यसरी दुःख दियो मलाई अध्यागमनले By mysansar, on August 27th, 2013 अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचारको अभियोगमा धमाधम कर्मचारी पक्राउ गरिरहेको छ। यसै क्रममा धेरै कर्मचारीहरु अध्यागमन विभागका पनि रहेका छन्। नेपालको अध्यागमन यात्रुहरुलाई अनावश्यक झण्झट दिने गरेकोमा बदनाम छ। घुस खाने मात्र हैन, इज्जत लुट्ने काम पनि अध्यागमन कै कर्मचारीहरुबाट भएको जगजाहेर छ। अहिले जुन कर्मचारी अख्तियारको हिरासतमा छ, त्यही मध्येका एकबाट पीडित भएकी थिइन् बेल्जियम निवासी एक महिला। बेल्जियमबाट नेपाल ओर्लँदा र उताबाट नेपाल फर्कँदा उनले निकै दुःख पाए। कर्मचारीहरुले आफूसँगै गएका नाबालक छोराहरुको पासपोर्टलाई नक्कली भने, फर्कँदा छोराहरुलाई इल्लिगल भने। बेल्जियममा रहेका पत्रकार सन्तोष न्यौपानेले पीडितसँग कुरा गरेका छन्। थप विवरण पीडित कै शब्दमा- नाम मिका राई हो। म बेल्जियमको ब्रुज शहरमा बस्छु। नेपाल जान नेपाली दूतावास ब्रसेल्सबाट मेरो र मेरा छोराहरु १० वर्षका रोशन घिमिरे र ८ वर्षका रोहन घिमिरेको अस्थायी पासपोर्ट बनाएको थिएँ। एमआरपीको लागि समय लाग्ने हुँदा फर्किएपछि मात्रै एमआरपीको आवेदन दिने सोच थियो। हामी ३ हप्ताको विदामा नेपाल जुलाई २९ तारिखका दिन पुग्यौँ। हामीलाई कुरेर आफन्तहरु बाहिर बसिरहनुभएको थियो। निस्कने क्रममा अध्यागमनमा पासपोर्टमा छाप हान्ने बेला मेरो बच्चाहरुको पासपोर्ट सुरुमा नक्कली भनेर आरोप लगाए। अनि त्यही विषयमा हामीलाई घण्टौँ भित्रै राखे। त्यहाँ घुस खान खोजेको भन्ने प्रस्टै भयो। तर नखाएको विष लाग्दैन, घुस दिने कुरै भएन। पछि पासपोर्ट उनीहरुसँगै राखेर हामीलाई बल्ल बल्ल ३ घण्टापछि बाहिर निस्कन दिइयो। पछि पासपोर्ट लिन आउनको लागि अध्यागनम विभागको कार्यालय कालिकास्थान बोलाउँदै यस्तो चिट दिइयो। विमानस्थल अध्यागमन कार्यालयले दिएको चिट। पासपोर्ट नम्बर र फोन नम्बर व्यक्तिगत जानकारी भएकोले सम्पादन गरिएको हो। पासपोर्ट ब्रसेल्स दूतावासबाट बनाएको हुँदा उनीहरुले तत्काल सोधपुछ गर्न सक्थे। तर ती कर्मचारीले त्यसो गरेनन्। बरु उल्टै केरकारको लागि भनेर पासपोर्ट नै जफत गरिदिए। अहिले ५ जना कर्मचारी अख्तियारमा जो रंगेहात पक्राउ परे, तिनै मध्यका हुन् हामीलार्इं सास्ति दिएर घुस खान खोज्ने। ३ घण्टा त्यसरी राख्दा मेरो समय बर्बाद त भयो-भयो, मलाई र बच्चाहरुलाई कम्ता मानसिक तनाव भएन। उता मेरो श्रीमान आत्तिरहनुभएको थियो, यता मलाई कुरेर बस्ने मेरा आफन्तहरु। अझै त्यसमा पनि बच्चाहरुको पासपोर्ट नै जफत गरिदिँदा कुन साइतमा बिदा मनाउन आएछु जस्तो भयो। पासपोर्ट लिनको लागि अध्यागमन विभाग, कालिकास्थान आउनु भनेर कर्मचारीहरुले भने। तर भनेको समयमा पासपोर्ट कहाँ पाउनु ! मेरो श्रीमानले बेल्जियमदेखि अध्यागमन विभाग कालिकास्थानमा बारम्बार सम्पर्क गर्नुभयो। तर ती कर्मचारिले आफनो वास्तविक परिचयनै लुकाए। एक जना हरिनारायण श्रेष्ठ बताउने कर्मचारीले छोराहरुको पासपोर्ट सक्कली नक्कली बुझ्नको लागि ब्रसेल्स पठाउने भने। तर कर्मचारीले पासपोर्ट लिएको १२ दिनपछि मात्रै बुझ्नको लागि ब्रसेल्स पठाएछन्। नक्कली हैन भन्ने भएपछि पनि मैले उल्टो ३ सय ५५ रुपियाँ तिरेर पासपोर्ट फिर्ता लिनुपर्यो। त्यो रकममात्र हैन, मेरो कति धेरै समयको बर्बादी भयो। कति धेरै मानसिक तनाव मैले भोग्नुपर्यो। सुरुमा कालिकास्थान जान भनियो। गएँ। तर त्यहाँका कर्मचारीले यहाँ छैन त्रिपुरेश्वरको कन्सुलर शाखा जान भने। फेरि अर्को दिन त्रिपुरेश्वर लागेँ। त्यहाँ पनि बच्चाहरुको पासपोर्ट रहेनछ। फेरि त्यहाँका कर्मचारीहरुले नारायणहिटी दरबार स‌ङ्ग्रहालय भवनमा रहेको राहदानी शाखामा जान भने। त्यहाँ बल्ल मैले पासपोर्ट पाएँ। त्यो पनि बिना कुनै दोष उल्टो रकम तिरेर आफनै खोसिएको पासपोर्ट लिनुपर्‍यो। बेल्जियम फर्कने समयभन्दा तीन दिन अगाडि २० अगस्टको दिन बल्ल पासपोर्ट हात पर्‍यो। उता ब्रसेल्स दुतावासबाट भने काम छिटो नै भयो, जति दुःख पाउने हो हामीले आफनै स्वदेशमा पायौँ। हैरानी यत्तिमा सकिएन। अब फेरि बेल्जियम फर्कने बेलामा सास्ती पाउन बाँकी रहेछ। जाँदा पासपोर्ट नक्कली भनेर रोकेका थिए, फर्कन लाग्दा बच्चालाई इलिगल भनिदिए। मलाई एकातिर, मेरा नाबालक बच्चाहरुलाई अर्कोतिर लगियो। हेर्नु त आपत्, हामीले त्यतिखेरसम्म लगेज दिएर पनि बोर्डिङ पास लिइसकेका थियौँ। आफनै सन्तानलाई अवैधानिक भनिदिँदा अनि मलाई र छोराहरुलाई अलग-अलग बनाइदिदा मेरो मन कति रोयो? आखिर उनीहरुले घुस खानकै लागि मलाई र बच्चाहरुलाई अलग-अलग बनाएका रहेछन्। पछि एकजना चिनेको भाइको कारण बल्ल सबै कुराहरुबाट मुक्ति मिल्यो। मैले बच्च्चाहरुको सबै विवरण जन्मदर्ता, नाता प्रमाणित लगायत चाहिने जति सबै कागजपत्र लगेको थिएँ। ती कर्मचारीहरुलाई देखाएको पनि थिएँ। तर ती कागजपत्र कतिखेर कुन बहानामा पैसा झारौँला भनेर बसिरहेका भ्रष्ट कर्मचारीको लागि कुनै तुक नै भएन। २१ दिनको मेरो नेपाल बसाईमा मेरो दिनचर्या पासपोर्टको टेन्सनमा बित्यो। अनि फर्कने बेलामा थप सास्ती। यी सबै सम्झँदा फेरि स्वदेश फर्कन पनि के फर्कनु जस्तो भएको छ। के एयरपोर्टका कर्मचारीहरुलाई घुस नखाई खान पुग्दैन ? अहिले घुसखोरहरुलाई प्रमाणसहित पक्रँदा ‘मनोबल गिर्ने’ भन्दै कर्मचारी नेताहरुले आन्दोलन गर्ने चेतावनी दिएछन्। मजस्ता सयौँ नेपालीलाई यसरी अध्यागमनमा दुःख दिँदा हाम्रो मनोबल गिरेको हिसाबकिताब चाहिँ कसले राख्ने ? कसैले जवाफ दिनसक्छ ?
_____ · Aug 27, 2013 10:12 AM · 2,167 views
मैले पनि यसरी दुःख पाएको थिएँ एयरपोर्ट अध्यागमनमा By mysansar, on August 27th, 2013 -नीराजन शिरीष- दुर्इ बर्ष पहिले नर्बेबाट १५ दिने छुट्टी मनाउनका लागि नेपाल आएर फर्कदा त्रिभुवन विमानस्थलमा मैले जुन अकल्पनिय र निकृष्ट ब्यवहार अनुभव गरेको थिएँ लगभग उस्तै अनुभव यसपाली देश छाड्दै गर्दा विमानस्थलमा अनुभव गरेँ – एकजना कर्मचारी भनौंदोबाट । उसको व्यवहारले मलाई यस्तो रिस उठ्यो कि सायद मेरो ठाउँमा दुर्वासा हुन्थे भने उक्त कर्मचारीको इहलीला नै समाप्त पारिदिन्थे होला । अध्ययनको शिलशिलामा २०६९ भदौ १६ गते फिनल्याण्डका लागि उड्दै गर्दा उक्त कर्मचारीले मलाई शिक्षा मन्त्रालयबाट मेरा नाममा जारी गरिएको नो अब्जेक्सन लेटर मागे । मैले विनम्रतापूर्वक उसलाई जानकारी गराएकै थिएँ – नो अब्जेक्शन लेटर मलाई मेरो फिनल्याण्ड बसाइका क्रममा आवश्यक केहि हजार युरो विनिमय गर्नका लागि बैङ्कमा प्रस्तुत गर्नका लागि दिइएको हो भन्ने जानकारी पाएकाले र अर्को वर्ष पनि युरो सटहीका लागि मलाई आवश्यक पर्ने हुनाले मैले मेरो अभिभावकलाई बुझाएको छु । तर बुढो मान्दै मान्दैन । जहाज छुट्न एक घण्टा पनि बाँकी नरहेको अवस्थामा ऊ मलाई त्यो पत्र लिन आदेश दिन्छ । म निरीह बन्छु । पासपोर्ट छ, भिसा छ, विश्वविद्यालयको विद्यार्थी स्वीकृत गरिएको पत्र छ, साथमा आवश्यक युरोको ट्राभल चेक छ । तर ऊ त्यही पत्र चाहिन्छ भनेर अड्डी कस्छ । अन्त्यमा, मैले जब उसलाई त्यो आवश्यक परिएको भनिएको कागजातका बारेमा भिडियो रेकर्डिङ गरेर भन्न अनुरोध गर्ने विचार गरेँ अनि मैले मेरो मोबाइलको भिडियो रेकर्डिङ अन गरेर त्यो डकुमेन्ट मलाई मेरो देश छाड्नका लागि अपरिहार्य हो भन्नुस भनेर उसलाई आग्रह गरेँ तब ऊ चुपचाप बस्यो । मैले विनम्रतापूर्वक उसलाई आग्रह गरेँ – तपाइँ यहाँ हवाई यात्रु चाहे ती स्वदेशी हुन वा विदेशी उनीहरुलाई सजिलो बनाउनका लागि बस्नुभएको न की अनावश्यक झञ्झट दिन । मेरो गुनासो पछि ऊ चुपचाप बस्न सक्ने कुरै भएन, मुख खोलीहाल्यो – म यहाँ किन बसेको हुँ, त्यसका बारेमा तिमीले भनिरहनु पर्दैन ! मैले केहि बोलिनँ, मेरा कागजातमा औपचारीक जाँचपडताल ग¥यो । मैले अपेक्षा गरेको थिएँ – ऊ मलाई शुभयात्रा भन्नेछ । बिडम्बना, उसले मलाई राम्ररी पनि नहेरी मेरो पासपोर्ट बुझायो । अरु त अरु उसले मेरो पासपोर्टमा प्रस्थान गरेको निशाना पनि लगाएनछ । मैले अनुरोध गरेपछि आफ्नो गल्ति बोध नगरी उसले मेरो पासपोर्टमा त्यो ‘स्ट्याम्प’ लगायो जुन एउटा देश छाडेर अर्को देश जाँदा हरेक यात्रुको पासपोर्टमा लगाउनै पर्ने हुन्छ । अन्यथाः उक्त यात्रुलाई उसले यात्रा गर्न लागेको देशको अध्यागमनले जुन देशबाट यात्रा शुरु गरेको हो उक्त देशमा नै फिर्ता पठाइदिन सक्दछ । अर्थात उक्त स्ट्याम्प नलगाई मैले यात्रा गरेको भए, म दुबईबाट फेरि नेपाल फर्किनु पर्ने हुन्थ्यो – फिनल्याण्ड नपुग्दै । मलाई थाहा छैन विमानस्थलमा यो स्ट्याम्पिङसहितको महत्वपूर्ण कार्यसम्पादनका लागि बसेको उसले त्यसो गर्न भुलेको हो वा मैले विवाद गरेकोमा जानीजानी स्वाद चखाउने मनशायले त्यसो गरेको हो, किन्तु उसले उक्त गल्ति गरेकोमा केही बोध नगर्नु मेरा लागि आश्चर्यको विषय थियो । हुन त तीनै कर्मचारीहरु हुन एकताका एकजना विष्ट थरी मन्त्रीको भिषा नै चेक नगरी दुबई उडाएर हाम्रो अन्तर्राष्ट्रिय विमानस्थलको बचेखुचेको प्रतिष्ठा बागमतिमा सेलाउने, दलालहरुसँग सेटिङ मिलाएर लाचार नेपालीहरुलाई अवैध रुपमा मेक्सिको, इराक, अफगानिस्थान, कम्बोडिया र क्युवा उडाउने, सुन तस्करहरुलाई आरामसाथ विमानसम्मै विदेशी मुद्रा पु¥याउने एवं नक्कली नोटका प्रवद्र्धनमा लागेका तस्करहरुलाई सहयोग गर्ने तर ख्वै कुन्नी कि जब म जस्तै आम नागरिकहरु केहि लक्ष्य लिएर भिषा लागेको पासपोर्ट र टिकट लिएर यिनीहरुको डेस्कमा लाम लाग्दछौं तब यिनीहरु किन अवाश्यक दुख दिन तम्तयार हुन्छन् ? मैले आजपर्यन्त बुझ्न सकिरहेको छैन । अझ डेढ बर्षपहिले दुईहप्ते छुट्टी मनाएर नर्वे फिर्ता हुँदै गर्दा यसै विमानस्थलमा मैले ब्योहोर्न परेको घटना झनै उदेकलाग्दो छ । जब म ‘प्रस्थान निशान’ लगाउनलाई एउटा कर्मचारीको डेस्कमा पुगेँ उनले विनय भावमा भने – भाई हजुरको भिषालाई मेरो मेशिनले रिड गरेन, हजुरको भिषा नक्कली हो ! म तीनछक परेँ उनको कृत्य देखेर । अलिकति आक्रोशित हुँदै मैले भनेँ – यहि भिषा हो विगत ६ महिनादेखि म नर्वेमा युवा स्वयंसेवकका रुपमा नेपाल रेडक्रसको प्रतिनिधित्व गरिरहेछु, यो त्यहि भिषा हो जुन देखाउँदै र चेक गराउँदै दुईहप्ता अगाडि जर्मनीको फ्र्याङकफट, दुबई हुँदै नेपाल प्रवेश गरेको थिएँ । यो कसरी नक्कली भयो हजुरलाई ? यो किन रिड हुन सकेन तपाइँको मेशिनमा ? कि त हजुरको नियत ठिक भएन वा हजुरको मेशिन चाइनिज सस्तो मार्केटबाट खरिद गरिएको हो त्यो पनि विना टेन्डर । मैले धाराप्रवाह बोलेको सुनेपछि उनले भनेँ – एकछिन हैं म ट्वाइलेट गएर आउँछु । ट्वाइलेट हिडेको उनी म त्यहाँ रहुन्जेल फिर्ता भएनन् । यो कस्तो बिडम्बना ? मैले त्यसबेला बल्ल बुझेको थिएँ कि किन चर्चीत अन्तर्राष्ट्रिय अपराधी चाल्र्स शोभराजले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हात्ति छिराउन सक्छु भनेका रै’छन् ? फिनल्याण्डको भान्ता विमानस्थलमा झरेपछि लामो स्वास फेर्दै मैले धेरैबेर गम खाएँ – हाम्रो विमानस्थलका कर्मचारीहरु कहिले स्कीपुल एअरपोर्ट आमस्टर्डम, गार्डेमन एअरपोर्ट ओश्लो, ब्रुसेल्स एअरपोर्ट वा अन्य कुनै अन्तर्राष्ट्रिय विमानस्थलका सहयोगी र कामप्रति इमान्दार कर्मचारीहरु झैं बन्लान ? देशको राजनीति दिल्लीको निर्देशनमा चले झैं यिनीहरु पनि किन इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थल न्यू दिल्लीमा कार्यरत कतिपय कर्मचारीहरु झैं छुच्चा, साढेँ, असहयोगी र बेसरम बनेका ? डियाक युनिभर्सिटी, यारभेनपा फिनल्याण्ड
_____ · Aug 27, 2013 10:36 AM
खुरु खुरु काम गरिदिने भए किन छाहिन्थ्यो घुस | झन्झट र चाहिदो नचाहिदो कागजातको माग गरि फलानो दिन आउनुस, हाकिम साब हुनु हुन्न आदि इत्यादि का गजबार ठोकेर दुख दिए पछि इन्द्र बाउ चन्द्र पनि हरिया बिटा तेर्स्याएर काम लिन्थे हामी सर्बसाधारण को के कुरा | आफ्नै जग्गाको मालपोत बुझाउन जादा अतिरिक्त पैसा दिनु पर्ने अनि ठ्याक्क मिलाएर नदिए खुद्रा छैन ? आजभोलि हजारको नोट दिएर नौ सय फिर्ता पाउने भए पनि खुद्रा छैन हुन्छ ? मेरा एक मित्र इमिग्रेसन का अधिकृत थिए : साताको ५०-६० हजार आउछ भन्थे बिस बर्स अगि उनको काम सहि गर्ने मात्र खेल का खेलाडी पियन बहिदार देखि मुखियाहरु हुन् | Last edited: 30-Aug-13 07:22 AM
MaGorkhe1 · Aug 28, 2013 8:17 AM
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion