मेरी आमाको कथा ! हरेक बिहान, बुढो सुर्य घिर्सिदै उदाउँदा, गाईलाई कुँडो बसाल्न उठेकी मेरी आमा, छ्वालीको रापमा... कोदालोको माटो झार्दै... खास्टो बेरेर कथा भन्थिन् , --अद्भुत बाटोहरुको कथा --अजीब मानिसहरुको कथा !! बाबु, अद्भुत हुन्छन बाटोहरु .. सर्बाङ्ग नाङ्गो... यिनले लोभ्याउँछन्, बोलाउँछन् अनि पछि घोक्राउँछन् | यहाँ, बाटो खन्ने पनि मानिस हुन्छन् . बाटो बन्ने नि मानिस हुन्छन् माथि पुग्ने, तल झुक्ने अरु मर्दा आफु लुक्ने सबै मानिस हुन्छन् …... सभ्यताको मुखुण्डो भिरेर बसेका धर्म, जात र रंगको विभेदमा आफ्नालाई मारेर वीर हुन्छन् आफ्नाबाट मारिएर शहिद हुन्छन् तँ त्यो बाटो नहिंड्नु ... तँ न वीर हुनु...... न शहिद !! छोरा , अजीब हुन्छन् मानिसहरु, "अकल्पनीय”........... सोचको परिधिभन्दा पर आफ्नै अस्तित्व सिध्याउन तल्लिन .. विलयको बाटोमा हिंडेर मख्ख हुन्छन् थरि-थरि कारण खोज्छन् घरि-घरि युध्ह रोज्छन् र ….......कथा लेख्छन्, तँ जस्तै ...छोरो ढलेको कथा म जस्तै... आमा गलेको कथा... रोग र शोकको कथा भातको सितो, घरको भित्तो नदेखेको कथा ... अनि रुन्छन् ... ..ताली पिट्छन् र पुरस्कृत हुन्छन् आफै ...! त्यसैले बाबु, बरु कोदाली बोक्नु.. पसिनाको भेलले रगतको टाटो मेट्नु आँसुको डोब पखाल्नु ताकी ... भोलि ...तँ उठ्दा न कसैले कथा लेखोस न तैंले भन्न परोस !! .
jhaukiri · Jun 14, 2013 11:58 AM · 16,523 views
Sahi cha
Whiteboy · Jun 14, 2013 4:15 PM
मिठो!
Geology Tiger · Jun 14, 2013 10:35 PM
लाइक गरे है मैले पनि !
MaGorkhe1 · Jun 14, 2013 11:00 PM
झ्याउकिरी जी, हजुरका कविताका संधैको प्रसंसक हुँ....फेरी पनि मीठो कविता पढ्न पाए ...धन्यबाद ....लेख्दै जाउँ... - थाने
ThahaChaena · Jun 16, 2013 9:58 AM
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion