फिनल्यान्डमा नेपाली मेनु

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

  फिनल्यान्डमा नेपाली मेनु 13 Jul 2013 २९ असार, २०७० छत्र कार्की 1 Comment and 0 Reactions     1 2 3 4 5 (0 votes) ९० प्रतिशत रेस्टुराँ गुल्मेलीकाहेल्सिन्की (फिनल्यान्ड)- कामको सिलसिलामा १३ वर्षअघि हेल्सिन्की पुगेका गुल्मीका ज्योतिप्रकाश खरेलले सुरुमा रेस्टुराँ व्यवसायी बन्छु भन्ने सायदै सोचेका थिए। सात वर्षदेखि रेस्टुराँ चलाउँदै आएका उनी हेल्सिन्कीमा स्थापित भइसकेका छन्। उनको युनिभर्सिटी अफ हेल्सिन्कीकै छेउमा बेस क्याम्प र सिल्तासारेन्कातुमा हिमशिखर रेस्टुराँ छ। फिनिस भाषामा दक्ष एनआरएन फिनल्यान्डका संस्थापक अध्यक्ष रहिसकेका उनी नेपाली–फिनिस भाषाको दोभासेसमेत हुन्।   उनका दुवै रेस्टुराँमा १५ जना कामदार छन्, सबै नेपाली। अधिकांश ग्राहक भने फिनिस। कहिलेकाहीँ भारतीय र अन्य युरोपेली मुलुकका ग्राहक पनि आउने गर्छन्। उनी भन्छन्, 'फिनिस ग्राहककै कारण रेस्टुराँ राम्ररी चलेको छ। बिहान ११ बजेदेखि दिउँसो दुई बजेसम्म 'लन्च हावर' मा भ्याइनभ्याइ हुन्छ।' फिनल्यान्डमा रेस्टुराँ व्यवसाय गर्ने ज्योति एक्ला नेपाली होइनन्। २१ वर्षदेखि यहाँ बस्दै आएका नेपाली रेस्टुराँ व्यवसायी देवीदत्त शर्माका अनुसार हेल्सिन्कीमा मात्र ३० भन्दा बढी नेपाली रेस्टुराँ छन्। पछिल्लो समयमा ताम्पेरे, तुर्कु, क्योपियो, कोत्का र हाइभिन्काओमा गरी आधा दर्जनभन्दा नेपाली रेस्टुराँ खुलेका छन्। पुर्ख्यौली थलो गुल्मी भएका शर्माले हेल्सिन्कीकै राताकातुमा १७ वर्षदेखि हिमालय रेस्टुराँ चलाउँदै आएका छन्। उनले व्यवसाय विस्तारका क्रममा लालीगुराँस र गोर्खा रेस्टुराँ पनि खोलेका छन्। विदेशमा नेपालीपन झल्कियोस् भनेर रेस्टुराँ व्यवसाय सुरु गरेका उनी फिनिस ग्राहकले नेपाली खाना मन पराएकामा खुसी छन्। उनको रेस्टुराँमा ४५ जनाजति नेपाली कामदार छन्। उनी भन्छन्, 'एकाधबाहेक यहाँका सबै रेस्टुराँ राम्ररी चलेका छन्, त्यही भएर यो व्यवसायमा हात हाल्ने नेपालीको संख्या बढ्दै छ।' नेपाली खाना लोकप्रिय भएपछि केही वर्षअघि यहाँका भारतीय रेस्टुराँले हाम्रो खानाको नक्कल भयो भन्दै विवाद गरेका थिए। तर, नेपाली र भारतीय खाना बनाउने तरिका र स्वादमा आकाश पातालको अन्तर भएको शर्माको भनाइ छ। उनी भन्छन्, 'भारतीय खाना बढी पिरो, मसलेदार र चिल्लो हुने भएकाले यहाँ धेरैले मन पराउँदैन, नेपाली खानालाई फिनिस शैलीमा फ्युजन गरिएकाले पनि लोकप्रिय बन्दै गएको छ।'  पढाइ तथा अवसरको खोजीमा १२ वर्षअघि हेल्सिन्की आएका गुल्मीकै कुलमणि भण्डारीले पनि राम्रो सम्भावना देखेर रेस्टुराँ व्यवसायमा हात हालेका हुन्। हेल्सिन्कीको रुहालाहाँतीमा रेस्टुराँ चलाएका उनी फिनल्यान्डमा नेपाली खानाले छुट्टै पहिचान बनाएको बताउँछन्। 'कोही पाहुना आयो भने फिनिसले खाना खुवाउन नेपाली रेस्टुराँमा ल्याउने गर्छन्, खाना मात्र होइन, मुस्कुराएर सत्कार गर्ने नेपाली स्वभावको पनि उनीहरूले तारिफ गर्छन्,' उनी जानकारी दिन्छन्।  नेपाली मेनु अन्य रेस्टुराँको भन्दा सस्तो रहेको भण्डारी जनाउँछन्। १० देखि १५ युरोमा नेपाली खाना सेटलगायत विभिन्न परिकार चाख्न सकिने उनको भनाइ छ। रेस्टुराँ व्यवसायीले नेपालीपन झल्किने गरी करेसाबारीको उपहार, तरकारीको डल्लो, हरियाली कुुखुरा, भेडाको तरकारी, मासुको डल्लो, खुर्सानी झिंगेमाछा, कुखुरा पनिर मसलालगायत ठेट शब्दावली प्रयोग गरी परिकारको नामकरण गरेका छन्। बासमती चामलको भात, नान रोटी, सलाद, कफी वा चिया नेपाली खाना सेटभित्रै पर्छन्। बिहान १० बजेदेखि राति १०–११ बजेसम्म खुल्ने नेपाली रेस्टुराँले सोमबारदेखि शुक्रबारसम्मको छुट्टाछुट्टै मेनु तयार पार्छन् ।  नेपाली रेस्टुराँ व्यवसायीले फिनिसहरूको खाने शैली अध्ययन गरेर परिकार बनाउने भएकाले सफलता पाएका छन्। फिनिसहरू ज्यादै पिरो, मसलेदार र चिल्लो भएको खानेकुरा मन पराउँदैनन् । यहाँ भारतीय रेस्टुराँ पनि नभएका होइनन्, तर, भारतीय खानामा बढी चिल्लो, मसला र पिरो हुने भएकाले फिनिसको रोजाइमा नेपाली रेस्टुराँ पर्ने गरेको छ। नेपाली रेस्टुराँमा पाइने थाली सेट, रोटी, गुन्द्रुक, ढिडो, मःमः, छोइला, तासलगायत परिकार विदेशीका लागि नौलो लाग्छ। नेपाली रेस्टुराँ राम्ररी चलेपछि फिनल्यान्डमा रहेका अरू मुलुकका आप्रवासीले समेत नेपाली नाम राखेर रेस्टुराँ खोलेका भण्डारीले बताउँछन्। उनी भन्छन्, 'बंगालीले हेल्सिन्कीमै नेपाली नाम राखेर रेस्टुराँ खोलेका छन्, नेपाली स्वाद तथा नाम दुवै विदेशीले नक्कल गर्न खोज्दैछन्।' रेस्टुराँको सजावट गर्दा पनि व्यवसायीले नेपाली जनजीवन तथा कला संस्कृतिलाई महŒव दिएका छन्। रेस्टुराँ सजाउनै भनेर उनीहरुले भक्तपुरका काष्ठकलाका नमुना ल्याएका हुन्। रेस्टुराँको भित्तामा काठका ‰याल तथा अन्य कला, हिमाल तथा नेपाली जनजीवन झल्काउने तस्बिर झुन्ड्याइएको छ। लगातार 'रेशम फिरिरी'लगायत नेपालीपन झल्काउने कर्णप्रिय धुनको गुञ्जन। काठमाडौं ठमेलकै रेस्टुराँ त होइनन् भन्ने भान हुन्छ।  युनिभर्सिटी अफ हेल्सिन्कीमा जुन अन्तिम साता आयोजना गरिएको विश्व विज्ञान पत्रकार सम्मेलनमा समेत नेपाली रेस्टुराँले चर्चा पायो। सम्मेलन आयोजकले बाँडेको जानकारी पुस्तिकामा होटल अन्ना, आर्थर, सोकोसबाट नजिक पर्ने रेस्टुराँको सूचीमा बेस क्याम्प, अन्नपूर्ण, हिमालयलगायत नेपाली रेस्टुराँको नाम पनि थियो। यही कारणले सम्मेलनका सहभागीले पनि नेपाली परिकार चाख्ने अवसर पाए। दाल–भात, गुन्द्रुक, चिकेन, अचार, पापडको स्वाद लिएकी दक्षिण अफ्रिकी मुलुक स्वाजील्यान्डकी पत्रकार एलिस तेम्बे भन्दै थिइन्, 'फुड कल्चरमा नेपाल अगाडि रहेछ, खानाको स्वाद मन पर्योा।' अस्ट्रेलिया, बेल्जियम, अर्जेन्टिना लगायत मुलुकका सहभागीले पनि नेपाली खाना चाखेका थिए।  हेल्सिन्की तथा बाहिरका सहरमा खुलेका अधिकांश रेस्टुराँ राम्ररी चलेका एनआरएन फिनल्यान्डले जनाएको छ। नेपाली परिकार साथै रेस्टुराँको सेवा पनि राम्रो भएकाले फिनिसलगायत विदेशीले रुचाएका एनआरएन फिनल्यान्डका अध्यक्ष डा. अरुण पोखरेल बताउँछन्। एनआरएन फिनल्यान्डका अनुसार यहाँ रहेका करिब दुई हजार नेपालीमध्ये आधाभन्दा बढी विद्यार्थी छन्। पछिल्लो समयमा नेपालीले ग्रसरी, इलेक्ट्रिकलगायत व्यवसायमा हात हाल्न थालेका छन्।   हेल्सिन्कीका हिमालय, बेस क्याम्प, हिमशिखर, गोर्खा, यति नेपाल, अन्नपूर्ण, लालीगुराँसलगायत रेस्टुराँका मालिक गुल्मीका छन्। गुल्मी घर भएका हिमालय रेस्टुराँका सञ्चालक देवीदत्त शर्माका अनुसार यो पारिवारिक व्यवसायका रूपमा फस्टाएकाले गुल्मेलीको वर्चस्व रहेको हो। उनी भन्छन्, 'यहाँका नेपाली रेस्टुराँमध्ये ९० प्रतिशतभन्दा बढी गुल्मेलीका छन्। रेस्टुराँका अधिकांश कामदार पनि उतैकै छन्।'  शर्माका भाइ–बहिनी पनि यहाँ रेस्टुराँ व्यवसायमै संलग्न छन्। भाइबहिनी र आफन्त गरी फिनल्यान्डमा आफ्नो ५०–६० जनाको परिवार रहेको उनको भनाइ छ। सुरुमा शर्माले नै यहाँ रेस्टुराँ खोलेका हुन्। उनको माध्यमबाट यहाँ आएका अधिकांश नातेदार तथा साथीभाइले यही व्यवसायमा हात हालेका छन्।  जसले पहिलो नेपाली रेस्टुराँ खोले  फिनल्यान्डमा पाइला राख्नुअघि गुल्मीका देवीदत्त शर्मा नयाँ दिल्लीमा काम गर्थे। नयाँ दिल्ली बस्दा उनले फिनल्यान्डको नाम त सुनेका थिए, तर, यहाँको समाज तथा नीतिनियमबारे उनी जानकार थिएनन्। सुनिश्चत भविष्यको खोजीमा उनी २१ वर्षअघि सन् १९९२ मा फिनल्यान्ड आए। उनी सम्भि्कन्छन्, 'त्यसबेला यहाँ नेपालीको अनुहार देख्न मुस्किल हुन्थ्यो, सुरुमा त कस्तो बिरानो देशमा आइएछ जस्तो हुन्थ्यो। अहिले धेरै आफन्त यतै आइसके। यहीँ सानो गुल्मी भइसक्यो।' सुरुका दिनमा यहाँ टिक्नका लागि धेरै संघर्ष गर्नुपरेको उनले बताए।  यहाँ आएर उनले सन् १९९२ देखि २००२ सम्म १० वर्ष फिनिस कम्पनीमा काम गरे। रेस्टुराँ व्यवसायमा अनुभव भएकाले उनले यहाँ आएको केही वर्षमै नेपालीपनको रेस्टुराँ प्रवर्द्धनमा लागे।  सबैभन्दा पहिले हिमालय रेस्टुराँ खोलेका शर्माले लालीगुराँस, गोर्खालगायत रेस्टुराँ पनि विस्तार गरेका छन्। सुरुमा नेपाली रेस्टुराँको किचेनमा काम गर्न नेपालबाटै कामदार मगाउने गरे पनि पछिल्लो समयमा यहाँ पढ्न आएका नेपाली विद्यार्थीले समेत काम गर्दै आएका उनी बताउँछन्। सुरुमा नेपाली परिकार बनाउन चाहिने सामग्री पाउन गाह्रो भए पनि अहिले यहाँका भारतीयको पसलमा पाइने उनको भनाइ छ।  सन् २०१२ मा हेल्सिन्कीमा भएको वर्ल्ड भिलेज फेस्टिबलमा समेत शर्माले हिमालय रेस्टुराँको तर्फबाट स्टल राखेका थिए। त्यसबेला फिनल्यान्डका पूर्वराष्ट्रपति आहति सारी आफ्नो स्टलमा आएको उनी बताउँछन्। उनी भन्छन्, 'यहाँका मन्त्रीहरू पनि नेपाली खानाको स्वाद लिन बेलाबेला रेस्टुराँ आउने गर्छन्। सामान्य ग्राहकजस्तै खाना खाएर जान्छन्, कुनै रवाफ हुँदैन। सरलता र नैतिकता हामीले उनीहरूबाट सिक्नुपर्छ।'  फिनल्यान्डको स्थायी आवास कार्ड पाइसकेका शर्मा एनआरएन फिनल्यान्ड तथा फिनल्यान्ड नेपाल समाजले गर्ने कार्यक्रममा सरिक हुँदै आएका छन्। शर्माले आफ्नो पहलमा नेपालका ग्रामीण भेगका स्कुललाई सहयोग अभियान चलाएका छन्। यसअन्तर्गत गुल्मीका दुई स्कुललाई सहयोग गरिसकेको उनको भनाइ छ। - See more at: http://www.nagariknews.com/nag...

_____ · Jul 14, 2013 8:42 AM · 1,591 views

Replies
No replies yet.

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion

You might be interested in...

Recent Classifieds View all
Upcoming Events View all
Service Providers View all