शिवानीसिंह थारुको पहिलो प्रेमकथा- हरियो घर

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

Source:www.onlinekhabar.com/2013/06/77218/ शिवानीसिंह थारु सन् १९९३ को कुरा । म कक्षा ९ मा पढ्थेँ र धोबीघाटस्थित छात्रावासमा बस्थेँ । छात्रावासमा एउटै क्लासमा पढ्ने पाँचजनाको समूह थियो हाम्रो । नाम हामीले आफैं जुराएका थियौं- ‘द फेमस फाइभ’ । बेलायती बालसाहित्यकी लेखक एनिड ब्लाइटनको रोमाञ्चक उपन्यासको सिरिज द फेमस फाइभबाट प्रभावित भएर हामीले आफैंलाई ‘फेमस फाइभ’ भनेर घोषणा गरेका थियौं । छात्रावासमा बाहिरको खानेकुरा ल्याउन वर्जित थियो । र, हाम्रो वीरांगनाको कथा यही सीमा तोडेर सुरू हुन्थ्यो । बाहिरी खानेकुरा भित्र स्मग्लिङ गर्नेदेखि, टेस्टमा कम नम्बर ल्याउँदा टेस्ट पेपरमा होस्टेल मेट्रनको नक्कली हस्ताक्षर गर्नेसम्मको बदमासी छाडेका थिएनौं हामीले । तर त्यसलाई हामीले ‘एडभेन्चर’को रुपमा लिन्थ्यौं, ‘द फेमस फाइभँको सिको गर्ने धूनमा । एसेम्ब्ली लाइन अगाडि हाम्रो नम्बर जहिले पनि काढिन्थ्यो पिटाइ खान । ‘टु, एट, सेभेन्टिन, ट्वेन्टी एट एन्ड सेभेन्टी फोर, याँ आइजो तिमोरु,’ दार्जीलिङे लवजमा होस्टेल मेट्रन जहिल्यै कुर्लिन्थिन् । हामीलाई कहिले वाइवाई पैठारी गरेकामा त कहिले मेट्रनको भान्सामा चिकेन करी सफाचट गरेकामा सजाय हुन्थ्यो । कहिले त हामीलाई पर्खालबाहिर लिटिल एन्जल्सका केटालाई हेरेको अभियोग पनि लाग्थ्यो । बदमासी गर्दागर्दा हाम्रो छवि यस्तो बन्यो कि नगरेको बदमासीको मार पनि सहिन्थ्यो । क्लासमा एकजना साथी थिई, प्रिती थापा । छात्रावासमा सँगै नबसे पनि ऊ हामीकहाँ टयुसन पढ्न आउँथी । उसको घर हाम्रो छात्रावास नजिकै थियो । हामी उसलाई पैसा दिन्थ्यौं र उसैले हामीलाई पसलबाट खानेकुरा ल्याइदिन्थी । कहिलेकाहीँ छुट्टी पर्दा उसले चाउचाउ र चक्लेट हाम्रो छात्रावासको पछिल्तिरको होचो पर्खालमा राखेर जान्थी । हामी कोही नभएको बेला सुटुक्क लिएर आउँथ्यौं । यस्तै खुफिया आदानप्रदानको मेसोमा एक दिन उसले ‘लभलेटर’ पनि लिएर आई मेरा लागि । छात्रावास पछिल्तिरको चौरमा बनाइएको थियो मंकी क्लाइम्ब र रोटे पिङ । त्यही चौरको होचो पर्खाल पछाडि थियो स्यानो गल्ली र गल्लीसँगै बन्दै थियो एउटा घर । खासै दुरी नभएकाले बन्दै गरेको घर छात्रावासको पछिल्तिरबाट टड्कारै देखिन्थ्यो । हुन त बन्दै गर्दा त्यो घर हाम्रो सरोकारको विषय थिएन । तर जब त्यो घर चहकिलो हरियो रङमा रंगियो र त्यहाँ एउटा परिवार बस्न आयो, तब सुरू भयो एउटा नयाँ अध्याय । छात्रावासको पछिल्तिर विद्यार्थीहरु कोही हिँडेर, कोही बसेर, कोही आँखा चिम्लेर पाठ घोक्थे । मलाई त कक्षा नौमा हिसाबको हल पनि घोक्ने बानी परिसकेको थियो । म पनि रोटे पिङमा घुमीघुमी पाठ घोक्थेँ । अझ साँस्साँझ फेमस फाइभको अड्डा त्यहीँ जम्ने गथ्र्यो । त्यसमाथि रोटे पिङमा हामी मच्चीमच्ची गीत पनि गाउने गथ्र्यौं । एकदिन टयुसन हलमा छिर्नेबित्तिकै प्रितीले भनी, ‘सुन्न आज तिमोरुलाई एउटा डेड्ली कुरा भन्नु छ ।’ हामी पाँचैजनाले कान प्रितीतिर सोझ्यायौं । तर ऊ केही नभनी एकछिन मस्किरही आफैंआफैं । हामी भने व्यग्र भएर उसको कुरा सुन्न तम्सिरहृयौं । ‘शिवालाई त एकजनाले मन पराउँछ नि,’ उसले भनी । म त ट्वाँ परेँ । साथीहरु एकछिन प्वाक्क परेर मलाई नै हेरिरहे । चारजना साथीहरु घोक्रो सुक्ने गरी कराए, ‘नहीऽऽ ।’ (परिस्थितिलाई बढाइचढाइ गर्नुपरेमा हामी यस्तै फिल्मी अन्दाजमा नाटकीय भैहाल्थ्यौं ।) लाजले भुतुक्कै भएँ । साथीहरुले त्यो केटा को हो भनेर प्रितीलाई सोधे । सोध्न त मलाई तिनीहरुभन्दा अगाडि नै मन थियो । अर्कै अर्थ निस्केला भन्ने डरले लजाएर खुम्चेझैँ गरेँ । साथीहरुको जिस्काजिस्की र ही…हा अलि सामसुम भएपछि प्रितीले बल्ल ‘डेड्ली’ कुराको कुटुरो फुकाई, ‘शिवालाई मेरो भाइले मन पराउँछ ।’ प्रितीका पाँचजना दिदीबहिनी मात्र थिए, भाइ कताबाट आयो ? साथीहरुले अचम्म माने । ‘मेरो कजन भाइ पर्ने क्या,’ हामीले नपत्याएपछि उसले भनी । ‘ऊ त्यही घरमा बस्छ’ भन्दै उसले हामी पढिरहेको डाइनिङ हलबाट देखिने पारिको हरियो घर देखाई । पर्खालबाहिरको गतिविधिमा जति चासो दिए पनि त्यति नजिक ठडिएको हरियो घरबाट हामीलाई हेरिरहने कुनै केटाको भेउ त्यस बेलासम्म पाउन सकेका थिएनौं । आँखा तन्काएर हामीले एकपटक उतै हेर्‍यौं ।

Rudramati · Jun 21, 2013 10:14 AM · 14,011 views

5 Replies

‘आशिष थापा,’ प्रितीले नाम पनि भन्दिहाली । हामीलाई कुत्कुत्याउँदै ब्यागबाट चिठी निकाली मस्कीमस्की । चिठीले ब्यागबाट हल्का चिहाएको मात्र के थियो, सबैजना झम्टाझम्टी गर्न थालिहाले । बिहा गर्ने बेहुलाबेहुली भन्दा जन्ती रौसेजस्तो । मनमनै कम्ता रिस उठेको थिएन । चाचार जनाको चालीसवटा औंलाको छाप परेपछि बबुरो चिठी बल्ल मेरो हातमा आइपुग्यो । चिठी पढी सक्काएर एकछिन त म अलिनो मुस्कानमै सीमित भएँ । मनमनै छया भन्दै बसिरहेँ । तीलजत्रो कुरा पनि केरेर हेर्ने भएकाले फरक पर्‍यो सायद मलाई । किनभने केटोले लेटर प्याडमा चिठी नलेखेर कापीको पानामा लेखेको थियो । त्यो पनि व्याकरण नमिलेको अंग्रेजीमा । त्यसमाथि अक्षर पनि ‘हेन-राइटिङ’ जस्तो । उसले आफूलाई राम्ररी व्यक्त पनि गरेको थिएन वा गर्न सकेन । फेरि आशिष मभन्दा दुई वर्ष कान्छो र कक्षामा पनि एक वर्ष स्यानो भनेर थाहा पाउँदा मलाई त झनै छयाऽऽ भन्ने भयो । प्रेम प्रस्ताव स्विकार्ने कुनै आधार थिएन । मैले प्रस्ताव अस्वीकार गरिदिएँ । प्रितीले मलाई फकाउन थाली । भनीः आशिषले मलाई आˆनो कोठाबाट सधैं हेरिराख्छ रे । म रोटे पिङमा घुमीघुमी पढिरहँदा ऊ खाना खान पनि तल झर्दैन रे । शनिबार नुहाएर मैले कपाल छोड्दा त्यतिबेला ऊ मलाई हेर्‍याहेर्‍यै हुन्छ अरे । उसको कुरा सुनेर साँच्चिकै केटोले मेरो हरेक कुरालाई पछयाउँदो रहेछ भन्ने मनमा लाग्न थाल्यो । तर मभन्दा मेरा साथीहरु पो रोमान्टिक हुन थाले । साथीहरुले प्रस्ताव स्विकार्न दबाब दिए । मैले अनुहार नहेरी त कहाँ हुन्छ भनेँ । साथीहरुले सम्झाए, यस्तो माया गर्ने केटा कति नै हुन्छ र ! भन्नै पर्दा केटाको मायासँग उनीहरुको केही लेनादेना थिएन । वास्तवमा मेरा साथीहरुका लागि त्यो पनि एउटा ‘रमाइलो’ थियो, जसले छात्रावासको पटयारलाग्दो जीवनलाई केही चटपटे बनाउँथ्यो । त्यसैले मेरो नाइँनास्ती कस्ले सुन्ने । साथीहरुले ‘हुन्छ’को स्टयाम्प लगाइदिए । रहृयो कुरा, केटोको नाकनक्सा हेर्ने । त्यो तय भयो अर्को दिनका लागि । हाम्रो खाजा खाने बेला केटो छतमा आउने र म पनि त्यही समयमा रोटे पिङमा केही खोज्न गएजस्तो गरेर उसलाई हेर्ने । पि्रतीले यही सन्देश लिएर गई । र, अर्को दिनको ‘काउन्टडाउन’ सुरू भयो । रातभरि मेरो मनमा उथलपुथल चलिरहृयो । केटोले मलाई छतबाट हेरिराख्दा म कस्तो देखिएकी थिएँ होला ? मजस्ती कालीलाई किन मन पराएको होला ? केटोको अनुहार कस्तो होला ? उर्लंदो बैंसको तोडै भनुम् क्यारे, यसरी सोच्दा मन गार्डन-गार्डन भएर आउँथ्यो । तर अर्को मन भन्न थाल्थ्यो- घरकाले थाहा पाए भने के भन्लान् सोच्दिनँ भन्यो, तर फेरिफेरि मनमा हल्ला सुरू भइहाल्थ्यो । बल्लतल्ल निद्राले भेटे पनि त्यसरात सपना देखिएन । भोलिपल्ट स्कुल जानुभन्दा अगाडि साथीहरुले मेरो अव्यवस्थित आवरणलाई चिरिच्याट्ट बनाउन कम्मर कसे । मैले केटो बाटोमा भेट्ने भए पो सिँगारिने, होस्टेलपछाडि नै हेराहेर कार्यक्रमका लागि पनि किन तामझाम गर्ने भन्दा पनि उनीहरुले मानेनन् । साँच्चि भन्नुपर्दा मेरो आवरण अनाकर्षक नै थियो । कम्मरसम्मको लामो कपाललाई तेल हालेर च्यापुल्ले बनाएर राख्थेँ । केटीहरु फेसनेबल हुन स्कुलको जामा घुँडासम्म बनाउँथे । तर मेरो जामा भने घुँडाभन्दा पनि तल झर्ने गथ्र्यो । त्यसमाथि मेरो कमिजमा इस्त्री कहिले पनि हुँदैनथ्यो । म बरू जरिवाना तिरिराख्थेँ समयसमयमा, तर इस्त्री लाउन भनेपछि मेरो ज्यान नै खुम्चिने गथ्र्यो । किन हो मेरो मोजा प्रायजसो हराइरहन्थ्यो । आजित भएर मैले बेजोडी मोजा लगाएर काम चलाउथेँ । जुत्ता पालिस गरिएको हुँदैनथ्यो । अझ स्कुल जाँदा बाटोका ढुंगाहरुलाई किक मार्दै हिँड्ने बानीले जुत्ताको अघिल्लो भाग फुस्रो भइसकेको हुन्थ्यो । मेरा साथीहरु मलाई ‘लेडिलाइक’ बनाउन कस्सिए । मेरो दुईसरो लामो कपाललाई काटेर अगाडि निधारमा लर्काए, हिन्दी फिल्ममा चलेकी माधुरी शिवानीसिंह थारु । दीक्षितको स्टाइलमा । चेरी ब्लुसम बुटपालिसले जुत्ताको सेतो फुस्रोलाई डेन्टिङ-पेन्टिङ गरिदिए । नम्बर ‘टु’ले सिलाइबुनाइमा अब्बल एकजना साथीलाई गुहारेर मेरो लामो जामालाई कलमा सिलाएर घुँडासम्मको बनाइदिई । नम्बर ‘सेभेन्टिन’ले कमिजमा इस्त्री लगाइदिई । हामीमध्ये की सबभन्दा धनीमानी साथी नम्बर ‘एट’ले त झन् आफ्नो नयाँ मोजा नै मलाई अर्पण गरिदिई । मैजस्ती बिन्दास नम्बर ‘सेभेन्टी फोर’ भने खाली हाँसेर बसिरही । मैले स्थितिको गम्भीरतालाई गमेँ र लौ त भनिदिएँ । मलाई आफ्ना लागि भन्दा पनि मेरा साथीहरुका लागि लभ गरिदिएजस्तो लाग्न थाल्यो । त्यस दिन स्कुल त गइयो । तर पूरै अर्कै चालढाल र रंगरोगनमा । स्कुल जाने लाइनमा हिँड्दा ढुंगाको फुटबल नखेली हिँडिरहेँ । लाग्यो, केटोले मलाई कतैबाट नियालिरहेको छ । बेसरी तन्काएर काटेको कपाल निधारमा छोटो हुन गएछ । माधुरी दीक्षितको जस्तो लर्कनुपर्ने जुल्फी, कुखुराको चल्लाको कपालझैँ फुरुर्र भयो । निधारमा फुर्फुराउने कपालले घरीघरी झर्को पनि लगाउँथ्यो । तर राम्रो देखिनुपर्ने बाध्यता थियो । म प्रत्येक कक्षापछि शौचालय जान्थेँ र जुल्फीलाई पानीले भिजाएर आउँथेँ । नम्बर ‘एट’ र म एउटै कक्षामा थियौं । ऊ घरीघरी पल्लो कुर्सीबाट मतिर आँखा पसार्थी । र, देख्थी मलाई कताकता हराइराखेको । साढे चार बज्ने पर्खाइमा मैले आठवटा कक्षा दिवास्वप्न हेरेर नै बिताएँ । स्कुल साढे तीन बजे छुट्टी भयो । हामी चार बजे छात्रावास पुग्यौं । साथीहरुको आग्रहमा मैले सेतो कुर्ता-सुरूवाल लगाएँ र साढे चार बजे रोटे पिङनिर पुगेँ । साथीहरु अपरेसन ‘आँखा-चार’लाई सफल बनाउन सेन्ट्रीमा तैनाथ भए । उनीहरुले मेट्रन, आया दिदी र अरु सिनियर दिदीहरुलाई निगरानी गर्न थाले । छतमा मैले आशिषलाई देखेँ । मेरो मस्तिष्क शून्य भयो । आशिष अग्लो थियो, केवल अग्लो । त्योबाहेक मैले सन्तोष गर्ने कुनै ठाउँ थिएन । चिम्सा  आँखा, डाँडी नभएको नाक, कपाल ठाड्ठाडो, साउँलो वर्ण, दुब्लो-पातलो शरिर । त्यतिबेलासम्म मैले चाहेको केटाबारे मात्र कल्पना गरेकी थिएँ । जब आशिषलाई देखेँ, मैले नचाहेको केटाबारे पनि थाहा पाएँ ।

Rudramati · Jun 21, 2013 10:15 AM

हरियो घर छतबाट आशिष मुसुक्क मुस्कुरायो । सोचेँ, हाँस्दा पनि हिस्सी नदेखिने केटोसँग के नारिनु ! मुस्कानको जवाफ फर्काइनँ । चुप लागेर त्यहाँबाट फर्कें, अनुहार चुकिलो बनाउँदै । कस्तो ताइँ न तुइँको केटोले मन पराएछ भनेर साथीहरुले रेल्ला गर्छन् भन्ने थाहा थियो । त्यसैले मैले आफ्नो मुटु स्टेनलेस स्टिलझैँ दह्रो बनाए । पाँच बजेतिर डाइनिङ हलमा छिर्दा देखेँ, साथीहरु त अझ पनि छड्के नजर हरियो घरतिर लाउँदै रैछन् । मलाई देख्नेबित्तिकै साथीहरुले भने, ‘क्या टल है !’ लगत्तै नम्बर सेभेन्टी फोरले भनी, ‘क्या रफ एन्ड टफ है !’ रफ एन्ड टफ ? हैन कुन छेउबाट त्यस्तो देखी उसले । ‘हो र भन्या ? मलाई त ….,’ मैले मुख बिगार्दै भनेँ । तर मेरो मन नपराइ मेरा प्यारा साथीहरुले पढ्न सकेनन् वा पढ्न चाहेनन् । मैले आफ्नो कुरा राख्नुभन्दा अगाडि नै उनीहरु आशिषको लम्बाइको चर्चामा जुटे । ‘पाँच पाँच कि पाँच छ ?’ केटाको हाइटसँग अलि बढी नै लगाव भएकी हामीभन्दा अग्ली नम्बर ‘एट’ अनुमान लगाउन थाली । टुप्लुक्क पि्रती आइपुगी, मुस्कुराउँदै । हामी बसेको टेबलमा बस्दै सोधी, ‘कस्तो लाग्यो त ?’ साथीहरुले उसको मुस्कान सापटी लिएर मुसुमुसु हाँस्दै मलाई हेरे । म भने अलि कूटनीतिक प्रतिक्रिया फुराउनुपर्‍यो भनेर कपाल कनाउन थालेँ । पि्रतीको मुखेन्जी आशिषको अनुहार मन परेन भन्न त भएन । भनेँ, ‘म भन्दा कान्छोलाई कसरी लभ गर्ने ? मलाई त भाइभाइजस्तो फिलिङ्स आइराछ ।’ ‘प्लिज शिवा, एभ्री थिङ इज फेयर इन लभ एन्ड वार ।’ नम्बर सेभेन्टिनले अटोबुकमा भर्ने गरेको ‘क्लिसे’ दोहोर्‍याई । (फाइनप्रिन्टले जेष्ठ १८ मा सार्वजनिक गर्न लागेको विभिन्न १० लेखकहरुको संस्मरणहरुको संग्रह ‘फस्ट लभ’मा रहेको शिवानीसिंह थारुको संस्मरणको अंश।)

Rudramati · Jun 21, 2013 10:16 AM

My cousin sister was friends with Shivani, I am just happy that I am not Ashish. Very well written and very honest. She was known for that and it's good to see her name in Nepali media again. Go Shivani.

Kiddo · Jun 21, 2013 12:25 PM

Shivani and I went to the same school and the mentioned hostel. That hostel was a nightmare- shivani has taken some serious beatings from that matron and her paedo husbandShe was not the most popular or beautiful girl around but was always charming

Ball_and_biscuit · Jun 21, 2013 4:16 PM

 Nice to read her story from the hostel days.. I too went to the same hostel and the matron, Jyoti Rai was one evil, sadistic woman. She has beaten the crap out of me serveral times and even kids as small as 5 year olds were not spared. Ball_and biscuit, about her husband, i agree he was a total perv.Do you remember godavari picnic video he recorded? He kept on rewinding shivani's wet white dress and kept on saying "chaak Hera ta shivani ko". And he loved tickling girls, he was a disgusting filth.

Misscatty · Jun 22, 2013 2:21 AM

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion

You might be interested in...

Recent Classifieds View all
Upcoming Events View all
Service Providers View all