अनुमति बिना

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

‘भुसको आगोसँग सधैं ध्यान दिनु कान्छी । यो भित्र भित्र बल्दछ, ज्वाला दिन गाह्रो मान्दछ । तर भर रात बलिरहन्छ ।’   हजुरआमाले खोले पकाँदा एकाध बालेको भुसको आगोको जात सिकाउनु हुन्थ्यो । हजुरआमा जानु भयो, खोले पकाउने परिवेश गयो । तर त्यो शिक्षा म सँग रहि रह्यो । बिगतसँग सँधै शिक्षा दिने कथाहरु हुँदैनन् । यो त्यस्तै उपयोग मरेको ज्ञान भएर मसँग बसि रह्यो ।   मेरो बर्तमान मेरो बिगतबाट एक पाताल पर छ । काम छ, सपनाहरु छन् । सघर्षहरु छन्, चाहहरु  छन्, ब्यवहारहरु छन । म ब्यस्त नै छु । तर बर्तमानका यावत ब्यस्तता भएरपनि केहि बिझिरहन्छ । भित्रमनमा चिमोटि रहन्छ । बाहिर देखिन्न। मैले भेउ पाएको पनि छैन । तर मात्र यति थाहा छ, बेला-बेला यसले पोलिरहन्छ । हुन तर लाहुरिएका सबैको कथा यहि होला । छोडेको माटाको चार चिम्टी माया । मेरा हजुरबाउले मजुवा छोडेर तराइ बसे । बाउले तराइ छोडेर उपत्यका, म नेपाल छोडी बिदेश भाँसिए । पात्र फरक, कथा फरक तर सार त उहि हो । छोडेको बसाईले मनबाट मोइयानी माग्दो रहेछ ।   ‘तिमी जाने नै हो त?’ कविताले अन्तिम पटक सोधि ।   ‘अँ । धेरै एकोहोरो भयो जीवन । एक चोटी गएर आउँछु । यहाँको ब्यस्तता बाट बिश्राम पनि हुन्छ । फ्रेस हुइन्छ होला ।’ मेरी पहिले देखिकी साथी । अहिले फरक शहरमा भएपनि, मनको नजिक कि साथी । जसलाई मेरो बिगत र बर्तमान थाहा छ । अनि उसलाई मेरा कुरा भन्न सजिलो लाग्छ । मेरो नेपाल जाने कुरै थिएन । सम्भावनै थिएन । तर बनेको परिवेशमा मलाई यहि इच्छा भयो ।   ‘कति बस्छेस त?’ उसले जानी जानी सोधि ।   ‘६ महिनाको उद्देश्य बनाएकि छु’   ‘ छोडेको धेरै लामो भयो, सक्छेस?’   ‘ हेरौं, प्रयास गर्छु, सकिन भने फर्किन्छु’   ‘तँ यहाँ धेरै अभ्यस्थ भइसकिस, फेरि तेरो बिगतका कुरा उठलान । नेपाल त्यहि हो । अनेक कारण दिए पनि तेरो बारेमा शुरुमै छवि बनिसकेको हुन्छ । त्यो छविले बेला बेला छोप्छ । होस गरेस ।’ नेपाली समाजको जानकारी छ उसलाई । सुक्ष्म विचारको गहिरो बिश्लेशण गर्ने क्षमता राख्दछे ।   ‘म तँ सँग सम्पर्कमै हुन्छु नि ।’ म समाजको बारेमा बिश्लेशण बाट पर भाग्न खोजे ।   ‘टिकट लिइस त?’ उसले पनि शिर्षक सरक्क छोडि ।   ‘हेर्दैछु, आज नेपाल खबर गर्छु । यो यात्रा लेखाजोखा नगरि गर्न पर्ला । जता जे पर्छ, त्यहि ।’   ‘मान्छेहरुलाइ झ्याप्प विश्वास नगरिहाल्नु । खासगरी पैसाको मामलामा । अरु कुरा त केहि छैन । खानेकुरा याद गर्नु । ’ उसले संक्षेपमा दुइ महत्वपूर्ण सल्लाह दिइ ।   ‘धन्यबाद यार’ ।   म अल्छि तालले समानहरु समेटन थाले ।  यो मेरो हारको यात्रा होइन । मातृभुमीको अगाध मायाले तानेको यात्रा पनि होइन । बर्तमान एकोहोरिंदा बिगतबाट गति सापट माग्न खोजेको हो ।   यहाँ न उमंङ्ग छ न लाचारी । खाली सुस्त भएकि छु । खल्लोपन छ । अनि जबर्जस्ती धकेल्दै छु आफूलाई ।   हप्ता निकै ढिलो बित्यो । एक दुई साथीभाइ फोन गरे । दिदी र भाइलाई फोन गरे । काठमाण्डौंमा भएकि फूपुलाई फोन गरे । टिकट लिए । अनि म पनि निस्किए । एघार बर्षपछी नेपाल भेटन । सुरक्षाका अभ्यस्थ जाँच, अनि जहाजको नियमित कुराइ । तर यो यात्रा फरक छ । अहिले बुआ, आमा हुनुहुन्न । केहि आफन्तजन छन्, फूपु को परिवार छ । नेपाल फर्किन जरुरी कहिले लागेन । समयले कहिले बोलाएन । यो पालि मलाइ समयले धकेल्यो । जहाँ गए पनि हुन्थ्यो । तर नेपालले तानेको छ ।   यो विमानस्थलमा हजारौं यात्री छन् । आ-आफ्ना भावहरु बोकेका अनुहार छन । यिनको आ-आफ्नै कथा होला । मसँग अहिले कथा छैन । मसँग प्रसंङ्ग बेगरको एउटा बिगत छ । अनि भावशुन्य अनुहार । म खालि पाना बाट यो यात्रा शुरु गर्दै छु ।    क्रमश:    meaninglessthinkings@somewhereondearth

somewhereondearth · Sep 20, 2013 1:01 PM · 51,008 views

20 Replies

सुरुआत नै यस्तो मज्जाको भए पछि त कथाको बीच र अन्त्य कस्तो हुने होला? ब्यग्र प्रतिछ्या मा छु. मलाई पनि छोडेको १० वर्ष पछि नेपाल घर जादा भएका अनुभव र भोगाई संग मिल्छन जस्तै छन् कथाकारका अनुभवहरु! चाडै पढ्न पाउने आशामा.

Jhapali_Thito · Sep 20, 2013 2:54 PM

सोमेव्हेरेओन्देअर्थ जी,    कथा निकै मन पर्यो. जाडो महिनाको बिहानै तातो चिया पिउँदाको मज्जा हुन्छ नि... हो त्यस्तै मज्जा आयो.    मलाई धेरै नै मन परेका यी दुई लाईनहरु :    यहाँ न उमंङ्ग छ न लाचारी । खाली सुस्त भएकि छु । खल्लोपन छ । अनि जबर्जस्ती धकेल्दै छु आफूलाई ।   धेरै नै घत पर्यो. शायद यी लाईन हरु मेरो जीवन संग मेल खाएर होला. अनि सोचे शायद मेरो हैन धेरै को हुन सक्ला..... रगत संगै मिसिएका व्यथा र पिडाहरु जो हरेक पल मुटुमा आउने जाने गर्छ. अर्को भाग को प्रतिक्ष्या मा.   

daum · Sep 20, 2013 3:07 PM

भाग १ बाट अगाडि ।   नौलो केहि देखिन, पट्टयारलाग्दो नै रह्यो जहाजको यात्रा । घरि टिभि हेर्दै, घरि उँङ्दै, घरि गलेका अनुहार टटोल्दै यात्राको पहिलो फड्को मारें । दोहामा उत्रियो जहाज । यति यात्री हुँदा पनि एउटा जहाज, सिधै न्युयोर्क-काठमाण्डौं जादैंन । देश त अबिकसित, लगानिकर्ता पनि अबिकसित । सरकार त पुङ्गो, निजि क्षेत्रले मिलेर जहाज चलाउनु नि! दोहाको बिश्राममा मेरो पहिलो गुनासो निस्कियो । जहाजबाट निस्केर वातानुकुलित सुरुङ्ग होइन, कोचाकोच गाडि भेटियो । ट्रान्जिटका यात्रुलाई आवगनमा सुरक्षा जाँच । विमानस्थलमा नेपाली, भारतिय, बङ्गलादेशी, पाकिस्तानी आदि कामदारको हालिमुहाली । कोलाहल बढेको । जति नै पुछेपनि पानी-पानी भुँई भएका शौचालय। बिकसित भएको दोहा मै मलाई निकै कुरा बिझाए । तर म गति शुन्य समय छोडेर हिडेकि थिए । यी मसिना अवलोकनले मलाई त्यस्तो छोपेन । छ घण्टाको बिश्राम, म एउटा शान्त कुनो च्यापेर बसे ।     हिड्ने बेला नजिकिदै जाँदा, मान्छे बढ्न थाले । नजिक नजिक अरु यात्रीहरु आउन थाले । नेपाली भाषा सुनिदै गयो। कोलाहल छोडेर सरौ-नसरौं मै अल्झिए । भो सर्दिन भन्ने तर्क ले जित्यो । प्राय: नेपालीहरु चिनजानका मान्छे सरी बोलिरहेका थिए । यात्राको विवरण देखि ब्यक्तिगत सम्म ।  मलाई बोलचालमा उनिहरुले मलाई पनि कोट्याउन खोजे । मलाई यो नेपाली बानि उस्तो खाएन । बिनाकारण अपरिचित यात्रुसँग भए नभएका बात साटि रहने । साधारण बोलचाल भन्दा उच्च स्वरमा बातचित । के म यस्तै थिए त? मलाई यो पटक बिझायो । तर म  मेरो एकान्त ओढेर बसिरहे ।   छेवैमा एकजना पुरुष आएर बसे । संगितमा खासै नभिजे पनि मैले इयरफोन (earphone), झिकेकि थिइन ।     ‘बहिनि पनि काठमाण्डौं जाने त होला ।’ उनले सोधिहाले, मैले एकापट्टीको मात्र झिकें ।   ‘हजुर ।’ यो बातचितलाई मैले त्यहि टुङ्गाउन खोजे ।   ‘यहि बाट कि साउदि बाटै हो तपाई पनि?’ उनले छोडेनन् ।   ‘होइन, म अमेरिका बाट’ । मलाई त्यहि झर्को रोकेर उत्तर दिंए । मेरा अनेक तनाव छन्, मोड हरु छन्, कारणहरु छन् । यो यात्रा मेरो नितान्त ब्यक्तिगत हो । म मेरो भिंड, ब्यस्तता छोडेर आफैसँग समय बिताउन नेपाल हिडेकि । नेपाली होस या अरु अपरिचित ब्यक्ति सँग कुरा गर्न मलाई रत्ती भर जाँगर छैन ।   ‘आज जहाजले ढिलो त गर्दैन होला है ! अघिल्लो महिना मेरो साथी जाँदा त ३ घण्टा ढिलो गरेको अरे । फेरि काठमाण्डौंको धावनमार्ग बिग्रेर १ दिन पछी मात्र पुगेछ ।’ एकछिन बोकेका थिएनन्, तर फेरि शुरु गरे । म सँग उपाए थिएन । गित बन्द गरे ।   ‘अहिले सम्म त त्यस्तो केहि जानकारी लेखेको छैन् ।’   मैले बोर्डतिर हेर्दै भने ।    ‘हेर्नु न मैले त ब्ल्याक लेवल लिए, दुई वटा लान दिन्छ होला नि है ।   ‘खोइ’ म बातचितबाट परै हुन खोज्दै थिए । उनले किनेको कर नलाग्ने रक्सी उनको समस्या हो। किन्न अगाडि सोच्न पर्ने हो । किनिसकेपछी म सँग सोध्नको कुनै औचित्य छ र? फेरि समस्या पर्ने भए, एउटा तपाईले बोकि दिनु न बन्ने सदाबहार नेपाली बहाना हो त यो बातचित?’ मलाई यो पात्र सँग पन्छिन मन भयो ।   ‘साउदि बाट ४ घण्टा अगाडि आएको जहाज । सबै जना त यहि छन्,  छिटो लादैन होला है ।‘   ‘किन र तपाईलाई हतार छ?’ नजानिदो गरि म बातचितमा सामेल हुँदै थिए ।    ‘हजुर मेरो त घर जानै पर्ने भएको छ । जहान को खुट्टो बिग्रियो । काट्न परेछ ।’   मेरो मनमा सिरिङ्ग भयो ।   ‘किन र त्यस्तो कसरी भयो ।’   ‘मोटो ज्यान छ, तपाईको जस्तै । दुई चोटी त्यहि भाँचेकि थिइ पहिले पनि । यसपाला पनि भाँचिछ । मनिपाल लगेर पलास्टर लगाएको रे । भित्र इन्फेक्सन भएछ । अनि पलास्टर खोलेछन् तर ढिलो भएछ । काठमाण्डौं लैजा भन्यो रे । काठमाण्डौंको ले, ढिलो भयो, नकाटी हुँदैन भनेर काटेछ ।’   उनले सारा पीर भनिदिए । म तयार नै थिईन । म त मेरो मोटोपनको टिप्पणी कसरी फर्काउँ भन्दै थिंए ।  कत्रो भवितब्य ।   ‘अनि त्यो मनिपाल को डाक्टरलाई उजुरी गर्नु भएन? त्यो त सरासर उसको गल्ती हो नि ।’ मैले मेरो अमेरिकी जानकारीमा अधिकारको कुरो बुझाउँदै थिए ।   ‘खै बहिनि, शुरुमै कागज गराउँछन्। केहि गर्न मिल्दैन । भतिजोले त डाक्टर कुट्न खोज्दै थियो रे, डाक्टरहरुको आन्दोलन हुन्छ भनेर रोकेछन् । म यता थिए । नेपाल मा के गर्न मिल्छ र ।’   ‘अनि अब के गर्ने त?’ मेरो उत्सुकता पोखे ।   ‘खर्च धेर भयो, गएर रिन तिर्न पर्यो । यता को १६ बर्ष देखिको काम थियो । साहु पनि गतिलो थियो । सब छोडेर हिडेको । अब जहान काम नलाग्ने भइ, उसलाई स्याहार्नु पर्यो । अहिले सम्म घर उसले गरेकि थिइ, अब मैले गर्न पर्छ ।’   ‘घरमा को को छ त?’   ‘छोरी बिहे गरेर दिएको छ । छोरो आबुधाबि मा छ, बुहारी माइत’ एउटा अर्को नेपाली परिवारको यथास्थितिको उदाहरण रहेछ उनको पनि ।   ‘अनि यत्रो पीरमा किन यो रक्सीमा खर्च गरेको’ । यो बेला मलाई उनको ब्यत्तिगत रोजाईमा प्रश्न नगरि रहन सकिन ।   ‘जेठानहरुलाई, यतिका बर्षसम्म घर हेरिदिए । जस्तो भए पनि यसो सगुन त लान पर्यो । फेरि अब कहिले आइन्न होला । सस्तो हुन्छ भनेर किनेको ।’ उनले सोझो उत्तर दिए ।   मलाई पनि झसंङ्ग भयो । जहाजको समय नजिकिसकेको थियो । ‘एकछिन ल दाई ।’  म फूपाजुलाई भनेर डबल ब्ल्याक किन्न हिडें । क्रमश:  meaninglessthinkings@somewhereondearth

somewhereondearth · Sep 20, 2013 4:07 PM

Arko bhag ko lagi dhanyavad. Pheri arko bhag ko pratikshya ma. Kautuhalta jagdaichha dherai.

daum · Sep 20, 2013 4:25 PM

Katha ramro hola jasto cha. Chito chito samaya nikalera dosro bhag pani paskinu paryo hajur.

Karnali Blues · Sep 20, 2013 7:53 PM

कथा सलल बगी रहेको छ. पड्न निकै रमाइलो लाग्यो. अर्को अध्यायको पर्खाइमा.......

ujl · Sep 20, 2013 8:32 PM

 मन न हो असन्तोकी हुन्छ, अझ वढी अझ वढी भनीरहन्छ, दाजु खुरुक्क न तेश्रो भाग राखौँ त !!!

fucheketo · Sep 22, 2013 9:04 AM

कथाका अरु भागको पर्खाइमा म पनि छु....बल्ल साझा हराभरा हुने भयो !!

bhakte dai · Sep 22, 2013 10:41 AM

 <<< बर्तमान एकोहोरिंदा बिगतबाट गति सापट माग्न खोजेको हो >>>   <<< अहिले सम्म घर उसले गरेकि थिइ, अब मैले गर्न पर्छ । >>>    दाइ अस्ति फुच्चे ब्रो को थ्रेडमा अनुरोध पोखेको थिए, दाइले सुन्नुभयो जस्तो लाग्यो ... तर अब धेरै नकुराउनु न ...    

Aakinchan · Sep 23, 2013 7:25 AM

सधैंको जस्तै बाँधेर राख्ने प्रस्तुती। दिल मागे मोर :) ..............

nakkali keti · Sep 23, 2013 8:42 AM

 सोम दाइ , के भनूँ खै .....जति पढ्यो सप्पैले माथि भन्या जस्तै तेती धेरै लेखे नि हुने नि जस्तो लाग्ने ..... << बर्तमान एकोहोरिंदा बिगतबाट गति सापट माग्न खोजेको हो ।>>   --- अनन्त कारण होलान नेपाल नजान तर खै किन किन नजानिँदो एउटा मोहनी छ , एउटा शक्ति छ नेपालमा .....पाइला टेकेपछि नै आमाको काखमै पुगेजस्तो भान हुने एउटा न्यानो अनुभूति , जीवन र हामीले रचेको नभई नहुने हाम्रा कुरा ,हाम्रा मान्छे , हाम्रा चिजबिज ले दिने सुख भन्दा एउटा छुट्टै उपमा नभएको सुख ......   <<‘भुसको आगोसँग सधैं ध्यान दिनु कान्छी । यो भित्र भित्र बल्दछ, ज्वाला दिन गाह्रो मान्दछ । तर भर रात बलिरहन्छ ।’>>   --- हो नि है सोमदाइ ..... जीवन र तेस्को निचोड नै येही वाक्य मा छ साएद.... जीवन पनि त भित्र भित्र तप्दै भुङ्ग्रो भएर जलिरहन्छ अनि तेही भित्रि तापले/ज्वालाले  बाँकी जीवन न्यानो बन्छ साएद ....   धेरै पछि पढ्न पाएँ ....अब अर्को भागको प्रतीक्षारत छु    - थाहा छैन   

ThahaChaena · Sep 23, 2013 9:43 AM

 हामी अर्कों भागको प्रतिक्षामा बसिरहेका छौं भन्ने कुरो जानकारी गराउॅछौ। धेरै कुराउनु हुन्न भन्ने आशा छ  -दमायन्ती 

damayanti · Sep 23, 2013 6:30 PM

Aajhai kurdai chhu somewhere on earth.

daum · Sep 25, 2013 12:55 PM

 हामीले एकान्तको अनौठो ‘ओढ्ने’ बनाएका हुन्छौं । घरि फुकाली दिन्छौं घरि गुम्सेर बस्छौं। जब फुकाल्छौं, पारदर्शि हुन्छौं । हामीले  संसार देख्छौं, संसारले हामीलाई देख्दछ । मुस्काउँछौं, बात गर्छौ । अनि घरि पारदर्शिता मन खाँदैन, ओढी बस्छौं । न संसार देखिन्छ, न संसारले हामीलाई टटोल्छ । म आफैं भित्र एहोकोरिएकि थिंए । उनले आफ्नो पीर बिसाए । मेरो ‘ओढ्ने’ भित्रको मलाई उनले झस्काई दिए । खास्टो भित्रकी मलाई पोल्यो । फर्केर उनिसँग जान, उनका बिगत सुन्न, उनको भविष्य बुझ्न मन भयो। तर अंह, जीवन सजिलो किन पो भइदिन्छ । हामी सबै जान्दा जान्दै पनि कर्म छुटाउँछौं । जीवन्त आशा मागेर पनि मन मरिदिन्छ । फगत सदभावका चार शब्दले उनको पीर केहि हलुको हुन्थ्यो होला । मलाई मसँगै गाह्रो भयो । म फर्केर उनि सामु गइन । टाढै बसे । दोहा छोड्ने बेला भयो । लागेको लाइन, बिस्तारै बिग्रिदै गयो । ठेलाम ठेल गर्दै जहाज सम्म पुर्याउने गाडि चढियो । अनि गाडिबाट जहाज । प्राय: सबै अनुहार नेपाली । कोहि दंगदास, कोहि गलेका । सबैका आ आफ्नै कथा । कोहिले महंगो घडि र फोन बोकेका । कोहिले साँवा ज्यान लिएर फर्केका ।   झ्यालमुनि जहाजको भुँडिमा सामान राखेको हेर्दै थिए । दुईवटा ठुलो बाकस चढाउन थाले । कस्तो सामान हो भन्ने भयो । मैले अनुमान गर्न सकिन, अन्तै मुन्टो बटारें । यतिकैमा पछाडि पट्टीबाट आवाज सुने । ‘अस्तिहप्ता मरेको भनेका थिए, यिनै होलान!’ ‘दिनको अठार घण्टा काम थियो रे, सुत्न सुँगुरको खोर भन्दा पनि फोहोर ठाउँ । एउटा कोठामा  आठ दश जना कोचेर राखेको रे । दुई तिन दिनको ज्वरो पछि त राति नै गएछ । मेरो गाउँको भाइ पनि थियो । उसले सुनाएको । ‘लौ, अनि त्यो पठाउने ले केहि गरेन? काममा बिमा त थियो होला नि?’ ‘अर्काको पासपोर्टमा आएको रहेछ । पठाउनै ने ठग ।‘ ‘अनि दुतावासमा कुरो नलगेको? साथीभाइले केहि गरेनन्?’ ‘सोझो मोरोको कस्ले गर्छ? फेरि सबै काँचा खाले रहेछन् । दुताबासमा रोएछन् । केगर्नु दुताबासले, बलै दुइहजार रियाल र लास नेपाल पठाउनेमा कुरो मिलाएछन।‘ ‘कताको केटो रहेछ?’ ‘खोइ पश्चिम तिरको हो क्यार’ ‘अनि अर्को को हो त?’ ‘खोइ बंग्लादेशी हो, नेपाली पासपोर्टमा आएको भन्थे ।‘ ‘ए, अनि नेपाल किन पठाको त?’ ‘त्यसलाई यहि राखे, पासपोर्ट काण्ड खुल्छ, फेरि अरु मान्छे ल्याउन मिल्दैन भनेर रे ।‘ ‘कुरो त ठिकै हो’ सुनेकि मात्र थिए, जहाज चढाउँदै गरेको लास र त्यसको सेरोफेरोको कथा त्यहिं देखे । यो सत्य को अगाडि मेरो खास्टो बिलायो । मैले मुख फोरें । ‘यो सरासर कतार सरकार र नेपाल सरकार को गल्ति हो। मान्छेको जीवन यति सस्तो छैन । गरिब देशका कामदार भनेर यसरी ठग्न मार्न पाईदैन। ‘ मैले पछाडि फर्केर मेरा बिचार राखें । जब साक्षात मृत्यु देखिन्छ्, ब्यक्तित्वका अफ्ठ्याराहरुले आवाज रोक्दो रहेनछ । केहि बेर अघि सम्म ब्यक्तिगत गोलो घेरामा एकान्तिन खोज्ने म, मेरा मनका निजि मन्थन छोडेर देखेको दु:खमा मेरा उजुरीहरु राख्दै थिए । त्यो पनि अपरिचित आवाजहरु सँग ।  ‘कतार सरकारलाई यि समस्या साह्रै गौण छन् । लगभग कुनै पनि पुग्दैन, पुग्नै दिदैनन् । नेपाल सरकार त भुंडि बोकेको बेश्या जस्तो छ । न लोग्नेको टुंङ्गो, न सन्तानको भविष्य । कसलाई के गुनासो गर्नु, बैनि’ अनिक मोटो आवाज दाहिने तिरबाट आवाज आयो ।   ‘होइन, मानवअधिकारको कुरो त हुन्छ नि । अन्तराष्ट्रिय मजदुरलाई खानपिन, बसाई र स्वास्थ्य उपचारको नियम त जहाँ पनि हुन्छ ।‘ मलाई चित्त बुझेन । मैले मेरा तर्क राख्दै गए । ‘हेर्नु दाइ, आजको समयमा यसरी मुख बाँधेर बस्न हुँदैन । नेपाल बिकास नभए पनि सुचना संचारको विकासमा अछुतो रहन सकेको छैन । यस्ता घटना अरु अहिले सामाजिक संजालमा आईरहेका छन् । भर्खरै पनि यस्तै घटना आएको छ, यहि सामजिक संजालको माध्यमले हामी कतार  सरकार लाई झक्झकाउँदै छौं । फिफासँग कतारको बिश्वकप खोस्ने हस्ताक्षर चलेको छ ।‘ ‘त्यसरी तातेर हार हाम्रै हुन्छ बैनि’ सुस्त स्वरमा उनले भने । ‘आवाज उठाउँदा हार हुन्छ र?’ म झ्वाँकिए । ‘आवाज उठाउँदा हार हुँदैन, तर पर नहेरि दगुर्दा भने लडिन्छ । यो कतारमा बिश्वकप भयो भने हामीले केहि नेपाली भाइहरु गुमाउँला, तर भएन भने कति हो कति नेपाली परिवार मर्ने छन् ।‘ ‘के भन्न खोज्नु भएको? नेपालीलाई गरेको सुंगुर सरहको ब्यवहार ठिक हो? अझ यसरी नेपाली मरुन?’ मलाई उनको तर्क सँगै रिस उठिसकेको थियो । ‘कोहि मरेको कसरी राम्रो हो र? फेरि यस्तो सास्ति पाएको नेपाली कथा सुन्दा कुन नेपाली को मन नरोला? म आफै तिन छोरा छोरीको बाउ हुँ । छोराछोरि गुमाउने कल्पना सम्मले मलाई कपाउँछ । तर कुरो यहाँ ब्यवहारको हो । ब्यबहार धान्न पर्छ । कुरो यहाँ माडको हो । ‘ उनले आफ्ना दर्शन राख्दै गए । ‘ हो यो खाडिमा समस्या छन्, कामदार ठगिन्छन् । नेपाली दाजु भाई मरेका छन्, मर्दै छन् । तर राम्रो पाटो पनि छ । कोहिले राम्रै ठाउँमा काम पाएका छन् । राम्रै कमाएका छन् । नेपाल को बास्तविकता हेर्दा २२ साल सम्म केहि भुत्रोभाँङ होला जस्तो छैन् । देश रेमिट्यान्सले चलेको छ । नेपाल आजको भोलि नयाँ हुँदैन । भलै रिमिट्यान्सले देश बन्दैन, तर गुजारा चलाउने आजको बास्तविकता त यहि हो । यसैले फुटबल रद्ध गर्नु भन्दा कतार सरकार सँग बार्ता गर्ने कि? नेपाल सरकारलाई लुंगि कस्न तातो लाउने कि भन्ने कुरो हो मेरो । बंग्लादेशिलाई पासपोर्ट दिने, श्रम बिभाग अगाडि पाँचसयको किर्ते मजदुर बिमा बेच्ने, एउटाको पासपोर्टमा अर्काको फोटो राख्ने ठगहरुलाई समाउने कि! आफ्ना प्राथमिकता सोझ्याउने भन्ने कुरो हो मेरो ।‘ उनको तर्क सँगै उनको आवाज बढ्दै गयो । म चुप बसे यो पालि । उनको तर्कले त्यो बिवाद त जित्यो तर मन झन कुँढियो । यहाँ तर्कहरु हुन्छन्, अनि मुल्यहरु हुन्छन् । तर जव मानवताको कुरो हुन्छ । तर्कहरु लोते हुन्छन् । जीवन अमूल्य हुन्छ । मेरो देशको यो कस्तो चाँहि दरिद्रता हो जहाँ चुल्हो बाल्न लाशको भुंङ्ग्रो बाट आगो सापट लिन पर्छ!  नागरिक को लाशमाथि बन्ने समाज जतिनै सम्पन्न किन नहोस, पवित्र कहिले हुँदैन । म नेपाल पुगेकि पनि छैन, नेपालले मलाई निकै लपेटि सक्यो ।   क्रमश:  meaninglessthinkings@somewhereondearth

somewhereondearth · Oct 2, 2013 12:16 AM

 झापाली ठिटो (झापा कता हो?), daum ज्यु, karnali blues ज्यु, , ujl ज्यु, फुच्चे, भक्ते दाइ ज्यु, aakinchan ज्यु, नक्कली मैया, थाने ब्रो, दमायन्ती ज्युमा समय निकालेर पढिदिनु भएको, हौसलाका भाव राखिदिनुभएको मा आभार । सके सम्म, आए सम्म लेखौं भनो ढिलो भै हाल्छ ।  समय निकालेर पढिदिनु हुने सबैलाई धन्यबाद । Special thanks to sajha admin for providing the platform. 

somewhereondearth · Oct 2, 2013 12:24 AM

सोमेव्हेरेओन्देअर्थ जी,    सर्वप्रथम कथाको अर्को भाग पस्किनु भएकोमा धन्यवाद. कथा सरल, भाभुक र मर्मस्पर्शी छ. मनै छुने लाईन :  नेपाल सरकार त भुंडि बोकेको बेश्या जस्तो छ । न लोग्नेको टुंङ्गो, न सन्तानको भविष्य    कथालाई सान्दर्भिक बनाउने कोशिशको हृदयदेखिनै सराहना गर्न चाहन्छु. तर नेपाली मजदूर को हाल कतारमा भएको बेहालको सान्दर्भिकता झल्काउने प्रयासमा मैले पाएको सानो "एरोर" भनेको दोस्रो र तेस्रो भाग बीचमा समयको असमानता:    पछिल्लो भाग (२) : SEPT 20, 2013 (प्लेनमा चड्नको लागि  तैयार) सनसनी पूर्ण GUARDIAN पत्रिकामा पर्दाफास भएको : SEPT 25, 2013 (http://www.theguardian.com/wor...   तेस्रो भाग (३) : OCT 2 (२० तारिकमा प्लेनमा चडेको तर conversation भने २५ तारिक को)   प्रसङ्ग अलिकति मेल नखाएको जस्तो लाग्यो. सानो कमेन्ट मात्र.  अर्को भागको प्रतीक्षामा ....    

daum · Oct 2, 2013 9:29 AM

 नेपाल सरकार भुँडी वोकेको वेश्या.....Lovely line, कथाको वहावले वगाउँदै छ दाई। नरोकौँ ।।।।गति दिउँ...

fucheketo · Oct 3, 2013 8:07 AM

somewhereontheearth  ज्यु, अर्को मज्जाको अनि यथार्थ परक भाग. 'म' पात्रले गरेको भावनात्मक अनुभूति र 'दाइ' पात्रले बुझेको यथार्तता दुवै आ-आफ्नै ठाउमा ठिक छन् जस्तो लाग्छ मलाइ. यो भागमा मलाइ सार्हैनै चित्त बुझेका दुइ वाक्यहरु: १. नेपाल सरकार त भुंडि बोकेको बेश्या जस्तो छ । न लोग्नेको टुंङ्गो, न सन्तानको भविष्य. २. मेरो देशको यो कस्तो चाँहि दरिद्रता हो जहाँ चुल्हो बाल्न लाशको भुंङ्ग्रो बाट आगो सापट लिन पर्छ! BTW , लेखक ज्यु, मेरो nick -name देखेरहोला सोध्नुभएको होला  झापा कुन ठाउमा भनेर! हजुर पनि झापा तिरकै हो कि के हो? मेरो घर चाही बिर्तामोड बाट  दक्षिण त्यो चारकोसे जंगल पारि तिरको गाउ तिर हो है. अर्को भागको सिघ्र प्रतिक्षामा!!!

Jhapali_Thito · Oct 3, 2013 12:45 PM

सोम दाइ , अस्तिना लाइक ठोकेको , कथाको भाग थपिएको खुसिमा ...आज बल्ल पढ्ने समय मिल्यो .... संधै झैं  मन पर्यो दाइ हजुरको विश्लेषण र दर्शन .....मन छुने तितो यथार्त एवं दुखद बास्तबिकता ..... यहाँ हरेक कुरो को चुरो भोक मा गएर अड्केको हुन्छ .... माड को भोक, माद को भोक, खुसिको भोक , सम्वृद्धिको भोक, मायाको भोक , सम्पन्नताको भोक, अनि अनगिन्ति अरु भोक हरु .... यहि भोकहरु नै होला साएद यी परिस्थितिहरुका कारण ....  << नेपाल सरकार त भुंडि बोकेको बेश्या जस्तो छ । न लोग्नेको टुंङ्गो, न सन्तानको भविष्य ।>>  <<मेरो देशको यो कस्तो चाँहि दरिद्रता हो जहाँ चुल्हो बाल्न लाशको भुंङ्ग्रो बाट आगो सापट लिन पर्छ!>> ..........---------साएद दुखद बर्तमान मेरो देशको यहि हो  .... यस्तो बर्तमानबाट कहिले सम्म नसिक्ने खै...थाहा छैन  बाँकी चांडै  पढ्न पाउने आशाका साथ प्रतिक्षारत  - थाने

ThahaChaena · Oct 9, 2013 11:23 AM

सोम दाइ, कथा टुंगेको हो र? अझै पनि फ्रतिक्ष्यामा!!

Jhapali_Thito · Sep 17, 2014 12:18 PM

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion

You might be interested in...

Recent Classifieds View all
Upcoming Events View all
Service Providers View all