मधेश हैन मिथिला

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

  मधेश हैन मिथिला     - प्रा. अमरकान्त  झा संघीय प्रणालीमा जाने मिथिलाको मागलाई मुलुकले अनुमोदन गरे पनि राजनीतिक दलहरूको अक्षमताका कारण संविधानसभा निष्फल भएर देश नै संकटको भुमरीमा फँसेको छ।   हिमाल अर्काइभ   अयोध्याका संस्थापक राजा इक्ष्वाकुका छोरा निमिले करीब तीन हजार ईसा पूर्वमा अनुमानतः किराँतहरूलाई जितेर गण्डकी क्षेत्रमा जनकवंशी मिथिला राज्य कायम गरे। निमिका सन्तान मिथिले अझ् सुदृढ पारेको त्यो राज्यलाई विदेह र तिरहुत पनि भनियो। अढाइ हजार वर्षको जनकवंशी शासनमा ९४ राजा भए। सीताका पिता शिरध्वज यसै वंशका २२ औं राजा थिए।   जनकवंशी क्षत्रीय राजाहरूको विद्वत सभामा याज्ञवल्क्य, गौतम, कपिल, अष्टावक्र जस्ता अनेक दार्शनिक धर्मशास्त्रीहरूका साथै मैत्रेयी, गार्गी जस्ता विदुषीहरू थिए। भारतीय दर्शनका मुख्य ६ मध्ये चार धारका ब्रह्मज्ञानी संस्थापकहरू मिथिलाकै हुन्। जनकवंशी राजाहरू वीर–पराक्रमीसँगै दार्शनिक एवं आध्यात्मिक चिन्तक पनि थिए। त्यसबेलाका मिथिलावासी जनतासमेत बौद्धिक समुदायमा पर्थे। मिथिलाको उतारचढाव जनकवंशका पछिल्ला राजाहरूले मिथिलाको गौरवलाई अक्षुण्ण राख्न सकेनन्। जनकल्याण र विद्वान्हरूको सम्मान छाडेका उनीहरू विलासितामा डुबेकाले जनकवंशी शासन ओरालो लाग्यो। ६–७ ई. पूर्वमा जनक्रान्तिद्वारा व्यभिचारी राजा करालको हत्या भएपछि जनकवंशी शासन समाप्त भयो। यसरी आर्यवर्तको प्रथम गणतन्त्र हुनपुगेको मिथिला त्यसपछि बज्जी महासंघको स्वशासित राज्यमा रूपान्तरित भयो। बज्जी महासंघ पतनपछिको करीब डेढ हजार वर्षसम्म मिथिला अजातशत्रु, मौर्य, गुप्त, हर्षवर्द्धन, पाल आदि बाह्यशक्तिको नियन्त्रणमा रह्यो। सन् १०९७ मा कर्णाटवंशी नान्यदेवले मिथिला राज्यलाई पुनः स्वतन्त्र र समृद्ध बनाए। २२७ वर्षको कर्णाटवंशी शासन मिथिलाको लागि स्वर्णिम युग मानिन्छ। १३२४ मा गयासुद्दीन तुगलकको आक्रमणबाट कर्णाटवंशी शासनसँगै राजधानी सिमरौनगढ (हालको बारा) ध्वस्त भएपछि मिथिलाको शासन दरभंगाबाट सञ्चालित हुन थाल्यो। त्यस कालखण्डमा उत्पन्न भएको राजनीतिक शून्यतामा दरभंगा उत्तरमा माण्डलिक राज्यहरू उत्पन्न भए, जसलाई सोहौं शताब्दीमा सेनहरूले अधीनस्थ गरे। गोर्खाका राजा पृथ्वीनारायण शाहले सेनवंशी मकवानपुर र चौदण्डीमाथि क्रमशः सन् १७६२ र १७७४ मा आधिपत्य कायम गरेपछि उत्तरी मिथिला गोरखा राज्यको अंग बन्यो भने दक्षिणको ठूलो भाग बिहार अन्तर्गत रहन गयो। गोपालदेखि शाहवंशसम्म नेपाल स्थापनाको इतिहासमा गोपालवंशीहरूको काठमाडौं आगमन उल्लेख्य छ। तीमध्ये पशुपतिभट्टारक फेला पार्ने ग्वाला नेपको नामबाट नेपाल नाम रहेको र उनकै छोरा भूमिगुप्त यो भूमिको पहिलो राजा बनेको किंवदन्ती छ। त्यसको ५०० वर्षपछि सिमरौनगढ–जनकपुर क्षेत्रबाट उपत्यका पसेका महिषपालहरूले करीब डेढ सय वर्ष शासन गरे। महिषपाल पछि नेपाल उपत्यकामा किरातहरूले डेढ हजार वर्षसम्म शासन गरे। किरातपछि मगध साम्राज्य विस्तारसँगै वैशाली (हाल मुजफ्फरपुर, बिहार) बाट विस्थापित भएका बज्जी महासंघका लिच्छविहरूले सन् १२०० (173डेढ हजार वर्ष)सम्म उपत्यकामा शासन गरे। त्यसपछिको ६०० वर्षसम्म उपत्यकामा मल्लहरूले राज गरे। सन् १७६८ मा पृथ्वीनारायणले उपत्यका जितेपछि तराई–हिमालका विजित भूभागहरूलाई नेपाल भनियो। पृथ्वीनारायणपछिको शाहवंशी शासनमा १०४ वर्षसम्म राणाहरू हर्ताकर्ता रहे। लोकतन्त्रका लागि जनताले पछिल्लो सात दशकमा तीन पटक सफल आन्दोलन गरे। २००७ सालको क्रान्तिको हत्या २०१७ मा राजा महेन्द्रबाट भयो। २०४६ को उपलब्धिलाई महेन्द्रपुत्र ज्ञानेन्द्रले नामेट पार्न खोजेपछि २०६२/६३ को जनआन्दोलनले शाहवंशी शासनलाई नै इतिहासको पानामा सीमित पारिदियो। नेपाल–मिथिला सम्बन्ध गोपाल र महिषपालहरूको शासन बाहेक प्राचीन नेपालको हिमालय र पहाड आर्य ऋषिमुनिहरूका लागि तपोभूमि थियो भने मिथिला आर्य सभ्यताको केन्द्र। तर, मध्यकालमा मिथिलाले कम्तीमा ६ पटक काठमाडौंमा आक्रमण–लूटपाट गरेको प्रमाणहरू भेटिन्छन्। आन्तरिक कलहमा फँसेका मल्लहरूले दक्षिणका राजाहरूलाई आक्रमणको आह्वान गर्थे। उपत्यकावासी ती आक्रमणकारीहरूलाई 'डोय' भन्थे। त्यसबेला उपत्यकाको राजधानी भक्तपुर थियो। सन् १३११ को अन्तिम मैथिल आक्रमणको बेला भक्तपुर दरबारमा तुंग मल्ल शक्तिशाली थिए। त्यसबेला उनले उपत्यका–मिथिला सन्धिका साथै शत्रु राजा हरिसिंह देवसित आफ्नी छोरी देवलदेवीको बिहे गराए। त्यसबाट दुई पक्षबीच शान्ति–मैत्री त कायम भयो नै, रक्त सम्बन्ध पनि शुरू भयो। गयासुद्दीन तुगलकको आक्रमणपश्चात् पत्नी, पुत्र र भारदारसहित शरणका लागि नेपाल हिंडेका राजा हरिसिंहदेवको दोलखाको तीनपाटन पुग्दा निधन भए पनि सकुशल भक्तपुर पुगेकी देवलदेवी दाजु रुद्र मल्लको मृत्युपछिको चार दशकसम्म नेपाल दरबारको हर्ताकर्ता बनिन्। त्यस कालखण्डमा काठमाडौं उपत्यकामा मैथिली भाषा–साहित्य र कला–संस्कृतिले पूर्ण संरक्षण पायो। मैथिली राजकाजको भाषा बन्यो। मुसलमान आक्रमणमा परेका मैथिल विद्वान्हरूको लागि काठमाडौं सुरक्षित स्थल बन्यो। तिरहुतिया (मैथिल) हरू मल्ल दरबारको सुरक्षा निकायमा पनि रहे। देवलदेवीले रुद्र मल्लकी गद्दीकी हकदार' विधवा छोरी नायकदेवीको बिहे आफ्नो छोरा जगत सिंहसँग गराइन् भने उनीहरूका एक्लो सन्तान राजल्लदेवीको विवाह मिथिलाबाटै कर्णाटवंशी युवक ल्याएर गरिदिइन्, जो पछि जयस्थिति मल्लका नामले प्रशिद्ध भए। त्यसको करीब तीन सय वर्षपछि कान्तिपुरका राजा प्रताप मल्लको विवाह महोत्तरीका राजा कीर्तिनारायणकी छोरी लालमतीसँग गरे। यसरी मिथिला र नेपालबीचको राजनीतिक, सामाजिक र सांस्कृतिक सम्बन्ध प्रगाढ भएको देखिन्छ। भ्रामक 'मधेशी' पहिचान नेपाल एकीकरणपछि मिथिला भेदभावको शिकार हुन थाल्यो। राणाकालमा गैर–पर्वते नेपाली भाषी समुदाय विरुद्ध नियोजित उत्पीडन थालियो र उनीहरूलाई राज्यको मूलधारबाट बाहिर पारियो। मिथिलामा ४० जातजातिको मातृभाषा मैथिली हो। यस क्षेत्रका मुसलमानमध्ये पनि ८० प्रतिशतको मातृभाषा मैथिली हो। उनीहरू सबै मैथिल र मिथिलावासी हुन्, तर काठमाडौंका शासकहरूले 'मधेशी' नामको भ्रामक पहिचान दिएको छ। आर्यावर्तको दिल्लीदेखि प्रयाग (इलाहावाद) सम्मको भाग 'मध्यदेश' भएको प्रामाणिक कुरा हो, जसमा मिथिला पर्दैन। र पनि, उनीहरूलाई 'मध्यदेश'को अपभ्रंश 'मधेशी' भनियो। सत्य के हो भने कञ्चनपुरदेखि झापासम्मको नेपाली भूभाग 'मध्यदेश'मा पर्दैन र जनक, सीता, सलहेस आदि विभूतिहरू 'मधेशी' होइनन्। तराईमा अहिले चलाइएको 'मधेशवाद'को लहरले मैथिल समुदायको भाषिक–सांस्कृतिक उत्थान गर्नेवाला छैन। गत वर्ष मिथिलाको माग गर्दै जनकपुरमा शान्तिपूर्ण धर्नामा बसेका पाँच जनालाई बमले उडाइयो। जबकि, मोरङदेखि सर्लाहीसम्मका ६३ प्रतिशत जनसंख्याको पहिचान मैथिली भाषा, साहित्य र संस्कृतिसँग जोडिएको छ। महाकवि विद्यापति र सिमरौनगढ दरबारका महान गद्यशिल्पी ज्योतिरीश्वर ठाकुरको अतुलनीय योगदानले मध्यकालमा मैथिली भाषाले उत्तरी भारतका सबै भाषाको साहित्यिक नेतृत्व गरेको थियो। नेपाली राष्ट्रियता र काठमाडौं वा नेपालसँगको घनिष्टताको कडी पनि मैथिली भाषा–संस्कृति नै थियो। यो अवस्थामा हुन लागेको राज्य पुनर्संरचनामा मिथिलाको भाषिक–सांस्कृतिक पहिचानलाई नकार्दै गोर्खाली मूढाग्रहले स्थापना गरेको 'मधेशी' परिचयलाई मान्यता दिइयो भने त्यसले अपेक्षित परिणाम दिने छैन।

_____ · Jul 16, 2013 10:12 AM · 1,028 views

Replies
No replies yet.

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion

You might be interested in...

Recent Classifieds View all
Upcoming Events View all
Service Providers View all