"वा हेर त !" उसकी छोरीले फेरि हात देखाई।रेखाहरु काला,धुस्रेमुस्रे, भविष्य नै कालो जस्तो,हत्केला चिरा परेका! "के हेर्नु ?" उसले हातमा खासै चासो देखाएन। "मेरो हात नी ! भाँडा माँझ्दा माँझ्दा यस्तो भइसक्यो !" "विहे गरे पछी राख्छ नी तँलाई राजकुमारी वनार तेरो लोग्नेले !" उसले आँगनको कुनामा खैनी पिच्च थुक्यो। कुखुराको सुली र खैनी उस्तै उस्तै देखियो आँगनको कुनामा! उसको जीवन नै त त्यहि सुली र खैनीमा अड्किएको छ।एउटाले उसको जिव्रोलाई चलाउँछ एउटाले उसको जीवनलाई! छोरी चुप भई।आज वाउको पारो तातेको वुझ्न उसलाई वेर लागेन।दलिनको रेडियोमा हिन्दी गित वज्दैथियो।छोरीलाई त्यो हिन्दी गित मन पर्छ।पुरानो, लताले गाको।उ डुव्छे प्रेममा जव जव त्यस्ता गित वज्छन्।छेउमै गएर वसी रेडियोको! उसलाई विस्तारै गुन्गुनाउँ लाग्यो, फेरि वाउको पारो सम्झी ,उसको मनको गित मनमैँ रह्यो। "अनि आज पकाउँदिनस् भात ?" वाउ रुखै थिए। "हैन के भाको आज तिम्लाई ?" उसले आँट गरेरै सोधी !सँधै त्यसो गर्दैनन् उसको वाउले ,आज केहि न केहि भएको लख काट्न उसलाई गाह्रो थिएन। "सुनिनस् , वजारमा कुखुरा मार्न थाले रे !" छोरीले छेवैको खोर हेरी। दाना खाँदै गरेका कुखुरा !भविष्य देखि अनभिग्य।चितवन झर्नेवेलामा पहाडको त सवै वेची नै सकेका थिए। थियो त त्यहि एउटा कुखुराको खोर अनि थोरै जग्गा !ति कुखुरा नै मारेपछी त जग्गाको माटो चाटेर पेट कति पो अघाओस्। "कुनै पनि झोक्रेका छैनन् त ! तै पनि मार्छन् रे ?" उसको विचरो मनले,कलिलो प्रश्न सोध्यो "यो जिल्लाकै मार्ने रे! कौडीको भाउ पनि नपाउने भए !" उसले कपाल कन्यायो । ऋण काडेर पालेका कुखुरा ! साउँ पनि उठाउन पाएनन्। "त्यत्तिकै मार्न पाउँछन् त उनीहरुले ?" "सरकार हो जे पनि गर्न पाउँछ !" उ न्यास्रियो। पहेँलो प्लाष्टिकको सुर्ती वेर्यो सेतो कागतमा!उसको आँखा त्यो सुर्ति वेरेको वेला मात्र सुर्ति मा ध्यान दिन्छन्। दुवै आँखा एकै ठाउँमा हुन्छन्।मानौँ कुनै मुर्तिकार एउटा अलौकिक मुर्ति तैयार गर्दैछ। जलेर जाने ठूटोमा कत्रो कला देखाउनुपर्ने उसलाई? "सलाई ले ले !" छोरीलाई अह्रायो। छोरी भित्र छिरी । रेडियो समाचार फुक्न थाल्यो। "चुनाव मंसिर ४ मा जसरी पनि गराउने सरकारको प्रतिवद्दता! फेरि असफल नहुने शिर्षनेताहरुको दावी !" उसले धेरै अगि किनेको पानासोनिक रेडियो करिव तिन महिना अघी विग्रिएपछि उसले हाटमा गएर नयाँ चाइनिज रेडियो किनेको। पहिला राम्रो वज्थ्यो गाउँनै थर्किने गरी,अहिले अलि अलि क्यार क्यार गर्छ। "वा चुनाव साँच्चै हुन्छ त ?" उसले सोधी उसको वालाई, वा ठूलै राजनितिक विश्लेशक भए जस्तो ! "खोइ के था मलाई ?" हुनत वाउ पार्टिको झण्डा वोकेर पुरानो चुनावमा हिँडेकै मान्छे हो। तर चुनाव पछि मान्छेको चोला वदलिए, उसको पार्टि प्रतिको मन वदलियो। विस्तारै टाढियो पार्टी सँग!! "कति खान मन लाग्छ हँ यो धुवाँ तिम्लाई !" "पैसा डढेको भन न " उ ङिच्च हाँस्यो। भित्र पोलेको छ उसलाई, तै पनि हाँस्यो।वल गरेरै हाँस्यो।मान्छेको ढोंगि मुस्कान चिनिन्छ। तै पनि मान्छे मुस्काउन छोड्दैन। कति छोप्न मन लाग्छ मान्छेलाई सत्य!! "कसरी तिर्छौ वा अव रिन ?" छोरीले थोरै चिन्ता देखाई। "होला नि केहि जगेडा !" उसले आफ्नो चप्पलको छेउमै ठूटो झोस्यो। अनि निभाइदियो चप्पलले कुल्चेर।खरानी र माटो मिसिए।कालो माटोलाई एक छिन हेर्यो।केहि भेट्टाएन हेरीरहुँ लाग्ने!! उहि माटो ,उही ठुटो के नै पो भेटोस् खोजेर पनि। "हैन त्यो सरकारले हाम्रो कुरा कहिले सुन्छ ?" उसकी छोरी रिसाइ थोरै सरकारसँग । उसलाई थाहा छैन, सरकारमा को को छन् । उसलाई यति मात्र थाहा छ। यो सरकारले कुरा सुन्दैन, उनीहरुको पेटमा लात हान्दैछ। अनि चुनाव चाँडै हुनेवाला छ, उसको कुरा सुनीनुपर्छ। "तेरो राजकुमार पनि सरकारले खोजिदिनुपर्ने !" वाउ फेरि खिस्स हाँस्यो ! उसलाई आफ्नी छोरीलाई जिस्क्याएर एकैछिन मन खुकुलो पार्न मन लाग्यो शायद। "खोज्दिन्छ होला सरकारले ! कुखुराको कुरा गरेको नि !" "यो कर्मचारीको सरकार रे क्या ! नेताले मात्रै सुन्छन् रे जनताका कुरा !" उसले चौतारोमा एउटा ठुटे नेताले भनेका शव्द दोहोर्यायो ! तर उसले वुझेको छ, कर्मचारी नेताले भनेको मात्रै गर्छन् रे ! त्यो उसलाई अर्को ठुटे नेताले सुनाको!! "खोइ मलाई त लाग्दैन नेताको पनि विश्वास !" उसकी छोरीले नेतामा पनि विश्वास गरीन। "सम्विधानसभाको दोश्रो चुनावमा गल्तिवाट सिखेर अघी वढ्ने शिर्ष नेताको दावी !" रेडियो वोलिरह्यो। "के को गल्ति हुनु नी रोग हो यो !" ठुटे नेता जुर्मुरायो उ भित्रको !! रेडियो नै फ्याँकिदिए जस्तो। आवेश के ले आयो थाहा पाएन, तर भित्रै वाट तातेर आयो उसलाई!! "कुन रोग वा!" "यी नेता सवै नामर्द छन् ,रोगी।।।। कोही केहि गर्न सक्दैनन् !!!" उ जंगिरह्यो। "उ त्यो कुखुरा जस्तै वा? यिनलाई पनि मार्छ त सरकारले अव ?" छोरीको प्रश्नको उ सँग जवाफ छैन। उसले तिनै कुखुरा हेर्यो ।अनी नेता सम्झियो। छोरी ले भनेको हो हो जस्तो लाग्यो।
fucheketo · Sep 22, 2013 9:37 AM · 13,881 views
मारे त हुने हो नि सरकारले यी नेताहरुलाई , बर्ड फ्लु लागेको कुखुरा मारे जस्तै ...
Aakinchan · Sep 23, 2013 7:28 AM
समयसामयिक कथा फुच्चे साथी .... हुन नि किन मर्या होलान जाँच्दै नजाँची सप्पै कुखुराहरु ....कृषकको रुप मा निर्धो जनता देखें मैले र तिनका पिडा नदेख्ने अन्धो नेता सम्झिएँ यहाँ ......कुखुरा का रुपमा देशको निर्धो सपना देखें ... जुन अनभिज्ञ छ सप्पै देखि ..... - थाहा छैन
ThahaChaena · Sep 23, 2013 11:32 AM
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion