भोक र "गं:चा मरी" को कथा। ********************** कथा धेरै पुरानो हो। म कक्षा ५ मा पढ्थें त्यतिबेला। बुबा अस्पतालमा जीवन मृत्युको संघारमा हुनु हुन्थ्यो। बिपत्तिको त्यो बेला लक्ष्मीले कहिलेइ कृपा दृष्टि राखेन। एक दिन स्कूल जान भात खान गएं बुइगलमा। दिदीले भात पकाई स्कूल जाने बेला भो भनेर बोलाउनु भएको थियो । थालको हाल बेहाल थ्यो। भातको मात्रा साबिकको भन्दा आधा’थ्यो, न दाल थियो न तरकारी, अलिकति पानीले झोल बनाएको तिउन थियो। खानै पर्‍यो, आशुले भिजाउदै आधा भात दोब्बर समय लगाएर खाएं। मैले केही भनिन, दिदिले केहि भन्नु भएन। भाइले भन्ने कुरै भएन। बिबशताको खाना खाइ स्कूल गयौं। स्कूल गए पछि अलिकति उछलकुद भए नै। आधा भरेको पेट, उछलकुद मै सकियो रित्तो पेट रित्तो भांडा समय बेसमयमा आवाज दिंदो रैछ। भोक लाग्यो। लागेर के गर्नु, खाने चिज नि छैन, पैसा नि छैन। हाफ टाइम भो, कसैले पानी बरफ किनेर खाए, कसैले मकै। आफु भने भोकै। ५ पैसा नि थिएन। ५ पैसामा आधा नास्पातिमा नून खुर्सानी हालेर मज्जाले खानु हुन्थ्यो। थुक्क आफ्नो जन्म, मन मनै धिकारें। सबै खाजा खान र खेल्न मस्त थिए, आफु भने गम खाएर बसियो। जस्तो तसो क्लास सकियो। मनमा तन मा उत्साह फैलियो, घर गए सि केही न केही खान पाइन्छ भनेर। अघिको आधा थाल बिर्सिसकेको थिएं। घरको भकारी अब भिखारी भै सकेको बिश्लेषण गर्ने क्षमता बालक राहुललाई संग थिएन। घर पुगी झोलालाई फुट्ट फालेर, सिधै बुइगलमा गएं। हिजो अस्ति जस्तै भात बाकी छ होला भनेर जालीको खापा भएको खोपा खोलेर हेरें। के हुनु? भएको भए त बिहानै पेट भरि खान पाइन्थ्यो नि। हुस्सु म। अब भने भोकले बेस्सरी कराउन थाले। आन्दोलन गर्न थाले। अश्वासनहरुले पेट भरिन्न भन्थे। मेरो पेट नि पख पख एक् छिन पछि खान दिन्छु भन्दा नि मानेन। संयोग बस, आमा अस्पतालबाट काम बिशेषले घर आउनु भयो। आन्दोलनकारी भोकहरु संगै म पनि चिच्याउन थालें- "आमा भोक लाग्यो, आमा भोक लाग्यो'। आमाको मन न हो, दुखको पहाड बोकेकी, तै पनि छोरा छोरिको दुख देख्न, हेर्न सक्दैनन् भन्छन्। पख पख, म केही ब्यबस्था गर्छु भनेर आमाले दराज, खोपा कुना कप्चा खोजखाज गर्न थाल्नु भयो। भाग्यले अलिकति मैदा र अलिकति आटा भेटाउनु भयो । त्यहि आटा र मैदा मिसाएर आमाले "गं:चा मरी" बनाउनु भयो र हामीलाई खान दिनु भयो। यति मीठो परिकार जिन्दगीमा खाएको थिइन। सुख्खा पीठोमा अलिकति नून र जिरा हालेर क्या स्वादिलो। धीत मरुन्जेल् स्वाद लिएर खाएं। आमाले त्यो "गं:चा मरी" बनाउदा खेरिको अधोपान्त मैले हेरि राखेको थिएं। र भोलि पल्ट पनि बनाउन पुग्ने पीठो रहेको ले आफै बनाएर खाएं र खुवाएं। यसरी हाम्रो घरमा नियमित रुपमा "गं:चा मरी" पाक्न थाले। यस्को पनि कारण छ। भोकलाई बन्ध्याकरण गर्न सकिन्न। तर गरिबीले लात मारेको घरमा धेरै भात पाक्दैन। "गं:चा मरी" बनाउन थोरै पैसा लाग्ने, मीठो पनि हुने देखियो। चिउरा, पाउरोटि भन्दा निकै सस्तो तर पेट भने मज्जाले भर्ने। यही हो "गं:चा मरी" कथा। अझै पनि समय समयमा , "गं:चा मरी" पाक्छ, ग्यासको चुल्होमा। गरिबीको मीठो स्वाद लाई पुन: नबीकरण गर्छु। अझै पनि गर्दै छु।
rahulvai · Oct 2, 2013 12:58 PM · 13,522 views
Naam nasuneni sarai khana man lagyo, yo गं:चा मरी. Aru jawos Rahulji. Aru jawos.
Kiddo · Oct 2, 2013 1:50 PM
<<सुख्खा पीठोमा अलिकति नून र जिरा हालेर क्या स्वादि>> - के हो ठुल्दाई गं:चा मरी भन्या ...तार्न या पकौना पर्दैन र ?? दु:खको कहानी पढेर मज्जा आयो के भन्नु ...तर पढुन्जेल हरेsss चै भनिरह्यो मन ले .... - थाहा छैन (थाने)
ThahaChaena · Oct 2, 2013 1:51 PM
Ramro
*~spring~* · Oct 2, 2013 2:28 PM
छोटो मिठो! गं:चा मरी भन्या चाहिं कस्तो हुन्छ साँची? ग्वालमरि जस्तो त हैन?
riddle · Oct 2, 2013 4:54 PM
KIDDO जी, गरीबको घर मा अझै पाक्छ होला त्यो गंचा मरी .... गंचा अर्थात घण्टा आकारको सुक्खा आटा र पिठो , वाह ! क्या मिठो . थाने भाइ , पकाउन त पर्र्यो नै , काँचो पिठो , मिठो हुन्न ... प्यान वा कराई मा अलिकति तेल तताई त्यो गंचा मरी को पिंध खैरो हुने गरि डढाउने........... अनि पानी आधा डुब्ने गरी भर्ने र ढक्कनले छोपी पकाउने .......... पानि सुके पछि गंचा मरी तयार ............... पिया जी ,, धन्यबाद रिडल, ग्वारामरी भन्दा मिठो हुन्छ, स्वास्थकर पनि ...
rahulvai · Oct 4, 2013 9:19 AM
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion