मर्छु र सम्झना बन्छु

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

  मर्छु र सम्झना बन्छु     म फत्तेमान दाइको पछिल्लो गीत सुन्दै उहाँलाई सम्झिरहेछु र श्रद्धाञ्जली अर्पण गरिरहेछु । मर्छु र म डुंगा बन्छु, आउँदा नदी तार्न सकूँ मर्छु र म सम्झना बन्छु, आउँदा आँसु झार्न सकूँ   तस्वीरहरुः राजेश केसी   पछिल्लो पटक म फत्तेमान दाइलाई यही गीतको धुन सिकाउँदै हुन्छु– धुन सिर्जना गर्दाको आफ्नो मनोदशा समेत सविस्तार सुनाउँदै । त्यो वेला मैले मृत्युबारे कम र सम्झनालाई बढ्ता सोचेथें । मृत्यु त अन्तिम सत्य हो– सोचे पनि, नसोचे पनि आएरै छोड्ने । र पनि, हामीलाई मृत्युले भयभीत पार्छ । त्यही भयले हुनुपर्छ, म गीतको पंक्तिमा निहित मृत्युभावभन्दा स्मृतिभावसित निकट हुन खोजें । तर, गीतले बोकेको सम्पूर्णताबाट भागेर कसरी राम्रो धुन निस्कन्छ र ?   तेस्रो अन्तराको धुन बुनेपछि पुनः स्थायी गुनगुनाएँ । त्यतिवेला मात्र नयाँ धुनसित तरङ्गित हुँदै म गीतले बोकेको समग्रतामा प्रवेश गर्न पुगें । अचानक मैले काल्पनिक मृत्युवरण गरें । मेरो आत्मा डुंगा बन्यो । मैले प्रियजनलाई आफ्नो ढाडमा बोकेर नदी पार गराएँ । तर डुंगा बनेको ममाथि सवार प्रियजनले मलाई चिनेनन् । त्यो कल्पनाले धुन बुनिरहेको मलाई कता कोट्यायो कुन्नि, थाहा छैन । एकान्त कोठामा एक्लै धुन भर्दै रहेको म भक्कानिएँ । एकाएक मेरा गह भरिए । त्यस्तो अवस्थालाई मैले गीतको भाव र संगीतको तादात्म्य भएको अर्थमा लिने गरेको छु । त्यस दिन पनि त्यही ठानें र कम्पोजिसनलाई अन्तिम रूप दिएँ । यो पृष्ठभूमि गायकलाई पनि थाहा भए, स्वरको अभिव्यक्ति झन् प्रभावशाली हुन्छ भन्ने विश्वासले फत्तेमान दाइलाई संगीतको रचनागर्भ सुनाएँ । धुन सृजना गर्दाको मेरो अवस्था शब्दले बोकेको भावबाट निर्देशित थियो । शब्द र संगीतको दोभानमा गायकलाई उभ्याउने जिम्मेवारी कम्पोजरको हो, म त्यही गर्दै थिएँ । सामुन्नेमा हार्मोनियम थियो र त्यसमाथि गीतको प्रिन्टेड कपी । दाइले गीत लिनुभयो र हरफहरूमा घोरिनुभयो । मैले ठानें, उहाँ गीतको भाव बुझ्न खोज्दै हुनुहोला । तर, उहाँ त मैले सम्प्रेषण गरेको अवस्थाले आफूमा सिर्जित मनोदशा लुकाउन पो हातमा कागजको पन्ना उठाइरहनुभएको रहेछ । फत्तेमान दाइले कागजको सहाराले मेरा आँखा छल्दै आफ्ना गह पुछ्नुभयो । मैले त्यो वातावरणको गाम्भीर्यलाई भङ्ग गर्न चाहें र हार्मोनियमको पर्दामा औंला दौडाएँ । मर्छु र म डुंगा बन्छु... मैले सरसर्ती तीन वटै अन्तरा पनि सुनाएँ । “कसको शब्द हो यो ? बूढो अब मर्ने वेला भो’भनेर, मेरै निम्ति लेखेको हो कि क्या हो ?” यति भनेर दाइ खुलेर हाँस्न थाल्नुभयो । उहाँका दाँत कृत्रिम हुन् भनेर कसैले अनुमान लगाउन सक्दैनथ्यो । “दाइ, यो त धेरै वर्ष पहिले १९–२० वर्षको केटोले लेखेको गीत हो, मलाई मन परेर कम्पोज गरेको हुँ”, मैले उहाँको हाँसोमा साथ दिंदै भनें, “गीतकारलाई यो गीत तपाईंको स्वरमा गुञ्जला भन्ने अनुमानसम्म छैन ।” फत्तेमान दाइ केही सोध्न खोज्दै हुनुहुन्थ्यो, मैले गीतकारको नाम नखुलाई फेरि गीत सुनाएँ । दोस्रो पटक गीत सुनेपछि दाइले टाउको हल्लाउनुभयो र मन्द स्वरमा प्रतिक्रिया व्यक्त गर्नुभयो, “गीतको शब्द र भावसित संगीतको सही संयोजन हुनु भनेको सच्चा प्रेमी–प्रेमिकाको मिलन जस्तै हो ।” फत्तेमान दाइका अभिव्यक्तिमा किताबी दर्शनभन्दा भोगाइका अनुभव झल्कन्थे । “दाइ, मैले यो गीत मञ्जुल दाइको ‘साइँली मोरीलाई’ भन्ने संग्रहबाट लिएको हुँ ।” “मञ्जुलले कलिलो उमेरमै कति राम्रा गीतहरू लेखेका रहेछन् है !” ‘फत्तेमान सत्तरी’ अल्बममा पनि मञ्जुलको शब्द गाएको स्मरण गर्दै दाइले भन्नुभयो, “मेरै निम्ति कसैले हालसालै लेखेको जस्तो पो लाग्यो मलाई त ।” गीतको स्थायी सिकेपछि फत्तेमान दाइ अन्तरामा प्रवेश गर्नुभयो । मुटुको ढुक्ढुकी उस्कै, म त खाली भित्र हुन्छु हाड, छाला, मासु उस्कै, म त खाली चित्र हुन्छु     फत्तेमान राजभण्डारी   १३ मंसीर १९९३ — २५ भदौ २०७० फत्तेमान दाइको सांगीतिक यात्रा भजनबाट शुरू भएको हो । त्यसैले, उहाँले अँगालेको दर्शनको कोणबाट बोलिदिंदा सजिलो होला भन्ने सोचेर म त्यता प्रवेश गर्न खोजें, “दाइ, यो अन्तराले बोकेको भाव भजनसित नजिक छ नि, हैन ?” “नेपाली भजनहरू त भगवानसामु गुनासो पोखे जस्ता सुनिन्छन्, मलाई त्यस्ता भजन मन पनि पर्दैनन्”, उहाँले भन्नुभयो, “तर, यो अन्तरा त्यस्तो छैन र यो गीत नै पनि त्यस्तो छैन ।”   मैले मन चोर्न खोजेको भेउ उहाँले तुरुन्तै पाउनुभएछ । लागेथ्यो– कुनै धर्मभीरुले दिने खाले जवाफ आउनेछ, तर उहाँ त नास्तिक हो कि झैं पो देखिनुभयो । खल्वाट थाप्लोको केन्द्रमा अबीर केशरीको टीका लगाउने फत्तेमान दाइको स्पष्टता मलाई झन् मन प¥यो । मैले इ–फ्ल्याट स्केलमा आफ्ना औंलाहरू द्रुत बनाएँ । दाइ चुरोटको ठुटोलाई एस्टे«मा मिच्दै उही गीतको धुन गुनगुनाउन लाग्नुभयो । धुन सिक्दासिक्दै कहिलेकाहीं कुरा अन्तै मोडिन्थ्यो । त्यो दिन पनि त्यस्तै हुन नखोजेको हैन, तर कुराकानीको सन्दर्भ मृत्यु प्रसंगबाट धेरै पर भागेन । मैले पशुपतिका भँडारी फत्तेमान दाइलाई स्वर्गका बारे सोधें । “स्वर्ग र नर्कबारे मेरो लाटो जवाफ छ”, दाइले तुरुन्तै आफ्नो धारणा राख्नुभयो । उहाँका अनुसार, यी सब पेशा चलाउने कुरा हुन् । संसारमा आजसम्म अर्बौं मान्छे जन्मिएर मरिसके । विज्ञानले पनि यत्रो प्रगति गरिसक्यो । मरेकामध्ये कति धुरन्धर वैज्ञानिकहरू पनि छन् । खै तिनले सन्देश पठाएको ? तिनले स्वर्ग यस्तो रहेछ, नर्क उस्तो रहेछ भनेर भन्नुपर्ने होइन र ? त्यसकारण, आफूले त यही धरतीलाई स्वर्ग–नर्क मानेको बताउँदै हाँस्न थाल्नुभएका दाइको औंलाबीच चुरोट चेपिएको थियो । त्यसको धूवाँ मेरो नाकसम्म आएर ठोक्कियो । दाइको अनुमति लिएर मैले पनि एउटा सल्काएँ । म दाइको ओजस्वी स्वरको ठूलो प्रशंसक । मैले एक पटक दाइको गलाको गहकिलोपनबारे सोध्दा उहाँले यसमा चुरोटले पनि सघाएको हुनसक्ने बताउनुभएको थियो । त्यो भनाइबाट प्रभावित भएछु कि कसो, मैले पनि चुरोट शुरू गरेथें । त्यसको करीब तीन वर्षपछि म चुरोटबाट टाढिएको थिएँ । फत्तेमान दाइले भने डाक्टरले बारम्बार छोड्न भन्दा पनि लुकीलुकी चुरोटलाई निरन्तरता दिनुभयो । चुरोटसित उहाँको संगत अमेरिकी गायक नाट किङ कोलको जस्तो रह्यो । अल्सर भएको आन्द्राको अप्रेशनपछि डाक्टरले चुरोट छोड्न भन्दा नाटले आफ्नो ‘सफ्ट बेरीटोन भ्वाइस’ को मिठास चुरोटले बढाएकोले त्यसलाई छोडे फ्यानहरू सकिने जवाफ दिएका थिए रे ! त्यसपछि फोक्सोको समेत क्यान्सर भएर ४६ वर्षकै उमेरमा ती महान गायक÷संगीतकार यो संसारबाट विदा भए । नाटको अवसान भएको ४८ वर्षपछि म संसारको यो कुनामा उनलाई सम्झँदैछु, उनको ‘अनफर्गटेवल’ सुन्दैछु । आधा शताब्दी पहिले वितेका नाट त गीतमा मेरो समयसित बाँचिरहेछन् भने हामीसितै पलेंटी कसेर गीत सुनाएका फत्तेमान दाइलाई कसरी बिर्सौंला ?

timi_mero_sathi · Sep 17, 2013 10:48 AM · 3,646 views

Replies
No replies yet.

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion

You might be interested in...

Recent Classifieds View all
Upcoming Events View all
Service Providers View all