घाँडो भयौ नन्दलाल ! लक्ष्मण गाम्नागे कमरेड बाबुरामकै जिल्लावासी भएर पनि तिमी कति मूर्ख नन्दलाल ! तिम्री पत्नी गंगामाया त्यस्तै। ज्यानै जान लागिसक्यो, अनशन तोड्दैनौ त ! कुनै गतिलो माग पनि छैन। न सरकार परविर्तनको माग, न उच्चस्तरीय राजनीतिक संयन्त्र विघटनको माग, न संविधानसभा चुनाव सार्ने माग ! आफ्नो प्राणभन्दा प्यारो छोराको हत्या गर्ने अपराधीलाई कारबाहीको सामान्य माग राखेर प्राणै त्याग्न खोज्ने कस्तो अबुझ तिमी ! त्यो हत्या भएको छोरो तिमीहरूको पो प्राणप्यारो, खिलनाथजी, प्रचण्डजी, झलनाथजी वा सुशीलजीहरूको प्यारो हो र ! उनीहरूका लागि त आफ्नै छोराछोरी प्यारो, आफ्नै पार्टी प्यारो, आफ्नै कार्यकर्ता प्यारो, भोट प्यारो, पद प्यारो। अनि, तिम्रो माग कसरी पूरा हुन्छ नन्दलाल ? तिम्री वृद्धा आमा पनि त्यस्तै रहिछन्। १८ वर्षे नाति त गुमाइन् नै, छोराबुहारीसमेत मृत्युको मुखमा पुग्दा पनि राज्यसँग न्याय माग्न नछाड्ने। उनको माग त्यस्तै साधारण- कि मलाई पनि मार कि न्याय देऊ। तिमीहरूको नमारएिको छोरो नूरप्रसाद पनि भाइको हत्यारामाथि कारबाही होस् भनेर न्याय नै खोज्ने! कस्तो जब्बर परविार ! सबै न्याय माग्ने। जति माग न न्याय, सरकारले कान सुन्दैन। किन सुन्दैन थाहा छ ? किनभने, सरकारका अध्यक्ष न्यायपालिकाका प्रमुख छन्। न्यायमूर्ति ! आँखामा पट्टी बाँधेर न्याय गर्ने बानी, सरकारको प्रमुख भएपछि कानमा पनि ठेटी खाँदेका छन्। विवेकमा चाहिँ पेटी नै बाँधेका छन्। चार दलले बाँधिदिएको। पीडकले नै पेटी बाँधिदिएपछि के गरुन् बिचरा ! उनी केही देख्दैनन्-सुन्दैनन्-गर्दैनन्। लिन्ठिङ लिन्ठिङ झन्डा मात्रै हल्लाउँछन्। उनले जानेको कानुनका दफा पल्टाउने हो। दफा पल्टाएर हेर्दा तिमी र तिम्रो परविारलाई न्याय दिने दफामा पहिल्यै कालो पोतिएको छ। अनि, तिमीले कसरी पाउँछौ न्याय ? तिमी न ढुंगामूढा गर्छौ, न चक्काजाम। न तोडफोड गर्छौ, न आगजनी। ज्यानलाई नै जोखिममा राखेर अनशन बस्छौ अनि तिम्रो कुरा कसले सुन्छ ? नेताज्यूहरू देशको चिन्तामा चुर्लुम्मै डुबेका छन्। यस्ता अनशन फनसनतिर हेर्ने फुर्सदै छैन। उनीहरू संविधानसभाको निर्वाचन गराउन, लोकतन्त्रलाई बलियो बनाउन, कानुनी शासन स्थापना गर्न र जनतालाई न्याय दिन लागिपरेका छन्। देशको चिन्तामा ध्यानस्थ नेताहरूलाई झमेलामा नपार नन्दलाल! लहरो तानेर पहरो गर्जाउने कर्ममा नलाग। अकालमा मरेका हजारौँ मान्छेलाई जगाउने यत्न नगर। लासको राजनीति नगर्न, पुराना कुरा कोट्याएर झोँक नचलाउन नेताजीहरूले दिएका तात्ताता चेतावनीहरू सुन। 'जे पनि हुन्छ' भनेको अर्थ बुझ। डराऊ नन्दलाल ! तर्स! थरथर काम ! अनशन छाडेर नेताजीहरूका शरणमा जाऊ ! नेताजीहरूले सत्य निरूपण भन्ने आयोग गठन गर्छन् अरे कुनै दिन। त्यसले पक्कै पनि तिम्रो छोरा मार्नेहरूलाई माफ गर्नेछ। राज्यले नै व्यवस्था गरेको आयोगले माफ गरेपछि न्याय प्राप्त भयो भन्ने ठान्नुपर्छ। त्यसैले भविष्यमाथि आशा राख, नेताहरूमाथि विश्वास राख। यस्तो डरलाग्दो अनशन तोडिदेऊ नन्दलाल। नेताहरूलाई छोडिदेऊ। छोरालाई बिर्सिदेऊ। नेताहरूलाई सम्भिmदेऊ। उनीहरूलाई शान्तपूर्वक खान देऊ। यस्तो घाँडो नहोऊ नन्दलाल ! http://www.kantipuronline.com/...
Bornto_Rise · Aug 20, 2013 2:13 PM · 9,553 views
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion