जसले मौलिक ज्योतिष ग्रन्थ पत्ता लगाए-जगमान गुरुङ म विसं २०३५ फागुनमा पृथ्वीनारायण क्याम्पस, पोखराबाट नेपाल र एसियाली अनुसन्धान केन्द्र काठमाडौंमा सरुवा भएर आएँ । म पोखरामा छँदा नै गुरु पण्डित नयराज पन्तका चेला भोलानाथ पौडेलका छोरा सामनाथबाट इतिहास संशोधन मण्डल र नयराज गुरुबारे थाहा पाइसकेको थिएँ । म काठमाडौं आएपछि नेपाल र एसियाली अनुसन्धान केन्द्रका तात्कालिक कार्यकारी निर्देशक प्रा. डोरबहादुर विष्टज्यूले मलाई धनबज्र बज्राचार्यज्यूको निर्देशनमा रहेर अनुसन्धानात्मक काम गराउनुभयो । नेपाल र एसियाली अनुसन्धान केन्द्रमा नै प्राज्ञ ज्ञानमणि नेपालज्यूसँग मेरो परिचय भयो । त्यसपछि नयराज गुरुबारे धेरै कुरा जान्नबुझ्न पाएँ । म ओटु, सबलबहालमा उहाँलाई भेट्न गएँ । उहाँका जेठा छोरा महेशराज पन्तले संस्कृत भाषा बोलेर मेरो विषयमा कुरा गर्नुभएको मलाई असाध्यै रमाइलो र मिठो लाग्यो । विसं २०३६ वैशाखमा वीरगन्जको पिपरामठमा विश्व हिन्दु सम्मेलनको आयोजना गरिएको थियो । वाल्मीकि विद्यापीठका प्राध्यापकहरूसँग म पनि विश्व हिन्दु सम्मेलनमा भाग लिन वीरगन्ज गएँ । त्यही बेला नायब बडागुरुज्यू माधव भट्टराई र नयराज गुरुका कान्छा छोरा दिनेशराज पन्तसँग मेरो परिचय भयो । उहाँहरू दुईजनासँगको मेरो संगत अहिले पनि प्रगाढ छ । र, अझै पनि प्रगाढ नै रहिरहनेछ । त्यसपछि नयराज गुरु नेपाल राजकीय प्रज्ञा प्रतिष्ठान, प्राज्ञ परिषद्को सदस्य हुनुभयो । त्यसबेला प्रत्येक प्राज्ञ सदस्यले तीन–तीन महिनामा आ–आफ्नो विषयमा प्रवचन दिने चलन थियो । म नयराज गुरुको प्रवचन बडो चाख राखेर सुन्न जान्थेँ । मैले नेपाली इतिहास, संस्कृति र पुरातत्व विषयको एमए परीक्षामा नेपालको एकीकरणमा गुरुङहरूको भूमिका विषयमा शोधपत्र लेखेको थिएँ । मेरो उक्त शोधपत्र तत्काल पुस्तकका रूपमा प्रकाशित भयो । पुस्तक प्रकाशित भएपछि म गुरुलाई पुस्तक चढाउन नेपाल राजकीय प्रज्ञा प्रतिष्ठानमा गएँ । उहाँले 'पुस्तकको कुनै पाना पल्टाएर पढ्नुहोस्' भन्नुभयो । मैले पुस्तकको एउटा पाना पल्टाएर पढेँ । काजी नरसिंह गुरुङ सम्बन्धी उल्लेख भएको पाना रहेछ । त्यसपछि उहाँले मुसुक्क हाँसेर 'ठिक हो' भन्नुभयो । उहाँले अहिले ठमेल, त्रिदेवी मार्गमा रहेका तीनवटा देवल भएको जग्गा काजी नरसिंह गुरुङको हो भन्नुभयो । काजी नरसिंह गुरुङको खायल काजी अमरसिंह थापाले पाएपछि त्यस जग्गामा काजी अमरसिंहले ती तीन मन्दिर बनाएका हुन् । नयराज गुरुको जीवनी र आदर्शबाट आज हामीले धेरै कुरा सिक्न सक्नुपर्छ । उहाँका कृतिमा मलाई 'लिच्छवि सम्बत्को निर्णय' शीर्षक पुस्तक अतिप्रिय लाग्छ, किनभने म पनि ज्योतिषशास्त्रमा केही चासो राख्छु । यो पुस्तकलाई शिर–पुछारसम्म छिचोलेर पढ्न सक्ने शक्ति र सामथ्र्य मसँग छैन । तापनि यो पुस्तक ज्योतिष जगतका विज्ञ एवं जिज्ञासुहरूका लागि अतिउपयोगी छ । आद्य जगतगुरु शंकराचार्यले वेदान्त दर्शनको सिद्धान्तलाई आधा श्लोकमा टुंग्याइदिनुभएको छ । जस्तै– श्लोकाद्र्धेन प्रवक्ष्यामि यदुक्तं ग्रन्थकोटिभिः । ब्रह्म सत्यं जगन्मिथ्या जीवो ब्रह्मैव नापरः ।। यसैगरी नयराज गुरुले ज्योतिषशास्त्रको सायन एवं निरयण सिद्धान्तलाई दुइटा वाक्यमा अथ्र्याइदिनुभएको छ । उहाँका अनुसार आकासमा रहेका ग्रहहरूको अवस्थिति तथा आकासका ग्रहहरूको घटनासँग प्रत्यक्ष मिलेका संक्रान्ति सायनसंक्रान्ति र त्यस सम्बन्धमा ज्योतिषीहरूले गरेका गणना अर्थात् ग्रन्थबाट गणना गरेर ल्याइएका संक्रान्ति निरयणसंक्रान्ति हुन् । आजकाल सायन एवं निरयण अर्थात् आकासको ग्रह परिस्थिति र त्यस सम्बन्धमा ज्योतिषीहरूले गरेका गणनाको बीचमा २३–२४ दिनको अन्तर पर्दछ । अतः सायन र निरयण सिद्धान्तलाई ज्योतिष जगतले एउटा समस्याको रूपमा लिएको छ । यसका अतिरिक्त उहाँले यही सायन र निरयणकै आधारमा सुमतितन्त्रलाई विसं ६३३ देखि विसं ९३७ भित्रको कुनै समयमा नेपालमा रचना गरिएको मौलिक ज्योतिष ग्रन्थ हो भनेर प्रमाणित गरिदिनुभएको छ । यसरी नयराज गुरुको अथक प्रयासबाट एउटा नेपाली मौलिक ज्योतिष ग्रन्थको पत्ता लागेको छ । यसैगरी, उहाँले कालचक्रतन्त्रको विमलप्रभाटीकामा पनि अध्ययन गर्नुभएको छ । कालचक्रतन्त्र एउटा महŒवपूर्ण बौद्ध ग्रन्थ हो । कालचक्रतन्त्रमा ज्योतिषशास्त्रको पनि विवेचना गरिएको छ । कालचक्रतन्त्र मूल ग्रन्थ हो र विमलप्रभाचाहिँ यसको टीका हो । इसं १०२७ मा कश्मिरी पण्डित सोमनाथले तिब्बती भाषामा कालचक्रतन्त्रको अनुवाद गरेका थिए । त्यही समयदेखि तिब्बती ज्योतिषशास्त्रमा भारतीय ज्योतिषशास्त्रले प्रवेश पाई चिनियाँ ज्योतिषशास्त्र र भारतीय ज्योतिषशास्त्रको समन्वयबाट तिब्बती ज्योतिषशास्त्रको विकास भएको थियो । यसरी नयराज गुरुले इतिहासका अतिरिक्त ज्योतिष जगतमा अभूतपूर्व निर्णायक योगदान दिनुभएको छ । अतः उहाँ एउटा युगपुरुष तथा मूर्धन्य व्यक्तित्व हुनुहुन्छ । (लेखक नेपाल संस्कृत विश्वविद्यालय, राष्ट्रिय सांस्कृतिक अध्ययन केन्द्रका कार्यकारी निर्देशक हु - See more at: http://www.nagariknews.com/nag...
_____ · Aug 18, 2013 8:13 AM · 3,292 views
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion