अपमानित भएँ गणतन्त्रको पहिलो दिनमै पूर्वसभासद्को आत्मवृतान्त काठमाडौ, श्रावण २ - २०६५ जेठ १५ गते संविधान सभाको पहिलो बैठक बोलाइएको थियो । शपथ ग्रहणकै दिन भोलिपल्टको बैठकको सूचना जारी गरिएको थियो । सोहीअनुसार सबै सभासद अर्को दिन बानेश्वर भवन पुगेका थियौं । भित्र पस्दा पहिलो दिनझैं अप्ठेरो भयो । टुहुरा बच्चा जस्तो अनुभव भयो । मेरो पोशाकले पनि होला, मेरो नजिक कोही पर्न चाहन्नथे । खाजा खानेबेला पनि कोही नजिक बस्न नआउने । सोही दिन एक जना सभासदले मतिर औंला देखाउँदै आफूसँग रहेकी अर्की सभासदलाई भनेकी थिइन्- यस्ता-यस्ता मान्छे पनि सभासद चुनिएर आएछन् । उनको कुरा सुनेपछि मलाई अपहेलित भएको महसुस भयो । तिनी कुन पार्टीकी सभासद थिइन् त्यतिबेला मैले चिन्न सकिनँ । पछि चिनें( राधादेवी तिम्सिना रहेछ तिनको नाम । त्यसैगरी कङ्ग्रेस सभासद सरस्वती चौधरीले पनि मलाई देखाउँदै एमाले सभासदसँग भनेकी थिइन्- ‘तिम्रो पार्टीका सभासद कस्ता छन् हगि, यस्तो कपडा लगाएर आउँछन् हाउसमा । कमसेकम राम्रो कपडा लगाउन त सिकाउ ।’ मैले नसुनेझैं गरें । म थारु पोशाकमै थिएँ । मसँग लगाउने अर्को कपडा नै थिएन । जसले जे भने पनि त्यही कपडा लगाउनु मेरो बाध्यता थियो । पहिलो बैठक बस्ने भनी हामी भित्र-बाहिर गरिरहेका थियौं । बाहिर संविधान सभा परिसर नयाँ बानेश्वर नारा जुलुसले गुञ्जयमान थियो । त्यो नारा जुलुस विरोधको नभई गणतन्त्रको स्वागतका लागि थियो । पटाका पड्केको आवाज गुञ्जिरहेको थियो । दीपावलीजस्तै रङ्गीचङ्गी वातावरण थियो त्यो दिन । राति १२ बजिसकेको थियो तर पनि बैठक सुरु भएको थिएन । बैठक सुरु नहुँदै संविधान सभाको बाहिर गेटमा बम पड्केको आवाज सुनियो । सभासदहरू पनि आतङ्कित भयौं । रातको १२ बजे बल्ल बैठक सुरु भयो । बैठकको अध्यक्षता ज्येष्ठ सदस्यको नाताले कुलबहादुर गुरुङले गर्नुभएको थियो । सबै दलको सहमतिअनुसार पहिलो बैठकबाटै अध्यक्ष गुरुङले गणतन्त्रको प्रस्ताव राखेपछि सबै सभासदले तालीले स्वागत गर्‍यौं । बाहिर जस्तो वातावरण थियो, गणतन्त्रको स्वागतले संविधान सभाभित्र पनि वातावरण गुञ्जयमान भयो । शायद मुलुकका लागि पहिलो उपलब्धि भएर होला, सभासदहरूको पनि खुसीले भुइँमा खुट्टा थिएन । मेरा लागि त झन् त्यो वातावरण बेग्लै हुनु स्वाभाविकै थियो । सामान्य गाउँबाट आएकी मलाई त्यस्तो वातावरण देख्दा चमत्कारझैं लाग्थ्यो । जुन अस्वाभाविक पनि थिएन । गणतन्त्र दिवसको स्वागतले खुसी त लागेको थियो नै । अर्कोतिर रातको बेला कसरी डेरा जाने भन्ने चिन्ता पनि । काठमाडौंमा नडुलेको नयाँ मान्छे, कसरी जाने होला भन्ने चिन्ताले धेरै नै सतायो । झन् बाहिर बम पड्केको घटनाले त्रास बढाएको थियो । रातको १ बजेतिर बल्ल बैठक सकियो । बाहिर निस्क्यौं । धेरै सभासद गाडी लिएर बाहिर निस्किरहेका थिए । कोही गफ गरिरहेका थिए । मसँग न साथी थिए, न त गाडी नै । कसरी बस्ने ठाउँसम्म जाने भनेर एकछिन टोलाएँ । कोठा पनि लिइनसकेकाले भूमि अधिकार मञ्चकै कार्यालयमा बसेकी थिएँ । संविधान सभा भवनबाट धापासी जानुपर्ने थियो । पार्टीका कोही पनि साथीले मलाई सँगै जाउँ भनेनन् । सबै क्रमशः बाहिर निक्लिए । मलाई एक्लो महसुस भयो । के गरुँ, के नगरुँ भयो । कसैले आफ्नो घरमा लगेर भुइँमा सुत्न दिए पनि सुत्थें भन्ने सोचिरहेकी थिएँ तर त्यति भनिदिने पनि कोही निस्केन । विस्तारै डराइडराई बाहिर निस्किएँ । गेट बाहिर आएपछि पार्टीकै सभासद् रिमा नेपालीले शान्ताजी कहाँ छ बसाई भनेर सोधिन् । कहाँ जाने, कसरी जाने भन्ने अन्यौलमा छु भनें । यो चिन्ता देखेपछि उनले साथै जाउँ न त भनिन् । मलाई ढुङ्गा खोज्दा देवता मिलेझैं भयो । राति अबेर भइसकेको छ, एक्लै हिँड्न ठीक हुँदैन भनेपछि हामी सँगै लाग्यौं । ठूलो राहत मिलेको महसुस गरें । त्यो क्षण म कहिल्यै बिर्सन सक्दिनँ । रिमाजीले मलाई ठूलो गुन लगाइन् । पहिलो दिनै त्यस्तो आपत भोगेपछि मैले नजिकै कोठा खोज्ने विचार गरें । अनि शङ्खमूलनजिक च्यासलमा कोठा पाइयो पनि । जहाँ संविधान सभाबाट पैदल २० मिनेटमा पुगिन्थ्यो । नजिकै कोठा पाइएकाले पनि संविधान सभा भवन आवत्जावत्मा निकै सजिलो भयो । कहिलेकहीँ बैठकमा चाँडो जानुपर्दा वा ढिलो फर्कंदा पनि खासै समस्या भएन । कोठा व्यवस्थापनका लागि भनेर सबै सभासदलाई दिइएको १५ हजार रुपियाँ मेरो पनि हात परेको थियो । मैले यसअघि यति धेरै पैसा कहिल्यै देखेको थिइन । त्यसैले एकमुष्ठ १५ हजार पाएपछि छक्कै परें । पैसा झोलामै राख्थें । दिनको दश-बाह्र पटकसम्म त्यसलाई सुम्सुम्याउँथे । सो पैसाले लगत्तै दुई जोर साडी किनें पाँच सय दरका । एक सयको चप्पल किनें भने बच्चाका लागि एक-एक जोर कपडा पनि किनिहालें । मैले बच्चाका लागि नयाँ कपडा किनिदिएको यो नै पहिलो पटक थियो । बचेको पैसाले कोठा, भान्साको सामान किनें । यति गरिवरी आमाका लागि भनेर दुई हजार रुपियाँ जोगाएँ पनि । संविधान सभा अध्यक्षमा एमालेका तर्फबाट सुवासचन्द्र नेम्वाङ चयन हुनुभयो । गणतन्त्र नेपालको पहिलो राष्ट्रपतिमा कङ्ग्रेसका तर्फबाट डा. रामवरण यादव र पहिलो प्रधानमन्त्रीमा एकीकृत नेकपा (माओवादी) का तर्फबाट पुष्पकमल दाहाल ‘प्रचण्ड’ निर्वाचित हुनुभयो । केही दिनपछि पार्टीका तर्फबाट संसदीय दलको कार्यालयका प्रमुख सचेतक भीमप्रसाद आचार्यलाई सोधेर म दाङ गएँ । गाउँ पुगेपछि माइत गएँ । बाटाभरि गाउँलेहरू बधाई दिइरहेका थिए । आमालाई भेट्न आतुर थिएँ । मलाई देख्नेबित्तिकै आमाले अङ्गालो हाल्नुभयो, जतिखेर उहाँको आँखाबाट खुसीको आँसु झरिरहेको थियो । उहाँकै लागि भनेर जोगाएको दुई हजार रुपियाँ आमाको हातमा राखिदिएँ । उहाँ खुसीले दङ्ग पर्नुभयो । पुनः बरर्रर आँसु झार्नुभयो । ‘मेरो पहिलो कमाई हो आमा, राख्नुस्’ भनें । ‘यो कति रुपियाँ हो’ भनेर सोध्नुभयो । मैले हजार-हजारको दुईटा नोट हो आमा भनें । आमाले ओल्टाई पल्टाई चार-पाँच पटक हेर्नुभयो । अनि ‘यस्तो हुन्छ हजार रुपियाँ !’ भनेर सोध्नुभयो । हो आमा यस्तै हुन्छ भनें । आमाले छोरीको पहिलो कमाई हो भन्दै जोगाएर सुरक्षित राख्ने सुनाउनुभयो । उहाँले यो कति पैसा हो भनेर सोध्नु स्वाभाविकै थियो किनकि उहाँले यति पैसा खेलाउन त परै जाओस्, देख्नुसमेत भएको थिएन पूरै जिन्दगीमा । एक घण्टा जति आमासँग कुराकानी गरेर घरतिर लागें । घर पुग्दा बच्चाहरू छिमेकीको गाई, भैंसीका लागि घाँस काट्न गएका रहेछन् । आमा आएको थाहा पाएपछि उनीहरू दौडेर घर आइपुगे । मलाई देखेर बच्चाहरू निकै खुसी भए । उनीहरूलाई अङ्गालो मार्दै साथमै रहेको नयाँ कपडा झिकेर देखाएँ । छिमेकीले बच्चालाई स्याहार गरिदिएको भन्दै धन्यवाद दिएँ । एक दुई दिन बच्चासँग बसें । दुई दिनपछि फेरि काठमाडौं फर्कनुपर्छ भनेर बच्चाहरूलाई सुनाए । उनीहरू अब हामी पनि काठमाडौं जाने भन्न थाले । म पुगेको दुई दिनपछि श्रीमान् पनि घर आउनुभयो । अर्को दिन म पुनः काठमाडौं फर्किएँ, बच्चाबच्चीको जिम्मा उहाँलाई लगाएर । त्यसपछि त संविधान सभा बैठकमा नियमित जानुपर्ने भयो । त्यसका अतिरिक्त विभिन्न सङ्घ-संस्थाको कार्यक्रममा पनि निम्तो आउन थाल्यो । संविधान सभा सदस्य भए पनि मलाई लेख्न-पढ्न आउँदैनथ्यो । जमिनदारको घरमा कमलरी जीवन बिताएकीले स्कुल जाने अवसर पाएकी थिइनँ । संसद बैठकमा नियमित जान्थें र ध्यानपूर्वक सबै कुरा सुन्थें । मेरा लागि यी सबै विषय नयाँ थिए । गर्ने र सिक्ने अवसर प्रशस्तै थियो मेरा लागि । गाउँ जाने-आउने क्रम पनि जारी थियो । प्रायःजसो महिना-महिनामा गाउँ जान्थें । एक डेढ महिनापछि विस्तारै सुरुमा लगाएको लुगा ब्लाउज र गुन्युँ फेरें । सारी लगाउन सुरु गरें । धेरै साथीले कपडाबारे टिकाटिप्पणी गरेपछि मैले गाउँबाटै लगाएको पोशाक परिवर्तन गरेकी थिएँ । सभासदहरूसँग पनि विस्तारै चिनजान बढ्यो । पार्टीभित्रका सभासदबाहेक अन्य पार्टीका सभासद तथा नेताहरूसँग पनि चिनजान भयो । पार्टीका शीर्ष नेता माधवकुमार नेपाल, झलनाथ खनाल, केपी शर्मा ओलीसहितका नेतासँग पनि चिनजान भयो । मप्रति नेताहरूको व्यवहार र प्रतिक्रिया राम्रो थियो । नेताहरूसँग परिचय भएपछि संविधान सभा बैठकमा आवतजावत् गर्न सजिलो भयो । विस्तारै बैठकमा अभ्यस्त पनि भएँ । सबैसँग चिनजान भएपछि समय बिताउन र उठ(बस गर्न पनि सजिलो भयो । बैठकमा जान-आउन सजिलो भयो । सँगै बसेर कुरा गर्ने वातावरण पनि बन्यो । एमाले संसदीय दलका प्रमुख सचेतक भीमप्रसाद आचार्यले सिंहदरवार संसदीय दलको कार्यालयमा बोलाएर मलाई प्राकृतिक स्रोत तथा साधन समितिको सभापति बनाउन लागेको सुनाउनुभयो । म डराएँ । मलाई केही आउँदैन, कसरी गर्ने भनेर उहाँलाई नै सोधें । उहाँले मलाई अली गाली गरेजस्तो गरेर समस्या नपर्ने बताउनुभयो । ‘समस्या परे हामी सहयोग गरौंला’ भन्नुभयो । भोलिपल्ट समितिको हलमा बैठक बोलाइएको थियो । मलाई सभापति बन्ने प्रस्ताव आयो । मेरो प्रस्तावकमा रत्न गुरुङ र समर्थकमा यशोदा अधिकारी थिए । २०६५ पुस २८ गते बसेको बैठकले मलाई सभापति जस्तो सम्मानित पदमा चयन गर्‍यो । भोलिपल्ट २९ गते सभापतिको शपथ खाएँ । सभापतिमा चयन भएपछि खुसी त लाग्यो, सँगै चिन्ता पनि । झलनाथ खनाल, गगन थापा, लक्ष्मण घिमिरे, पृथ्वी सुब्बा गुरुङसहितका ठूलठूला नेता समितिको सदस्य हुनुहुन्थ्यो । यति ठूलठूला नेताका अगाडि म समितिको बैठक कसरी सुचारु गरुँला भन्नेबारे निकै चिन्ता लाग्यो । समितिमा ५७ जना सदस्य थिए । व्यवस्थापिका संसदअन्तर्गतको १० वटा समितिमध्ये प्राकृतिक स्रोत तथा साधन समिति पनि एक थियो । सबै समितिका सभापतिको शपथ ग्रहण एकै दिन राखिएको थियो । सिंहदरवारको राज्य व्यवस्था समितिको सभाकक्षमा सभामुख सुवासचन्द्र नेम्वाङले सबैलाई शपथ खुवाउनुभयो । शपथपछि एउटा कागज दिइयो । केको कागज थमाए भनेर कौतुहल जाग्यो । जसमा हामीले पाउने गाडीको नम्बर, गाडी चालकको नाम र फोन नम्बर रहेछ । अब गाडी र गाडी चालक कसरी खोज्ने ? कसलाई के भन्ने ? वाल्ल न टल्ल भएँ । यसबारे मौलिक अधिकार तथा निर्देशक सिद्धान्त समितिकी सभापति विन्दा पाण्डेसँग सोधें । उनले मलाई गाडी उपलब्ध भएको जानकारी दिँदै सबै प्रक्रिया पनि बताइदिइन् । त्यसपछि पहिलो पल्ट गाडीमै संविधान सभा बैठकमा गयौं । मसँग अन्य सभासद पनि सँगै जाउँ भनेर बस्नुभयो । गाडीचालक पूर्ण मिजार थिए । गाडीमा चढ्न लाज लाग्थ्यो । गाडीबाट झर्दा कसैले नदेखुन् भनेर अलि छेउमा गाडी रोक्न भन्थें । गाडी चढ्नु मेरा लागि सपनाजस्तै थियो । गाडी चालकलाई सम्मानपूर्वक ‘तपाईं’, ‘सर’ भनेर सम्बोधन गर्थें । गाडी चालक भाइ भने मेरो यस्तो सम्बोधन सुनेपछि निकै अप्ठेरो महसुस गर्थे । त्यो देखेर कतिपय सभासद मलाई जिस्क्याउँथें- गाडी चालकलाई पनि तपाईं किन भन्नुपर्‍यो भनेर । ‘तिमी’ वा ‘भाइ’ भन्न सुझाउँथे । तर पनि म भने उनलाई तपाईं नै भन्थें । पछि विस्तारै पूर्ण भाइ भन्न थालें । यसरी पछि पछिचाहिँ बानी नै पर्‍यो । एमाले पूर्वसभासद् शान्ता चौधरीको पुस्त - See more at: http://www.ekantipur.com/np/20... Last edited: 17-Jul-13 11:51 AM
_____ · Jul 17, 2013 11:34 AM · 1,674 views
<< ‘यस्तो हुन्छ हजार रुपियाँ !’ भनेर सोध्नुभयो >> - यहि एउटा वाक्यले नेपाली र नेपालको चित्र कोरेको छ .. कस्तो छ नेपाल बिचित्र को , औंला सप्पै भिन्न भिन्न शक्ति मुठ्ठीमै हो..... सर्वहारालाइ कुल्चेर-लुटेरा सर्वहारा बनेकाहरु , के नेपाली भन्छौ आफुलाई , चोखा नेपाली त यी हुन् बरु .... कति निमुखाले अन्न-पानि पाका छैनन् दुश्शाशनहरुले आफ्नै आमाको इज्जत लुछदै फुर्सद्पयेनन .... भोकको राप र गरिबीको अचानोमा सुत्न बाध्य छ जनता चुस्की-चाप्लुसी-चोरी र धुर्त्याईंमा बेचिदै छ आमाको ममता - थाहाछैन (थाने )
ThahaChaena · Jul 17, 2013 1:30 PM
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion