भारतमा मिथिलाको माग Share: छिमेकी भारतको बिहारमा शुरु भएको मिथिला राज्यको मागले नेपालको मधेशमा पनि मिथिला प्रदेश बनाउने मागलाई बल पुर्‍याउन सक्छ। कमल रिमाल मिथिला राज्य मागको यात्रामा हौसला दिंदै सिनेकर्मी सलिम अन्सारी। नेपालको सीमा जोडिएको भारतीय राज्य बिहारको उत्तरी क्षेत्रका २४ जिल्ला र झारखण्डका ६ जिल्लालाई मिलाएर बेग्लै 'मिथिला–राज्य' बनाउन मैथलीभाषीले १ जूनमा बिहारको सीतामाडीबाट निकालेको रथयात्रा १० जूनमा सहर्साको महिसी पुगेर समाप्त हुँदैछ। सन् १९४७ मा भारत स्वतन्त्र भएदेखिको मैथलीभाषीको यो माग कहिले सशक्त त कहिल्यै सुषुप्त हुँदै आएको छ। मिनी ट्रकलाई रथको आकार दिएर गरिएको र्‍यालीका आयोजक अखिल भारतीय मिथिला पार्टीका महासचिव रत्नेश्वर झा भन्छन्, “बिहारीको पहिचान बदलेर आफूलाई मैथली भनेर चिनाउन शान्तिपूर्ण आन्दोलन थालेका हौं।” बुद्धिजीवीहरूले अगुवाई गरेको यो आन्दोलनमा सर्वसाधारणको सक्रिय सहभागिता नदेखिए पनि समर्थन भने आम मानिसले गरेको देखिन्छ। शिवहर जिल्लाको देकुली धाम पंचायतका पूर्व मुखिया राजेन्द्रप्रसाद यादवले हिमाल सँग भने, “मिथिला राज्यको मागलाई हाम्रो समर्थन छ।” यात्रालाई हौसला दिन आएका भारतीय सिनेकर्मी सलिम अन्सारीले अधिकार मागेर मात्र नपाइने बताए। ६६ वर्ष पुरानो माग सन् १९४७ मा भारतको संविधानसभामा डा. जयपाल सिंहले सात वटा राज्यको माग गर्दा मिथिला राज्य पनि समावेश थियो। उनको मागमा महाराष्ट्र, केरला, आन्ध्रप्रदेश, मिथिला, झारखण्ड, महाकौशल र तमिलनाडु थिए। भाषा, संस्कृति र जनसंख्याको आधारमा उनले त्यो धारणा राखेका थिए। भारत स्वतन्त्र भएपछि सन् १९५० मा डा. लक्ष्मण झाले सुगौली सन्धि खारेज गरी भारत–नेपालको मिथिला क्षेत्रलाई मिलाएर एउटै राज्य बनाउनुपर्ने माग गर्दै दिल्लीमा आन्दोलन गरेका थिए। तर, सन् १९५६ मा भारत सरकारको राज्य पुनर्गठन आयोगले मैथली भाषा राष्ट्रले मानेको भाषा नभएको भन्दै मिथिला राज्यको मागलाई खारेज गरेपछि त्यो आन्दोलन सेलाएको थियो। सन् १९८५ मा मिथिला राज्य संघर्ष समिति गठन भएपछि यो माग पुनः बिउँतियो। समितिका संस्थापक एवं हालका महासचिव उदयशंकर मिश्रा हतियारसहितको आन्दोलनलाई महत्व दिइने भारतमा शान्तिपूर्ण आन्दोलनले ध्यान तान्न नसकेको बताउँछन्। सन् २००३ मा भारत सरकारले मैथली भाषालाई संविधानको अनुसूचीमा सूचीकृत गरेपछि मैथली भाषीको छुट्टै राज्यको माग केही बलियो बनेको छ। उत्साहित युवाहरूले 'मिथिला राज्य निर्माण सेना' पनि गठन गरेका छन्। दरभंगाका सांसद् कृति झा 'आजाद'ले लोकसभामा बिहार र झारखण्डका केही जिल्ला मिलाएर मिथिला राज्य बनाउने प्रस्ताव पनि दर्ता गराएका छन्। नेपालमा पनि चासो बिहारमा चलेको यो आन्दोलनलाई नेपाली मैथली भाषीले चासो दिएर हेरेका छन्। भारतमा मिथिला राज्य बन्दा आफ्नो भाषा र संस्कृतिको संरक्षण हुने भएकाले आन्दोलनलाई नैतिक समर्थन गरेको मैथली सेवा समिति नेपालका महासचिव प्रवीणनारायण चौधरी बताउँछन्। चौधरी भन्छन्, “भारतमा मिथिला राज्य भयो भने नेपालमा मैथिल प्रदेश बन्ने सम्भावना बलियो हुन्छ।” वि.सं. २०३६ मा डा. लक्ष्मीनारायण झाले नेपालमा गणतन्त्र र मिथिला राज्य स्थापनाको माग गरेका थिए। जसलाई, २०४२ को बमकाण्डपछि बेपत्ता बनाइएको थियो। माओवादीले पनि द्वन्द्वकालमा मिथिला राज्य बनाउने भनेको थियो। तर, राज्य पुनर्संरचना आयोगमा उसले पेश गरेको प्रस्तावमा मिथिला राज्य थिएन। मधेशवादी दलहरूले पनि मिथिलालाई बेवास्ता गर्र्दै 'समग्र मधेश एक प्रदेश' भने। मिथिला राज्यको माग गर्दै जनकपुरमा भएको धर्नामा गत वर्ष बम विस्फोट हुँदा पाँच जनाको ज्यान लिएको थियो भने करीब दुई दर्जन घाइते भएका थिए। कमल रिमाल, बिहारबाट फर्केर http://nepalihimal.com/article...
_____ · Jun 12, 2013 10:38 AM · 1,319 views
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion