अन्तर्राष्ट्रिय न्यायालयमा बुद्ध प्रतिमा (1 Vote) 1 2 3 4 5 नविन पोखरेल १ लन्डन, असार ११ - पिस प्यालेस्ले परिचित नेदरल्याण्डको हेगस्थित अन्तर्राष्ट्रिय न्यायालय (इन्टरनेशनल कोर्ट अफ जस्टिस्) भवनमा बुद्ध प्रतिमा स्थापना भएको छ । सोमबार दिउसो एक औपचारिक कार्यक्रमबीच न्यायालयको तेश्रो तल्लामा प्रतिमा अनावरण गरिएको हो । चार लाख असी हजार रुपैयांमा खरिद भएको २.५ फिट अग्लो उक्त प्रतिमा बेल्जियमका लागि नेपाली राजदूत राममणि पोखरेलले अनावरण गरे । बुद्ध प्रतिमामा ‘बुद्ध वाज बर्न इन लुम्बिनी, नेपाल ६२३ बीसी’ अंकित छ । गैर आवासीय नेपाली संघ, बेलायतका सल्लाहकार एवं कपिलवस्तु दिवस अभियानका यूके संयोजक सुरेन्द्र श्रेष्ठको पहल र गैर आवासीय नेपाली संघ (एनआरएनए) को सिफारिसमा प्रतिमा प्रतिस्थापन कार्यले सफलता पाएको हो । नेपाल सरकारका तर्फबाट राजदूत पोखरेल र इन्टरनेशनल क्रिमिनल कोर्ट अफ जष्टिस्का रजिष्टार फिलिप डि कोभरिअरबीच १७ जनवरी, २०१३ मा छलफलपछि ध्यान मुद्रामा बसेको बुद्ध प्रतिमा प्रतिस्थापन गर्ने सहमति भएको थियो । प्रतिमा अनावरणका अवसरमा न्यायालय सम्वद्ध सबै १५ जना न्यायधिश उपस्थित भएर कार्यक्रम बडो उत्सुकतापूर्वक अवलोकन गरेको पत्रकार राजेन्द्र भट्टले हेगबाट जनाए । उक्त कार्यक्रममा न्यायालय अध्यक्ष पिटर टोम्काले वुद्ध मुर्ति न्यायालयका लागि एउटा महत्वपूर्ण उपहार भएको जनाउंदै यो प्रदान गरेकामा नेपाल सरकार र एनआरएनप्रति आभार व्यक्त गरे । उनले यसबाट बुद्ध र धर्मबारे थप प्रष्ट हुने समेत उल्लेख गरे । त्यहींका न्यायधिश राज भण्डारीले वुद्ध धर्मबारे प्रकाश पारेका थिए । वर्षेनी विश्वका हजारौं मानिस पुग्ने उक्त प्यालेसमा बुद्ध प्रतिमा प्रतिस्थापनले बुद्धबारे भइरहेका अनावश्यक भ्रम निवारण हुने नेपालीहरुको अपेक्षा छ । राजदूत पोखरेलले वुद्धको प्रसार प्रसारका लागि प्रतिमा स्थापना कोशेढुंगा सावित हुने बताउंदै यसका लागि पहल गरेकामा गैर आवासीय नेपाली संघलाई विशेष धन्यवाद दिए । एनआरएनए अध्यक्ष जीवा लामिछानेले बुद्धको जन्मस्थलबारे भइरहेका नकारात्मक टिप्पणी एवं अनेक भ्रम निवारण गर्न यो उल्लेख्य कदम भएको र यसलाई आफ्नो कार्यकालकै उपलव्धि बताए । एनआरएनए आइसीसी संस्थापक अध्यक्ष डा. उपेन्द्र महतोले यस्तो शुभ कार्यबाट नेपाल र समस्त नेपालीकै नाम उंचो हुने टिप्पणी गरे । एनआरएन आइसीसी, बुद्ध प्रतिमा प्रतिस्थापन समितिका संयोजक सुरेन्द्र श्रेष्ठले आफ्नो जीवनको सबैभन्दा महत्वपूर्ण काम सफल भएकोमा प्रसन्नता व्यक्त गर्दै अब नेपाल सरकारलाई अनुरोध गरि राजदूतहरुमार्फत संसारभर नै पूर्ण कदको बुद्ध मुर्ति स्थापनाका लागि पहल गर्ने जनाए । अनावरण कार्यक्रममा एनआरएनए यूके, हल्याण्ड र बेल्जियम पदाधिकारीहरु साथै जर्मनी बस्ने नेपालीहरुको समेत उत्साहजनक उपस्थिति थियो । सन् १९१३, अक्टोबरमा निर्मित उक्त प्यालेसभित्र विश्वकै ख्यातिप्राप्त व्यक्तिहरुका पूर्ण तथा अर्धकद शालिकहरु बडो आकर्षक ढंगले राखिएको छ । त्यहां नेल्सन मण्डेला, नेहरु, महात्मा गान्धीको शालिकसहित, अर्जेन्टिनाले दिएको क्राइष्ट, अमेरिकाको न्यायमुर्ति, अफ्रिकाबाट हात्तीको दुईवटा दाह्रा, चीनबाट गलैंचा लगायत असंख्य देशका उपहार राखिएको संयोजक श्रेष्ठले जनाए । उक्त भवनभित्र पिस प्यालेस लाइब्रेरी, हेग एकेडेमी अफ इन्टरनेशनल ल लगायत अवस्थित भएकाले त्यहां वर्षेनी लाखौं पर्यटक र विद्यार्थीको आकर्षण छ । प्रकाशित मिति: २०७० असार ११ १२:०८ - See more at: http://www.ekantipur.com/np/20...
_____ · Jun 25, 2013 6:57 AM · 828 views
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion