नेपाली 'दलाल बौद्धिकता'

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

  नेपाली 'दलाल बौद्धिकता'   (4 Votes)   1 2 3 4 5       सौरभ                     २   यतिबेला २५ हजार नेपालीहरू विदेशी 'पेरोल'मा छन्, २७ हजारको टेलिफोन 'ट्यापिङ' भइरहेको छ, २ सय खुलेआम देशद्रोह गरिरहेका छन् (यी अंकहरू केही स्रोतहरूसँगको कुराकानीपछि तय गरिएको हो । यसमा १० प्रतिशतको तलमाथि हुनसक्छ ।) यो भनेको राष्ट्रिय स्वार्थका मुद्दाहरू भयावह र गम्भीर संकटमा छन् भन्ने स्पष्ट संकेत हो । चिनियाँहरू भन्छन् रे नै, 'तिम्रो देशमा कोचाहिँ बिकेको छैन ? कोसँग सहकार्य गर्ने ?' अब शीर्षकको सविस्तार व्याख्यातिर गइन्छ । 'मियाँके दौड' खुलाबजार अर्थतन्त्रमा देश गएपछि घर बनाउनु ठूलो कुरा भएन । जस्तोसुकै उपभोग्य वस्तु पनि सहज भए । तर त्यसपछि बहुसंख्यक बुद्धिजीवीको जीवनोद्देश्य कहीँ न कहीँको राजदूत हुनगयो । यसका निम्ति भएका आश्चर्यजनक दौडका सयौं उदाहरण पाइन्छन् । राजदूत हुनकै लागि कांग्रेसबाट एमाले हुँदै एमाओवादीसम्म प्रवेश हुनपुगेको नमुनादेखि ख्यातनाम चिकित्सकसम्मले राजदूत हुन नपाएकोमा गरेको लिखित आलापदेखि अक्सिजन सिलिन्डर बोकेरै हिँड्नुपर्ने खुम्रे भइसकेको बुद्धिजीवीका दौडधुपसमेत सार्वजनिक भएका छन् । मध्ययुगीन युरोपमा युद्धकालमा सरकारलाई चन्दा दिएर आलु जमिनदारले त्यसका बदला अर्ल र ड्युक पदवी लिएका उदाहरणभन्दा पनि गएगुज्रेका छन्, हाम्रा दृष्टान्तहरू । देवकोटाले चन्द्रमा र उद्देश्यका बारेमा जे पंक्ति लेखे, त्यो यथार्थमा अधिकांश बौद्धिकहरूका निम्ति होइन भन्ने आजका मितिमा टड्कारै देखिन्छ । ऊर्दूमा उखान छ, मियाँके दौड मस्जिद तक । यहाँ मियाँको ठाउँमा बुद्धिजीवी र मस्जिदको ठाउँमा राजदूत राखिदिए हुन्छ । आकाश कुसुमको खेती प्रशस्त स्वदेशी, विदेशी औषधीहरू, मानिस, जनावर र कृषिजन्य उत्पादनमा परीक्षण भइरहेका छन्, प्रतिदिन सीमा मिचाइ छ, संविधानमा आफ्ना स्वार्थ घुसाउने चलखेल छ, चीनसँगको द्वन्द्वमा खुड्किलो बनाउने अभिप्रायः छ, संस्कृति मेट्ने होड छ, आदि-आदि । अर्थात् २०३६ सालमा विश्वेश्वर कोइरालाले बानेश्वरको रत्नराज्य स्कुल प्रांगणमा भनेको 'भ्वाङहरू परेको डुंगा'भन्दा पनि डरलाग्दो स्थितिमा छ देश । तर बहुसंख्यक बुद्धिजीवी यसबारे बोल्दैनन् । किनभने बर्कलेले भिजिटिङ प्रोफेसरका रूपमा नबोलाइदेला, बीपी स्मृति प्रतिष्ठानले गोष्ठी र गोवा भ्रमणको खर्च नबेहोरिदेला, विवेकानन्द फाउन्डेसनले निम्तारुको सूचीमा नराख्देला, फुलब्राइट स्कलरसिप प्रोग्रामले सल्लाहकार र परीक्षकमा नराख्ला, अमेरिकी आईभीपी प्रोग्राममा नपरिएला, अशोका फेलोसिप नपाइएला आदि-आदि भन्ने त्रासै-त्रासमा नेपाली बुद्धिजीवीको रात अनिँदो रहन्छ । अर्काको पैसामा ब्रेकफास्टदेखि डिनरमा रम्न र घुम्न पल्केको परजीवी बुद्धिजीवीतन्त्रका निम्ति राष्ट्रिय स्वार्थ र व्यक्तिगत स्वार्थ बीचको पुल कहिल्यै बन्दो रहेनछ । जीवनभरि आकाशे कुसुमको प्रतीक्षा गर्ने हो । परिवर्तनको संवाहक परिवर्तनको संवाहक वाक्यांशले सम्बोधित हुने लोभ अधिकांशमा छ । जबकि समाज/कालखण्ड स्वयम् परिवर्तित हुन्छ, पानीले आफ्नो सतह आफैं मिलाएजस्तै । बुद्ध, कन्फ्युसियस, लिंकन कसैले समाज र काल परिवर्तन गरेका होइनन्, त्यसलाई गलत बाटोमा जान नदिने प्रयत्न गरेको मात्रै हो । परिवर्तनको संवाहक हुने सतही लोभले विदेशी एजेन्डाहरू 'यस सर', 'ओके सर', 'थ्यांक यु सर', 'एक्स्क्युज मी सर', 'प्लिज सर'को शैलीमा सहजै कथित कार्यपत्रहरूमार्फत स्वीकृत भएका छन् । पश्चिममा नबिकेका पब बाउन्सर, स्किन हेड, ट्राम्प, भेन्डर, भ्यालेहरू सहजै नेपालमा 'पोष्ट-मोडर्निष्ट' शैलीमा बुद्धिजीवीका रूपमा दीर्घकालीन वासिन्दा र रैथाने सरहसम्म भएका छन् । यो दासताले अहिले पनि केहीलाई म्यागासेसे पुरस्कारनिम्ति 'क्याररट एन्ड स्टिक'को शैलीमा कुदाइरहेको छ । जबकि त्यसको रकमदाता फिलिपिन्स स्वयम् होइन । यो एक उदाहरणमात्र हो । 'आई ओपनर' युएन अन्तर्गतका र आईएनजीओका नेपाली कर्मचारीको वाक्यविन्यास यस्तो ब्रोइलर शैलीको हुन्छ- मानौं त्यो नेपाली भाषिकाभन्दा बढी कुनै पाइतो र तगालोग हो । त्यसैगरी रटिरटाउ 'जार्गाेन' र 'फेज'हरू थोपरेर 'रिसाइकल्ड रिपोर्ट'हरू तयार हुन्छन् । तैपनि ती अन्तर्राष्ट्रिय चारखाल अड्डाहरूका काइते प्रतिवेदनहरू 'आई ओपनर' हुन पुग्छन्, बाँकी नेपाली बुद्धिजीवीका लागि । किनभने त्यहाँ डलर छ, नीलो प्लेटको दमखम छ । जबकि सबै जान्दछन्, घर ल्याएपछि त्यो 'ट्वाइलेट पेपर रिपोर्ट'भन्दा बढी हुँदैन । यसैले खुला दिसामुक्त क्षेत्र घोषणाका नाममा परोक्ष प्रेरणा र सहयोग गरेर पश्चिमले तिम्रो देश एउटा ओपन ट्वाइलेट हो भन्यो र भनायो । अझ उल्टो अंग्रेजीमा 'वेलकम टु नेपाल्ज फस्र्ट ओपन डिफेकेसन फ्रि डिष्ट्रिक्ट' अनुवाद गरेर तनहुँको कोत्रे नाघ्ने बित्तिकै ठूलोभन्दा ठूलो होर्डिङ टाँस्दा आफू विश्वका अगाडि महाकोत्रे हुनपुगेको कास्कीवासी बुद्धिजीवीहरूलाई पत्तो छैन । यो एक उदाहरण हो । कालिकोटमा 'फ्रिडम फर हंगर'ले चामल बाँड्नुपर्दा योजना आयोगका बुद्धिजीवीहरूको सम्मान भएको हो कि अपमान ? हेक्का छैन । 'जिजानोइड्स' पो बाँडिरहेको छ कि 'जीएम' चामल पो बाँडिरहेको छ कि विज्ञहरूलाई चिन्ता छैन । जनमत निर्माता मेकालेले स्ट्याटिस्टिक्सलाई 'लाइज एन्ड ड्यामलाइज' भनेका थिए । तर एक भूगोलशास्त्रीले तथ्यांकका आधारमा २०४० सालदेखि साम्प्रदायिकता पस्कन थालेयता केन्द्रीय तथ्यांक विभागले दिने तथ्यांकका वैकल्पिक टेबुलेटरहरूको धेरथोर औतारहरू देखिँदै गएका छन् । अखबारी कार्यपत्रहरूलाई केहीयता प्रवचनपत्र भन्न थालिएपछि टेबुलेटरहरूलाई गाह्रो पनि परेको छ । मतसर्वेक्षक/सेफलजिस्टको नयाँ कायामा ती आफ्नो मनलाग्दो प्रश्नहरू तय गरेर मनलाग्दो अंकहरू बटुलेर आफ्नो किसिमको व्याख्या गर्न उद्यत भएका छन्, जसको लगानीकर्ता विदेशमै हुन्छ । यसरी विदेशी इसारामा साम्प्रदायिक बुद्धिजीवीको व्यापक उत्पादन भएर आइनै रहेको छ । सहजकर्ता फिरंगीहरूले नेपालको आन्तरिक खिचातानीमा मध्यस्थकर्ता हुने प्रपञ्च रच्नुसमेत अनौठो होइन । यस्तो इच्छा ०६२/६३ सम्ममा दर्जनौं फिरंगीले व्यक्त गरेका हुन् । किनभने त्यसको कारक उही हो । तर नेपाली बुद्धिजीवीहरूबीच नै सहजकर्ता हुने एउटा विचित्रको लोभ थियो र छ । जब जनताले महिनाको तीन हजार डलर खाने र पैंतीस सय डलर खान्छन् भन्न थाल्यो, तिनको साख बजारमा गिर्‍यो, अनि तिनले बाटो बदले । ती यात विदेशी राजधानीमा नेता भनाउँदाहरूलाई ओरालेर फिरंगीको ढोकामा पुर्‍याउने योजना बुन्ने भए (हेरे हुन्छ, विवेक शाहको पुस्तक) या नसके फिरंगीलाई काठमाडौं उतारेर नेता भनाउँदाहरूलाई हाजिर हुन ह्विप लगाउने भए (गोदावरीको कथित वार्ता) । यो विशुद्ध बौद्धिक दलालीबाहेक केही होइन । नेपाली मामिलामा केन्यादेखि यशपाल घई र युरोपदेखि नाभी पिल्ले नामका भारतीय मूलकै पात्रहरूलाई बारम्बार उभ्याइरहने प्रवृत्तिले जरो हाल्न जब सकेन, उनीहरूका पनि मालिक पश्चिम गुहार्नु तिनको नियति भएको छ । उसका हिमायती नेपाली नेताहरूको मलमूत्र त्याग बराबरको पदत्यागलाई महान कार्य भन्दै बचाउ गर्नु कर्मचारी दायित्वभित्र परेको छ । अग्रगामी सोचकर्ता खुलाबजारले समानान्तर अर्थतन्त्र पनि स्थापना गर्छ । क्यासिनोको चल्ती, ब्रान्डेड लुगाफाटा र महँगो मदिराको पसल, पश्चिमका गल्ली-गल्लीमा हुने पिज्जाहट र केएफसीजस्ता ममचा पसल मार्का 'आउटलेट'हरू नेपालमा मध्यवर्गीय पारिवारिक जलपानका निम्ति 'स्टाटस सिम्बोल' नै हुने चलन, २८ रुपैयाँको रसवरीमा झिँगाजस्तो भीड त्यसका नमुना हुन् -चिनियाँहरू भन्छन् रे, 'नेपाली ! न लाउन जानेको छ, न खान ।) अर्थात् त्यो राजनीतिक परिवर्तनले ल्याएको आर्थिक प्रगति किमार्थ होइन । बरु सडकमा भेटिने माग्नेहरू नेपाली नागरिक पटक्कैजस्तो नहुनु र अक्करे भीरमा भए पनि सुकुम्वासी भनिनेहरूको केही न केही जग्गाजमिन हुनु आज पनि नेपालीहरू सम्पन्न छन् भन्ने कुराको संकेत हो । तर विदेशी सहयोग नभए नेपाल चल्दै-चल्दैन, चल्नै सक्दैन भन्ने पाचक बेच्न थालिएको ६० वर्षभन्दा बढी भयो । अब ८ सय सवारी साधन नभए चुनावै हुनसक्दैन भन्नेसम्ममा त्यो पुगेको छ । योजना आयोगमा पच्चीसौं वर्ष बिताएका योजनाविद्कै मुखबाट सुनियो, 'असम्भव ! आजकै मितिबाट सहयोग र ऋण नलिने प्रतिबद्धता गर्ने हो भने पनि पच्चीस वर्षसम्मका निम्ति असम्भव ।' यद्यपि वैदेशिक सहयोग लिनु र नलिनु अब अन्तर्राष्ट्रिय प्रतिष्ठाको विषय अवश्य रहेन । तर त्यसले वामपन्थीहरूले भन्नेजस्तो दलाल पुँजीपतिलाई कुन हदसम्म बलियो बनाउँछ र आफैंलाई कति कमजोर ? भन्ने कुराको चिन्ता कथित अग्रगामी सोचकर्ताहरूमा देखिन्न । गुप्त विद्रोही हन्टिङटनले नयाँ सत्ताले पुरानोसँग बदला लिने प्रयास गर्दा आफू स्थापित हुन सकिन्न भन्ने विचार व्यक्त गरेका थिए (थर्ड वेभ) । यसैले मल्लिक आयोगको प्रतिवेदन सार्वजनिक भएन । नतिजास्वरूप पञ्चांग्रेस र पञ्चमाले सरकारहरूको स्थापना भयो । अर्थात् दण्डहीनता स्थापित भयो र त्यसैमाथि माओवादी विद्रोह उभिन सक्यो । हन्टिङटनले नै सभ्यताहरूभित्र द्वन्द्व हुन्छ र बलियोले कमजोरलाई खाँदै लान्छ भन्ने विचार पोखे -क्ल्यास अफ सिभिलाइजेसन्स) । यसैले कथित 'ग्लोबलाइजेसन'लाई बुझेका चतुरहरू मिलाएर पश्चिमा संसारले नागरिक समाज निर्माण गर्‍यो । अब दरबारी हुकुम प्रमांगीबाट नियुक्ति पाएकाहरू, पञ्चायती विद्यार्थी संगठनले नेता बनाएकाहरू, राजाको मन्त्री पदका निम्ति दरखास्त हालेकाहरू, ०३६ सालमा त्रिचन्द्र कलेजको कौशीबाट आन्दोलनकारीहरूमाथि ढुंगा बर्साएकाहरू, ९ महिनासम्म दक्षिणढोका धाएकाहरू गुप्तविद्रोहीको छवि लिँदै सडकमा उत्रिए । विदेशी सञ्चालित एमाओवादले यो विशुद्ध अवसरवादलाई मित्रशक्ति मान्ने नै भयो । बि्रटिसहरूमा साबोटर्स, गाइर्फस, रूसीहरूमा डिसेम्बरिस्ट आदि अनेक नामले यो प्रवृत्ति परिचित छ । यसको सबैभन्दा ठूलो उद्देश्य रहन्छ, विचारहरूको धु्रवीकरण हुन नदिनु -काका र भतिजा, दाजु र भाइ, आमा र छोरा भिन्न खेमाहरूमा काम गरेर भए पनि) र नयाँ मालिकहरूका हातहरूलाई निणर्ायक शक्ति बनाउनु । परराष्ट्र र द्वन्द्वविज्ञ एडियाटि्रक सागरबाट जिब्राल्टर हुँदै जाने पेट्रोलवाहक जहाजहरूले बारम्बार बाधा बेहोरिरहेका हुँदा युगोस्लाभिया टुट्न पुग्यो । नेपालले पनि यस्ता कुुरामा समयमै ध्यान दिनुपर्छ- कान्तिपुरमै छापिएको भनाइ हो यो कथित परराष्ट्रविद्को । तिब्बत मामिलामा हामीले पश्चिमा नीतिप्रति उदार हुनुपर्छ/तराईका मामिलामा दक्षिणका कुरा सुन्नुपर्छ मात्र भनिएको छैन यसमा । 'सौ चुहे खा के बिल्ली चली हज करने' उखानै छ ऊर्दूमा । यो कस्तो विद्वत्ता र देशप्रेम हो, बुझिनसक्नु छ । धेरैको यही हाल छ । समाजशास्त्र पढेर नेपाल आएकी एक नर्वेजियन महिला बीस वर्ष नेपाल बसेपछि द्वन्द्वविश्लेषक हुँदै निशस्त्रीकरणविज्ञ बन्न पुगिन् । नेपालीहरूका निम्ति उनको त्यससम्बन्धी हाते किताब नै छ । उनैका चेला अनेकन द्वन्द्वविज्ञहरूको जोडले सेना र एमाओवादीको बन्दुक एकै ठाउँ अन्ततः विलिनीकरण गर्‍यो । त्यसले नेपालको नयाँ गणतन्त्रलाई अफ्रिकाको त्यही गणतन्त्रमा पुर्‍याउनेछ, जसलाई पश्चिममा होच्याएर 'बनाना रिपब्लिक' भन्ने गर्छन् । काठमाडौंमा 'इन्डियनाज्ड कम्युनिष्ट' भनिने जेएनयुका उत्पादनहरूले त्यसमा पुर्‍याएको नतिजा कति फलदायी होला, स्पष्ट होला नै । अन्त्यमा, जसले अति पुरानो नेपाल बुझेका छन्, तिनले २६ औं शताब्दीमा टेकेको पनि ५६ वर्ष भयो । जसले आधुनिक नेपाल बुझेका छन्, तिनले २१ औं शताब्दीमा टेकेको पनि ७० वर्ष भयो । तर यी २१ औं शताब्दीमा टेकेको भर्खर १३ वर्षमात्र भएका नवकिशोरहरू विश्व कहाँ पुगिसक्यो ? भनेर थाक्दैनन् । यही कारण हो, यतिबेला देशमा भीरकोटका हृषिकेश शाहले स्थापना गरेको स्कुल 'इन्डो-अमेरिकन एक्सिस' नेपालको राजनीति, कूटनीति, मानवअधिकार यावत् क्षेत्रमा प्रभावशाली

_____ · Jul 15, 2013 7:52 AM · 1,294 views

1 Reply

देश प्रेमीहरु बिदेश मा बसी  : यदा कदा देशप्रेम छल्काउछन | सैबैलाई डलरनै चाहिएको छ |  बिदेशिनेले डलर पाएको कारणले उनीहरुको देशप्रेमको कथा अर्कै होला | सत्ताप्राप्तिको कारण देश प्रेमले होइन भौतिकताको लागि र सक्तिको लागि भएको हुनाले चार पाउ अनि तिन तिघ्रो समेतले डलर बटुल्न छोडेका छैनन् |  आफु र आफना एक पुस्ते लाइ पुग्ने भए पछि त डाकार्नु पर्ने हैन | पार्टीको नेता हुन् पछौटे चाहियो अनि ति पछौटेलाइ पनि अछेता छर्नु पर्ने हुदा यो डलर सोहोर्ने क्रम  समय झैँ चलिरहन्छ | यही कारणले भोलि नेपाल नेपाल नरहेर एउटा राज्य भए पनि कुनै चिन्ता नै छैन ? Last edited: 15-Jul-13 10:29 PM

MaGorkhe1 · Jul 15, 2013 10:57 AM

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion

You might be interested in...

Recent Classifieds View all
Upcoming Events View all
Service Providers View all