय कथा |

Fuel Tank · May 18, 2014 3:20 PM

ध्वासे कथा सिदियोर ? this one is beautiful. wonderful. fuccheko kathale euta anautho anand dinca. thank you fucche.

sojoketo · May 18, 2014 9:14 PM

Ans thank you very much, Fuel tank yes indeed its me #### ojha...glad that you liked this as well Sojoketo this story was in sajha long time ago,thanks to fuel tank who brought this back on top,and dhwase is not finished yet,working on next part,thank you for such a sweet comment

fucheketo · May 19, 2014 9:19 AM

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion

You might be interested in...

Recent Classifieds View all
Upcoming Events View all
Service Providers View all