भाग-१ फेरि पानी पर्यो।वाटो हिलो भएको छ। मोटरसाइकलले वाटोको छातिमा वनाएको डोव गहिरिँदै छ। घाइते वाटोले लक्ष सम्म के पुर्याउला र खोई? मेरो झ्यालको सेतो पर्दा भिजेर अझ सफा देखियो। आकाशको सेतो वादल जस्तै. उड्ने सिमलको भुवा जस्तै हावाले जता हल्लाइदियो त्यतै हल्लिन्छ अल्लारे पर्दा। वाहिरका दृष्यहरु पानीमा ओसिला देखिए। म चियाको कप लिएर झ्याल नजिकै गएँ सँधै जस्तै,वाटो सुनसान हुँदै छ। कसैकसैको वाध्यता वाहेक कुन रहरले पो डोर्याउला र यो हिले वाटोमा ! "जहिले हेर्यो झ्यालमैँ , खै के देख्छे यसले झ्यालमा !" आशाले कोठामा छिर्ने वित्तिकै अचम्म मान्दै भनेकी थीई। मैले आशा तिर एक पल्टलाई भए पनि नजर तेर्स्याएँ। उसको कपाल भीजेको थियो। वाहिरवाट आएकी होला ! लख काटेँ। उसको पहेँलो कुर्ताको फेर पनि भिजेछ।आज सवै चिज भिजेका छन् ।मान्छेको मन पनि शरिर वाहिर हुने भएको भए मैलो सफा हुन्थ्यो होला अथवा वाहिरको हिलोले मन अझ मैलाइदिन्थ्यो होला। "कहाँ पुगेरी आएकी ?यो झरीमा ?" मैले चिया सुरुप्प पार्दै प्रश्न राखेँ!मेरो चिया सेलाउँदै गएको छ वाहिरको ओसले। "एउटा किताव किन्न गएकी थिएँ, त्यतै खेरै मर्यो यो कुकुरको झोल!" उसले आफ्नो टावेलले भिजेको कपाल सुकाउँदै जवाफ फर्काई। "झरीको के दोष र ? तैँले समयमा हिँड्न नजानेकी होस् नी!" वाहिरको धुपीको जोडले हल्लिएको वोट हेर्दै मैले झरीको वचाव गरेँ।त्यति सुन्दर प्रकृती किन दोष दिउँ म उसलाई ?कृत्रिमता त हामीले थपेका हौँ, हामीले पोतेको आवरणमा उ किन नराम्री देखियोस्। "सुन न ! वुकस्टोरमा अजयसँग भेट भएको थियो !" मनमा अर्को झरी पर्यो। अजय फर्केछ ,कहिले फर्कियो ? किन फर्कियो? के चाहन्छ अझै यो शहरवाट? मनमा अनेकौँ प्रश्न वादलजस्तै मडारिए।मैले केहि वोलिन मडारिन दिएँ प्रश्नहरुलाई ।अल्लारिन दिएँ प्रश्नहरुलाई,प्रश्नहरु गाँठो परे मनभित्रै अनि दुखे जस्तो भयो तिनै प्रश्नहरुले। हो प्रश्न शक्तिशाली हुन्छन् कहिलेकाहिँ उत्तरको अभावमा,कहिलेकाहिँ उत्तरको ताकतमा ! "सोध्दिनस् के भन्दै थियो भनेर ?" उसले मेरो आँखा नियाली।के उत्तर खोज्छे उ मेरो आँखामा ? मेरो आँखा त शुन्य छ। देखाउन चाहँदा पनि देखाउन नसक्ने गरीको गरिव छ।म सँग देखाउन केहि छैन ।मेरो आँखा सुदामा भएको छ ,कृष्णजी पाहुना लाग्दा पनि कनिका पस्किनु पर्ने गरी। सिंगो जीवन नभेट्टाएको मेरो आँखामा त टुक्रा टुक्रा कनिका न देखिन्छन् आखिर! "के भन्दै थियो ?" मैले यन्त्रवत प्रश्न राखेँ। म जड भएकी छु। भाव छैन, मात्र आवाज । आफ्नै आवाज रुखो लाग्यो। "तँलाई सोद्द्दै थियो ! सुधालाई सोधेको छ भन्देउ है भन्थ्यो " उसले झ्याल वाहिर हेरी। धुपीको रुख स्थिर भएको थियो। वादल फाट्दै थिए। गुम्सिएको सुर्यको किरण सन्ध्याको आगमनको छेउछाउमा निमेष भरकै लागि भए पनि उत्ताउलो भएर गुलावी भएको थियो। "अझै पनि त्यस्तै छ खवटे,दुव्लो आँखा भाँस्सीएको ?" कहिलेकाहीँ प्रश्नहरु नचाहँदा नचाहँदै पनि मुखवाट फुस्किन्छन्। झिरवाट उम्केको माछोजस्तो,अनि मन हलुँगो हुँदै सोच्छ यो प्रश्न कहाँ वाट आयो, न मनले प्रश्नको निर्माण गर्यो न दिमागले ,मात्र अजयको आकृती कोरियो,प्रश्न वन्यो आवाज फुत्कियो। "उस्तै नै छ !" उसले संक्षिप्त उत्तर फर्काई। "अनि झुस्स दाह्री ?" "त्यस्तै छ, केहि फरक छैन!" " फरक तैँले भन्दैमा नहुने भएको भए, मेरो जीवन धेरै सजिलो हुन्थ्यो होला !पर्खी म तँलाई पनि चिया वनाइदिन्छु, भिजेकी छेस् भन्ने त भुसुक्कै विर्सेँ!" म किचनमा छिरेँ।दुध उमाल्नलाई ग्याँसमा राखेँ।ग्याँसको निलो आगोलाई हेरिरहेँ। आज मन जलेको छ! अजय यसै शहरमा छ।म यसै शहरमा छु।त्यहि शहरका दुई एकान्त कोठा मौनता साट्दैछन् रहरहरु मलामी गइसकेपछिको लामो मौनता! दुध भकभकिँदै दिउरेको घाँटी भन्दा माथी आयो पोखिउँला नै जस्तो गरेर।मैले ग्याँस थोरै सानो पारेँ।दुधको उन्माद सेलायो भुक भुक उम्लिरह्यो।जीवन कति अस्थिर छ। रहरहरु उम्लिन्छन्,पोखिन्छन् जीवनको आगोमा अनि जीवन निभ्दै जान्छ रहरहरु सेलाउन्छन्। "तँ चिया चाहिँ मिठो वनाउँछेस् , सवै थकान मेटाउने!" आशाले मेरो तारिफ गरी।सँधै गर्छे।मानौँ वानी परेकी छे। "कति वेर गफ गर्यो अजयले तँ सँग?" मेरो ध्यान आज मेरो तारिफमा छैन। "धेरै वेर त गरेन !" "किन अरु कसै सँग थियो र ?" मैले आशंका व्यक्त गरेँ।धेरै समय वितिसकेको छ । उ अरु सँग हुनु नौलो कुरा होइन।म अड्किएकी छु भन्दैमा उसको जीवन पनि अड्किएको हुनु पर्छ भन्ने के जरुरी छ र ? "थिएन होला , म सँग भेट हुँदा त एक्लै नै थियो!" उसले मेरो आँखाको आशंका वुझी शायद। म मौन भएँ।मनभित्रका उथलपुथल वाहिर देखाउन चाहिन। "तँलाई नभनेकै भए हुने रहेछ !" "त्यस्मा तेरो दोष के र !" "तै पनि घाउ कोट्याइदे जस्तो लाग्यो !" "त्यहि घाउ छ र त जीवित छु !"मैले सुस्तरी उत्तर फर्काएँ। क्रमश: Last edited: 03-Jul-13 11:10 AM
fucheketo · Jul 3, 2013 11:07 AM · 26,370 views
A very nice read.
serial · Jul 3, 2013 11:23 AM
<<हो प्रश्न शक्तिशाली हुन्छन् कहिलेकाहिँ उत्तरको अभावमा,कहिलेकाहिँ उत्तरको ताकतमा !>> <<अजय यसै शहरमा छ।म यसै शहरमा छु।त्यहि शहरका दुई एकान्त कोठा मौनता साट्दैछन् रहरहरु मलामी गइसकेपछिको लामो मौनता! >> <<दुध भकभकिँदै दिउरेको घाँटी भन्दा माथी आयो पोखिउँला नै जस्तो गरेर।मैले ग्याँस थोरै सानो पारेँ।दुधको उन्माद सेलायो भुक भुक उम्लिरह्यो।जीवन कति अस्थिर छ। रहरहरु उम्लिन्छन्,पोखिन्छन् जीवनको आगोमा अनि जीवन निभ्दै जान्छ रहरहरु सेलाउन्छन्। >> ----फुच्चे साथि , तपाईं को सुक्ष्मता नाप्ने र तेस्लाई शाब्दिक ताल मा पस्किने तरिकाको के वर्णन गरम खै....अतुलनिय नै भानुम साएद.... पढ्दा नै ओहो कति गहिराइ छ यसमा .....कति वजन छ तेसै महसुस भैहाल्ने .....बाँकी पढ्न पाम चाडै - थाने
ThahaChaena · Jul 3, 2013 12:01 PM
nice...
sanju.baba · Jul 4, 2013 7:37 PM
यो मन खोइ के सोच्छ सोच्छ , नदुख्ने मन हुने भए...
timi_mero_sathi · Jul 4, 2013 8:47 PM
<<< प्रश्न शक्तिशाली हुन्छन् कहिलेकाहिँ उत्तरको अभावमा,कहिलेकाहिँ उत्तरको ताकतमा >>> <<< रहरहरु उम्लिन्छन्,पोखिन्छन् जीवनको आगोमा अनि जीवन निभ्दै जान्छ रहरहरु सेलाउन्छन् >>> <<< "त्यहि घाउ छ र त जीवित छु !" >>> हो प्रभो त्यहि घाउ छ र त जीवित छु ... फेरी पनि उत्कृस्ट प्रस्तुति ... @Thahachaena ब्रो... हामी दुबैलाई फुच्चे ब्रो को लेखाई बाट उस्तै उस्तै लाइनहरु बढी मन पर्ने रैछन ...
aakinchan · Jul 6, 2013 2:32 AM
Serial, thaney,sanjubaba,timimerosathi-Thank you very much भाग-२ आशाले एउटा जीवनको अनौठो पाटोमा थोरै हलचल गरिदिएकी थिई। जतन गरेर समाल्हेर राखेको पाटो, हल्लिन्छ भनेर काम्रो लगाएको पाटो ।त्यो पाटो जसको थोरै अस्थिरताले पनि पुरै मलाई हल्लाइदिन्छ।कहिलेकाहिँ म सोच्छु म कमजोर भएर हो जसले पनि मलाई हल्लाइदिन्छ।फेरि सोच्छु म हल्लिएरै टिकिरहेकी छु,जडहरु त टुक्रिन्छन् वाँच्नलाई पेण्डुलम हुनुपर्छ। कथा केहि समय अघिकै हो। अजय आशालाई मन पराउँथ्यो।अथवा भनौँ मलाई लाग्थ्यो अजय आशालाई मन पराउँथ्यो। आशा धेरैलाई मन पराउँथी एकैचोटी।आशाका परिभाषित जीवनमा अजयको गम्भिरता चट्टानमा छाल परेर चट्टान भिजाउन चाहेजस्तै टक्राउँथे। आशाका वरीपरी अजयका आँखा डुल्दथे।टाढावाट डुल्दथे।तर उसको मौनता वुझ्ने आशालाई फुर्सद थिएन।उसको आफ्नो संसार थियो। जसमा भिँड थियो,आवाज थियो जसमा अजयको मौनता भेट्टिनु असम्भव प्राय थियो। म खोइ त कथामा ? म त आशाकै छायाँ थिएँ। आशा मेरो साँचो थिई, उसको आकारमा आफुलाई ढाल्ने प्रयास गर्थेँ। आशा मलाई सिकाउँथी परिभाषाहरु , अनि म कण्ठाग्र पार्थेँ जीवनलाई। तर जीवन सुत्रवद्द हुन्न।आशाको जीवन एउटा भिन्नै धागो थियो, मेरो जीवन भिन्नै धागो। दुइवटा धागोका दुइटा परिधिलाई जोड्ने प्रयास गर्दा त जीवन उल्झिनु त अवश्य नै थियो। "के सोचेकी ,भयो छोड्दे ,कति घोत्लिन्छेस् !" आशाले मेरो अतितको जरा काटिदिई । म वर्तमानमा फर्केँ।किचनको झ्यालमा भिजेको रुपी आएर वस्यो।मलाई हेरिरह्यो।थाहा छैन के हेर्छ उसले म मा , फेरि मनको अर्को कुनाले सोध्छ म पनि उसलाई हेरीरहेकी छु र न उसले मलाई हेरेको थाहा हुन्छ। आँखा ऐना हो, मलाई ग्यानवोध भयो , मैले आँखा अन्त मोडेँ। "आइज खाना वनाकी छु ,खाना खान आइज !" आशाले मलाई कोट्याउँदै भनी। आशा खासै मिठो खाना वनाउदिन।कहिले के डढाउँछे, कहिले केहि काँचै छोडिदिन्छे। लतपत पारेर काम गर्ने वानी छ। किचन फेरि सफा गर्नु पर्छ आँफैले।त्यसैले प्रायजसो भान्छाको काम म आँफै गर्छु। उसलाई वजारका काम गर्न लगाउँछु। वजारकै काममा पनि उ किनेकै चिजहरु पनि राम्ररी हेर्दिन। साग पहेँलै पनि लिएर आउँछे, आलु कुहिएको पनि वोकेर आउँछे।कहिलेकाहिँ दिक्क लाग्छ उसको काम गराइ देखेर।उ वेफिक्री छे, पहिला पनि थिई अहिले पनि छे।उसको परिचय नै त्यहि अनि किन पो वदलियोस् आफुलाई अरुको आकारमा। उसको आफ्नै आकारका प्रशंसक को भीँड छन्।उ भिँडमा छिर्छे,हराउँछे त्यसैले त वेफिक्री हुन्छे। म किचनमा छिरेँ। फोहर फालेको भाँडोवाट वन्दाकोपीको पत्ता चियाइरहेको थियो। थोरै कुहिएको पत्ता! पहिलो पत्र हुनुपर्छ। उसले फ्याँकिदिछे। मान्छे पनि त्यस्तै होला। किराले खाएको पत्ता फ्याँक्छ, नयाँ आफु भेट्टाउँछ। थोरै हरियो, थोरै रसिलो ,कुमारत्व भएको, कसैको स्पर्श नपाएको! "आज वन्दा पकाइस हो?" मैले थाहा हुँदा हुँदै प्रश्न राखेँ । थाहा हुँदा गरेका प्रश्नको एउटा फाइदा छ ,दोस्रो पक्षको उत्तर कुर्नु पर्दैन।अनी एउटा वेफाइदा पनि त्यो प्रश्न रहस्य विहिन हुन्छ। "किन? वन्दा खान मन छैन ?" उसले प्रश्नवाचक चिन्ह तेर्स्याई। "तैँले पकाको , खानै पर्यो नी !" "अनि घरवाट आमाले ल्याएको अचार पनि खाने !" "आँपको?" यो पनि रहस्यविहिन प्रश्न! उसले स्विकारोक्तिमा टाउको हल्लाई। टाउको हल्लाउँदा उसको केश अनुहारमा झर्यो।उसले हातले कपाल फेरी पुरानै ठाउँमा फर्काई। म आशा जति सुन्दर छैन, मलाई विश्वास छ। मैले सम्झे उसकी आमाले धेरै कचकच गरेकी थिइन।त्यो स्वच्छन्द हावालाई कैद गरीदिने प्रयास गरेकी थिइन् भनौँ ।तर उ किन मान्थी , उसले प्रस्तावको अनुहार,वानी व्योहोरा पनि नवुझी टारीदिई।उसलाई त छोटा भेट मनपर्छन्।स्वच्छन्द उडान मन पर्छन् उ किन चाहोस् उसको यात्राको पुर्णविराम? "अनी साँच्चै आमाले भनेको केटोको के भयो अरे ?" मैले उसको अनुहार नियाल्ने प्रयास गरेँ। उसले मेरो अनुहार तिर पुलुक्क हेरी ! "केहि न केहि, त्यो त केटालाई नै थाहा होला नी !" उसले म तिर हेर्दा पनि नहेरी जवाफ फर्काई। "केटाको वारेमा तँलाई भन्दा वढी कसलाई पो थाहा हुन्छ र ?" मैले कटाक्ष गरेँ। "म पनि करिव करिव तेरै यात्राको यात्री त हुँ नी !" उ खिस्स हाँसी "तँ त मेरो गुरु नै होस् नी !" म पनि हाँसिदिएँ। "तँ वाठी छेस् , त्यो तँलाई पनि थाहा छ !" "तँ भन्छेस् भने होला ! मलाई त तैँले जे भने पनि हो जस्तो लाग्छ !" उ चुप भई । अनी खाना मुछ्न थाली। उसले मिठो मानेर आफुले पकाएको खाना खाई।मैले पनि उसकै सिको गरेँ मिठो माने जस्तो गरीदिएँ। "छोडी दे आज भाँडा पनि मै सफा गरिदिन्छु !" "किन यती दया म माथी म्याडम ?" मैले आशालाई थोरै जिस्क्याएँ। "आज वाइन खानुपर्छ ,टेवल तैले पुस्छेस् की भनेर !" उसले मेरो अनुहार हेरी। अनी थोरै मुस्काई। उ नशा खोज्दैछे। उ अचम्मकी छे, उसलाई जीवनमा नशा चाहिन्छ। म पनि अचम्मकी छु म उसको नशाको सिको गर्छु। कहिल्यै मात्न सक्दिन मात्र माते जस्तो गर्छु। क्रमश:
fucheketo · Jul 6, 2013 10:22 AM
वहो फुच्चे कहाँ लगेर रोकेको ....अजय संगको कथा के होला भन्दा भन्दै भाग २ सकियो !! हरेक बाक्य वाह वाह भन्ने गहन छन् तेसैले कपि गर्न थाले पुरै गर्नु पर्ला जस्तो पो लेख छ . चाडै अरु पढ्न पाँउ !!!
bhakte dai · Jul 6, 2013 1:14 PM
Bhakte dai- तँपाइलाई पनि कपि गर्ने वनाउन सक्नु,मेरो अहोभाग्य, अन्य पढीदिनुहुने,लाइक ठोकीदिनुहुने सवै साथीहरुलाई धन्यवाद तेस्रो भाग फ्रिजभित्रको उज्यालोमा टमाटर अझै कलिलै देखिए। धनिया गिलासमा डुवेर टमाटर लाई नै नियाल्दै थियो, अह्ररो धनिया अह्ररै देखियो।वस्तु,जीव अनी मान्छे सवैले आफ्नो आन्तरिक गुणहरु चेपेर राख्छन्।छुट्याउन गाह्रो नै हुन्छ।लिसो जस्तो गरेर टाँसिन्छ अनि त्यहि नै परिचय वन्छ उसको! परिचय भनेकै लिसो जस्तो त हुन्छ। एकचोटी टाँसिन्छ ,छुट्टिनै गाह्रो।भित्र छिर्छ,कण कणमा गएर वस्छ, तन्तु तन्तुलाई आफुमा समेट्छ। छेवैका सिमी त्यो रातमा लम्पसार निदाइ नै रहे भोलीको फिक्री नै नगरेर निदाए जस्तो। मलाई लाग्यो निन्द्रा पनि सिमी जस्तै हरियो हुन्छ। तर निन्द्राको रंग त कसलाई के थाहा र? निन्द्रा त मात्र निश्चिन्त हुन्छ भावमा अनी मस्त हुन्छ नशामा।निन्द्रामा नशा हुन्छ वा नशामा निन्द्रा छुट्याउनै गाह्रो, पानीमा रंग घोलिदिए जस्तै! उसले वाइनको वोटल झिकेर फ्रिज वन्द गरेपछि म फेरि वाहिरकै संसारमा फर्केँ। वाहिर सिर सिर हावा चलिरहेको थियो।झ्यालको एउटा पल्ला खुलै हुनुपर्छ। पानी पर्दा पनि वन्द गरिनछे।आशा सँग रिस पनि उठ्यो।केहि भन्न सकिन। "रुमपार्टनरको नाममा!" उसले गिलास उठाई ! "मेरो पनि रुमपार्टनरकै नाममा !" मैले पनि गिलास उठाइदिएँ। गिलास जुधे।मैले जुधेका गिलास हेरेँ। छचल्किएको अस्थिरता हेरेँ। मान्छेलाई कति धेरै मन पर्छ अस्थिरता , जुधाएर पनि अस्थिरता उत्पादन गर्छ मान्छे।भोको मान्छे! "अजयमा केहि त थियो वुझिस् , आँखा गहिरो भएर होला भाव हराउँथे,डुव्थे त्यहि आँखामा थाहै हुन्नथ्यो उ खुशी थियो वा दुखी थियो। थाहा हुन्नथ्यो उसको आँखाले के खोज्थ्यो।थाहै हुन्नथ्यो उसको आँखाले के भेट्टाउँथ्यो ।अनि थाहै हुन्नथ्यो उसको आँखा सन्तुष्ट थियो वा थिएन !" उसले दोस्रो घुट्कीमा आफुलाई थोरै छचल्क्याई।मैले छचल्किएकी उसलाई हेरेँ । उ वाइनमा केहि नियाल्दै थिई। त्यो वाइनको ग्लास उसले ठमेलको एउटा दोकानवाट किनेकी थीई। भन्थी "वाइन भन्दा गिलास मा वढी नशा हुन्छ बुझिस् ? लोग्ने मान्छे त सवै एउटै नै हो नी अन्त्यको सारांश एउटै चाहना एउटै मात्र प्रस्तुती भिन्न। वाइन पनि त्यस्तै हो, एउटै नशा मात्र प्याला भिन्न!! " म टाउको हल्लाइदिन्थे। उ सन्तुष्ट हुन्थी। "मलाई के थाहा ? उ त तँलाई मन पराउँथ्यो तैँले नै चिनेकी होलिस् नि !" मैले रुखो जवाफ फर्काएँ। वाइन तितो लागेर आयो।कुहिएको ह्वास्स गन्हाए जस्तो। "तँ उसलाई मन पराउँथिस् नि त !" उसले मेरो अनुहारमा हेरी। मलाई भाव लुकाउन मन छ।अनुहारले साथ नदिए झैँ लाग्यो। "त्यो त क्षणिक आवेग थियो,अहिले सम्झिन्छु के नै थियो र उसमा गम्भिरता वाहेक ?" "म भने आजकल सोच्छु , के नै चाहिने रहेछ र गम्भिरता वाहेक , लोग्नेमान्छे पातलो हुन्छ वुझिस् धुवाँ जस्तै पातलो ! फुकेर उडाउन सकिन्छ,एकैछिन विलाउने वनाउन सकिन्छ! तर विलाए पछि फर्काउन गाह्रो,अर्को धुवाँको चक्का खोज्नुपर्छ फेरि फुक्न! जीवनको वाध्यता! " "एउटा पुरुषले किन पुग्दैन तँलाई ?" "त्यो कुरा छोड्दे, के तँ मलाई दोषी नजरले हेर्छेस् ?त्यो भन मलाई !" उसले मेरो आँखा नियाली । उ सत्यता खोज्दैछे। म अतितमा फर्केँ। मैले आँट गरेर अजयलाई भनेकै हो। उसले त्यतिखेर धेरैवेर मौनता पस्कियो मेरो भागमा ।अनि मौनता तोडेर तिक्तता ! भन्यो "जीवन अचम्मको हुँदो रहेछ, खोजेको पाइन्न रहेछ, अनि नखोजेकाहरु खोज आफु वनिदो रहेछ!" म त उसको लागे उसले नरोजेको,नखोजेको थिएँ। आशालाई मैले त्यहि रात सुनाएकी थिएँ। त्यसको केहि दिन पछि आशाले अजयको खोजको वारेमा खोली! मलाई थाहा भएन मेरो प्रतिकृया के हुनुपर्ने हो! दुइ दिनको घोत्ल्याई पछि मेरो लागी पुरानी आशा र पछिकी आशामा केहि फरक नपार्ने निर्णय गरेँ। न आशाले अजयको खोजको विचार गरी, न अजयले मेरो मनको विचार गर्यो। असन्तोक पर्याय वन्यो अजय र म विचको। "के थियो र तेरो दोष ?" "थाहा छैन, शायद मेरो अल्लारे वानी तेरो गम्भिर अजयलाई मन पर्यो ! " "तँ मन पराउने खालकै छेस् त !" मैले उसको प्रसंशा गरेँ। " म त पोखिनुपर्छ, खाली ठाउँ पुर्नु पर्छ भन्ने मान्छे पो त ! तेरै भाषामा भन्ने हो भने एउटा पुरुषले नपुग्ने ,भोगी,ढोंगी !" " मैले तँलाई कहिल्यै त्यसरी हेरिन , तर खाली ठाउँ त खाली नै रहे पनि त हुन्छ नी !" मैले लठ्ठिएकी उसलाई नियाँले। रसिली छे आशा!धेरै पटक पोखिएर पनि अझै भरी छे। म भने खालीको खाली छु, उ माथीको इर्ष्या नै पोखेको हुनुपर्छ मैले। "खाली राखे त म पनि सुधा भइहाले नी ! आशाको आफ्नो परिचय के त ?" उसले मेरो जिव्रो खोसी।मेरो सोच खोसि,मेरो इर्ष्या पनि खोसी अहिलेको अहिले। "ठिकै भनिस् खाली सुधा,अनि पोखिएकी आशा ,यहि वाइन जस्तै !" मैले हलुका गिलास उठाएर गिलासको वाइन देखाएँ। "अझै सिध्याएकी छैन रैछे,भोली विहान सम्म जतन गरेरै राख्छेस् की के हो?" "मलाई आशा वन्न मन छ नि त , अजयकी मन पर्ने !" म अचानक भावुक भएँ। रित्तो आँखा रसाएर आयो।अतितले थोरै निचोर्यो मलाई। "मोरो, नहुँदा पनि दुख दिन्छ,हुँदा पनि दुख दिन्छ मेरी सुधालाई !" उ ढलमलिदै मलाई अँगालो मार्न आई। उसको पर्फ्युम दलेको शरिर ले मलाई टाउको दुखायो। तर पनि खपेँ। मेरो त उ रोल मोडेल हो। अजयकी ढुकढुकी नै थिई। "दुख त मनले पो दिएको त !" मैले पनि एक घुट्की घुट्क्याएँ। अहँ स्वादमा अझै केहि फरक छैन। यो वाइन अझै पनि तितै छ। मेरो पहिलो घुट्की जस्तो।खै आशा के देख्छे यसमा र घुट्की माथी घुट्की थप्छे! क्रमश:
fucheketo · Jul 8, 2013 11:24 AM
म आखिर पर्खेर बसेको थिंए, एता संस्करणमा आएछ । यो जालसाजि किन?
somewhereondearth · Jul 8, 2013 4:25 PM
<<< फेरि सोच्छु म हल्लिएरै टिकिरहेकी छु,जडहरु त टुक्रिन्छन् वाँच्नलाई पेण्डुलम हुनुपर्छ। >>> <<< परिचय भनेकै लिसो जस्तो त हुन्छ। एकचोटी टाँसिन्छ ,छुट्टिनै गाह्रो >>> <<< मान्छेलाई कति धेरै मन पर्छ अस्थिरता , जुधाएर पनि अस्थिरता उत्पादन गर्छ मान्छे >>> <<< लोग्नेमान्छे पातलो हुन्छ वुझिस् धुवाँ जस्तै पातलो ! फुकेर उडाउन सकिन्छ,एकैछिन विलाउने वनाउन सकिन्छ! >>> दुई भाग एकैचोटी पढ्न पाईयो... लेख्दै गरौ है... सदा झैँ उत्कृस्ट प्रस्तुति
aakinchan · Jul 9, 2013 6:56 AM
<छचल्किएको अस्थिरता हेरेँ। मान्छेलाई कति धेरै मन पर्छ अस्थिरता , जुधाएर पनि अस्थिरता उत्पादन गर्छ मान्छे।भोको मान्छे!> ------ हो प्रभो हो अस्थिरता मा रम्छ मान्छे ... अस्थिर परिस्थिति बाट रोमान्चित हुन्छ साएद केहि नया पाउने आश मा ...... <<"जीवन अचम्मको हुँदो रहेछ, खोजेको पाइन्न रहेछ, अनि नखोजेकाहरु खोज आफु वनिदो रहेछ!" >> ----- तेही त हगि ...अचम्म छ जिन्दगि .... साँच्ची नै यहाँ खोजेको र रोजेको पईने त भाग्यमानीमा गनिन्छन रे ...... नखोजिएको नारोजिएको मनको अग्निमा दहन भएको कथा कस्तो राम्रो रैछ फुच्चे एक्कै साथ् दुई भाग सक्काए .......अझै पढ्न पाउँ @aakinchan ji :: साँच्ची नै फुच्चेको कथा मा हाम्रा मनपर्ने पंगति एउटै रहेछन ... - थाहाछैन (थाने)
ThahaChaena · Jul 9, 2013 4:27 PM
http://sajha.com/sajha/chat/sm... feri fuchche gaayab!
crazy_love · Jul 14, 2013 10:08 AM
सोम दाइ- आखिर आउँछ, प्रतिक्षाको फल त मिठै होला नी ;) अकिन्चन,थाने- कस्तो अचम्म है,दुबै लाई एउटै कुरा मन पर्ने, Thank you very much साहिँली- फुच्चे गायव भन्नेलाइ पो कसले भन्दियोस् ;) अन्तिम भाग यो साँझ आकाश जस्तै शुन्य छ। कोइला जस्तै कालो छ। अनि गुम्सिएको मन चुक जस्तै अमिलो छ।केहि फरक छैन न वाइनको स्वाद, न साँझको प्रकृती।शुन्यता मा कालो विलाउँछ। कालो रंग नै शुन्य हुन्छ। हो शुन्य को नै रंग हुन्छ भने त्यो कालो नै हुनुपर्छ।मेरा भावनाहरु पनि पानी उम्लिएका फोका जस्ता।के के सोचीरहन्छु। आशाको जस्तो नसोच्ने मन भइदिए मलाई कति सजिलो हुन्थ्यो। उसको मन किन सोच्दैन? वा उसँग मन छैन! वा मेरो मनले गर्नुपर्ने काम गरिरहेको छैन! फैसला कसले गरिदिने? उ त मातेकी छे, अनी म आफ्नै तिक्तता मा छु ।हामी दुवै जना सहि गलत छुट्याउने अवस्थामा छैनौँ। "तैँले अजयसँग कहिल्यै केहि गरिनस् त ?" सोध्न नपर्ने प्रश्न सोधेँ मैले यसपाली! उसले मलाई धेरै वेर हेरी।दुइ चार मौन घुट्की मारी।अनी फेरि भनी, "केहि त थियो अजयमा !" म मौन वनेँ ।मनमनै सोचेँ "पाखण्डी,भोगी,अजयलाई यसले छोडिन पहिला मात्र शंका थियो ! आज कुरा वाहिर निस्कियो।" लोग्नेमान्छे कति सिमित हुन्छ। असिमित माया देख्दैन।मात्र तलाउमा डुव्छ,पौडी खेल्छ।मेरो समुन्द्र त नुनिलो छ। उ मात्र किनारामा वस्छ।मलाई हेर्छ,स्वादको अन्दाज लगाउँछ। किनारावाटै फर्किन्छ। मेरो गहिराइ सँगै म शान्त रहन्छु।कहिलेकाहिँ मेरा लहरहरु उसलाई पछ्याउँछन्। उ झन डराउँछ, म पछि नै फर्किन्छु।फेरि अर्को प्रयास गर्छु,फेरि असफल हुन्छु। "के थियो त? मैले त टाढा वाटै मात्र हेरेँ उसलाई ! भन न मलाई !" मैले सल्किँदै प्रश्न गरेँ। मन अनौठो गरी धुवाँ पत पत निकाल्दै गरेको महसुस गरेँ मैले।धुवाँ कसरी लुक्छ ? सोच्न थालेँ।सोच पनि त वन्द भएको छ अहिले त ! "जतिखिर धेरै नजिक हुइन्छ त्यतिखेर आँखा वन्द हुन्छ सुधा, देख्नलाई त थोरै टाढा नै हुनुपर्छ!" "सपना देख्न त आँखा वन्द नै भएको राम्रो ! " "हुन त त्यो सपना जस्तो नै थियो! मलाई थाहा छ म जे भन्छु तँलाई दुख्छ ,तर अजय मलाई मन पराउँथ्यो ,त्यो सत्य नै हो !" "अनि ?" मैले मेरो अघिको रित्तो ग्लास हेरेँ। गिलास अव मौन थियो।न छचल्किने केहि थियो,न पोखिने केहि।मात्र रिक्तता थियो त्यसमा।रिक्तता वोकेर उभिएको थियो मेरो अघी। "उ एकदिन मेरो नजिक आयो अनि वल गरेर भन्यो, म तिमीलाई मन पराउँछु !" आशाले कुर्सीमा पलेँटी कस्दै काँक्रो टोक्दै भनी। "तैँले यो पहिले सुनाएकि थिइनस् त !" मैले विवश हुँदै उसलाई गुनासो गरेँ।अरु के नै गर्न सक्छु र म ? "नशामा आँट हुन्छ वुझिस्, मेरो काँतरता तेरो विश्वासको अघि हार्यो, आज नशाले मलाई उधारिदिएको मात्रै हो, म कुरुप नै भए पनि पत्र पत्र उक्किन चाहन्छु !" आशाको आँखामा अनौठो सत्य देखियो।के मैले उसलाई अव क्षमा गरिदिनु पर्ने हो? के कारणले ? मेरो हक नै नभएको वस्तुमा म किन दावी गरौँ, उसले जे गरी स्वतन्त्र भएर गरी, अजय पनि स्वतन्त्र नै थियो, म त मात्र मुक हुन सक्थेँ,हेर्न सक्थे अनि सुन्न सक्थेँ। मैले टाउको हल्लाएँ। "एकचोटी मलाई तेरो सम्झना आयो , अनि सोचेँ वैँश पनि कहिँ चोखो,जुठो हुन्छ र ?आज प्रस्ताव राख्छु माया विनाको सम्वन्धको अजयसँग!" मन अचानक तातेर आयो। लाग्यो अव म सुन्न सक्दिन। मेरो कानको सिमा सकिएको छ। मेरो धैर्यताको परिक्षा हुँदैछ। मेरो मौनताको तौल नापिँदैछ। अनि म च्यातिदैँछु।धुजा धुजा भएर च्यातिदैछु। आशा मेरा टुक्रा टुक्रामा रमाउँदैछ। उ सिंगो म चाहन्न ! "भयो छोड्दे ,सुन्नु छैन मलाई जे सुकै गरोस् ,सकिएको कुरा !" मैले कुराको विट मारेँ। उ चुप भई। मलाई फेरि उकुसुमुकुस् भयो। चोटनै पनि पुरै लागेको जाती। " भन भन , तँलाई सवै सुनाउनु छ जस्तो छ !" मैले कुरा फेरि सपारेँ। " उ राजी भएन ! मात्र माया गर्न जान्ने ,सिल्ली, मुर्ख " उसले गिलास तल राखेर धेरै वेर घोरीई ।मलाई किन हो किन मेरो जीत भएको महसुस भयो। अजय आफु जस्तै लाग्यो। माया चिन्ने माया वुझ्ने। "मेरो रुप पहिलो चोटी हारे जस्तो भएको थियो बुझिस् त्यतिखेर, म अनाहकै रिसाएकी थिएँ ,अनि सोधेकी थिएँ के देखेको छौ तिमीले आफुमा ? मैले तिम्रो पछि लाग्नुपर्ने ! उसले जवाफ फर्काएको थियो "मैले त नहेरी माया गरेको मैले तिमीलाई !" "ढाँट, नहेरी माया त कसैले गर्दैन, हेरेकै थियो र तँलाई माया गर्यो नत्र मलाई माया गरी हाल्थ्यो नी !" उ हाँसी।खिस्याएर हाँसी वा सन्तुष्ट भएर उसैलाई थाहा छ।मैले त मात्र उसको हाँसोको आवरण देखेँ। "तँ पनि त राम्री छेस् !" "तँ जति छैन नि त !" "त्यो दिन मेरो ठाउँ मा तँ भइदिएको भए, एउटा कथा पुरा हुन्थ्यो ! म सुत्न हिँडे,अवेर भयो !" उ उठी।मन पेण्डुलम वनी यता उता फेरि हल्लियो। कस्तो दोधारे मन। "के खोज्दै थियो त आज वुकस्टोर मा उ ?" मैले उसलाई रोकेँ। म अझ जान्न चाहन्छु अजयको वारेमा। "किताव विर्सेँ ,तर त्यो किताव पर्सी मात्र आउँछ भन्यो पसलेले !" "अनि पर्सी उ आउँछ रे ?" मनमा फेरि अनौठो आशा पलायो। समाप्त
fucheketo · Jul 14, 2013 1:20 PM
dai kaa sabai prastuti haru utkrista,ti utkrista haru madhye maa ni malai aajha utkrista laageko yo katha.......
ilam2008 · Jul 15, 2013 2:41 AM
<<असिमित माया देख्दैन।मात्र तलाउमा डुव्छ,पौडी खेल्छ।मेरो समुन्द्र त नुनिलो छ। उ मात्र किनारामा वस्छ।मलाई हेर्छ,स्वादको अन्दाज लगाउँछ। किनारावाटै फर्किन्छ। मेरो गहिराइ सँगै म शान्त रहन्छु।>> <<मैले मेरो अघिको रित्तो ग्लास हेरेँ। गिलास अव मौन थियो।न छचल्किने केहि थियो,न पोखिने केहि।मात्र रिक्तता थियो त्यसमा।रिक्तता वोकेर उभिएको थियो मेरो अघी।>> ---- कस्तो गहन र गहिराइ पूर्ण विश्लेषण येति आम कुराको पनि ......फेरी पनि अनाहक निस्कियो वाह ! फुच्चे ..यस्तो पो पढ्न मज्जा आउँछ .... <<चोटनै पनि पुरै लागेको जाती।>> ---- तेही त हगि...तर जीवनमा त जीवनले चिमोटी चिमोटी पाप्रा उप्काइ अलि अलि गरेर चोट भरिदिन्छ र पो ....... एक्कै फेर चोट लागे त ..... वाह ! फुच्चे साथी सहि कथा पढीयो फेरिपनि.... हृदये देखि धन्याबाद.... - थाहाछैन (थाने )
ThahaChaena · Jul 15, 2013 1:14 PM
कोहि किन एती साह्रो गहन रुपले मनोभाव उतार्न सक्छ ? वाह ...अरु पनि पढ्न पाइयोस !!
bhakte dai · Jul 15, 2013 11:02 PM
Ilam2008- भाइ धन्यवाद, तिम्रो कमेन्ट देख्छु,खुशी लाग्छ :) थाने - ह्रदयदेखी धन्यवाद त मैले दिनुपर्ने हैन र ? भक्तेदाई- साझाका वुढापाका दाजुले मन पराको भनेपछि त मैले दह्रो नै लेखे कि जस्तो मान्या छु यसपाली ;) अन्य पढिदिनुहुने साथिहरुलाई धन्यवाद And many many thanks to Eclectic who prompted me to go Hemingway style in Nepali :)
fucheketo · Jul 16, 2013 8:55 AM
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion