अस्ति क्युएफएक्स हलमा फिल्म हेर्न जाँदा एउटा विज्ञापन देखेको थिएँ- ठमेलभित्र ठमेल बन्दै भन्दै। नेपालकै ठूलो सपिङ कम्प्लेक्स बन्दै गरेको दावी विज्ञापनमा थियो। के रैछ भनेर बुझ्दा थाहा भयो- यो सात व्यवसायीको संयुक्त लगानीमा बन्न लागेको छायाँ कम्प्लेक्स रहेछ। नेपाल इन्भेस्टमेन्ट बैँकका अध्यक्ष पृथ्वीबहादुर पाँडे, निर्मल प्रधान, कालु गुरुङ, योगेन्द्र शाक्य, सुमन पान्डे, महेश्वर श्रेष्ठ र सुह्रद घिमिरेको गरी यसको अनुमानित लागत तीन अर्बको हुनेछ रे। तीन अर्ब ! आम्मामा ! नपरोस् पनि किन, अझ बढी नै पर्ला। किनभने सुन्धाराको सिभिल मल बनाउनमात्रै एक अर्बभन्दा बढी रुपियाँ परेको रहेछ। नेपाल म्यागेजिनले त अझ साढे दुई अर्बै लागेको लेखेको रहेछ। सिभिल मल बनाउनै साढे दुई अर्ब लागेको भए यत्रो स‌ंरचना बनाउन तीन अर्बले के पुगोस्। तीन वर्षभित्र निर्माण सम्पन्न गरिने भनिएको यो छाँया कम्प्लेक्समा २०० कोठाको पाँच तारे होटल पनि हुने रे। १५ रोपनीमा बन्ने कम्प्लेक्सको मुख्य भवन १५ तल्लाको हुने र दुई तल्ला भूमिगत पार्किङ हुने अनि त्यसमा साढे ४ सय गाडी अटाउने रे। पहिलो तल्लामा पसलहरु, तेस्रो तल्लामा कर्पोरेट अफिसहरु, चौथो र पाँचौँ तल्लामा फूड कोर्ट र मल्टिप्लेक्सहरु हुने रे। साढे २ सय पसल, सात वटा रेस्टुरेन्ट, तीन वटा सिनेमा हल, पाँच वटा कन्फ्रेन्सल हल र हजार जना अट्ने एउटा ब्याङ्क्वेट हल हुने रे। एनिमेसन भिडियो हेर्नुस्- उता, यो कम्प्लेक्सको विरोध पनि सुरु भइसकेको छ। जुन ठाउँमा यो संरचना बन्दैछ, त्यो ठाउँमा गुठीको प्राचीन पोखरी रहेको दावी गर्दै त्यसको पुनर्स्थापना र रक्षा गर्न ठमेलको त्यो टोलबासीहरुले अदालतमा मुद्दा दायर गरेका रहेछन्। यसबारे केही अघि फेसबुकमा राखिएको सूचना यस्तो थियो ठबहिल(ठमेल) तथा ठबहिलका प्रधानहरूको इतिहास,अस्तित्व तथा पहिचान बोकेको प्राचीन,धार्मिक,सांस्कृतिक,पुरातात्विक, ऐतिहसिक दृष्‍टिकोणबाट नै महत्त्वपूर्ण प्राचीन पोखरी नष्ट गरी पुरी गैरकानूनी तवरमा धर्म,संस्कृति,परम्परा नष्ट हुने गरी बेचबिखन गरिएको जग्गामा हाल आधुनिक संरचना (छाँया सेन्टर) बन्दैछ। उक्त निर्माण कार्य रोकी ठमेल सिंहसार्थबाह गुठीको प्राचीन पोखरी पुनर्स्थापना तथा रक्षा गरी पुन गुठीको कायम गराउन सबै थबहिलका प्रधानहरू तथा टोलबासीहरू एक भई अदालतमा मुद्दा दायर गरिएको छ। विवादित प्राचीन पोखरीबारेको मुद्दा अदालतमा विचाराधीन अवस्थामा रहेको ब्यापारिक भवनका सम्पूर्ण लगानीकर्ता तथा सो भवनमा लगानी गर्न सोच भएका सम्पूर्ण जानकारी गराउँदछौँ। ठमेलमा यो मात्रै हैन अरु दुई वटा ठूला होटलहरु पनि खुल्दैछन्। अस्ट्रेलियन धनाढ्य शेष घलेले साढे दुई अर्ब रुपियाँको लगानीमा केशरमहलमा पाँच तारे होटल बनाउँदैछन्। शेराटन होटलको चेन होटल हुनेछ यो। त्यसैगरी शशिकान्त अग्रवालले ठमेलमै तीन तारे होटल बनाउँदैछन् जुन म्यारियटको चेन हुनेछ। होटल दुई वर्षभित्र बन्ने अनुमान गरिएको छ।
ashishme · Aug 2, 2013 8:55 AM · 5,147 views
Please!!!CITE YOUR SOURCES!! I believe this was picked up from MYSANSAR.COM
Kiddo · Aug 2, 2013 9:11 AM
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion