स्मरण मणिराज उपाध्याय गणेशमान सिंहको मुड्की २० मंसिर २०१६। गणेशमान सिंहले इन्जिनियर मेदिनीप्रसाद भट्टराईलाई भन्नुभयो, "म इन्जिनियरको भाषा बुझ्दिनँ, नियम-कानुनका कुरा पनि त्यति भेउ पाउँदिनँ। त्यसैले पत्रकारहरूले उठाएका हरेक प्रश्नको जवाफ तपाईं दिनूस्।" निर्माण, सञ्चार तथा नहर र मालपोत -भूमिसुधार) मन्त्रालयको जिम्मेवारी सम्हालिरहनुभएका मन्त्री सिंहले मतिर संकेत गर्दै चोरऔँलो ठड्याएरै भन्नुभयो, "यदि उहाँले लेखेका र गरेका कुरा भोलि सही निस्किए र इन्जिनियर सा'ब तपाईंले भनेका कुरा गलत ठहरिए भने म अरू केही त गर्न सक्दिनँ। तर, मेरो मुड्की बलियो छ, यही मुड्कीले हानी हानी मूच्र्छा पार्न सक्छु। यदि सरकारलाई गलत बाटो देखाइरहनुभएको छ भने तपाईंले पनि भोलि मेरा यिनै मुड्कीको सामना गर्नुपर्नेछ।" नेपालका तर्फबाट उप-प्रधानमन्त्री सुवर्णशमशेर जबरा र भारतीय राजदूत भगवान सहायले १९ मंसिर ०१६ मा विधिवत् रूपमा गण्डक सम्झौतामा हस्ताक्षर गरेको दोस्रो दिन सिंहदरबारमा आयोजित पत्रकार सम्मेलनको दृश्य थियो त्यो। हल भरभिराउ थियो। उच्चपदस्थ सरकारी अधिकारीका साथै स्वदेशी/विदेशी पत्रकारहरूको घुइँचो नै लागेको थियो। मानिसहरू बस्ने ठाउँको अभावमा उभिएरै त्यो सब हेररिहेका थिए। पत्रकारहरूले उठाएका बाँध, बिजुली र सिँचाइको ग्यारेन्टीका साथै नेपालको हित कसरी स्थापित गर्न सकिन्छ भन्ने प्रश्नको त्यहाँ एकसरो जवाफ दिइएको थियो। खासमा चित्तबुझ्दो जवाफ त्यहाँ आएन। गण्डक सम्झौता हुनुपर्छ भन्नेमा मेरो पनि विमति थिएन। तर, कोसी सम्झौतामा हामी ठगिइसकेकाले फेरि ठगिने काम नहोस् भन्ने ग्यारेन्टी कसरी गर्न सकिन्छ भन्ने पत्रकारहरूको प्रश्न अहम् थियो। सम्झौताको विरोधमा मैले आफ्नो पत्रिकाको सम्पादकीय कोलम नै कालो पोतेर छापेको थिएँ। एक हिसाबले यस सम्झौताविरुद्ध मैले चुनौती नै दिएको थिएँ। गण्डक सम्झौताभन्दा त्यस्तै पाँच महिनाअघि मन्त्री सिंहसँग एउटा प्रस्ताव लिएर म उहाँको कार्यकक्षमा पुगेको थिएँ। मैले कमसेकम वस्तुस्थिति बुझेर सम्झौता गर्दा दीर्घकालीन हित हुन सक्छभन्दै उहाँसमक्ष एउटा प्रस्ताव पनि गरेको थिएँ, "बरू म दुई जना पत्रकारको खर्च बेहोर्छु, सरकारका तर्फबाट तपाईंले दुई जना विदेशी पत्रकारको खर्च बेहोरिदिनूस्। यसरी चार-पाँच जना पत्रकारको टोली बाँधस्थलमा पठाएर त्यहाँको वास्तविकता के रहेछ बुझौँ अनि मात्र सम्झौतामा हस्ताक्षर गर्ने काम गरौँ। यसमा तपाईंले सहयोग गर्नुपर्‍यो।" सिंहले सरकारी तबरबाट यससम्बन्धी अध्ययन भइरहेको र विभिन्न टोली खटिएकाले त्यसको आवश्यकता नपर्ने जवाफ दिनुभयो। र, भन्नुभयो, "तपाईंको देशभक्तिपूर्ण भावनालाई म सलाम गर्छु। तपाईंलाई यो पनि विश्वास दिलाउँछु कि यो सरकारले देशको सार्वभौमिकतामाथि आँच आउने काम कदापि गर्ने छैन।" त्यस बेला मेरो चुनौतीलाई तुलसीलाल अमात्यले 'क्यास' गर्नुभएको थियो। नेपाल कम्युनिस्ट पार्टीका तर्फबाट निर्वाचन क्षेत्र नं ३ उपत्यका, ललितपुरबाट सांसद बन्नुभएका अमात्यको नेतृत्वमा गण्डक सम्झौता हुनुअघि नै विशाल जुलुस प्रदर्शन गरएिको थियो। गण्डक सम्झौता हुनु हुँदैन भन्दै राष्ट्रिय प्रजातान्त्रिक मोर्चाको अगुवाइमा करबि २५ हजारजतिको मानिसको भीड भद्रकाली-सिंहदरबारसम्म थियो। काठमाडौँ, पाटन र भक्तपुरका मानिस सडकमा यसरी ओर्लिएका थिए कि बयान गरिसाध्य छैन। गण्डक सम्झौताका बारेमा राणाकालदेखि नै कुरा उठ्दै आएको हो। यसको निर्माणका बारेमा सिद्धान्ततः कसैको पनि विमति थिएन। तर, नेपाललाई अधिकतम फाइदा दिलाउने सवालमा मतभिन्नता रहेकै कारण यससम्बन्धी सम्झौता हुन सकेको थिएन। खास गरी हाम्रो सार्वभौमिकतामाथि आघात नपरोस् भन्ने धेरैको अनुरोध थियो। प्रधानमन्त्री बीपी कोइरालाले १७ साउन ०१६ मा गण्डकसम्बन्धी सबै कुरा संसद्मा जानकारी गराएरै सम्झौता गरिने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो। नेपालका जति पनि नदी छन्, टुंगिने त सीमामै गएर हो। हामीले थुनेर राख्नु सम्भव छैन। तर, त्यसो भन्दैमा नेपाली जनतालाई नै हानि-नोक्सानी हुने किसिमले सम्झौता पनि त गर्नुभएन। नदी-नालाका विषयमा सम्झौता हुनुपर्छ तर आफ्नो हक-अधिकार सुरक्षित राखेर। गण्डक सम्झौताका बारेमा पनि मेरो त्यही धारणा थियो। गण्डक सम्झौता हुँदा पनि मैले एउटै कुरा दोहोर्‍याएको थिएँ, ठाउँको विषयलाई लिएर। नेपाली जमिनलाई मध्यनजर गरेर बाँध बाँध्नुपर्‍यो, ड्याम साइट निर्माण गर्नुपर्‍यो। कोसीमा ठगिएका हामीले पाठ सिक्नुपथ्र्यो। तर, गण्डक सम्झौता गरेर फेरि एकपटक नेपालीलाई ठग्ने काम भयो। गण्डक सम्झौताको परिणामस्वरूप मुजफ्फरपुर मात्र होइन, विहार नै उज्यालो भएको छ। तर, नेपालमा अँध्यारोको अँध्यारै छ। त्यसमाथि जनधनको क्षति पनि बेहोर्नुपरेकै छ। गण्डक सम्झौताबाट हामी ठगिएको त जगजाहेर नै छ। नेपालको सुविधाका लागि पावर हाउस बनाउने, नेपालको सीमानजिकै भैँसालोटनसम्म र सुगौलीदेखि रक्सौलसम्म ट्रान्समिसन लाइन बनाउने र हामीलाई दिने भनिएको बिजुली, पानी र सिँचाइका विषय कहाँ हराए? मलाई गणेशमान सिंहले २० मंसिर ०१६ मा पत्रकार सम्मेलनमा भनेका कुरा अझै पनि सम्झना छ। तर दुर्भाग्य ! सिंहको दह्रो मुड्की खाएर मूच्र्छा पर्ने साइत भने सम्झौता गराउनेहरूलाई कहिल्यै जुरेन। प्रस्तुति: ईश्वरी ज्ञवाली http://www.ekantipur.com/nepal...
_____ · Jun 30, 2013 10:46 AM · 1,070 views
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion