कर्मचारीमाथि खनिए मुख्यसचिव 19 Jul 2013 | 19:21pm शुक्रबार ४ श्रावण, २०७० रामशरण पुडासैनी 1 2 3 4 5 (0 votes) मकवानपुर — नेपाल सरकारका मुख्यसचिव लीलामणि पौडेलले भ्रष्ट र बद्‌मास गर्ने कर्मचारीलाई सुरक्षा नदिने बताएका छन्। उनले हेटौंडामा मकवानपुर जिल्लाका सरकारी कार्यालय प्रमुखहरुलाई निर्देशन दिंदै इमान्दारिसाथ उत्तरदायी ढंगले काम गर्न निर्देशन दिए। जिल्ला विकास समिति मकवानपुरको सभाहलमा सरकारी कार्यालयका प्रमुखलाई निर्देशन दिंदै बजेटको कार्यान्वयन, आसन्न चुनावको व्यवस्थापन र पारदर्शी तथा प्रभावकारी सेवा प्रदान गर्न उनले निर्दैशन दिएका हुन्। सरकारी कर्मचारीप्रति आममानिसको गुनासो रहेकाले आफ्नो छवि उजिल्याउने काम गर्नुपर्ने उनले बताए। 'हामीप्रति आमजनताको धारणा राम्रो छैन। हाम्रो कार्यशैली, व्यवहार, आनीबानी, तौरतरिका ठीक छैनन्', उनले प्रष्ट पारे, 'पारदर्शी र उत्तरदायी सेवा प्रदान गर्न नसक्दा सर्वसाधारण सन्तुष्ट छैनन्। त्यसैले सुधार्नुस् । आफैंबाट सुरु गर्नुहोस्।' समग्रमा सरकारी सेवा प्रभावकारी नभएको निचोट निकाल्दै मुख्य सचिव पौडेलले इमानदारीपूर्वक सुधारको प्रयत्न नगर्नेलाई आफूले सुरक्षा दिन नसक्ने बताए। 'कसैले इमानसाथ काम गर्दा अनावश्यक दबाब आयो भने, जबर्जस्ती काम गर्न दबाब दियो भने तपाईंको सुरक्षाको ग्यारेन्टी म लिन्छु', मुख्यसचिवले चेतावनी दिए, 'कामै नगर्ने, बदमासी गर्ने अनि अप्ठयारो परेपछि प्रोटेक्सन गरेन भनेर चिच्याउनु कराउनुको अर्थ छैन।' उनले इमानदार कर्मचारीलाई आफ्नो ढोका सदैव खुला रहने भन्दै 'चोर फटाहा डाँका' लाई सदैव ढोका बन्द रहेको बताए। आफ्नो काम गर्न नसक्ने र शक्तिकेन्द्र धाउँदै हिंड्ने र अधिकार दुरुपयोग गर्नेलाई छुट दिन नसक्ने प्रष्ट पारे। विकासे अड्डाका प्रमुख सधैं गोष्ठी, सेमिनार र फिल्डमा गएको भन्दै कार्यालय नआउने र असार लागेपछि हतारहतार बिल बनाएर प्रगति विवरण पेस गर्ने प्रवृत्ति रहेको भन्दै उनले आलोचना गरे। 'कहिलेसम्म जनता झुक्याउनुहुन्छ, जनताले कुरा बुझिसकेका छन्', उनले भने । मुख्य सचिव पौडेलले जनताको सेवा उस्तै हुने अनि तलवभत्ता बढाउन मग गर्नु ठीक नभएको तर्क गरे। तलव बढिसकेकाले अब सेवा दिने पालो आएको उल्लेख गरे । मुख्य सचिव पौडेलले आफू उत्कृष्ट कर्मचारीलाई पुरस्कार दिन चाहेको भन्दै पुरस्कार लिन लायक फेला नपरेको भन्दै व्यङ्ग्य गरे । उनले मुलुकमा चुनाव नजिंकिंदै गरेकाले संवेदनशील र सतर्क हुन निर्दैशन दिए। 'चुनावलाई संवेदनशील हुनुस्, सानोतिनो निहुँमा हिंसा भड्किन सक्छ ।' उनले जोड दिए 'कार्यक्षमता मापनको बेला यही हो। सुरक्षा निकायले क्षमता र बुद्धिको अधिकतम प्रयोग गर्नुस्। हामी मूल्यांकन गर्नेछौं।ु कार्यक्रममा क्षेत्रीय प्रशासक उद्धवप्रसाद बास्कोटा, मध्यक्षेत्रका प्रहरी नायब महानिरीक्षक विज्ञानराज शर्मा, प्रमुख जिल्ला अधिकारी एकनारायण अर्याललगायत सबै कार्यालयका प्रमुखको उपस्थिति रहेको थियो । - See more at: http://www.nagariknews.com/soc...
_____ · Jul 19, 2013 12:30 PM · 1,016 views
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion