अगरउड हुर्काउँदै बाख्रापालन

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

  अगरउड हुर्काउँदै बाख्रापालन   - जीवनप्रसाद राई बहुमूल्य अत्तर र धूपको स्रोत अगरउड हुर्काइरहेका गुल्मीका धनबहादुर पुन व्यावसायिक बाख्रापालनमा पनि उदाहरणीय बन्दैछन्।   हिमाल अर्काइभ   हिमाल खबरपत्रिकाको २०६७ सालको दशैं अंक (गाउँ जाँऊ) मा भार्से (गुल्मी)मा धनबहादुर पुनले थालेको अगरउड खेतीबारे पढेदेखि नै त्यहाँ पुग्ने सोच बनाए पनि मौका भने वैशाख २०७० मा मात्र जुर्‍यो। नेपालको 'समृद्धि र सम्भावना' खोजको निम्ति जिल्ला भ्रमणको क्रममा २५ वैशाखमा भार्से पुग्दा मलाई आधुनिक कृषक पुन कुनै चिनियाँ चलचित्रको स्टाइलिस नायक झै लाग्यो।   भारतीय गोर्खा पल्टनका आम पेन्सनरभन्दा फरक सोच–विचारका पुन बडो सानका साथ आफ्नो भिन्न योजना कार्यान्वयन गरिरहेका छन्। भार्सेका सबै लाहुरे साथीहरू बुटवल झ्रे पनि उनी १६ वर्षदेखि गाउँकै पाखोलाई दामी बनाउन जुटेका छन् र टाढाटाढाका मानिसहरू उनलाई भेट्न त्यहीं पुगिरहेका छन्। उनको कृषि सबैका लागि चासोको विषय बनेको छ। अगरउडका लागि उनले करीब ८०० रोपनी जमिन जोडेका छन्, जसमध्ये ७०० रोपनीमा बिरुवा हुर्किरहेका छन्। अगरउडसँगै बाख्रा अगरउड भावी सन्ततिको लागि रोपिने बहुमूल्य वृक्ष हो। वर्तमानको लागि पुनले अगरउडको वनमुनि अनेक जातका डाले र भुईंघाँस लगाएर २०० बाख्रा पालेका छन्। व्यावसायिक अनुभव लिने क्रममा नश्ल सुधारसँगै जमुनापारि र बोर जातका बाख्रा बढाउने तयारीमा रहेको उनले बताए। मधेश–तराईदेखि पहाडसम्म राम्ररी बढाउन सकिने बाख्रा मासु, चिज र छालाको राम्रो स्रोत हो। अन्तर्राष्ट्रिय बजारमा बाख्राको चिज प्रतिकिलो रु.५ हजारभन्दा बढीमा बिक्छ। नेपालमा खसीको मासुको वार्षिक कारोबार रु.१६ अर्बभन्दा बढी छ, तर त्यसमध्ये ७५ प्रतिशत खसी भारतबाट आयात भइरहेको छ। उपभोग बढी र उत्पादन कम हुँदा खसीको मूल्य पनि आकाशिएको छ। यो कुरा बुझेका पुनले अगरउडको फेदमा बाख्रापालन थालेका हुन्। पुनले जस्तै मकवानपुरका अशोकसिंह ठकुरी, बाग्लुङका दीपेन्द्र खड्का, पाल्पाका त्रिलोचन पौडेल र भीष्म अधिकारी, बर्दियाका कालुराम विश्वकर्मा, खोटाङका श्याम पोखरेल लगायतले व्यावसायिक बाख्रापालन गरिरहेका छन्। कपिलवस्तु, पर्वत, स्याङ्जा, कञ्चनपुर लगायतका जिल्लामा पनि ठूलो पैमानाको बाख्रापालन थालिएको छ। राम्रो व्यवस्थापन भएको ठाउँमा दुई जनाले ३०० सम्म बाख्राको रेखदेख गर्न सक्छ। १०० बाख्राबाट वार्षिक सरदर ९०० किलो चिज र २०० पाठापाठी उत्पादन हुन्छ। १०० बाख्राका पाठापाठी र चिजबाट वार्षिक रु.५० लाख आम्दानी हुने र नेपालमा २० करोड बाख्रा पाल्न सकिने सैद्धान्तिक हिसाब छ। अथाह बजार भएकाले यति धेरै बाख्रा पालेर के गर्ने भन्ने चिन्ता लिनुपर्दैन। नेपालमा खसी र चिज उब्रिने गरी उत्पादन भयो भने विदेशमा फूलटिपाइ हुने पक्का छ। भेडाको सम्भावना गुल्मीकै हंसापुरमा रामप्रसाद पन्थीले गरेको भेडापालनले समुद्र सतहबाट १७०० मिटर उँचाइ आसपासमा व्यावसायिक भेडापालनको पुष्टि गर्छ। भेडापालक किसानको २९ वर्षे अनुभव सँगालेका पन्थीले यस अवधिमा अनेक उतारचढाव भोगे पनि राम्रो संभावना भएकैले यो व्यवसाय नछाडेका हुन्। “२०४१ सालमा ब्याङ्कबाट रु.१२ हजार ऋण लिएर भेडापालन थालेको हुँ”, पन्थी भन्छन्, “तीन वर्षमै ऋण चुक्ता गरेर १८० वटासम्म भेडा पालें।” दुई श्रीमती, सात छोरा र आठ छोरी भएका पन्थी भेडाबाटै वार्षिक डेढ लाखसम्म नगद आम्दानी गरेर अरू सम्पत्ति पनि जोडेको बताउँछन्। ५०/५५ वर्षको जस्ता देखिने ७९ वर्षीय पन्थी व्यवसायमा अझ्ै ठमठमी खटेका छन्। 'बूढो भइयो, अब के काम गर्नु?' भनेर मन मार्नेहरूलाई उनको जाँगरले जवाफ दिए झै लाग्छ। नेपालका पहाडी र हिमाली जिल्लाहरू भेडापालनको लागि उपयुक्त छन्। कुनै समयमा नेपालका भेडा–च्याङ्ग्रा चीन र भारत निर्यात हुन्थे। यसरी हेर्दा चरन अभावले भेडाको संख्या घट्यो भन्ने तर्क मुनासिव देखिंदैन। फेरि भेडाको लागि दाना र चरन बारीमै उत्पादन गर्न सकिन्छ। बाख्राले खाने सबै चिज भेडाले खान्छ। भेडा मासु, दूध, घिउ, चिज र ऊनको स्रोत हो। नेपालमा पाँच करोड भेडापालन गरेर ऊन मात्र तीन करोड किलो उत्पादन गर्न सकिन्छ। एउटा भेडाले सरदर २५ किलो मासु दिन्छ। भेडाको मासुलाई प्रतिकिलो कम्तीमा रु.४०० पर्छ। नेपालमा भेडापालनबाट वार्षिक रु.१३ खर्ब आम्दानी लिन सकिन्छ। अहिले दोकल्ला द्यौराली, सिस्ने र मेरुनी जातको भेडा पालिएको छ। बढी फाइदाका लागि यसमा नश्ल सुधार आवश्यक छ। http://nepalihimal.com/article...

_____ · Jul 4, 2013 11:10 AM · 1,514 views

Replies
No replies yet.

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion

You might be interested in...

Recent Classifieds View all
Upcoming Events View all
Service Providers View all