मुम्बईको कोठीदेखि म्यागासेसे पुरस्कारसम्म

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

  मुम्बईको कोठीदेखि म्यागासेसे पुरस्कारसम्म बुढी आमाहरु अझै भेटिन्छन् मुम्बईमा सुनिता दनुवार, अध्यक्ष, शक्ति समूह सन् १९९६ मा भारतको मुम्बईका रेडलाइट इलाकामा ठूलो रेड भएको थियो । त्यसलाई मुम्बईको इतिहासकै पहिलो छापा भन्ने गरिन्छ । त्यहाँबाट झण्डै ५ सय किशोरीहरुको उद्दार गरिएको थियो । उनीहरुमध्ये झण्डै २ सय नेपाली थिए, जो १८ वर्षभन्दा कम उमेरका थिए । नेपालको तत्कालीन सरकारले यिनीहरु नेपाली हुन् भन्ने प्रमाण वा नागरिकता छैन भन्ने प्रश्न गर्दै यिनीहरुलाई नेपाल ल्यायो भने एचआईभीको पोको भित्रिन्छ भन्ने आरोप लगाएर स्वदेश फर्काउन अस्वीकार गर्यो । जसका कारण हामी लामो समय त्यहीँ बस्नुपर्‍यो । नेपाल सरकारले हामीलाई स्वीकार गर्न चाहेन, भारत सरकारले छोड्न चाहेन । हामी बेचिएर यसरी फर्कियौं कोठीबाट निकालिएका दुई सय नेपाली किशोरीहरु मध्ये केही भाग्नु भयो, कतिपय आफ्ना नियमित ग्राहकसँगै लभ परेर उनीहरुसँगै जानुभयो । हामीलाई लामो समयसम्म सरकारले नहेरे पनि नेपालका ७ वटा संस्थाहरु मिलेर यिनीहरु हाम्रा नेपाली छोरीहरु हुन्, यदि नेपाल सरकारले लिन मान्दैन भने के भो त, हामी चुनौती दिएर नेपाल ल्याउँछौं भनेर हामीलाई नेपाल ल्याए । ओरेक, माइती नेपाल, एबीसी नेपाल, सिविन, नवज्योती, स्त्री शक्ति र शान्ति पुनःस्थापना केन्द्रको संयुक्त पहलमा १ सय २८ जना नेपाल आए । उनीहरुमध्ये हामी १५ जना मिलेर शक्ति समूह स्थापना गरेका हौं । शक्ति समुहको पहिलो अध्यक्ष पूजा मिजार हो, जो अहिले अमेरिकामा हुनुहुन्छ । हामी नेपाल फर्किने क्रममा भरतीय अभिनेता सुनिल सेट्टीले सेभ द चिल्ड्रेनमार्फत एयर फेयरको व्यवस्था मिलाउनुभएको रहेछ । नेपाल आएका मध्ये हामी १२ जना ओरेकमार्फत् आइपुगेका थियौं । त्यसक्रममा एचआईभी टेष्टलगायतका परीक्षण भयो, केहीमा एचआईभी पोजेटिभ देखियो । त्यसपछि हाम्रोबीच रुवाबासी नै भयो । अब हामी मर्छौं, हाम्रो केही पनि छैन, सबै चिज अन्धकारमय भयो भन्नेमा थियौं । डा. रेणुराज भण्डारीले हाम्रो अवस्था देखेपछि तिमीहरु रोएर केही हुँदैन, तिमीहरु रुनु भनेको आफूले आफैंलाई कमजोर गर्नु हो, भोलि अनेक समस्या आउँछन्, तिनीहरुसँग जुध्न पो सिक्नुपर्छ भनेर सम्झाउनुभयो । तिमीहरुको आँसु शक्तिमा बदल्नुपर्छ, बरु म तिमीहरुलाई तालिमको आयोजना गर्छु, त्यो तालिम लिएपछि तिमीहरुलाई म बेचिनुमा मेरो दोष हैन भनेर अगाडि आउने छौं भनेर १५ जनालाई तालिमको आयोजना गर्नुभो । स्वास्थ्य आधारभूत नाम दिइएको तालिममा महिला मानवअधिकार, महिला बेचबिचन लगायतको विषय समावेश गरिएको थियो । तालिम लिएपछि कस्तो अनुभूति भयो भन्दा हामी समस्यामा पर्नु त हाम्रो दोष हैन, यो राज्य, समाजको दोष हो भने हामी किन रुने ? किन यसका विरुद्धमा नलाग्ने भनेर हामीले छलफल गर्‍यौं र अब एकजना बोलेर कसैले सुन्दैन, हामीले सामूहिक आवाज उठाउनुपर्छ भन्ने महसुस भयो र समूहमा आवद्ध भएर काम गर्ने निर्णयमा पुग्यौं । नाम के दिने त भन्नेमा लामो छलफलपछि १५ जनाको आँशुलाई शक्तिमा बदल्ने भनेपछि शक्ति समूहको स्थापना गरेका हौं । संस्था दर्ता गर्दाको हैरानी स्थापनाको क्रममा धेरै सहयोग डा. रेणुले नै गर्नुभयो । हामी सबै १८ वर्षभन्दा कम उमेरका थियौं । केहीसँग पनि नागरिकता थिएन । हामीले ओरेकसँगै सहयोग लियौं । ओरेकले विधान बनाइदियो, जतिजना हामी फर्किएका थियौं, कसैको अविभावक थिएन भने कतिले अविभावक चिन्न सक्ने अवस्था थिएन । त्यस्तो अवस्थामा ४ वटा मात्र नागरिकता जम्मा गर्न सक्यौं, ३ नटा पुगेन । संस्था दर्ताका लागि ७ बटा त चाहियो भनेपछि डा. रेणुसँग बसेर जबसम्म हामी सदस्यहरुको नागरिकता बन्दैन, तबसम्म तपाईको कर्मचारीको नागरिकता सापट दिनुपर्छ, भोलि हाम्रो बनेपछि उहाँहरुले हासीखुसी हामीलाई छोडिदिनुपर्छ भनेपछि उहाँले मान्नु भो । हामीले त तिमीहरुलाई सहयोग गर्ने हो, तिमीहरुले केही गर्छु भनेपछि म किन गर्दिन ? भनेर तीनवटा नागरिकता उपलब्ध गराइदिनुभयो । तर, हामीलाई समस्या के भयो भने दर्ता गर्न आफैं जानुपर्ने, एकदमै फुच्चे, दुब्लो पातलो, मोटो भनेको ४५ केजीको । जाँदा सिडियो र कर्मचारीहरुले हामीलाई देखेर खिल्ली उडाए । तलदेखिमाथिसम्म हेरेर ओ हो संस्था चलाउन यति सजिलो भन्ने ठानेको तिमीहरुले ? संस्था चलाउन पीएचडी, डिग्री हासिल गर्नुपर्छ, धेरै पढ्नुपर्छ । तिमीहरु भनेको पढेलेखेको छैनौं, राम्री छौं, बरु डान्स रेष्टुराँमा जाऊ, त्यहाँ भनेको सजिलै काम पाइन्छ, संस्था चलाउनेतिर नलाग भने । हामी जतिपटक गए पनि हामीलाई गरेर गरेर फर्काउँथे । दर्ताका लागि झण्डै ४ वर्ष धायौं हामीले । १९९६ मा समूह गठन गरेपनि २००० मा मात्र संस्था गर्दा गर्न सफल भयौं । अब अति नै भयो भन्ने लागेपछि नदिने हो भने कारण दिनुस, किन दर्ता नगर्ने । होइन भने हामीलाई स्वीकृत दिनुस् । हामी काम गछौं, यदि तपाईहरुलाई हामीले काम राम्रो गरेन भन्ने लाग्यो भने हामीलाई ल्याएर उभ्याउनुस् । तर, मुख हेरेर, जिउ हेरेर, पढाईलाई आधार मानेर यस्तो गर्न मिल्दैन भनेपछि बहस गरेपछि ल गरिखाको हेरौंला भनेर स्वीकृति दिए । हाम्रो शक्ति समूहले म्यागासेसे पुरस्कार पाउँदा हामीलाई गर्व लागेको छ । तपाईहरुलाई पनि पक्कै खुशी लागेको छ । यो हाम्रोमात्रै होइन, सिंगै देशले खुशी हुनुपर्ने विषय हो । यो राष्ट्रकै गौरबको विषय हो । दाताहरुको दुःख त्यो अवस्थामा हामीसँग केही दाता थिए । मामाकास र अक्सफामले सहयोग गरेका थिए, तर पर्याप्त थिएन । संस्था दर्ता भएपछि मामाकासका बोर्ड मेम्बरमा लिन्छु भन्ने आउनुभयो, हामीलाई भेट्नु भो । उहाँले तिमीहरुले यत्रो साहस गरौं, तिमीहरुले पीर नगर, म धेरै त भन्न सक्दिँन, तर अफिस स्थापना गर्ने सामाग्री दिन्छु भन्नुभो । पछि उहाँले हामीसँग खाता नभएकाले ओरेकको खातामा ५ लाख हालिदिनुभयो । एउटा बोर्ड राखेर, एउटा कोठामा अपिस सेट गर भन्नु भो । हामीले त्यसबेला ओरेककै कार्यालयमा भएकाले एउटा फ्लाट भाडामा लियौं । २ जना फुलटाइम र एकजना पार्टटाइम कर्मचारी राख्यौं । त्यसबेला अक्सफामको कन्ट्री डाइरेक्टर मीना पौडेल हुनुहुन्थ्यो । उहाँले अहिले काम गर्नुस भनेर केही पैसा दिनुभयो । अक्सफाम र सेभ द चिल्ड्रेनले कर्मचारीमा आधा र प्रोग्राममा आधा पैसा दियो । त्यसपछि ३ जनै पूर्णकालीन स्टाफ राख्न सक्ने भयौं । हाम्रो कामको क्षेत्र हाम्रो अनुभव के थियो भने बसोबास, बस्ती, गलैंचा कारखानाबाट हाम्रो ग्रुपका बढी भएकाले फोकस त्यही गरौं । किशोरीहरुको समूह बनायौं, छलफल गर्‍यौं । कहिले काँही हामी आफ्नै कथाहरु सुनाउँथौं । तर, मेरो कथा भनेर भन्दैनथ्यौं । यस्तो पनि हुन्छ रे भनेर सनाउँथ्यौं किनभने म यस्तो हुँ भनेपछि म बहिस्कृत पो हुन्छु कि भन्ने डर हुन्थ्यो । परिचय यसरी दिन्थ्यौं कि हामी भनेको विभिन्न महिला हिंसामा परेकाहरुले खोलेको संस्था हो । हामीले कहिल्यै बेचविखनमा परेका भनेनौं । विस्तारै राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरको कार्यक्रममा, मिडिया नभएको स्थानमा हामीले खुलेर भन्थ्यौं कि म बेचिएकी चेली हुँ, मैले यस्तो गरेँ । अब सर्भाइवरका लागि यो यो हुनपर्छ भनेर ०६४ को कानुन संशोधनका क्रममा लविङ पनि गर्‍यौं । अहिले हामी ११ जिल्लामा छौं (मकवानपुर, बारा, पर्सा, रौतहट, झापा, कैलाली, बाँके, बर्दिया, सिन्धुपाल्चोक नुवाकोट, काठमाडौं) । ४ वटा पीडितहरुका लागि आवास पनि छन् । काठमाडौंमा २ वटा सुरक्षित आवास, सिन्धुपाल्चोकमा सरकारकै सहयोगमा र पोखरामा १८ वर्षभन्दा मुनिका, जो उच्च जोखिममा छन् । झापा, बाँके र बर्दियामा बैदेशिक रोजगारीमा गएकाको नाममा बेचबिखनमा परेका दिदीबहिनीहरुको समूह छ । काठमाडौंको हकमा अहिले आन्तरिक बेचबिखन बढेको छ । गोंगबुमा हाम्रो शक्ति स्रोत केन्द्र छ, जहाँ मनोरन्जन क्षेत्रमा काम गर्ने दिदी बहिनीहरु आउनुहुन्छ, टीभी हेर्ने, मेकअप गर्ने, छलफल गर्ने, आफ्नो पीडाहरु शेयर गर्ने गर्नुहुन्छ । सिन्धुपाल्चोक, नुवाकोट, बारा, रौतहटमा बेचविखनमा परेका दिदी बहिनीहरुको समूह छ । हामीले किशोर किशोरीहरुको समूह पनि बनाएका छौं, जुन काठमाडौं, नुवाकोट, सिन्धुपाल्चोक, बारा र रौतहटमा छन् । अहिलेको सोच के छ भने बाँके, बर्दिया र कैलालीमा पनि उच्च जोखिममा भएका किशोर किशोरीहरुलाई संगठित गरेर परिचालन गर्ने योजना बनाएका छौं । सजिलै बेचविखनमा पर्न सक्नेहरुको समूह हो यो । बुढी आमाहरु अझै भेटिन्छन् मुम्बईमा अहिले मुम्बईमा पनि परिर्वतन आएको छ । हामीले रेड लाइट एरियाको भ्रमण गरेका थियौं । त्यहाँ गएर हेर्दा पहिले जहाँ रेडलाइट एरिया थियो ११ नम्बर गल्ली, १२ नम्बर गल्ली भन्ने जस्ता ठाउँमा त साना-साना उद्योगहरु छन् । हामीले किन यस्तो भयो त भनेर बुझ्यौं । १९९६ को रेडपछि सरकार, प्रहरी, पत्रकार र संघ संस्थाको आखाँ त्यहा पर्‍यो र उनीहरुले असुरक्षित महशुस गरेर ठाउँ सरेछन् । तर, त्यहाँ एजेन्ट छन्, बुढी बुढी महिलाहरु । सानो कोठामा ३/४ बटा पर्दा लगाइएको छ । त्यसपछि हामीले सोधौं तपाईहरु किन यहाँ बसेको भन्दा त्यहाँबाट उठेपछि त ग्राहकसँगको सम्पर्क टुट्छ भनेर एजेन्ट बनेर बसेका रहेका छन् । हामीले मुम्बईमा नेपालीहरुलाई नै भेटेका थियौं । किन यहाँ बसेको, अतीतलाई भुल्नुस्, अब त बुढी पनि हुनुभो, ग्राहकले पनि भने जस्तो पैसा दिँदैनन होला, नेपालमै जाऊँ हिड्नुस् भन्दा उनीहरुले भने- ‘नेपालमा गएर के गर्ने तिरस्कार ? घृणा ? त्योभन्दा बढी के पाउँछौं हामीले । बरु, यहाँ एकदुई छाक खान पाएका छौं । हामीलाई के नै गर्नु छ र, छोरो रोला छैन, छोरी रोला छैन, एक्लो जिन्दगी, दुई छाक खान पाएकै छौं । मरेपछि जे होला होला । उहाँहरुको कुरा एक हिसावले सही पनि हो । नेपाल आएर के पाउनुहुन्छ र उहाँहरुले ? उल्टै घृणा मात्र । उमेर ढल्किएपछि आयको काम, कोठीमा खाना पकाउने, चिया नस्ता दिनेतिर उनीहरु सिफ्ट हुन्छन् । उमेर हुञ्जेलमात्रै जीउ बेच्ने हो । मुम्बईमा दोस्रो तेस्रो जेनेरशनका नेपाली पनि छन्, तर, अहिलेसम्म कसैसँग आधिकारिक तथ्यांक छैन । आईएलओले बाषिर्क ४ देखि ७ हजार बेचिन्छन् भनेर २००२ मा भनेको थियो । तर, अझै ठोस तथ्यांक छैन । अहिले झन् बेचबिखन बढेको भनिन्छ तर, ठोस आधार छैन । किशोरीहरुलाई सुझाव अहिले कसैले कसैलाई विश्वास गर्न सक्ने अवस्था छैन । केटाहरुले प्रेमको नाटक गरेर या श्रीमानले नै बिहे गरेर, साथमा राखेर त लगेर बेचिदिन्छन् भने कसको विश्वास मान्ने ? त्यसैले अब सबै सचेत हुनुपर्छ । यदि हामीलाई कसैले फकाउँदैछ, जागिरको प्रलोभन देखाउँदैछ या यसो गरौं भन्छन्, भने किन यसो भन्दैछ, उसको पछाडिको स्वार्थ के छ भनेर विश्लेषण गरौं । आफ्नै दाइ, बाबुले भनेको छ भने कुन भावमा आएको भनेर सोचौं । यसको अर्थ आफ्नै परिवारलाई विश्वास नगर्नुस् भनेको हैन । तर, शंका लाग्छ भने १० पटक सोच्नुस्, साथीभाइसँग सल्लाह लिनुस् र बल्ल निर्णयमा पुग्नुस् । मलाई यसो भनेको छ, मे के गरुँ भनेर सल्लाह गर्नुस्, आफ्नै आमा पनि यसमा तपाईको साथी हुनसक्नुहुन्छ । समाज र राज्यले गर्नुपर्ने काम यो समस्या न्यूनीकरणका लागि सबैले गर्नुपर्छ । राज्य, समाज, नागरिक सबै सचेत हुनुपर्‍यो । कुनै नयाँ मान्छे गाउँ पस्दैछ भने किन पस्दैछ भनेर चासो राखौं । राज्यले भएको कानून कार्यान्वयनगर्नुका साथै अझै विस्तारमा पहल गर्नुपर्छ । अनुगमन र तत्काल कारबाही, जाहेरी दिनेहरुको सुरक्षाको व्यवस्था मिलाउनुपर्छ ।  

_____ · Jul 29, 2013 7:20 AM · 3,109 views

2 Replies

रेड लाईट बाट फर्किएका चेलीले भन्दा बिदेस गएर रेमिट्यान्स भित्राउनेले धेरै एच आइ भी भित्य्राएका छन् |

Magorkhe1 · Jul 30, 2013 8:54 PM

  मुम्बईदेखि म्यागासेसे   (0 Votes)   1 2 3 4 5       सुरज कुँवर                     १         कथा २०४४ सालतिरको हो । कर्णालीसँग जोडिएको दैलेखको सदरमुकामबाट डेढ दिन उत्तरतिर हिँडेपछि पुगिने कासीकाध गाविसको तोरीमुल गाउँका गंगाबन संन्यासीको परिवारलाई छाक टार्न समस्या थिएन । तोरीमुल गाउँमा आँखाले हेरेर नभ्याउने पाखो बारीबाट वर्षभरिलाई पुग्ने अनाज जेनतेन फल्थ्यो । १७ वर्षकै उमेरमा गंगाधरले सदरमुकाम नजिकैको खुर्सानी बारीकी चन्द्रकला बुढाथोकीलाई भगाई अन्तरजातीय बिहे गरे । चन्द्रकलाबाट संन्यासी परिवारमा १० सन्तान जन्मिए । तर के कारणले हो कुन्नी चन्द्रकलाले तीन छोरी र तीन छोरालाई नाबालक उमेरमै गुमाइन् । ६ जना नाबालक गुमाएपछि संन्यासी परिवार विरक्तियो । चन्द्रकलाले बोक्सीका कारण ६ जना सन्तान गुमेको लख काट्दै बाँकी तीन छोरी र एक छोराको पनि ज्यान खतरामा रहेको बताउन थालेपछि संन्यासी परिवारले तोरीमुल गाउँ सदाका लागि छाड्ने निधो गर्‍यो । पत्नीको एकोहोरो बसाइँ सर्ने ढिपीपछि गंगाबनले पाखोबारी, वस्तुभाउ छिमेकीलाई बिक्री गरी ४/५ हजार बाटो खर्च बनाएर लिलबहादुर क्षत्रीको बहुचर्चित 'बसाइँ' उपन्यासका पात्रहरूले झैं तोरीमुल छाड्यो । टाँगा चढेर पश्चिम नेपालको रुपइडिहा नाका कटाउँदै गंगाबन कान्छी छोरी सुनिता, एक्लो छोरो टोपबहादुर र माइली छोरी सुमित्राका साथ भारतको जम्मुकास्मिर पुग्यो । जेठी छोरी राधाको बिहे भैसकेकाले उनलाई बर्दियामै छाडियो । त्यसताका पश्चिम नेपालबाट रोजगारी खोज्दै जानेहरू आलु रोप्ने, स्याउ टिप्ने, दैनिक ज्यालादारीमा कुल्ली काम गर्थे । गंगाधरको परिवार सिपालु थिएनन् । जानेको कृषिकर्म बाहेक विकल्प नभएका निम्न वर्गीय गंगाबन परिवारको जम्मुकास्मिरमा अब जीवनको दोस्रो अध्याय सुरु भयो । सिजनमा साहुको फार्ममा स्याउ टिप्ने, प्याकेजिङ गर्ने, फार्मबाट स्टोरसम्म पिठ्युँमा ओसार्ने, आलुखेती गोडमेल गर्ने, हार्भेस्ट गर्ने कर्ममा गंगाधर, उनकी पत्नी चन्द्रकला, छोरा टोपबहादुर, सुमित्रा लागे । हिमाञ्चल प्रदेश र पन्जाबसँग सीमा जोडिएको कास्मिरमा हिउँद याममा अत्यधिक हिउँ पथ्र्यो । नेपालको मध्यपहाडी भेगमा हिउँ नभोगेका उनीहरू हिउँद याममा फुर्सदिला हुन्थे । हिमपात नभएका बेला हातमुख जोड्न निर्माणसम्बन्धी कुल्ली र ज्यालादारी कामतिर मोडिन्थे । यी सबै कर्मलाई नियाल्दै आइरहेकी थिइन्, कान्छी छोरी सुनिता । ५ वर्षको उमेरमै नेपाल छाडेर परिवारको हात समात्दै पछाडि लागेकी उनी पनि त्यता पुगेपछि स्याउ टिप्ने, आलु गोड्ने, कुल्ली काममा सघाउने भैसकेकी थिइन् । यस्तै पेसाबाट आर्जन गरेको रुपैयाँबाट गंगाबनले साहुको जग्गामा सानो झुप्रो बनाए । त्यही कच्ची झुप्रोमा २ छोरीसहित ५ जनाको परिवारको जीवन चल्दै गयो । सुनिताले स्कुल पढ्न चाहिन् । तर गंगाबनले मानेन । 'बरु तिम्लाई मै सिकाउँछु अक्षर, चिट्ठी लेख्न-पढ्न जाने पुग्छ, अरु बढी किन लेखपढ गर्नुपर्‍यो' भनी उनले सुमित्रालाई पढाउन थाले, 'सामइ क, कन्दिना का, बाइमात्रा की....!' यसरी उनले ब्राहखरी पढिन् । दिनभर स्याउ र आलु खेतीको अल्झन बेलुकी छोरी पढाउने सामान्य साक्षर गंगाबनले सुनितालाई अक्षर चिन्नेमात्रै होइन, चिट्ठी लेख्न र पढ्न सक्ने बनाए । यस्तै दैनिकी गुजार्दै गंगाबनको परिवारले दिन, महिना, साल बिताउँदै गयो । आय आर्जनको कर्म भए पनि बचत गर्न नसकेका उनीहरू पेटका लागि भइरहेको गुजारामा रमाइरहेका थिए । ५ वर्षको उमेरमा कास्मिर पुगेकी सुनिता १४ वर्षकी किशोरी भैसकेकी थिइन् । आमाबाउ, माइली दिदी र दाजुजतिकै काम गर्ने भैसकेकी उनी आँट्दा फार्मबाट ५ पेटी स्याउ जुरुक्क पिठ्युँमा बोकेर ढुवानी गर्ने स्टेसनसम्म पुग्थिन् । उनले बोलीचालीका लागि कास्मिरी भाषा जानिसकेकी थिइन् । डकर्मी र सिकर्मी पनि जानेका गंगाबन कास्मिर भासिएको नौ वर्षपछिको एकदिन उनका कान्छा भाइ टुप्लुक्क खबर नगरी दैलेखबाट कास्मिर पुगे । तीन महिनाको बसाइपछि गंगाधरका १६ वर्षे जेठा छोरा टोपबहादुरलाई घर सल्लाह नगरी कान्छा भाइले 'बेपत्ता' बनाए । एक्लो छोरा, जसले मरेका दिन आमाबाउको काजकिरिया गर्ला ठानेर गंगाबन दम्पतीले जोगाउँदै कास्मिर पुर्‍याएका थिए, उसैलाई बेपत्ता बनाइएपछि उनीहरूले खुसी जीवनमाथि फेरि अर्को ब्रजपात परेको महसुस गर्दै छोराको खोजीमा कास्मिर छाड्ने निधो गरे । कमाइबाट जोगाएको पैसा थुपार्दै गंगाधर हलक्क बढेकी कान्छी छोरी सुनिता, पत्नी र माइली छोरी सुमित्राका साथ गढवाल, अल्मोडातिर हान्निए । त्यहाँसम्म आइपुग्दा उनीहरूको गोजी रित्तो भैसकेको थियो । छोरा नभेटेपछि त्यहाँ डेरा खोजेर कुल्ली र ज्याला मजदुरीको काम सुरु भयो । रोडाढुंगा ओसार्ने र बोक्ने, ट्याक्टरमा लोड-अनलोड गर्ने यस्तै-यस्तै दैनिकीमा उनीहरू अल्झिए । त्यही ठाउँमा गंगाबनको परिवारको दुईजना नेपाली ट्याक्टर चालकसँग चिनजान भयो । ती चालकहरूलाई ट्याक्टरी धनीले 'ओई बाहादुर' भन्थे भने गंगाबनको परिवार बाबु भनी सम्बोधन गर्थे । उनीहरूले हाँक्ने ट्याक्टरले बोक्ने रोडाढुंगा जम्मा पार्थे उनीहरू । भने ती दुई नेपाली चालक ओसार्थे । अल्लारे उमेरका ती दुई बेला-बेला सुनितालाई जिस्काउँदै भन्थे, 'यो उमेरमा पनि आमाबाउको कमाइमा बाँच्ने ? कस्ता-कस्ताले हातमा आमाबाउ पाल्छन्, तिमी किन बाउआमाको पछि-पछि किन लागेको ?' भन्थे । प्रेरणादायी तर अलि ओजनदार यस वाक्यलाई सुनिता सामान्य स्रोतासरह सुन्थिन्, बिर्सिन्थिन् । महिना दिन जतिपछि कुनै नेपालीले उनको छोरा र भाइलाई नैनीतालतिर देखेको खबर सुनायो । त्यो खबरले उत्साहित बनेको गंगाबनको परिवारले महिना दिन जतिको कमाइबाट जुटेको पैसा खर्चेर नैनीताल ओर्लिने निर्णय लियो । यसै सबै घटना सुनेका र एक महिनादेखि साथसाथै काम गरिरहेका ती दुई ट्याक्टर चालकहरूले पनि गंगाबनको परिवारलाई छोरा टोपबहादुरको खोजीमा सघाउन नैनीतालसम्म साथै गइदिने वाचा गरे । यसै सिलसिलामा उनीहरू अल्मोडाबाट भोलि बिहानको बस चढ्न बस स्टेसन नजिकैको होटलमा बास बस्न आइपुगे । साँझको बेला ती अल्लारेहरूले कतैबाट लड्डु ल्याएर बाँड्न थाले । सुनिता नखाने भन्दै इन्कार गर्दै थिइन्, तर गंगाधरले क्वाप्प मुख हाल्दै 'खाउ-खाउ यी बाबुहरूले राम्रै ठानेर दिएका हुन्, यी मैले त खाएँ' भनी लड्डु खाए । सुनितालाई यतिसम्म याद छ, त्यसपछि के भयो, उनलाई थाहा छैन । यो ५२ सालतिरको कथा हो । अर्को दिनजस्तो हुनुपर्छ, उनले आफूलाई एकाएक मुम्बईको कोठीमा भेट्टाइन् । जहाँ उनका बुबाआमा कोही थिएन । उनीहरू कता गए, उनलाई थाहा भएन । छेउमा बसेकी नेपालीभाषी घरवाली (जसलाई कोठीमा 'बाई' भनिन्छ) ले 'तिमीलाई ल्याएर आएका केटाहरू कपडा किन्न गएका छन्, केही बेरमा आउँछन्' भनिन् । ती कपडा किन्न हिडेका केटाहरूको बाटो हेर्दाहेर्दै सुनिताले घन्टा, दिन, हप्ता बिताइन्, तर उनीहरू आएनन् । उनले विस्तारै आफू बसेको घर कोठी भएको र दलालहरूले आफूलाई बेचेको थाहा पाइन् । केही हप्तापछि घरवालीले ८० हजार भारुमा सुनितालाई किनेको बताउँदै यौन व्यापारका लागि तयार हुन दबाब दिन थालिन् । तर सुनिताले विद्रोह गरिन् । आमाबाउको ममतामा हुर्किंदै गरेकी किशोरी सुनिताले झन्डै एक महिना भोकभोकै रुँदै आमाबाबुको सम्झनामा रातदिन बिताइन् । सुनिताको रुवाबासी र इन्कारले आजित बनेकी घरवालीले एक महिनापछि उनलाई नजिकैको अर्को कोठीमा १ लाख ६० हजारमा बिक्री गरिन् । महाराष्ट्र प्रान्तको कमाटीपुरामा रहेको कोठीमा उनलाई सामूहिक बलात्कार गरियो । परिवारसँग खाइखेली गर्दै कास्मिरमा हुर्किंदै गरेकी सुनिताको जीवन अँध्यारोमा धकेलियो । ५ महिनापछिको एकदिन अधिकारकर्मीहरूसहित महाराष्ट्र प्रहरीले कमाटीपुराका कोठीमा व्यापक छापा हान्यो । जहाँबाट १८ वर्ष मुनिका २ सय बढी चेलीबेटीको उद्धार गरियो । त्यही भीडमा थिइन् सुनिता, चरीमाया तामाङ, दिलकुमारी राई लगायत करिब १ सय २४ जना नेपाली चेली । जसलाई मानव बेचबिखन विरुद्धमा काम गर्दै भारतीय र नेपालका ७ वटा संस्थाको सहयोगमा  मुम्बईबाट राजधानी काठमाडौं ओरालियो । १३ देखि १८ वर्षसम्मका ती किशोरीहरूमध्ये केहीको एचआईभीका कारण मृत्यु भयो । केही गाउँ फर्के । केहीलाई गैरसरकारी संस्थाहरूले पुनःस्थापना गरे । केहीले सीप सिकेर इलम थाले । केहीले वैवाहिक जीवनयापन गरे । केही विदेशिए । यसै भीडमा यता न उता भएका १५ जना चेलीहरूले समाज र राज्यले बहिस्कार गरिरहेको अवस्थालाई चिर्दै आफूहरूले भोगेको जस्तै जीवन अरु चेलीबेटीले अपनाउनु नपरोस् भनेर एकबद्ध भई काम गर्ने अठोट लिए । माइती देश फर्के पनि रुवाइमा दिनरात बिताउनेहरूले पीडालाई शक्तिमा  बदल्दै स्थापना गरेको 'शक्ति समूह'ले करिब ४७ लाख रुपैयाँसहित यस वर्षको एसियाली नोबेल पुरस्कार मेगासेसे जितेको छ । यसअघि अमेरिकी सरकारले २०११ मा 'आधुनिक दासता विरुद्धको सम्मान शक्ति समूहकै संस्थापक सदस्य चरीमाया तामाङलाई दिइसकेको छ । त्यसअघि २००७ मा अमेरिकी सरकारले यस संस्थालाई 'प्रभावितहरूले चलाएको अग्रणी संस्था'को सूचीमा राखिसकेको छ । ३२ चेलीहरूलाई कोठीबाट फर्काएको, ३ सय ३२ जनालाई सेल्टरमा राखेर सहयोग गरिसकेको शक्ति समूहले हालसम्म १५/१६ हजार किशोर/किशोरीलाई चेतना जगाइसकेको छ । सुरुका दिनमा दाताहरूको ५ लाख सहयोगबाट उठेको समूह यतिबेला दातृ निकायको वाषिर्क ३ करोड हाराहारी सहयोगमा काम गरिरहेको छ । जसको नेतृत्व दैलेखमा जन्मेर कास्मिरमा हुर्केकी अनि मुम्बईमा बेचिएकी चेली सुनिता ले गर्दै आएकी छन् ।   - See more at: http://www.ekantipur.com/np/20...

_____ · Aug 3, 2013 9:09 AM

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion

You might be interested in...

Recent Classifieds View all
Upcoming Events View all
Service Providers View all