‘४० व्यक्तिले उपभोग गरे ८ खर्ब ऋण’ महँगा गाडी चढ्नेको सम्पत्तिको स्रोत खोज्न निर्देशन २९ साउन, काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमानसिंह कार्कीले समाजमा भड्किलो जीवनयापन गरेको आधारमा कर छलीको वृहद अनुसन्धान गर्न राजस्व प्रशासनलाई निर्देशन दिनुभएको छ । कार्कीले आज मंगलबार आन्तरिक राजस्व विभागको निरीक्षण गरी अधिकारीलाई उक्त निर्देशन दिनुभएको हो । अहिले बैंक तथा वित्तीय संस्थाको कूल निक्षेपको ६० प्रतिशतभन्दा बढी रकम ३० देखि ४० व्यापारीले उपभोग गरेको आफूले पाएको उहाँले सो अवसरमा उल्लेख गर्नुभयो । अख्तियारले नेपाल राष्ट्र बैंकबाट हालै ५ करोड रुपैयाँभन्दा बढी कर्जा लिने व्यक्तिको विवरण माग गरेर अध्ययन गरेको थियो । हाल बैंक तथा वित्तीय संस्थामा १३ खर्ब निक्षेप रकम पुगेको छ । प्रमुख आयुक्त कार्कीले यसले सीमित ठूला घरानाले असीमित कर्जा उपभोग गरेको कारण नेपालको वित्तीय क्षेत्र समस्यामा पर्दै गएको बताउनुभयो । ‘वित्तीय क्षेत्रमा भएको अनियमितता र यस किसिमको विभेदलाई अख्तियारले निगरानीमा राखेको छ’, कार्कीले राजस्व कर्मचारीलाई निर्देशन दिंदै भनेको अख्तियारद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । ती व्यापारीले बैंकमा पेश गरेको र कर कार्यालयमा पेश गरेको वित्तीय विवरण भिडाएर कर छलेको पाएमा कडा कारबाही गर्न उहाँले निर्देशन दिनुभयो । ‘जनताले रगत पसिना चुहाएर तिरेको राजस्वमाथि खेलबाड गर्ने र कर छली जस्तो जघन्य अपराध गरेपछि पनि समाजमा आदर्शका गफ चुट्दै हिंड्ने जोकसैलाई कुनै आवरणमा छुट दिन पाइँदैन’, उहाँको भनाइ थियो । करोडौ मूल्य पर्ने गाडी चढ्ने र छोटो समयमै अनपेक्षित सुविधा सम्पन्न जीवनशैली अवलम्बन गर्ने व्यक्ति सबैको सम्पत्तिको स्रोत खोज्न उहाँले कर अधिकारीलाई निर्देशन दिनुभयो । कानुन व्यवसायी, डाक्टर, एनजिओ, आइएनजिओ, अस्पताल, शैक्षिक संस्था र अस्पताललाई करको दायरामा ल्याउन पनि उहाँले निर्देशन दिनुभयो । जिम्मेवारी सही ढंगले निर्वाह गर्न नसक्ने सरकारी कर्मचारीलाई अख्तियारले कारबाही गर्ने भन्दै उहाँले सचेत पार्नुभयो । ‘तपाईहरुले असल नियतले गरेको काममा त्रुटी भए पनि डराउनुपर्दैन, तर नियतबश गरिएका त्रुटीमा अख्तियारले कुनै हालतमा छोड्ने छैन’, उहाँको भनाइ उदृत गर्दै विज्ञप्तिमा भनिएको छ । विभागका महानिर्देशक टंकमणि शर्माले राजस्व असुली, कराधार विस्तार, कर परीक्षण, कर छलीको छानबिन, कर निर्धारण तथा वक्यौता असुलीको विषयमा विभागीय कार्य प्रगतिको विषयमा प्रकाश पार्नुभयो । सो अवसरमा काठमाडौं र बाहिरका कर कार्यालय प्रमुखसहित १०० जना कर अधिकारीको सहभागिता थियो । भ्रष्टाचार नियन्त्रणको लागि प्रमुख आयुक्तले दिएको निर्देशन जायज भए पनि उत्तेजित र महत्वांक्षी भएर नाटकीय नतिजा निकाल्न नसकिने प्रतिक्रिया राजस्व अधिकारीले दिएका छन् । कार्यक्रममा सहभागी एक अधिकारीले भने, ‘अनुसन्धान र कारबाही भनेको विधि प्रक्रिया पुर्‍याएर गर्नुपर्छ, हामीले नव धनाढ्य, डाक्टर, इन्जिनियर, वकिल, परापर्शदाता, एनजिओ, आइएनजिओलाई करको दायरामा ल्याउन प्रयत्न गरिरहेकै छौं ।’ धेरै चलाखीपूर्ण कर छली गर्ने व्यक्तिलाई कारबाहीको दायरामा ल्याउन कर प्रशासनमा दक्ष जनशक्ति र प्रविधि पनि हुनुपर्ने ती अधिकारीले बताए । ‘कारबाही गर्नुपर्छ भन्नेमा विवाद छैन तर सम्पत्ति कमाएर उपभोग गर्ने अधिकार सबैलाई छ’, उनले भने, ‘व्यक्तिको सम्पूर्ण सम्पत्ति पत्ता लगाएर गैरकानुनी भएको प्रमाण जुटाउन हामीमा ज्ञान, सीप र प्रविधिको क्षमता पनि उत्तिकै आवश्यक हुन्छ ।’
_____ · Aug 13, 2013 9:20 AM · 16,042 views
गर्नेले नेपालमै गर्दो रै छ नि किन बिदेस जानु पर्यो !!!!!!!!!!!!
Tmobile · Aug 13, 2013 9:28 AM
अर्काको पसिना की आफ्नै पसिना मात्रको फरक हो
aman · Aug 13, 2013 9:48 AM
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion