अमिगा

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

संसारमा सवैभन्दा वुझ्न सरल के हुन्छ ? केटिमान्छे । किनकी उ जव खुल्छे पत्र पत्र खुल्छे ।वुझ्न वाँकी केहि छैन जस्तो लाग्छ । अनी सवैभन्दा वुझ्न जटिल ? केटीमान्छे ! किनकी खुल्नु नखुल्नु उसको अधिकारमा पर्छ हाम्रो भागमा त मात्र उ खुल्ने प्रतिक्षा पर्छ। "केरेस फुमार?" उसले आफ्नो ल्यावकोट फुकाल्दै सँधै जस्तै मलाई सोधी! "नो केरो! तिमी सँधै मलाई चुरोट खाँदा मलाई किन लैजान्छौ, मलाई स्मोकिंग रुममा अफ्ठ्यारो लाग्छ !" मैले उसलाई नियाल्दै जवाफ फर्काएँ।ल्यावकोट जस्तोसुकै रंगिन मान्छेलाई पनि साधा,श्वेतश्याम देखाउँछ।उ नत्र त रंगिन छे। "हिँड न, तिमी कफि पिउनु नि त !" उसले मेरो हात समातेर तानी ! "ओके,दुई मिनट ,एउटा रिडिंग लिनु छ , देन आइ एम फ्री !" मैले मेरो पिएच मिटर तिर आँखा डोर्याउँदै भने। उ छेवैको टेवलमा वसी। कालो कपाल,चुच्चो नाक,ठूला आँखा मैले एक चोटी उसलाई जिस्क्याएको थिएँ "नेपालमा तिमीले नवोलुन्जेलसम्म कसैले वाहिरको भनेर पत्ता लाउन सक्दैन !" उसले हाँस्दै जवाफ फर्काएकी थिई "नेपाली हुनलाई लाटी हुनुपर्ने रैछ !" **************** ******************* *************** ******* ******* *********** कोठा भित्र धुवाँको साम्राज्य थियो।मलाई धुवाँ मन पर्दैन तर उसको साथ र उसका कुरा मन पर्छ।मेरो निरस जीवनमा उ एउटा रंग हो। उसँगका वातहरु जीवनमा एउटा आयाम थप्छन्।मेरो वुझाइका आकार परिवर्तन गर्छन्। उ प्रत्येक भेटहरुमा मेरो क्षितिज चौडा गर्छे। त्यसैले मलाई मन नपरेपनि म उसको धुवाँको साथ दिन्छु। "किन मौन ?" उसले मेरो ध्यान भंग गरी।धुवाँमा उसको आवाज मिसियो। "के वोलुम भन न त ?" म थोरै मुस्काएँ। "सँधै जस्तै चुरोट खाने वानी राम्रो हैन भन्न त पक्कै सक्छौ !" उ खितित्त हाँसी । "तिमी मलाई पनि विरामी वनाउँदै छौ थाहा छ ?" मैले उसलाई नियाल्दै सोधेँ। "कहिलेकाहिँ म छुट्याउन सक्दिन के ! यो चुरोट को हो की तिम्रो नशा हो ! एक्लै पिउँदा खल्लो हुन्छ मोरो चुरोट पनि !" उसले आफ्ना पातला ओठवाट धुवाँ छोडी अनि फेरि शुरु गरी "अर्को हफ्ता म मेक्सिको जान्छु होला,स्याम्पल लिनुपर्ने छ।" "कति दिनलाई ?" मलाई पनि त उसको साथको लत वसेको छ। "तिम्रो डिफेन्स कहिले रे? १ महिना पछि होइन ? म आइपुग्छु तिमीलाई विदा गर्न !" धुवाँ अर्को चक्का वनाउँदै उड्यो। म थेसिसको अन्तिम अन्तिम मा पुगिसकेको थिएँ। उसको अझै काम वाकी थियो।शायद म नेपाल फर्केको एक महिना जति पछि फर्किन्छे होला उ पनि मेक्सिको! "अनि घर पुग्ने वित्तिकै विहे गर्छौ त ?" उसले मलाई फेरि जिस्क्याई। "थाहा छैन !" अलमलिँदै जवाफ फर्काएँ । के पो भनौँ , "केटी खोज्छन् वाउ आमाले" भने  देखी उसले मलाई जिस्काउन थालेकी हो खास। मेरो प्रस्तुतीले मैले केटी पाउन खासै मेहनत गर्नु पर्दैन भन्छे उ। एक चोटी चोट पाएपछि मलाई भने आफ्नो रोजाइमा विश्वास लाग्न छोडेको छ। म घरले खोजेकै केटी विहे गर्छु भन्दा उसले अचम्म मान्दै आँखाले नै हजारौँ प्रश्न सोधेका थिए " कसरी ? कहाँ ? किन ?" ।तर उसको प्रश्न नै मौन वनेपछि मैले पनि मौन उत्तर फर्काएँ। भिन्न धरातल,विश्वास र आस्थाका यात्री हामी त्यो मोडमा भेटिएका छौँ। एकछिन विसाएर उ आफ्नै वाटोमा , म आफ्नै वाटोमा। "तिमी नि?" मैले प्रतिप्रश्न गरेँ। "अहिले गर्दिन !" उसले ठुटो फ्याँक्दै जवाफ फर्काई।"पर्ख है, म पनि एक कप कफि लिएर आउँछु !" "के लाई पर्खेकी त ?" "अझै निर्क्यौल गर्न वाँकी छ !" उसले कफि सुरुप्प पारी। "तिमी विहासँग डराउँछ्यौ !" मैले उसलाई जिस्क्याएँ। उसले पुलुक्क म तिर हेरी। उसका ठूला आँखाहरु एकैचोटी धेरै भाव वोक्छन्,वुझीसाध्य नहुने! "तिम्रो जस्तो नचिनेको मान्छेसँग हुने भएको भए त डराउनु आवश्यक पनि हुन्छ ! विहे हो कि जुवा,छुट्याउनै गाह्रो ! " उसले मलाई विझ्ने गरी नै जवाफ दिई। "एउटा कुरा सोधौँ ?" मैले मौकाको फाइदा उठाएँ "सोध न !" " उ सँगको तिम्रो सम्वन्धमा तिमीलाई अफ्ठ्यारो केहि लाग्दैन ?" विस वर्ष भन्दा वढी होला उसको वोइफ्रेण्ड र उसको उमेरको फरक । उ पच्चिसकी ,केटो पचास हुनुपर्छ।केटो गम्भिर छ। एकचोटी मलाई भेट्टाएकी पनि हो उसले उसको व्वायफ्रेण्ड सँग ! वुढो, दाह्री पालेको ! म सोच्थेँ अनुहारले थोरै भए पनि महत्व राख्छ मायामा तर मेरो मायाको परिभाषा नै उसले त्यो दिन देखी परिवर्तन गरिदिई। "सम्वन्ध नै सजिलो अफ्ठेरोको साटासाट न हो! जुनदिन देखी तिमीलाई अफ्ठ्यारो लाग्न थाल्छ तिमी अर्को सम्भावना खोज्छौ ! हैन र ?" म चुप लागेँ। उसका उत्तरहरु मलाई चित्त वुझ्छन् । कहिले काहिँ आफ्नो जीवन उ जस्तै स्वच्छन्द भइदिए भनेर सोच्छु। तर म सँग उड्ने प्वाँख खोइ ? ति पखेटा त मेरो समाजले काटेको छ । "आमा वुवाको व्रेकअप पछि मलाई एकै उमेरका केटाहरु सँग डर लाग्न थालेको थियो !" उसले अर्को कुरा कोट्याई। उसको जीवनको अर्को कालो पाटो! "भन्नाले ?" अरु वढी कोट्याउने रहर जाग्यो मलाई। "कलेज अफेयर थियो! म जन्मेको एक वर्षमा नै डिभोर्स गरे। अहिले वुवा मेक्सिकोमा आमा जर्मनीमा आ-आफ्नो परिवार सँग छन् ! " उसले अर्को चुरोट सल्काई।"म चाहन्छु मेरो सम्वन्ध त्यस्तो नहोस् , तिमीहरुको जस्तो होस्,जन्म जन्म चल्ने ,टिकाउ। वुढो भए पनि भरपर्दो छ। हाम्रा कुरा मिल्छन् ! मलाइ उ मन पर्छ " उ खिस्स हाँसी । "यदि तिमी नै त्यसो भन्छौ भने !" उ मेरो ठाउँमा छैन त्यहि भएर भन्छे। मेरो ठाउँमा भएको भए थाहा हुन्थ्यो। "जौँ ,हिँड ! " उ जुरुक्क उठी। म पनि उसका शव्दहरु बुन्दै उसको पछि लागेँ। **************** **************** ************ *************** *********** ****** आज उ अलि गम्भिर थिई । मौन, मात्र धुवाँ फुकिरहेकी, मौनता नै धुवाँ वनेर वाहिर निस्के जस्तो! "के भयो ? म सँग शेयर गर्न सक्छौ नि ! कुरो गुम्सिएको त नराम्ररी विझ्छ!" मैले उसमा उसका शव्दहरु खोजेँ, मौनताको साटो। "तिमीलाई चुरोटले पोल्ला !" उसको हात समाउदै गर्दा उसले मेरो हातको ख्याल गरी। मैले चुरोट छेउवाट हात हटाएँ। " उसको छोरो पनि हामी सँगै एपार्टमेन्ट शेयर गर्न आउँदैछ !" उसले एक सासमै उसको दुविधा पोखी ! "अनी तिमी चाहन्नौ ?" "थाहा छैन ,अठार वर्षको अल्लारे केटो !" उ चुप भई। मैले उल्टोपटि वाट गन्ति गरेँ ! उ भन्दा सात वर्ष कान्छो उसको छोरो !!!!! "म उसलाई धेरै चाहन्छु तर पनि !!!!!!"एक छिन रोकिएर खुलेको उसको आवाजमा शंका मिसियो। "अव के गर्छौ त ?" मैले फेरि प्रश्न राखेँ ! "हेरौँ दुई चार दिन !!! तिमीलाई थाहा छ ? मलाई किन हो किन आजकल तिम्रो जीवन जिउन मन लाग्छ। राजकुमारीको सपना देख्ने, भेटेपछि यहि हो राजकुमारी भनी ठान्ने ! जहाँ महत्वकांक्षाले कम महत्व पाउँछन्!!! जहाँ मान्छे भन्दा परिवारसँग विहे हुन्छ !!!" मैले आफ्नो जीवन उसको जीवन सँग दाँजी हेरे ! आमा दुइ चार जना केटीहरुको नाम सँधै भनीरहनु हुन्छ ।छान्न त मैले पनि पाएको छु। मैले केहि वोलिन ,मात्र उसलाई सुनीरहेँ!! सँधै स्काइपमा केटीका कुरा ! दिक्क लाग्न थालेको छ। नेपालै आएर हेर्छु भन्दा पनि नहुने! "ह्या आमा ,वहिँ आएर हेरौँला अव !" मैले स्काइप वन्द गर्दै फेसवुकमा आमाले दिएको एउटा नाम टाइप गरी सर्च गरेँ । एउटै नामका सात जना केटी देखिए। दिक्क लाग्यो,अनि फेसवुक पनि वन्द गरिदिएँ। समाप्त      

fucheketo · Sep 15, 2013 10:29 AM · 22,560 views

7 Replies

Short and sweet. Great work fuchheketo.

Karnali Blues · Sep 15, 2013 11:45 AM

संसारमा सवैभन्दा वुझ्न सरल के हुन्छ ? केटिमान्छे । किनकी उ जव खुल्छे पत्र पत्र खुल्छे ।वुझ्न वाँकी केहि छैन जस्तो लाग्छ । अनी सवैभन्दा वुझ्न जटिल ? केटीमान्छे ! किनकी खुल्नु नखुल्नु उसको अधिकारमा पर्छ हाम्रो भागमा त मात्र उ खुल्ने प्रतिक्षा पर्छ। R u serious? Fuchche! Wait I am writing a dictionary for guys on how to understand a woman! If she is angry, u r throwing ur dirty socks all over the room and wet towel on the floor. It is so simple, why don't u understand her? Hey bhagwan! Thank you for one more interesting story!

crazy_love · Sep 16, 2013 8:57 PM

 गजबको कथा! @साहिंली: यो फुच्चे बरै, केटी आँक्न खोज्छ , घरि बुझ्न खोज्छ । नियम बनाउन खोज्छ । केहि मिल्छन, धेरै मिल्दैनन् । अनि हतास हुन्छ । अनि लेखिदिन्छ :  "...संसारमा सवैभन्दा वुझ्न सरल के हुन्छ ? केटिमान्छे । किनकी उ जव खुल्छे पत्र पत्र खुल्छे ।वुझ्न वाँकी केहि छैन जस्तो लाग्छ । अनी सवैभन्दा वुझ्न जटिल ? केटीमान्छे !! "  अनि बबुरोको सारा अनुसन्धानको निचोड, तिमी मोजा र तौलियामा टुंङ्गयाउने ? बिचरो बल्लबल्ल बिहे गर्छु भनेर  केटि हेर्न लागेको छ, बिच्केला! -somewhereondearth

somewhereondearth · Sep 17, 2013 10:27 AM

 फुच्चे केटा    कथा मज्जा को लाग्यो है   एउटा कुरा नि , केटि मान्छे लाई किन बुझ्न पर्यो ?  मेरो उपाए अपनाउ मेरॊ  त्यो के भने  संसार मा सबै कुरा बुह्जना जरुरि पनि छैन, बुझेर साधे पनि छैन   हे हे 

timi_mero_sathi · Sep 17, 2013 10:36 AM

 वाह ! फुच्चे साथि फेरी पनि एउटा उत्तम कथा ..... हरेक शब्द हरेक वाक्य हरेक हरफमा एउटा ओज बोकेको कथा..... मौनता ले अवाक रहेर पनि  कत्ति धेरै भनिरहेको हुन्छ हुन पनि .....    अरु पनि पढ्न पाम    - भोको   थाहा छैन 

ThahaChaena · Sep 17, 2013 10:45 AM

 Karnali Blues- Thank you Sahili- सत्य रुप फेर्छ। कहिलेकाहिँ मेरो आँखावाट तिमी आफुलाई हेर तिमी आफुलाई जटिल पाउनेछौँ ,कहिलेकाहिँ तिम्रो आँखावाट म तिमीलाई हेरौँला खुला किताव जस्तो लागौली ;)Thank you for such a sweet response Somedai- गोप्य कुरा छरपष्टै पारिदिने दाई ;) Thank you for your support :) Timimerosathi- Will try to follow u, संसारमा सवै कुरा वुझी साध्य छैन, सहि कुरा थाने- सकेसम्मको प्रयास गर्नेछु ,भोक मेट्ने  सोम दाईले भने जस्तै , "...मेरा कथामा मेरो अधिकार छैन, यो त अंश अंश देखेका पात्रको पेवा सम्पति हो, मेरो लेखाईको मोईयानी भने लाग्छ!.." 

fucheketo · Sep 18, 2013 10:05 AM

 पढ्न भ्याको अनि सदा झैँ राम्रो भनि लेख्न नभ्याको बल्ल मौका जुर्यो ... सारै चित्त बुझ्यो यो कथा.. छोटो छ अनि धेरै मिठो पनि ...  @somewhereondearth : म पनि दाई नै भन्छु है ... हजुरको कथा पनि येसो पढ्न पाउ न ... अदितिको साथी अहिले समझदा पनि काडा उम्रन्छ जिउमा ... लौ न दाइ किन येति सरो कुरौउनु भाको ...   

Aakinchan · Sep 19, 2013 1:36 AM

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion

You might be interested in...

Recent Classifieds View all
Upcoming Events View all
Service Providers View all