माओ र महेन्द्रबीचको सेतु

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

  माओ र महेन्द्रबीचको सेतु 20 Jul 2013 | 09:02am ५ श्रावण, २०७० नागरिक     1 2 3 4 5 (0 votes) काठमाडौं– बुबा (राजा त्रिभुवन) ले भारतीय प्रधानमन्त्री जवाहरलाल नेहरुलाई भेट्न एक घन्टा कुर्नुपरेको घटनालाई तत्कालीन युवराज महेन्द्रले नेपालप्रति भारतको हेपाहा प्रवृत्तिको रुपमा बुझेका थिए। उनी भारतसँग शक्तिसन्तुलनका लागि उत्तरतर्फ हेर्ने पक्षमा थिए। तर चीनसँग सम्बन्ध बढाउने मौका उनलाई मिलिरहेको थिएन।   विक्रमसंवत २००९ सालमा राजा त्रिभुवन स्वास्थ्य उपचारका लागि स्विट्जरल्यान्ड गएकाले युवराज महेन्द्र राजप्रतिनिधिपरिषदका अध्यक्ष बने। उनी यो अवसरको सदुपयोग गर्ने प्रयासमा जुटे। उनी चीनसँग मित्रताको हात बढाउन चाहन्थे, तर त्यसको सेतु बन्न सक्ने विश्वासपात्र भेटिरहेका थिएनन्।  संयोगले म त्यसबखत काठमाडौंमा थिएँ। तत्कालीन राजपरिषद अध्यक्ष युवराज महेन्द्रले मलाई यस कामका लागि योग्य सम्भि्कए। युवराजसँग मेरो संगत त्यति लामो थिएन। उनले मलाई त्यो काम सुम्पिए, सायद कम्युनिस्ट भएकाले विश्वास गरेका थिए। आचार्य नरेन्द्रदेवको संगतले म कम्युनिस्ट बनेको थिएँ। कम्युनिस्ट भएको आरोपमा मेरो नाममा २००८ सालदेखि नै पक्राउ 'वारेन्ट' थियो। मलाई समाउन मेरो गाउँ मनाङ आएका प्रहरीलाई गाउँलेले धपाएर पठाएका थिए। पछि, भारतीय सैनिक मिसन मलाई खोज्न आएपछि भागेर तिब्बतको सिङदुवा गाउँमा एक वर्षजति बसेँ र उतैबाट कालिङपोङ झर्दै नयाँदिल्ली पुगेर बसेको थिएँ। युवराज महेन्द्र दिल्ली आएका बेला एक भारतीय ज्योतिषले हाम्रो सम्बन्ध जोडिदिएका थिए। महेन्द्रले मेरो नामको वारेन्ट रद्द गराइदिए र म युवराजसँगै नेपाल फर्केर काठमाडौंमा बस्न थालँे। महेन्द्रका विचारमा त्यसबेलाका सबै नेता र कर्मचारी भारतपरस्त थिए। केही बोल्न नपाउँदै सबै कुरा भारत पुग्ने अवस्था थियो। त्यसैले महेन्द्रले गोप्य रुपमा मलाई चीन पठाउने योजना बनाएका रहेछन्। उनले माओ त्से तुङलाई लेखेको पत्र पुर्‍याउने जिम्मा मैले पाएँ। उनका केही विश्वासपात्र सैनिक अधिकृतबाहेक कसैलाई यसको सुइँको थिएन। हवाइजहाजबाट दिल्ली, हङकङ हुँदै बेइजिङ जाने कुरा ठिक जँचेन। त्यसो गर्दा भारतले थाहा पाउने निश्चित थियो। म पहिले पनि तिब्बत बसेको हुनाले मैले आफ्नै गृहजिल्ला मनाङको बाटो हुँदै तिब्बतको बाटो बेइजिङ जाने योजना बनाएँ। महेन्द्रले पत्रबाहेक मलाई थप केही उपलब्ध गराएका थिएनन्। उनका सैनिक जर्नेलहरुले केही मान्छे दिन्छन् कि भनेर सोधेँ, तर तिनीहरु पनि भाषा नजानेको बहानामा तर्र्किए। मलाई युवराजले वारेन्ट रद्द गराएर लगाएको गुण तिर्न म उनलाई सहयोग गर्ने पक्षमा थिएँ।  त्यसबेला तिब्बत साह्रै अशान्त थियो। लुटपाट, हत्याजस्ता घटना बढेका थिए। चीनले तिब्बत आफ्नो कब्जामा लिइसकेको थियो। शान्तिसुरक्षा कमजोर थियो। नयाँ मान्छेलाई त्यहाँ जान सजिलो थिएन। मैले करिब ६० जनाको समूह बनाएँ र गाउँमा भएका करिब ३० वटा बन्दुक बटुलेर तिब्बततर्फ लागेँ। मनाङबाट लार्केभन्ज्याङ हुँदै तिब्बतको सिमानासम्म पुग्न सात दिन लाग्यो। खानपिनका सामान सम्पूर्ण आफैंले बोक्नुपर्ने हुनाले धेरै भरिया लानुपर्ने। त्यसको सम्पूर्ण खर्च मैले आफैं व्यवस्था मिलाएको थिएँ। मेरा पुर्खा गुरुङ राजखलक भएकाले मलाई पैसाको खासै समस्या थिएन। तिब्बत र नेपालको सिमानामा पिएलएका सेना पुगिसकेका थिए। हामी क्ष्याङपो नदी (भारतीय नाम ब्रह्मपुत्र) तरेर बास बस्यौँ। नदी तर्न गाह्रो थियो। याकको छालाले बनाएका डुंगाबाट नदी पार गर्नुपर्थ्यो। नदीपारि मैले आफ्नो उद्देश्य त्यहाँको ब्यारेकमा गएर सेनालाई बताएँ। उनीहरुले मलाई बेइजिङ पुर्‍याउन मद्दत गर्ने भए, तर म एक्लै जानुपर्ने भयो। मेरा साथ लागेर आएका साथीहरुलाई त्यहीँ छाडेर एउटा सैनिक बाहनमा म ल्हासातिर लगिएँ।  उनीहरुले मलाई ल्हासामा एउटा राम्रै ठाउँमा लगेर राखे र उताबाट खबर आउँछ, पर्ख भने। तर एक दिन, दुई दिन हुँदै महिना दिनसम्म खबर आएन। एक महिनापछि बल्लबल्ल एक दिन प्लेनमा राखेर राजधानी पेकिङ (अहिलेको बेइजिङ) लगे। डकोटा जहाजबाट पेकिङ पुग्न तीन दिन लाग्यो। एक दिन सिनजियाङ लगेर राखे, भोलिपल्ट अर्को स्थानमा अनि बल्ल पर्सिपल्ट मात्र पेकिङ पुगियो।  बेइजिङमा पुगेपछि बल्ल थाहा भयो– नेपाली र चाइनिज दुवै बोल्न सक्ने दोभाषेको खोजी गर्न चीनलाई एक महिना लागेको रहेछ। तिनले भारत दार्जिलिङ बस्ने  चिनियाँमूलका युवकलाई यो कामका लागि तयार पारेर पेकिङ पुर्‍याएका रहेछन्। तिनी  बडो राम्रो नेपाली बोल्थे।  माओ अंग्रेजी बोल्दा रहेनछन्। चाउ एन लाई पनि फ्रेन्च बोल्ने, अंग्रेजी नबोल्ने। म बेइजिङ पुगेको भोलिपल्ट चाउ एन लाईसँग भेट्न लगियो। उनी बेइजिङ नजिकै एउटा साधारण घरमा बस्दारहेछन्। मैले उनलाई भेटेर महेन्द्रको पत्र बुझाउन खोजेँ,ं तर उनले लिएनन्, माओलाई आफ्नै हातले बुझाउन भने। माओ बेइजिङबाट करिब एक घन्टाको दूरीमा बसेका रहेछन्। चाउ एनलाईसँग भेटेको भोलिपल्ट माओलाई भेटेर मैले युवराज महेन्द्रको पत्र हस्तान्तरण गरेँ। पत्रमा युवराज महेन्द्रले आफ्नो देश भारतीयहरुको थिचोमिचो र हैकममा परेको र नेपाली जनताको स्वाधीनता जोगाउन चीनको सहयोगको जरुरत भएको कुरा लेखेका थिए। उनी आफ्नो सरकारबाट भारतीय हित हेर्नेलाई निकालेर नेपालको हित हेर्नेलाई संलग्न गराउन चाहन्थे। त्यसका लागि चीनको सहयोग मागेका थिए। देश बचाउन जरुरत परे आफू कम्युनिस्ट बन्न पनि तयार रहेको कुरासमेत सो पत्रमा उल्लेख गरेका थिए, युवराजले।  पत्रको बेहोरा सुनेपछि माओ एकदमै खुसी भए। उनले भने सामन्ती राजा भए पनि महेन्द्रमा जनताको हितका लागि काम गर्ने अभिलाषा उच्च रहेछ। माओले महेन्द्रको तुलना कम्बोडियाका राजा सिंहानुकसँग गरे। उनले नेपालको एसियाको स्विट्जरल्यान्ड बन्ने अर्थात् तटस्थ भएर बस्ने विचारको पनि प्रशंसा गरे। महेन्द्रको कम्युनिस्ट हुन तयार छु भन्ने विषयमा भने उनले कम्युनिस्ट समयले गराउने प्रक्रिया हो भनेर प्रतिक्रिया दिए।  माओले महेन्द्रलाई आफ्नो उद्देश्यमा अघि बढ्न लागतको चिन्ता गर्नुपर्दैन भन्ने ढाडस दिए। साथै, उनले देशविकासका लागि फलाम, कोइला, तेल र बिजुली आफ्नै हुनुपर्छ भन्दै त्यसका लागि प्रयास गर्न सल्लाह दिए। आफ्नो देश अहिले शक्तिसञ्चितिमा लागेकाले सम्पूर्ण रुपमा मद्दत गर्न नसके पनि तत्कालीन सोभियत संघ (रसिया) को मद्दतमा खानीहरु खोज्न सल्लाह दिँदै त्यसका लागि आफ्नो देशले बाटो बनाइदिने आश्वासन पनि दिए।  माओले महेन्द्रको पत्रको जवाफ लेखेर दिए। म गएकै बाटो फर्किएँ। त्यसका लागि केही समय लाग्यो। त्यसबेलासम्म राजा त्रिभुवन स्वर्गे भएर महेन्द्र राजा भइसकेका थिए। चीनले प्रतिनिधिमण्डल पठाएर राजासँग सम्पर्क पनि बनाइसकेको रहेछ। तर राजाले भने उनीहरू तिब्बतले नेपाललाई तिर्नुपर्ने कुतका सम्बन्धमा मात्र कुरा गर्न आएका हुन् भनेर प्रचार गरेका रहेछन्। महेन्द्रले चीनको पूरा उपयोग गर्न जानेनन्। त्यसबेला राजा महेन्द्र कम्युनिस्ट बन्लान् भन्ने डरले भारत नेपाललाई जे गरिदिन पनि तयार थियो। यहाँसम्म कि कोसी ब्यारेजको उद्घाटन हुँदा भारतीय प्रधानमन्त्री जवाहरलाल नेहरु बिरामी अवस्थामा पनि आफैं आएका थिए– नेपाल–भारत सिमानासम्म। त्यो वास्तवमा राजा महेन्द्रसँग सम्बन्ध बलियो गर्ने कूटनीतिक प्रयास थियो। त्यहाँ नेहरुले नेपाललाई बंगलादेशसम्मको बाटोको सुविधा दिन पनि वचन दिएका थिए। भारतले चाल चल्यो। एकपल्ट मैले दीनदयाल उपाध्यायलाई कश्मिर जाने क्रममा जम्मुमा भेटेको थिएँ। उनी विश्व हिन्दु जनसंघका (जुन पछि भारतीय जनता पार्टी बन्यो) अध्यक्ष थिए। उनले नेपालका राजालाई सानो देशका निरंकुश राजाभन्दा सम्पूर्ण हिन्दुस्तानको सम्राट बनाउने र नेपाल भारतमा गाभ्ने प्रस्ताव पेस गरे।  त्यो भ्रमणबाट फर्केर सिधै राजा महेन्द्रलाई दीनदयाल उपाध्यायको प्रस्ताव सुनाएँ। सो प्रस्ताव सुनेर उनको आँखामा चमक देखापर्‍यो। त्यो मेरो भ्रम मात्र पनि हुनसक्थ्यो। पछि, मलाई इन्दिरा गान्धीले एकपटक भेट्न बोलाएर भनिन्, 'तिम्रा राजा देशभक्त भन्ने ठानेका छौ? सम्पूर्ण हिन्दुको सम्राट बन्ने कुरा सुन्नेबित्तिकै उनले खड्गबहादुर र शैलेन्द्रकुमार उपाध्यायको टोली पठाएर उक्त कुरा मान्ने जवाफ पठाएका थिए।'  चीनले राजा महेन्द्रको चाल थाहा पायो। त्यसैले सकिदियो– महेन्द्रको चीनसँगको सामीप्य र कहिल्यै बढ्न सकेन भारतसँगको निकटता पनि। नेपाल सधैं कमजोरको कमजोर नै रह्यो। २०१३ सालका मन्त्री खगेन्द्रजंग गुरुङले प्रतीक प्रधान र पूर्णप्रसाद विष्टसँग गरेको कुराकानीमा आधारित। - See more at: http://www.nagariknews.com/fea...

_____ · Jul 20, 2013 5:54 AM · 1,516 views

1 Reply

नपाली उखान छ नि राजा र रन्क देखि नमानु हर्क ! यिनी हरु कहिलै आफ्ना हुदैनन् | गोही लाइ पाले जस्तो हो | काम दिउञ्जेल फल नत्र कोयो बनाइ फ्याली दिन्छन | आजकलका नेताहरुले यिनै नियम अपनाई नया सम्राट बनेका छन् |

magorkhe1 · Jul 20, 2013 10:51 AM

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion

You might be interested in...

Recent Classifieds View all
Upcoming Events View all
Service Providers View all