सामाखुशीको बाढी, फौजी सोच र तीन कुने को पुल

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

 सामाखुशीको बाढी, फौजी सोच र तीन कुने को पुल    इत्तू जीले राख्नु भएको धागोमा भएको  सामाखुशीको प्रहरी स्कूलले पुलिस र सामाखुशी को बाढी याद आयो . अनि पुलिस र मनहरा नदी को बाढी याद आयो . त्यै भएर पुरानो  संस्मरण लेख्दै छु .      २०५०-५१ साल तिर को कुरा हो. हरेक बर्षा याममा सामाखुशीमाले थेग्न नसक्ने भेल आउथ्यो र रानीवारी सामाखुशी वरपरका होचो भागमा बनेका घरहरु डुबान मा पर्थ्यो . त्यति खेर नगरपालिकामा काम गर्थें . बिहान साँझ झरी पर्र्यो कि भरे सामाखुशी बास भन्ने पूर्वानुमान हुन्थ्यो. प्रजातन्त्र पुनर्स्थापनाको लगत्तै को स्थानीय निर्वाचनमा निर्वाचित वडा अध्यक्षहरु जनता समक्ष आफु ले सक्दो यत्न गरेको देखाउन वा साँचै नै काम प्रति उत्तरदायी भएर बाढी आएको ठाउँमा इन्जिनियर नै अगाडी राखेर काम गर्नु हुन्थ्यो . आफु बाढी पैहो सम्बन्धी इन्जिनियर न भए नि सामन्य सिभिल इन्जिनियरिंग शिक्षाले भ्याए सम्मको सहयोग गर्थें . यो सिलसिला  मैले नगरपालिकामा काम गरुन्जेल जारि रह्यो .    २०५१ साल को आषाढ –श्रावणमा  २-३ दिन लगातार भयंकर बर्षा भो . सबै नदीमा पानीको वहाव निकै उच्च . सामाखुशीमा त ३-४ घण्टा ले नि काम तमाम हुन्थ्यो . मनहरा खोला, बागमती , विष्णुमति , धोबीखोला सबैमा बाढीको पानी डरलाग्दो देखिन्थ्यो . काठमाडौको फोहर केही हद सम्म सफा हुने गरी बगायो नै .    बगाउदा बगाउँदा  कोटेश्वर तीनकुने वर को पुल छेउ मा भर्खर बनेको वडा प्रहरी कार्यालयको डिलको माटो स्तारै झर्न  थाले छ . चौकीमा रहेका पुलिस र पुलिसका हाकिम को साटो गए छ , विभिन्न निकायमा सम्पर्क गरे  पुलिस ले . चौकी बचाउने अनेक उपाय को खोजी गर्दै ..रातीको समय थियो .. बाँस गाडेर वालुवाको बोरा हालेर चौकी बचाउन सयौं प्रहरी खटेका थिए तै पनि माटो को ढिस्को खस्ने क्रम रोकिएन छ .    रातको १ बजे मेरो कोठामा फोनको घन्टी बज्यो . राति राति फोन गर्ने को होला भनेर झर्केर हेल्लो भनेको त मेयर साहेब रहेछ .    “इन्जिनियर साहेब, त्यो तीनकुने को चौकी बाढी ले बगाउन लाग्यो रे एकचोटी गएर हेर्दिनु पर्र्यो . "   एक त मध्य रात , त्यसमा नि पानी परि राख्या छ, कसरी जाने म , फेरी पुलिस मै १५-२० जना इन्जिनियर छन् . फेरी मा बाढी प्रकोप बिशेषज्ञ पनि हैन . म गएर काम छैन मेयर साहेब – भनें .    "एस एस पी ले- लौ न तपाईं को इन्जिनियर पठाई दिन फोन गरेको गरेई छ , म एस एस पी लाई तपाईं को फोन नम्बर दिन्छु , हुन्छ ?" मैले हुन्न भन्ने कुरै आएन .    एक घण्टा पछी एस एसपी साहेबको फोन आयो . मध्यरात २ बजे कम्ता रीस उठेको हैन .  हैन इन्जिनियर साहेब तपाईं तुरन्त आउनु पर्र्यो . हाम्रो यहाँ चौकी नै बगाउन लागि सक्यो .  मैले आफु आउन नसक्ने जानकारी दिंदै  आएर केही गर्न सक्ने हैन , म बिशेषज्ञ पनि हैन . मेरो उपस्थिति को कुनै अर्थ छैन  भने . हैन तै पनि आउनु पर्र्यो  भन्ने कर गर्दै थिए ... बिहान नहुँदै आउन नसक्ने जिकिर गरें .  त्यसो भए बिहान ५ बजे नै आइपुग्नुस , तर एउटा कुरा भन्नुस त्यो मनहरा खोला को पुल मुनी को चेक डाम भत्काउन मिल्छ कि मिल्दैन ?? त्यो ग्याबिन बक्स ४-५ ओटा झिक्यो भने पानीको बहाव मोडिन्छ र हाम्रो चौकी बच्छ .    त्यो त सडक बिभागको इन्जिनियर साहेबलाइ सोध्नुस , पुल उहाँहरुको जिम्माको हो . काठमाडौ डिभिजन कार्यालय को हाकिम साहेब यहीं हुनुहुन्छ, त्यसैले  तपाइँ पनि आउनु पर्र्यो .  उहाँ ले के भन्नु भयो त उहाँ अर्थात इन्जिनियर ( शायाद डीइ साहेब बिन्दू शमशेर राणा हुनुहुन्थ्यो ) लाइ इंगित गर्दै भनें.  राणा इन्जिनियर साहेब ले हुदैन , पुल नै बगाउँछ भन्नु भयो . त्यसो भए हुँदैन नि सर .. पुल भन्दा चौकी महत्वपूर्ण हुँदैन .    पुलिसको हाकिम लाई यो कुरा पचेन . मिल्छ मिल्दैन यहाँ आए पछी छलफल गरौला , बरु सके सम्म छिटो आउनुस , गाडी पठाई दिम ... उहाँको बोली मा अब भने गोलीको छनक देखिन्थ्यो.    ५ बजे आफ्नो उठ्ने बानी नै छैन  अझ त्यस माथि रातको अति प्रिय निद्रा खलबलाएर .  बरु आफ्नै गृह मन्त्रिलाई बिहान साढे ६ बजे कलेज पुर्र्याउनु छ अनि यसो कोटेश्वर पुगेर आउला भन्ने सोच बनाइ त्यसै अनुसार बिहानको ७ बजे तिर कोटेश्वर पुगें . चौकी निर को ओरालोमा सिंचाई बिभाग को इन्जिनियर साहेब भेट भयो .    "ओह तपाईं पनि ? " 'हजुर राती राती पुलिसले फोन गरेर' ... मैले आफ्नो असन्तुष्टि पोख्ने लागेकै  थिएँ ..   “ राती आउनु भयो बेश गर्नु भयो , भित्र चौकीमा २०-२२ जना इन्जिनियर साहेबहरु अझै हुनु हुन्छ . सालाहरुले रात भरि राखे , लामखुट्टेको टोकाई ले शरीर भरि फोका उठी सक्यो. तपाईं न जानुस भित्र फस्नु होला . “  मोटर साइकल मोड्दै मैले जानकारी लिने उद्देश्यले “सर त्यताको चिया पसलमा एक एक कप चिया खाम न त “ भन्ने प्रस्ताव राखें . शायाद भोक तिर्खाले लखतरान हुँदो हो , “ चिया को तलतल लागेको अहिले हो र साले पुलिस ले छोड्दै छोडेन “ .    चिया पसलमा चिया र केही कुकिज अर्डर गर्दै मैले कुरा सुरु गरें – चौकीमा के भयो  भन्नुस न सर .  के हुनु, भए भर को इन्जिनियर जम्मा पारे छ. पुलिसको इन्जिनियर ले त्यो पुलको ग्याबिन भत्काउनु पर्छ भन्यो . मैले ग्याबिन झिक्यो भने पुल जान सक्छ , सडक बिभागलाई सोध्नुस भने . सडक को राणा सरले मान्नु भएन , उहाँलाई अघोषित हिरासतमा राखेर ग्याबिन जम्मै झिके , सालेहरू अब खुशी छन् , चौकी बच्ने भयो भनेर .    चिया सक्याएर उहाँ संगै म नि फर्कें . पुलिसको फुलिस कार्य र सोच प्रति मन मनै हाँसो उठ्यो. चौकी बचाउन हजारौं गाडी र जनता ओहारा दोहर गर्ने पुल जोखिममा पारे .    त्यसको केही समयमा काम बिशेष ले  पुलिस कै एक जना इन्जिनियर साहेब मेरो अफिसमा आउनु भयो . पहिले देखि नै चिनजानको मित्र , चिया खाँदै अनेक प्रसंग उठाइयो र त्यो कोटेश्वर मिन भवन को चौकीको बारे कुरा कोत्याएं .  हैन सर , त्यो चौकीमा बाढी आउँदा भए भरको इन्जिनियरहरुलाई रात भरि चौकीमा राख्नु को कारण के हो मैले बुझ्न सकिन .  ओह सर तपाइँ लाई थाहा छैन , हामी पुलिस भनेका फौजी हौँ .... शत्रु र बिपत मा सधैं फौजले काम गर्छ . त्यै फौजी मनासिकता जता ततै हाबी छ , इन्जिनियरको फौज खडा गरे पछी ठिक हुन्छ भन्ने सोच हाकिम साहेबहरुको छ . के  गर्ने आफु पनि परियो पुलिस .... फुलिस भनेर छिमेकी ले जिस्काउदा  त अब हो जस्तो लाग्न थालि सक्यो .    मन मनै आफु पनि पुलिसको जागिर खान दरखास्त हाल्न गएको र सानो प्राबिधिक कारणले छनौट नभाको सम्झिदा  फुलिस हुन जोगियो बाबै.......   अस्तु !!       

rahulvai · Jun 24, 2013 12:56 PM · 5,049 views

5 Replies

Rahulvai, I was one of the engineer there in the meeting. The reason we were assembled in such a big number was that they wanted us to hold the bridge in case it collapses because of lack of support. They thought the bridge might respect the engineers and wouldn't bulge even when the structural support was missing. Okay, I am kidding now. But this is funny and a little sad; the truth however is that this is how policies are made and decided back home. Good one, would love to read other pages from The Adventures of Rahulvai series.

Kiddo · Jun 24, 2013 1:31 PM

फेरि आफू त्यही रानीबारी सामाखुशीको बासिन्दा परियो नि त ... ठुल्दाइ ईन्जिनियर साहेब भएर हाम्रो घर अगाडिको खोलो हेर्न आउने गर्या के थाहा र आफूलाई ? तर फुलिस भए पनि ति हाम्रा पुलिस दाईहरु झ्याम्म झ्याम्म खोलामा पस्थे गाँठे, खोलाले सुकुम्बासी बस्तीलाई बगाउनै लागेको हुन्थ्यो अनि हाम्रा फुलिस दाइहरु चाँही बालुवाका बोरा हाल्दै, बास गाड्दै हुन्थे ... तर इन्जिनियर साहेबहरुलाई चौकीको बास गराएको चाँही थाहा थिएन ....लोल

Geology Tiger · Jun 25, 2013 9:35 AM

मलाई भर्खरै एउटा शैतानी सोच आयो ... यदी ठुल्दाइलाई मैले त्यही बेला चिनेको भए के गर्थे होला ? के गर्थे होला भने त्यो सामाखुशी खोलालाई आफ्नो इलाहाबादी काइदा प्रयोग गरेर त्यो मेजर डि.बी. चन्दको घरतिर छिराइदिनुस् भन्थे होला ती मेजर साहेब कस्ता भने मुखभरि छ्याका भएका (धेरैले त उनलाई छ्यके भनेर बोलाउथे).... अनि मेजर साहेबका दुइटा राम्रा तरुनी छोरीहरु पनि थिए, मेजर साहेब कसैले आफ्नो छोरीहरु माथि आँखा लगायो भने आँखै झिकिदिउला जस्तो गर्थे .. अनि मेजर साहेब आफ्नो तीन तला अग्लो घरको कौसिमा टहल्दै टोलभरिका मान्छेहरुलाई थर्काउथे .. एक चोटि मेरो घरको तला थप्न हामीले खोला नजिकै इटा झारेका थियौ ... मेजर साहेब जंगिए " के गर्या यो ? यो खोलालाई तिमीहरुको घर भित्र छिराइदिउ ?" त्यो बेला ठुल्दाइलाई चिनेको मात्र भए ठुल्दाइको सोर्सफोर्स लगाएर म त्यो खोला मेजर साहेबको घरतिर छिराइदिन्थे ..

Geology Tiger · Jun 25, 2013 9:53 AM

 धन्यबाद किड्दो जी र बाघ दाई    त्यो बाघ दाइ को छिमेकी मेजर साहेब संग मेरो नि जम्काभेट भएको थियो . नगरपालिकाको जागिर खाएको पहिलो दोस्रो काम नै त्यो हिस्सी नपरेको मेजर को घर छेउ को बडेमानको  अग्लो  पुल को भुक्तानी सम्बन्धि काम थियो . फाइल लिएर मेरोमा ओभरसियर साहेब आउनु भयो साथमा धनुष्टंकार नमस्कार गर्दै छड्के टोपी लाएको अधबैसे . अन्दाज भैगो - ठेकेदार साहेब  रहेछ .    सहि धर्स्काइ दिम सर सब ठिक छ -नाप जांच - फरक पर्दैन . ओभरसियर साहेब को दरो सिफारिस .  अहँ , साइट नगई , नाप जांच आफैले नगरी , उपभोक्ता समितिका पदाधिकारी संग कुरा नबुझी सहि गर्दिन , बरु कहिले जाने , वडा अध्यक्ष( हरु) लाइ समेत खबर गर्नु ...   टाइम मिलाएर गइयो त्यो अचम्म को अग्लो पुल नाप जांच गर्न . तमाशेहरु को भीड लागि हाल्यो. शायद बाघ दाइ पनि त्यै भीडमा कलम कापी लिएर उपस्थित भएकै हुनु पर्छ भन्ने बलियो बिश्वास छ .    उपभोक्ता समिति को पदाधिकारी मा मेजर साहेब पनि रहेछ .    "पुल अच्छा बनेको छ . सिमेन्ट वालुवा गिट्टीको भाग मिलेको छ . हामी ले रात दिन चेक गरेर बस्या .  त्यसो त .. ठेकेदार पनि इमान्दार नै छ , नुवाकोटे फुयाँल , ओभर सियर पनि नुवाकोटे भाइ , हामी पनि प्राय नुवाकोटे ... उ वडा अध्यक्षज्यू पनि नुवाकोट कै ..... बर्षाराम भण्डारी .... सहि ठोक्दिए हुन्छ इन्जिनियर साहेब ..." मेजर साहेब को बलियो ज्याक लागि हाल्यो .    सामाखुशी क्षेत्रको त्यो मेरो पहिलो पाइलो पनि स्मरणीय नै रह्यो .   

rahulvai · Jun 25, 2013 11:09 AM

  ".........ओह सर तपाइँ लाई थाहा छैन , हामी पुलिस भनेका फौजी हौँ .... शत्रु र बिपत मा सधैं फौजले काम गर्छ . त्यै फौजी मनासिकता जता ततै हाबी छ , इन्जिनियरको फौज खडा गरे पछी ठिक हुन्छ भन्ने सोच हाकिम साहेबहरुको छ ......"   लोल ठुल्दाई महालोल ....        

ThahaChaena · Jun 25, 2013 11:18 AM

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion

You might be interested in...

Recent Classifieds View all
Upcoming Events View all
Service Providers View all