लाइक

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

हिजोआज ज्यान बढी नै अल्छि भएको छ । बिहान ८ बजे भन्दा अघि त उठ्नै सक्दिन । उही कहिले काही बिशेष केही काम पर्‍यो भने अघिल्लो रात नै सेल फोनमा अलार्म सेट गरेर सुत्छु ।  तर आज सधैंको जस्तो भएन, बिहान ६ नै बजे सेल फोन घ्वार घ्वार गर्न थाल्यो । हुनत सभा, सेमिनार, मिटिङ आदी भइरहेको स्थानहरुमा कुनै वक्ताले महत्वपूर्ण बिषयमा बोल्नै लागेकै बेलामा सेल फोनलाई अफ गर्न बिर्सिएर अथवा नगरेर सबैको ध्यान आफू तिर तान्ने गरी टा टा र टु टु सेल फोन बजाएर अनि फेरि 'हेलो' भन्दै बाहिर निस्कने आम नेपालीको छविबाट आफूलाई जोगाउन कै लागि पनि मैले आफ्नो सेल फोनलाई भाईब्रेसनमा राख्ने गरेको छु । तर बिहानपख भने केवल त्यो भाईब्रेसनको घ्वार घ्वार पनि निद्रा बिथोल्न पर्याप्त हुन्छ । यसो छामछाम छुमछुम गर्दै सिरानमुनिबाट फोन निकालेर निद्राकै सुरमा 'हेलो ' भने । 'भाई निद्रामै हो ? सरी है डिस्टर्ब गरेछु' उताबाट आवाज आयो । ' हैन दाई म उठ्नै लागेको थिए, अनि भन्नुस् न के छ हालखबर ? ' मनमा जे भए पनि मुखले ठीक्क पार्नु शायद हामी नेपालीको पहिचान पनि हो र आवश्यकता पनि । ' अनि भाइलाई मैले कति चोटि हाम्रो फेसबुक पेजको लिन्क पठाएको थिए, भाइले अहिलेसम्म किन लाइक नगरेको ?' हो मैले कुरा गर्न खोजेको लाइक अमेरिकन फुच्चा फुच्चीहरुले बातैपिच्छे प्रयोग गर्ने लाइक नभएर फेसबुकमा प्रयोग गर्ने त्यही लाइक हो जसको सिधा नेपाली अर्थ हो मनपराउनु । तर ए बाबा बिधाता मैले यहाँ केही बुझ्नै सकिरहेको छैन । जव कुनै वस्तु अथवा व्यक्तिले कसैको मनलाई छुन्छ र आनन्दित पार्छ भने न उसले त्यो वस्तु वा व्यक्तिलाई मनपराउने हो । तर होइन यो फेसबुक युगले हामीलाई यस्तो स्थानमा खडा गरिदिएको छ जहाँ हामी जुनसुकै वस्तु वा व्यक्तिलाई मन परे पनि नपरे पनि लाइक गर्न वाध्य पारीएका छौ र लाइक गरिरहेका छौ । लाइक नगरेर पनि के गर्नु ? मस्त निद्रामा भएकै बेला फोन आउछ लाइक गर्नुपर्‍यो भन्दै । पेज लाइक गर्नुपर्‍यो, फोटोमा कमेन्ट गर्नुपर्‍यो, गीतगजलमा कमेन्ट गर्नुपर्‍यो आदी इत्यादी भन्दै फोन र म्यासेज त आइरहन्छन् । 'यार मैले फेसबुकमा नयाँ प्रोफाइल पिक्चर राखेको छु नि तैले हेरिस् ? ल ल एउटा राम्रो कमेन्ट लेख त ।' 'भाइ मैले मेरो नयाँ कवितामा भाइलाई ट्याग गरेको थिए नि, भाइलाई कस्तो लाग्यो ?' अब कि त लाइक गर्नैपर्‍यो कि त 'फलानो त ठूलो भएछ' भन्ने भनाइ सुन्नुपर्‍यो । अझ यहाँ लाइक गर्नेहरु भन्दा पनि लाइक हान्नेहरु बढी छन् । यो लाइक गर्नु र लाइक हान्नुमा खास के फरक छ त्यो कुरा मैले बुझ्न सकेको छैन । शायद कम्पुटरको माउस चलाएर त्यो लाइक बटनमा क्लिक गर्दा कतै केही हानेको अनुभूति हुन्छ कि कुन्नी ? हाल्नेहरुले जथाभावी फोटो हाल्छन्: कुनैमा लाइट नै नपुगेर फोटो अध्यारो न अध्यारो हुन्छ, कुनैमा झ्याप्प दुवै आँखा चिम्लेको हुन्छ, कुनैमा फोकस नै नभएर के को फोटो खिचेको हो भन्ने सम्म पनि थाहा नहुने अवस्था हुन्छ, कुनै फोटोमा टाउको बाहेक शरीरको अरु सबै भाग माथीतिर हुन्छ .....हेर्नको लागि कि त कम्प्यूटर नै घुमाउन पर्ने होइन भने आफ्नो टाउकै घुमाउनु पर्ने ... कति चोटि त टाउको घुमाए पनि.... भरे आफ्नै मुन्टो दुख्यो । तर जस्तोसुकै होस् जे सुकै होस् हामी कुनै कन्जुस्याइ नगरी धमाधम लाइक हान्छौ । एक किसिमको पिएर प्रेसर नै हुँदो रहेछ यो लाइक हान्नलाई ... यसो फेसबुक खोलेर हेर्यो साथीभाइहरु धमाधम लाइक हानिरहेका छन् । फोटो जस्तो सुकै होस्, लेखेको जस्तो सुकै होस् काले, रामे, श्यामे सबै जना धमाधम लाइक हानिरहेका छन् । भयो अब आफूले मात्र लाइक नगर्दा एक त लाइक हान्ने साथीहरुको समूहबाट अलग्गिन पर्ने डर अर्को लाइक नपाउने साथी रिसाउला भन्ने डर । फेरि भरे आफनै फोटोमा पनि लाइक नआउँला कि भन्ने अर्को डर । अब यति भए पछि मनपरे पनि मननपरे पनि भ्याए जति र देखे जति फोटोहरुमा, स्ट्याटसहरुमा, राम्रा नराम्रा गीत गजल कविताहरुमा लाइक गर्नै पर्ने बाध्यता । केही सिप नलागे नाना थरिका याप्सहरु प्रयोग गरेर खेलेका गेमहरुबाट आएका अपडेटहरुमा पनि लाइक हानेकै हुन्छौ । शायद हामीले लाइक मात्र गर्छौ र डिसलाइक कहिले गर्दैनौ भन्ने थाहा पाएर नै होला त्यो मार्क जुकरबर्गको समूहले लाइक जस्तै डिसलाइक गर्न मिल्ने विकल्प नै राखेन । तर उनिहरुलाई के थाहा र ? हामी आमुन्ने सामुन्ने मात्र यस्तो हो ...पछाडि नदेख्ने गरी खुट्टा तान्न त हामीलाई कसैले जित्न सक्दैन । मैले यहाँ फेसबुकको प्रसँग कोट्याएको म धेरै फेसबुक प्रयोग गर्ने अथवा फेसबुकलाई मननपराउने भएर होइन । तर फेसबुक साँच्चि नै हामी मध्ये फेसबुक चलाउने प्रत्येकको वास्तविक जीवनको प्रतिविम्बको रुपमा स्थापित भइसक्यो । हामी जे सोच्छौ, जे भन्छौ र जे गर्छौ, त्यो सबै कुरा फेसबुकमा छर्लङ देखिन्छ । फेसबुकमा जस्तै हामी वास्तविक जीवनमा पनि कतिपय मुख फोरेर विरोध गर्नै पर्ने ठाउँमा पनि आँखा चिम्लेर लाइक गरिरहेका हुन्छ । मनले नमानी नमानी पनि अगाडि ठिक्क पार्न वाह वाह गरिरहेका हुन्छौ । राजनैतीक कार्यकर्ता जुनसुकै पार्टीका हुन्, कांग्रेसका हुन् अथवा एमाले, माओवादी अनेक नाम गरेका कम्युनिस्ट पार्टीका । तिनिहरु केवल एउटा पार्टीकै कार्यकर्ता भएको कारणले आफ्नो नेताले जतिसुकै नराम्रो काम गरे पनि चुँक्कसम्म नबोली बसिदिन्छन् र उनीहरुलाई खुशी तुल्याउन हजुर हजुर र हो हो गरेर चिप्लो घस्छन् । अरु माथि भने अरिंगाल सरह खनिन्छन् । आफ्नो नेताहरुले गरेको भन्दैमा नराम्रो कुरालाई पनि समर्थन गर्नु पर्छ भन्ने केही छैन नि । सबभन्दा ठूलो त देश र आम जनता हो । आफूभन्दा माथिल्लो ओहदामा बसेका हाकिमहरुलाई रिझाउन कर्मचारीहरु सधैं भरी कहाँ ठाउँ पाउ र लाइक हानु भनेरै बसेका हुन्छन । घुस खाएर ल्याओस कि कमिसन खाएर ल्याओस टन्न पैसा कमाएर ल्याउने सन्तानलाई बाबुआमा उनिहरुलाई त्यतिकै लाइक गर्छन् । अरु त अरु नेपाली जनताहरु पनि चुनावमा गएर यो नेता फटाहा हो र यसले चुनाव जित्यो भने देश र जनतालाई बर्बाद पार्छ भन्ने थाहा पाउदा पाउदै पनि त्यो नेतालाई लाइक गर्छन् र आफ्नो भोट हालिदिन्छन् । आखिर यो सबै के को लागि र कसको लागि ? कालोलाई कालो र सेतोलाई सेतो भन्न नसक्नु यो हाम्रो कस्तो बाध्यता हो ? यो कुनै अदृष्‍य डरको कारणले गर्दा हो अथवा सिमित स्वार्थको कारणले गर्दा हो ? हामी सबै सधैं यसले देश बिगार्यो र त्यसले देश बिगार्यो भनेर अरुलाई गाली गरेर कहिले थाक्दैनौ । तर वास्तवमा देश हामीले बिगारेका हौ, कालोलाई कालो र सेतोलाई सेतो भन्न नसक्ने सबैले बिगारेका हौ । त्यसैले एक चोटि गम्भिर भएर सोचौ र अबदेखि लाइक गर्दा लायकहरुलाई मात्र गरौ नालायकहरुलाई नगरौ । Last edited: 13-Jun-13 08:44 AM

Geology Tiger · Jun 13, 2013 12:39 AM · 25,657 views

14 Replies

 बाघ मान दाइ ले मनको कुरा राखी दिनु भयो . मान्नुस या न मान्नुस फेसबुक पनि समाजको एउटा अभिन्न अंग भासैकेको छ  नै . कसै कसैलाई  त यो दुर्ब्यसन नै भैसक्यो . फोटो. प्रोफाइल र स्टाटस लाई लाइक गर्ने र लाइक गर्न रिक्वेस्ट पठाउने , बिहान बिहानै निद्रा रुपी तपस्या भंग गर्ने भन्दा पनि भयाबह स्थिति तथाकथित साहित्यकारहरु र तिनका धुपौरे मण्डलीको देख्दछु .    जति सुकै झूर फट्यास वाइयात बकम्फुसे कबिता- गज़ल भए नि "वाह वाह  अति भाव पूर्ण , एक दम सटिक , निकै सुन्दर "  भनी कमेन्ट हान्नेहरु को झुण्ड नै हुन्छन . एउटा ठुलै गिरोह ले एक अर्काको लाइक र कमेन्ट हान्दै कथित महान साहित्यकार कहलिने धेरै घायल र श्री हरु तपाइँ देख्न सक्नु हुने छ . तिनीहरुमा लाज शरम पटक्कै  हुन्दैन रहेछ . दुइ चार जना महान कहलिएका साहित्य सेवकहरुले २ बर्ष देखि हरेक महान रचनामा मलाइ पनि ट्याग हानिरहेका छन् , तर म महान पाठक र महान चम्चा परिन एउतै पनि कमेन्ट र लाइक हानिन , अथवा मेरो हैसियत भएन . तै पनि ट्याग हान्न छोडेका छैनन् . मानौ ट्याग हान्ने तिनको नैसर्गिक अधिकार हो र तिनको "महान" रचना पढने पर्ने मेरो दायित्व . पढेर के बिग्रिन्छ र पढी दिन्छु .  Last edited: 13-Jun-13 09:05 AM

rahulvai · Jun 13, 2013 7:29 AM

एकदम समसामयिक    "फेरि भरे आफनै फोटोमा पनि लाइक नआउँला कि भन्ने अर्को डर । "   हे हे सहि कुरो!

grgDai · Jun 13, 2013 8:54 AM

मैले पनि लाइक ठोक्दे है यो चाहि मन परेर लाइक हानेको पिएर प्रेसर ले होइन

serial · Jun 13, 2013 9:05 AM

 GTu da, यो लेख चाही साच्ची को मन परेर like गरेको नि :)! Naya

nayayana · Jun 13, 2013 9:31 AM

 ठुल्दाई लाइ ट्याग गरे पछि अझ धेरै लाइक आउछ भनेर पो हो कि......औटा गज्जब को कबीता कोर्नु पर्यो ट्यागी हरु लाइ घोच्ने गरेर.   मैले पनि लाइक ठोक्दे है बाघ भाइ को लाइक लाइ , लहरे संग बिल्कुल सहमत.   यो चाहि लायक भएर नै लाइक हानेको नि 

baaramaase · Jun 13, 2013 9:33 AM

 ज्यान गए हन्दिन लाइक , लज्जा 

timi_mero_sathi · Jun 13, 2013 10:30 AM

 सारै मज्जा आयो जितुदा यो पढेर .....लाइक गरे येत्रो पढ़िसकियो नगरुँ राम्रो लागिसक्यो .... कत्रो धर्म संकट ... ल लाइक ठोके मैले नि ..

ThahaChaena · Jun 13, 2013 11:05 AM

This is one of the 1000 reasons I disabled facebook. You noticed well bro!

Stat · Jun 13, 2013 12:31 PM

बाघ दाई, धेरैपछि साझा मा राम्रो लेख पढ्न पाए / समयसन्दर्भिक बिषय बस्तु, हेर्दा सामान्य तर दैनिक जनजीवन  संगको  सम्बन्ध देखाएकोले यो लेख सारै मन पर्यो/ तेसैले like गरेरै like गरे / बाचाता

Bachata · Jun 13, 2013 1:34 PM

 Kasto marmasparshi kahani Bagh dai. Mero din charya ma pani har din mah ek ghanta FB ma Like handai bitauchu.

DV kumar · Jun 13, 2013 2:08 PM

 "भयो अब आफूले मात्र लाइक नगर्दा एक त लाइक हान्ने साथीहरुको समूहबाट अलग्गिन पर्ने डर अर्को लाइक नपाउने साथी रिसाउला भन्ने डर । फेरि भरे आफनै फोटोमा पनि लाइक नआउँला कि भन्ने अर्को डर ।"   सारै मनपर्यो यो लाइक पिडित पाठक ले पनि एक लाइक हान्दे है  

adventurer · Jun 13, 2013 10:44 PM

बाघे दाइको कथा पढे पछि मरो घैटोमा पनि घाम लाग्यो : मेरी बजैलाई लाम्घारे बिसकर्माको नातिले रेक्वेस्ट पठाए पछि मान हानि भएको कुरा पस्केको थिए भने हाम्रो छिमेकी दिदि , कान्छी दिदीको नाम बात परिचित छिन  ले श्रीमतीसंग फेसबुक फ्रेन्डमा दर्ता गरिछिंन | अमेरिका छिरे पछि ८/२४ नै ल्याप्टो खोलिदो रहेछ ( ७/२४ सुनेको थिए ८/२४ का बाट आयो भन्नु होला , फुर्सदमा बखान गरुला )| श्रीमती जीको फेसबुक को पाना कान्छी दिदीले लाइक गरको ले भरिदो हरेहेछ. अन्फ़्रेण्ड गर्न पनि भएन : ऐरे खैरो को फोटो ले फेसबुक भरिने | बल्ल आज भने घैटोमा घाम लाग्यो ! लाईकको संख्याले सोसल स्टाटस थामेको रहेछ, कान्छी दिदीको लाईक को मर्म बल्ल बुझियो , धन्यबाद बाघे ब्रो, श्रीमतीजिलाई देखाए पछि अलिक मत्थर हुन्छिन कि ? 

MaGorkhe1 · Jun 14, 2013 10:53 PM

 बाघ दाई मैले पनि एउटा like हान्दिये है. लेख सारै राम्रो लग्यो ! :)

Misscatty · Jun 15, 2013 6:03 PM

ठुल्दाइले भन्नु भए जस्ता र अरु पनि थुप्रै छन् यो लाइकको काहानीहरुको श्रिंखला.... मौका मिले फेरि पनि बाँडौला यस्ता काहानीहरु ...   त्यतिन्जेल यो लाइकको काहानीलाई मनैदेखि लाइक गरिदिनुहुने र आफ्नो प्रतिकृया दिनुहुने सबैलाई मनै देखिको धन्यवाद ! 

Geology Tiger · Jun 17, 2013 11:18 AM

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion

You might be interested in...

Recent Classifieds View all
Upcoming Events View all
Service Providers View all