उत्खननमा प्रगति लुम्बिनीको बृहत्तर विकास निराशाजनक रहे पनि उत्खनन–अनुसन्धान क्षेत्रको गतिविधि उत्साहजनक छ। दीपक ज्ञवाली तीन वर्षदेखि लुम्बिनी क्षेत्रमा जारी उत्खननले बुद्धकालीन समाजमाथि प्रकाश पार्ने धेरै प्रमाण फेला परेका छन्। वैशाख दोस्रो साता रूपन्देहीको देवदह क्षेत्रको भवानीपुरमा ईंटा, पर्खाल, चाँदीका बाला, माटोका भाँडा, पाला लगायतका बुद्धकालीन सामग्री भेटिए। तीसँगै सिंजाका राजाले चढाएका घोडचढी मूर्ति, स्तम्भ, ढुंगा लगायतका ऐतिहासिक–पुरातात्विक सामग्रीहरू पनि फेला परे। बुद्धको मावली देवदह क्षेत्रमा धेरै सामान भेटिने अनुमान छ। उत्खनन टोलीले त्यस आसपासका क्षेत्रमा नापजाँच गरेको छ। उत्खनन भइरहेको देवदह क्षेत्रमा भेटिएका बुद्धको अर्धकदको मूर्ति, माटाका सामग्री, इनार, ईंटा, दरबारका भग्नावशेष, स्तम्भ लगायतले बुद्धकालीन समाजको अध्ययनमा बल पुर्‍याएका छन्। पुरातत्व विभागका अधिकृत तथा उत्खनन टोली प्रमुख प्रकाश दर्नाल भन्छन्, “थप उत्खनन र प्राप्त सामग्रीहरूको अध्ययन–अनुसन्धानबाट धेरै कुरा थाहा हुनेछ।” पुरातत्व विभागले दुई वर्षअघि थालेको उत्खनन अभियान अन्तर्गत भवानीपुरको करीब तीन बिघा क्षेत्रमध्ये दुई कट्ठामा उपलब्धिपूर्ण काम सकेको छ। १४ वटा बुद्ध क्षेत्र रहेको देवदहमा अहिलेसम्म भवानीपुर, कन्यामाई र पण्डितपुरको केही स्थानमा उत्खनन सकिएको छ। पण्डितपुर र कन्यामाईमा दशौंदेखि बाह्रौं शताब्दीका बुद्धकालीन लिपि, इनार, मूर्ति लगायतका सामग्री भेटिएका विभागका अधिकृत दर्नालले बताए। तिनको वैज्ञानिक अध्ययन–अनुसन्धानपछि धेरै जानकारी हासिल हुनेछ। अध्ययन–अनुसन्धानपछि पुरातत्व विभागले ती सामग्री लुम्बिनी विकास कोषलाई दिनेछ। देवदह क्षेत्रमा भेटिएका वस्तु अध्ययनपछि लुम्बिनीको अन्तर्राष्ट्रिय संग्रहालयमा राख्ने कि देवदहमै फर्काउने भन्नेबारे पनि छलफल गरिने लुम्बिनी विकास कोषका पुरातत्व अधिकृत हिमाल उप्रेतीले बताए। लुम्बिनीमा पनि काम बुद्ध जन्मस्थल लुम्बिनीमा पनि तीन वर्षदेखि अन्तर्राष्ट्रियस्तरका पुरातत्वविद्हरूको टोलीले अति महत्वपूर्ण उत्खनन गरिरहेका छन्। जारी उत्खननबाट नयाँ–नयाँ प्रमाणहरू फेला परेको लुम्बिनी विकास कोषका सूचना अधिकृत हरिध्वज राई बताउँछन्। लुम्बिनीमा युनेस्को अन्तर्गत जापानी सहयोगको अनुसन्धान तथा संरक्षण (जेफिट) कार्यक्रमको उत्खनन भइरहेको छ। कोष र पुरातत्व विभाग समेतको संलग्नता रहेको उत्खननको नेतृत्व बेलायतको डर्हाम विश्वविद्यालयका उपकुलपति प्रा.डा. रविन कनिंघामले गरेका छन्। टोलीले अहिलेसम्म प्राचीन लुम्बिनी ग्राम, मायादेवी मन्दिर, मन्दिर बाहिरको प्राचीन बिहार कम्प्लेक्स र कपिलवस्तुको तिलौराकोटमा उत्खनन गरिसकेको छ। लुम्बिनीको उत्खननबाट अहिले इलाका प्रहरी कार्यालय रहेको क्षेत्रमा बुद्ध जन्मिनुभन्दा ६/७ सय वर्षअघि नै बस्ती रहेको प्रमाणित गरेको छ। मायादेवी मन्दिरभित्रको ईंटा लगायतका वस्तु ईसापूर्व छैटौं र सातौं शताब्दी (२६/२७ सय वर्षअघि)का प्रमाणित भएको सूचना अधिकृत राईले बताए। यसअघि २३०० वर्ष पुराना ईंटा भेटिएको अभिलेख थियो। राईले मन्दिरभित्रको पोष्ट होल (खम्बाको संरचना)को नमूना अनुसन्धानका लागि बेलायत पठाएको जानकारी दिए। लुम्बिनीको उत्खनन निकै उपलब्धिमूलक भइरहँदा तिलौराकोट (कपिलवस्तु) को प्रतिवेदन उत्सुकताको विषय बनेको छ। सन् १९६२ मा देवला मित्रा नेतृत्वको भारतीय टोलीले उत्खनन गरेर 'तिलौराकोट प्राचीन संरचना नभएको' आशयको छोटो प्रतिवेदन नेपाललाई दिएको थियो। तर, प्रा.डा. कनिंघाम नेतृत्वको टोलीले सो स्थानमा गत माघ–फागुनमा गरेको पछिल्लो उत्खननमा २६/२७ सय वर्षअघिका 'पोष्ट होल' लगायतका संरचना फेला पारेको छ, जसको अन्तिम प्रतिवेदन आइसकेको छैन। सूचना अधिकृत राई भन्छन्, “त्यसको प्रामाणिक प्रतिवेदन आएपछि केही भारतीय पुरातत्वविद्को बदनियत संसारसामु आउनेछ।” दीपक ज्ञवाली, लुम्बिनी
_____ · Jul 4, 2013 10:59 AM · 1,346 views
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion