दैलेख : जहाँ पहिलो शिलालेखमा हँसिया उध्याइन्छ (फोटोफिचर)

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

  दैलेख : जहाँ पहिलो शिलालेखमा हँसिया उध्याइन्छ (फोटोफिचर)     शब्द/तस्वीर – भरतबन्धु थापा २६ साउन, काठमाण्डौ ।  कला र संस्कृतिले मात्रै नभएर सम्पदाले पनि धनी छ दैलेख । तर, धनी भएर मात्र के गर्ने ? यसको उचित प्रयोग गर्न नसकेपछि ती सम्पदाहरुको कुनै अर्थ नै नलाग्ने रहेछ । समपदाको उचित सदुपयेाग तथा जर्गेना गर्न नसक्दा अहिले दैलेखका सम्पदाहरु केही लोप हुन सक्ने अवस्थामा पुगेका छन् भने केही त लोप समेत भइसकेका छन् । कला र संस्कृतिक सम्पदाका हिसावले हेर्ने हो भने काडमाण्डौ र लुम्बिनीपछि दैलेखको नाम आउँछ । ऐतिहासिकरुपले दैलेखको दुल्लु निकै महत्वपूर्ण रहेको छ । जुम्लाको सिजमा गृष्मकालीन र शीतकालीन राज्य दैलेखको दुल्लुमा हुने गर्दथ्यो ।  हेरिटेज नेपालको अगुवाइमा गत चैतको दोस्रो हप्तामा इतिहासकार, भाषाविद, पुरात्वविद र लिपीविद सहितको टोलीलाई दैलेख गएको थियो । टोलीमा दिनेशराज पन्त, डिल्लीराज शर्मा, प्रकाश दर्नाल, राजाराम थापा, डा टेकबहादुर श्रेष्ठ, डा पुरोषत्तमलोचन श्रेष्ठलगायत रहेका थिए । टोलीले नेपाली भाषामा लेखिएको पहिलो अभिलेखको समेत अवलोकन गरेको थियो । ऐतिहासिक रुपले निकै महत्व भएको दैलेखको दुल्लुमा संग्राहलय बनाएर त्यसको जर्गेना गर्नुपर्ने धारण राख्नुहुन्छ हेरिटेज नेपालका अध्यक्ष विश्व केसी ।दैलेखको दुल्लुमा रहेको दामुपालको अभिलेख नेपाली भाषामा लेखिएको पहिलो अभिलेख हो ।तर, यसको उचित संरक्षण नहुँदा जीर्ण अवस्थामा रहेको छ । त्यस्तै नेपाली भाषाको उद्गमस्थल तत्कालीन कर्णाली प्रदेशको सिंजा क्षेत्र हो र कर्णाली प्रदेशको अन्य स्थानमा नेपाली भाषा र देवनागरी लिपिमा लेखिएको यस्तो अभिलेख हालसम्म अन्यत्र कतै नभेटिएकाले यो नै एकमात्र नेपाली भाषामा लेखिएको सबैभन्दा पुरानो प्रमाण मानिन्छ । तर यति महत्वपूर्ण मानिएको अभिलेखलाई समेत राज्यले कुनै वास्ता नगरेका कारण एक दिन यो अभिलेख थियो भन्ने कुरा मात्रै सीमित नरहला भन्न नसकिने तर्क गर्छन् अध्यक्ष केसी । उनी भन्छन्-’यो अभिलेखबारे स्थानीय स्तरमा महत्व थाहा नभएका कारण विगतमा हँसिया उध्याउने समेत काम भयो । तर, पछिल्लो समय स्थानीय समुदाय जागरुक भएकाले केही जगेर्ना भएको छ, तर जति संरक्षण हुनु पर्ने हो त्यति हुन सकेको छैन ।’ टोलीको अध्ययन एवं हालसम्मको अनुसन्धानका क्रममा यस अभिलेखमा उल्लेख गरिएको तिथिमितिका सम्बन्धमा विद्वानहरूको एकमत छैन । यस स्तम्भमा उल्लेख गरिएको पाल शब्दले यसलाई कणर्ाली प्रदेशका तत्कालीन शासक नागराजअघिको अर्थात बिक्रमको दशौँ शताव्दितिरको मानिन्छ । त्यसैगरी दुल्लु क्षेत्रमा दुल्लु दरबार, नेपाली भाषामा लेखिएको पहिलो अभिलेख तथा ऐतिहासिक महत्व बोकेका पाटी पौवा, अभिलेखहरु प्रशस्तमा मात्रा यत्रतत्र छरिएर रहेका छन् । यो क्षेत्रमा खस राज्यका पालामा कर्णाली क्षेत्रको प्रमुख ब्यापारिक केन्द्र थियो दुल्लु ।  त्यही कारण पनि यो क्षेत्रमा ऐतिहासिक तथा पुरात्वविक वस्तुहरु यहाँ छरिएर रहेको तर्क राख्छन् इतिहासकार डा टेकबहादुर श्रेष्ठ । उनी भन्छन्- ‘इतिहासका विद्यार्थीका लागी दैलेखको दुल्लु क्षेत्र एक खुल्ला विश्वविद्यालय हो । तर, त्यहाँ गएर वस्तुस्थिति हेर्यो भने निकै दुख लाग्छ ।’ दामुपाल र सोमपाल राज्यको उल्लेख गरिएको कारण यो विक्रम सम्बत १०३८ भन्दा पुरानो हो । यसबाट के देखिन्छ भने आजभन्दा १ हजार ३१ बर्ष पुरानो अभिलेख भएको देखिन्छ । तर, यसको सरकारीतवरबाट अध्ययन अनुसन्धान नभएका कारण यसको वास्तविकता भने हालसम्म पनि उल्लेख हुन सकेको छैन । दुल्लूमा रहेको अर्को महत्वपूर्ण अभिलेख हो कीर्तिस्तम्भ, जसलाई कणर्ली प्रदेशका शासक पृथ्वी मल्लले गाढेका थिए ।दैलेखको श्रीस्थानमा बर्षौदेखि निरन्तररुपमा ज्वाला बलिरहेको छ । जुन बाइसे चौबिसे राज्यमा शक्तिाशाली मानिएको दुल्लु र दैलेख सदरमुकामको विचको खांचमा रहेको श्रीस्थान खोलाको छेउमा बर्षौदेखि निरन्तररुपमा बलिरहेको छ ।  जसलाई धार्मिक रुपले पनि निकै महत्वका साथ लिइएको छ । त्यसैगरी दैलेखको राउतकोट गाविस वडा न ९ मा रहेको ज्वाला ५ पाण्डवका पालादेखि निरन्तर बल्दै आएको हो जनविश्वास छ । यही ज्वाला रहेको मन्दिर नै श्रीस्थान ज्वाला मन्दिर हो । यसै गरी शिरस्थानको पश्चिममा नाभीस्थान मन्दिर छ, जसमा दुईवटा ज्वाला बल्ने गर्दछन् । यी मन्दिर गमौढी गाविसमा पर्दछन् । यी मन्दिरमा श्रीस्थान मन्दिर जस्तै पहिले जतात्यतै ज्वाला बल्ने गर्दथे. । तर, हाल आएर सरक्षणको अभावमा कहिले काँही बल्ने त कहिले निभ्ने गर्दछन् । श्रीस्थान र नाभिस्थानको ज्वालाको आगोबाट मृतकलाई दागबत्ति दिने गरिन्छ । यहाँको ज्वालाको आगोले दागबत्ति दिएमा मृतात्माले शान्ति पाउनुका साथै स्वर्गबास हुन्छ भन्ने जनविश्वास छ ।  दैलेखको नारायण नगरपालिकाभित्र पर्ने भूर्तिमा शिखरशैलीमा ढुङ्गाद्वारा निर्माण गरिएका अग्ला अग्ला देवलहरू छन् । यी देवलहरुलाई युनेस्कोले ३० जनवरी २००८ मा विश्व सम्पदा सूचीको सम्भाव्य सूचीको ‘क’ वर्गमा राखेको छ । तर, यसको उचित संरक्षण पनि हुन सकेको छैन । क वर्गमा राखेको निकै वर्ष बितिसिक्दा पनि यसको केही प्रगति भएको छैन । अहिले पनि यो स्थान स्थानीयका गाईवस्तु चराउने चरन र शौचालयका रुपमा प्रयोग हुँदै आएको छ । पुरातत्व विभागका अभिलेखालय प्रमुख प्रकाश दर्नालका अनुसार यस्ता देवलहरूलाई महाभारतकालीन भन्ने गरिएको भएता पनि केही देवलहरूमा खस मल्ल साम्राज्यकालका तिथिमितिहरू उल्लेख गरिएका छन् । भूर्तिका यी देवलहरू केही बर्ष पहिलेसम्म २५ वटा रहेकोमा अहिले २२ वटा मात्रै छन् । यस्ता देवलहरू दैलेख जिल्लामा ८४ वटा भेटिएकोमा २५ वटा लोप भइसकेका छन् भने बाँकी रहेका ३९ वटा पनि अत्यन्त जोखिमपूर्ण अवस्था रहेको दर्नालको भनाइ छ ।  विश्वसम्पदा सूचीको सम्भाव्य सूचीमा संलग्न हुनेबित्तिकै यसको संरक्षण युनेस्कोले गरिहाल्छ भन्ने स्थानीय मानसिकता र जनताकै सम्पत्ति भएकाले जनताले नै यसको संरक्षण गर्नु पर्दछ भन्ने राज्यको मान्यताका कारण यसको संरक्षण सम्बर्द्धन पनि जटिल बन्दै गएको तर्क राख्दछन् दैलेखी सेवा समाजका अध्यक्ष पुष्प राना ।  

_____ · Aug 10, 2013 4:49 PM · 3,261 views

Replies
No replies yet.

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion

You might be interested in...

Recent Classifieds View all
Upcoming Events View all
Service Providers View all