एभिन्युजका पत्रकारमाथि मालिकको मुक्का

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

एभिन्युजका पत्रकारमाथि मालिकको मुक्का by Media Kurakani July 23, 2013     92 एभिन्युज टेलिभिजनका एक पत्रकारमाथि समाचार कक्षमै हातपात भएको छ । पत्रकार नवीन ढुंगानालाई टेलिभिजनका अध्यक्ष भाष्करराज राजकर्णिकारले समाचार कक्षभित्रै कुटपिट गरेको एभिन्युजका कर्मचारीले बताएका छन् । ‘तलबको कुरा गर्ने यही हैन भन्दै एक मुक्का हान्नुभयो’, प्रत्यक्षदर्शी एक पत्रकारले भने, ‘हामी सबै समाचारकै तयारीमा थियौँ ।’ घटनापछि न्युजरुम दिनभर आतंकित बनेको थियो । टेलिभिजनमा कार्यरत दुई महिला पत्रकारबीच फेसबुकमा भएको भनाभनको विषयलाई लिएर क्यामेरा पर्सन तथा रिपोर्टर ज्योति शाहलाई एभिन्युज व्यवस्थापनले बर्खास्त गरेपछि आक्रोशित पत्रकारले ‘तलब पनि नदिने र पत्रकारलाई अन्यायपूर्ण तरिकाले निष्कासन गर्ने’ भन्दै बिरोध जनाएका थिए । बिरोधको नेतृत्व पत्रकार ढुंगानाले गरेका थिए । व्यवस्थापनले ढुंगानालाई निलम्बन गरेको छ । ढुंगानाले नेपाल सन्देश डट कमसँग भनेका छन्ः ‘१० महिनादेखि नियमित तलब पाएका छैनौँ । तलबका लागि हामीले सम्बन्धित निकायलाई पटक पटक जानकारी गराएँ तर, सुनुवाई भएन । आज एक्कासी तलबको कुरा गर्ने ?यहाँ तलबका लागि अरु कर्मचारीलाई उस्काउने र राजनीति गर्ने ? तँ जस्तो पत्रकार चाहिँदैन भन्दै कुट्न थाले ।’ पत्रकार रोजिता कँडेल र शाहबीच फेसबुकमा चर्केको व्यक्तिगत विवाद व्यवस्थापनसम्म पुगेपछि व्यवस्थापनले शाहसँग स्पष्टीकरण मागेको थियो । स्पष्टीकरण चित्त बुझ्दो नभएको भन्दै उनलाई व्यवस्थापनले बर्खास्त गरेपनि पत्रकारहरुले भने उनीमाथि अन्याय गरिएको बताएका छन् । पत्रकारको बिरोधबाट अत्तालिएर व्यवस्थापन हातपातमा उत्रिएको एक पत्रकारले बताए । ‘यहाँ राजनीति चल्दैन । दादागिरी देखाउने सबैलाई तह लगाइन्छ’, एक पत्रकारले राजकर्णिकारको भनाई उद्धृत गरे । एभिन्युज टिभीका अधिकांश पत्रकारले एक वर्षदेखि तलब पाएका छैनन् । ‘व्यवस्थापनले ल्याएकाहरुलाई पहिल्यै पेश्की दिइन्छ । प्रतिष्पर्धाबाट आउने हामी तलब नपाएर हैरान’, एभिन्युजका एक पत्रकारले भने । एभिन्युज टिभीका कार्यकारी अध्यक्ष राजकर्णिकार नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष समेत हुन् । अपडेटः 2013/7/24 6.52 pm कुटपिटमा परेका एभिन्युज टेलिभिजनका पत्रकार नवीन ढुंगाना र ज्योति शाहले सूचना विभाग, नेपाल पत्रकार महासंघ, जिल्ला प्रशासन कार्यालय काठमाडौं र फ्रिडम फोरममा उजुरी दिएका छन् । उनीहरुले सुरक्षाको प्रत्याभूति र कुटपिटमा उत्रेका एभिन्युज टिभीका अध्यक्ष भाष्करराज राजकर्णिकारलाई कारवाहीको माग गरेका छन् । उजुरीमा ढुंगाना र शाहले दुईजना कर्मचारीबीचको व्यक्तिगत असमझदारीलाई टेलिभिजनका बोर्डकास्टिङ म्यानेजर सगुन शाक्यले सामुहिक बनाएर ज्योति शाहलाई असभ्य भाषाको प्रयोग गरी, गाली गलौज गरेको उल्लेख गरेका छन् । फोनमा भएको दुर्व्यवहारको न्याय नपाउँदै शाहलाई निस्काशनका लागि अनावश्यक लिखित स्पष्टीकरण सोधिएकोले पत्रकारहरुले अन्यायको बिरोध गरेको उजुरीमा उल्लेख छ । शाहको पक्षमा लागेर बोलेको भन्दै टेलिभिजन ब्यवस्थापनले नवीन ढुंगाना, सजिता केसी लगायतका ९ जना लाई गुटबन्दी र राजनीति गरेको झुठो आरोप लगाइएको र निश्कासन गर्ने धम्की दिइएको उनीहरुले जनाएका छन् । आइतवार जेनेरल म्यानेजरसँग मिलापत्र भईसकेको घटनालाई क्रान्तिकारी पत्रकार संघसंग सम्बन्ध राखेर १३ महिनाको तलब माग्न पत्रकार कर्मचारीलाई एकजुट बनाएको आरोपमा अनावश्यक उचालेर कर्मचारीमाथि दुर्व्यहार भएको उजुरीमा उल्लेख छ । एक वर्षदेखि तलब नपाएको र पत्रकार उर्मिला विष्टलाई गर्भवति भएकै आधारमा निष्कासन गरिएको घटनाको बिरोध गरेपछि रुष्ट ब्यवस्थापन कर्मचारीमाथि हातपातमा उत्रेको उनीहरुले उल्लेख गरेका छन् । उजुरीमा लेखिएको छः म नवीन ढुंगाना समाचार संकलन गरेर समाचार कक्षमा फर्कदै थिएँ । समाचार कक्षामा कोही चर्को स्वरमा बोलिरहेको सुने । मलाई खोजिएको खबर रिपोर्टर चफ शिव दाहालले जानकारी दिएपछि म त्यहाँ माहौलमा पुगे, जहाँ कार्यकारी अध्यक्ष उफ्रिरहेका थिए । मलाई देख्नासाथ उनी झोक्किए र मलाई मिथ्या आरोप लगाएर मुक्का ताके । म बोलिनँ । प्रतिवाद गरिन । तर उनले मलाई पाखुरा र कुहिनामा मुक्का हाने । मलाई हात हाले पछि जेनेरल म्यानेजर लक्ष्मण बास्तोलाले राज कर्णिकारलाई समाए । उनले तल्लो तहमा उत्रिएर हामीलाई गाली गरे । आफू कानुन नियम केही नमान्ने भन्दै एक एक गरी ठेगान लगाउने उनले धम्की दिए । तलब माग्ने, अधिकार खोज्ने र व्यवस्थापनको गल्तिबारे बोल्नेलाई निष्काशन गर्न निर्देशन दिए । र, बाहिरीए । मैले एक महिला सञ्चारकर्मीमाथि भएको अन्यायको बिरुद्धमा आवाज उठाउनु गलत थियो ? पसिना बगाएर गरेको मेहनतको पारिश्रमिक माग्नु गलत थियो ? उजुरीमा अन्य पत्रकारलाई पनि निष्कासन गर्ने धम्की दिइएको उल्लेख छ ।

ashishme · Jul 24, 2013 10:20 AM · 12,951 views

1 Reply

  राजावादी र माओवादीवीच सहकार्य हुन्छः कमल थापा     ९ साउन, काठमाडौं। राप्रपा नेपालका अध्यक्ष कमल थापाले आगामि मंसिर ४ गतको लागि तय भएको संविधानसभा निर्वाचन अवरुद्ध भए राजावादी र माओवादीवीच सहकार्य हुने बताउनु भएको छ । नेकपा-माओवादीको कारण नभई चार दलको कारण निर्वाचन अवरुद्ध हुन सक्ने भन्दै उहाँले भन्नुभयो-’त्यस्तो अवस्थामा राष्ट्रियताको रक्षाको लागि राजा र माओवादी सहित सबै राष्ट्रवादी शक्तिहरुवीच सहकार्यबाट आन्दोलन हुन्छ र त्यसलाई कसैले पनि रोक्न सक्दैन ।’ रिपोर्टर्स क्लब नेपालले बुधवार आयोजना गरेको साक्षात्कारमा थापाले माओवादी अध्यक्ष मोहन बैद्य किरण, सचिव नेत्रविक्रम चन्द्र र देव गुरुङसँग आफ्नो भेटवार्ता भएको र अहिले पनि नियमित सम्पर्क भईरहेको बताउनु भयो । राष्ट्रियताको रक्षाका लागि राष्ट्रवादी शक्तिहरुवीचको एकता आवश्यक रहेको भन्ने माओवादी नेताहरुको भनाईको स्वागत गर्नुभयो । उहाँले भन्नुभयो-’बैद्यजीले अलि हिम्मत गरेर राष्ट्रियताको रक्षा र सम्बर्द्धनको लागि पूर्वराजसँग सहकार्य हुन सक्छ भन्ने अभिब्यक्ति सही छ । यसले राजनीतिक ध्रुविकरणको संकेत गरेको छ । अन्ततःराजावादी र माओवादी मिलेर राष्ट्रियतामाथि आएको खतराको समाना गर्ने छ ।’ नेपाली काग्रेसका नेता शसांक कोइराला र मोहन बैद्य किरण जस्तो जिम्मेवार नेताहरुले दिएको अभिब्यक्तिले नेपालमा राजसंस्थाको औचित्य र सान्र्दभिकता भएको पुष्टि भएको उहाँको भनाई छ । थापाले राजा र माओवादी मिलेर जानु पर्छ भनि प्रस्ताव राख्ने पहिलो ब्यक्ति पूर्व प्रधानमन्त्री डा बाबुराम भटटराई नै भएको दावी गर्नुभयो । सुदुरपश्चिमका बाढी पीडित जनताको लागि राहत वितरण गरेको विषयलाई लिएर पूर्व प्रधानमन्त्री बाबुराम भट्टराईले पूर्व राजा ज्ञानेन्द्रलाई जेल हाल्नु पर्छ भनि दिएको अभिब्यक्ति प्रति लक्षित गर्दै अध्यक्ष थापाले भने-प्रधानमन्त्रीबाट हटेपछि बाबुरामजीको अभिब्यक्ति, ब्यवहार र कार्य हेर्दा उहाँलाई आरामको आवश्यकता छ । म उहाँलाई ध्यान, योग र आध्यात्मिक निन्तन गर्न सुझाव दिन्छु ।’

Tmobile · Jul 24, 2013 7:23 PM

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion

You might be interested in...

Recent Classifieds View all
Upcoming Events View all
Service Providers View all