यस कारण निकालिए टंकप्रसाद

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

  यस कारण निकालिए टंकप्रसाद पत्रकारका नाताले मात्र होइन, कुनै बेला उनकै पार्टीको कार्यकर्ता रहेकाले पनि टंकप्रसाद आचार्यसँग मेरो सम्बन्ध ज्यादै नजिकको रह्यो। उनी मलाई ज्यादै स-साना कुरा पनि सुनाउँथे। प्रधानमन्त्रीका रूपमा आचार्य भारत भ्रमणमा जाँदाको कुरा हो। उनले मलाई सोधेका थिए, "भारत भ्रमणमा तिमी किन नजाने ?" एक त आफ्नै पत्रिका समाजभित्र सामान्य खटपट, त्यसमाथि भर्खरै चीन भ्रमणबाट फर्किएकाले पशुपतिदेव पाण्डेलाई लैजान अनुरोध गरेँ। तर, उनले सूचना विभागका तत्कालीन डाइरेक्टरलाई लिएर गए। त्यस बेला म बरोबर आचार्य निवासमा पुग्थेँ। साँझ-बिहान हामी अन्तरंग कुराकानी गरेर बिताउँथ्यौँ। उनी भारत भ्रमणबाट फर्किएपछि मुम्बईको समुद्र किनार घुम्दाको कुरा निस्कियो। मनोरञ्जनका कुरा भए। त्यसैबीच नेपालका लागि भारतीय राजदूत भगवान सहायले गरेको राजनीतिक टिप्पणीबारे उनले कुरा उप्काए। नेहरुका ज्यादै नजिकका मान्छे मानिन्थे भगवान सहाय। उनले आचार्यसँग 'नेहरुलाई मनाउने जिम्मा मेरो भयो, राजा महेन्द्रलाई दिल्लीको राजा बनाइदिऊँ' भन्ने प्रस्ताव राखेछन्। उनले यस्तो जवाफ दिएछन्, "नेपालका सारा नदी कहाँ जान्छन् ? वाग्मती हुँदै गंगामा मिसिएर अन्त्यमा जाने त समुद्रमै हो। अब तिमी आफैँ भन, मैले केही गरी गंगालाई बीचबाट फर्काएर काठमाडौँ लगेँ भने काठमाडौँको हालत के होला ?" आचार्यको कुरा सुनेर सहायले 'आप से कोही बात नही कर सकता' भन्दै मुन्टो बटारेछन् ! राष्ट्रिय भावना भन्ने कुरा भित्र कताबाट बोल्छ, थाहा हुँदैन। ढ्याङ्ग्रो पिटेर या घाँटीमा ट्याग झुन्ड्याएर राष्ट्रवादी भइँदैन। राष्ट्रवादी हुन त चरत्रि चाहिन्छ, बोली, व्यवहार, क्रियाकलापमा त्यो झल्किनुपर्छ। सारा दुनियाँका अगाडि विदेशीका खुट्टा समातेर अनुनय/विनय गर्दै पद र प्रतिष्ठाका निम्ति हारगुहार गर्नेहरू केको राष्ट्रवादी ? मित्रता र सम्बन्धको परभिाषा चाकरी, नोकरी र खुट्टा मोल्नेबाट गर्न सकिँदैन।  मानिसहरू महेन्द्रलाई राष्ट्रवादी राजा भन्छन्। तर, म त्यो कुरा मान्दिनँ। किनभने, प्रधानमन्त्रीले चाहँदा त धेरै कुरा सुधार हुन्छ भने राजाले चाहँदा के हुँदैनथ्यो ? मन्त्रिपरिषद्को बैठक चलिरहँदा भारतीय राजदूत ठाँटसँग उपरखुट्टी लगाएर कुर्सीमा बसेका हुन्थे। राष्ट्रवादी हुन् भने त उनको उपस्थितिका विरुद्ध उनले किन बोल्न सकेनन् त ?  आखिर आचार्यले हिम्मत गरे। तत्कालीन भारतीय राजदूत सीपीएन सिन्हालाई उनले खुला रूपमै भनिदिए, "हाम्रो देशको नीति-निर्माण र राष्ट्रिय सरोकारका विषयमा छलफल हुने मन्त्रिपरिषद्को बैठकमा तपाईंको उपस्थिति सुहाएन। अबदेखि तपाईं हाम्रो बैठकमा उपस्थित नहुनु होला।" सिन्हाको चुरीफुरी बढिरहेको त्यस्तो समयमा खुलेर उनलाई यस्तो भन्ने हिम्मत आखिर आचार्यले नै गरे। मन्त्रिपरिषद्को बैठकबाटै निर्णय गरी भारतीय राजदूतको उपस्थितिलाई प्रतिबन्ध लगाए। भारतीय सुरक्षा मिसनका सभामा नेपाली प्रधानमन्त्री उपस्थित हुने प्रचलन पनि उनैले तोडका हुन्। त्यस बेला दाङ, भालुवाङको दसगजाभित्र आएर बसेको भारतीय सैनिक मिसन पनि आचार्यकै सक्रियतामा त्यहाँबाट हट्न बाध्य भएको थियो। उनकै सक्रियतामा त्यस्ता धेरै काम भएका छन्। त्यसैले म त सच्चा राष्ट्रवादी नेता कोही हो भने आचार्य नै हुन् भन्न रुचाउँछु।  उनले राजा महेन्द्रलाई भनेकै थिए, "मेरो कारणबाट यदि राजालाई अप्ठ्यारो पर्छ भने मलाई बलिको बोको बनाउन सक्नुहुन्छ।" तर, महेन्द्रले आचार्यका विरुद्ध जुन खेल खेले, त्यो सामान्य होइन। उनलाई निर्वाचन गराउन नसकेको आरोपमा प्रधानमन्त्रीबाट हटाइयो। त्यतिखेर राजाले केको चुनाव गराउने भन्ने कुरा पनि स्पष्ट गर्न सकेका थिएनन्। आचार्यले 'राजा भएको मुलुकमा संविधानसभाको होइन, संसद्को चुनाव हुनुपर्छ' भनेर त्यसै भनेका होइनन्। उनले आफ्नो सत्ता टिकाउन त्यसो भनेका होलान् भन्ने मलाई लाग्दैन। किनभने, उनी पद र प्रतिष्ठाका भोका थिएनन्। उनी आफ्नो सर्वस्वपछि घर-जग्गा र जायजेथाको मुआब्जा नलिने नेता हुन्। झूटो बोल्न नजान्ने उनको स्वभाव थियो। यदि केही गरी ठट्टामै झूटो बोले भने पनि तीन-चारपटक फोन गरेर सच्याइहाल्थे। राजा स्वयंले आफ्ना सचिव लोकदर्शन बज्राचार्यको घरबाट जुलुस निकाल्न लगाएर आचार्यको मन्त्रिपरिषद्को विरोध गर्न लगाएको हल्ला त्यसबेला चलेको थियो। त्यस बेला मोहरको तीन माना चामल पाइन्थ्यो। मूल्यवृद्धिपछि मोहरको साढे दुई माना चामल पाउन थालिएको थियो। त्यस बेला आचार्यले राजालाई सोझै भनेका थिए, "मबाट केही गल्ती भएको हो भने मलाई नै भनिबक्से हुन्छ। गल्ती औँल्याइदिँदा म खुसी नै हुन्छु। सुधार्ने मौका पाउँछु।" आचार्यको १८ महिने शासनकालमा नेपालले के पायो, के पाएन भन्ने कुरा मुखले भन्नुभन्दा त्यस बेलाका दस्तावेज र इतिहासको अध्ययन गरे छर्लंग हुन्छ। राष्ट्रियताका सवालमा उनले कोरेको रूपरेखालाई अनुसरण मात्र गर्न सकेको भए पनि मुलुक आज विदेशी शक्तिको चलखेल र क्रीडास्थल बन्ने थिएन। राजालाई लाग्यो, प्रधानमन्त्री आचार्य त जनताका पि्रय बन्न थाले। अब निर्वाचन पनि उनकै नेतृत्वमा सम्पन्न भयो भने सबै श्रेय उनैलाई जान्छ। अनि, राजाले फुकी फुकी कदम चाल्न थाले। ३१ असार २०१४ मा आचार्य नेतृत्वको सरकार विघटन गर्नुपूर्व राजा महेन्द्रले १९ देखि ३० असारको बीचमा बीपी कोइराला, भद्रकाली मिश्र, रामहर िशर्मा, सूर्यप्रसाद उपाध्याय, डा केआई सिंह, सुवर्णशमशेर जबरा, रणधीर सुब्बा आदि धेरैलाई भेटेर सल्लाह-सुझाव लिए। तर, बाजी डा केआई सिंहले मारे, आचार्यपछि उनै प्रधानमन्त्री बने।

_____ · Sep 15, 2013 2:36 PM · 1,146 views

Replies
No replies yet.

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion

You might be interested in...

Recent Classifieds View all
Upcoming Events View all
Service Providers View all