पञ्चायतलाई जिताउन व्यापारीसँग साढे तीन करोड उठायौं'

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

  पञ्चायतलाई जिताउन व्यापारीसँग साढे तीन करोड उठायौं' Share:     नवराज सुवेदीको जगदम्बा प्रकाशनद्वारा प्रकाशोन्मुख पुस्तक इतिहासको एक कालखण्ड बाट       श्री ५ वीरेन्द्रको समयमा रानी ऐश्वर्य ज्यादै सक्रिय होइबक्स्यो। रानीले भनेपछि राजा कुरा नकाट्ने, प्रत्येक निर्णयस्थलमा रानीको उपस्थिति अनिवार्य हुँदै गयो। यसलाई पनि सचिव र एडीसीहरूले आफ्नो स्वार्थपूर्ति हेतु प्रयोग गर्न थाले। रानीलाई खुशी पार्न दौड शुरू भयो। यस दौडमा कहिले चिरन, कहिले नारायण, कहिले ताराबहादुर त कहिले शान्तकुमार मल्ल। यिनीहरूको बीचमा दौड हुन्थ्यो, यो दौडमा लामो समयसम्म ताराबहादुर थापा नै सफल भएजस्तो मलाई लाग्दछ। यसै बीचमा श्री ५ बडामहारानीलाई खुशी पार्न 'सामाजिक सेवा परिषद्' भन्ने एक नयाँ संस्था खोलियो। एउटा मात्र उदाहरण म यहाँ दिन चाहन्छु– यो परिषद् चलाउन चन्दा उठाउने अभियान शुरू भयो। जसले धेरै चन्दा दिन्छ, त्यस व्यापारीले देशको सबभन्दा ठूलो तक्मा पाउने व्यवस्था गरियो। त्यस समयमा धेरै उद्योगपति र व्यापारीहरूले गोरखा दक्षिण बाहु प्रथम दर्जाको तक्मा पाए।   जनमतको निम्ति बहुदल पक्षलाई स्वदेश र विदेश दुवैतिरबाट चन्दा उठ्न थाल्यो। तर पञ्चायत पक्षमा एक पैसा पनि थिएन। यसैबीच श्री ५ वीरेन्द्रबाट प्रधानमन्त्रीलाई हुकुम भयो– “म एक पैसा पनि दुवै पक्षलाई दिन्नँ। श्री ५ को सरकारको ढुकुटीबाट पनि जानु हुन्न। तिमी पञ्चहरूले आफ्नो व्यवस्था आफैं गर। साथै यो एक वर्षसम्म म दुवै पक्षका कार्यकर्ताहरूलाई भेट्ता पनि भेट्तिनँ।” श्री ५ को यो भनाइपछि दरबारबाट सहयोग हुन्छ कि भन्ने आशा पनि हरायो। तर श्री ५ को भित्री इच्छा पञ्चायतले जितोस् भन्ने नै थियो। उहाँले चार–पाँच महीनासम्म कुनै राजनीतिक कार्यकर्तालाई भेटी पनि बक्सेन। करीब चार महीनापछि एक दिन साँझ बोलाइबक्स्यो र म नै पहिलो भेट पाउने कार्यकर्ता थिएँ। एक दिन सूर्यबहादुरजीले मसँग जनमत नहुन्जेलसम्म कति रकम चाहिन्छ भन्नुस् भन्नुभयो। मेरो धारणामा करीब तीन करोड पचास लाख जति भए पञ्चायतलाई जिताउन सकिन्छ भन्ने थियो। त्यही कुरा प्रधानमन्त्रीज्यूलाई जवाफ दिएँ। लामो छलफलपछि उद्योगपति, व्यापारीहरूसँग चन्दा माग्ने कुरामा हामी दुवै जना पुग्यौं। त्यस समयमा ठूला उद्योगपति, व्यापारीमा गोल्छा समूह नै थियो। अतः हुलासचन्द गोल्छालाई बोलाएर प्रधानमन्त्रीज्यू र म बसेर पञ्चायत पक्षलाई आर्थिक सहयोग गर्न अनुरोध गर्‍यौं। उनले पनि यस्तो राम्रो काममा म सहर्ष सहयोग गर्छु भन्दै खुशी व्यक्त गरे। म दिउँसो चेक पठाउँछु भन्दै उनी गए र दिउँसो चेक मेरो हातमा आयो। हेर्छु त नेरु पाँच हजार रहेछ। प्रधानमन्त्री र मैले निर्णय गर्‍यौं उद्योगपति, व्यापारीबाट अब हाम्रो समस्या समाधान हुँदैन, अरू नै उपाय गर्नुपर्छ। उता बहुदलवालाहरूले जिल्ला–जिल्लामा छ्यापछ्याप्ती पुगेर प्रचार–प्रसार तेज गराइसके तर पञ्चायतका कार्यकर्ताहरू भने प्रचार खर्च आदि चाहियो भनेर काठमाडौंमै थुप्रिएका थिए। यस्तो स्थितिमा पैसाको जोगाड भइरहेको थिएन। थापाजीले मसँग भन्नुभयो, “नवराजजी, कुनै एक व्यापारी समाउनुस्, कुन शर्तमा दिन्छ सोध्नुस् र एकै जनासँग साढे तीन करोड लिने व्यवस्था गर्नुस्।” अन्त्यमा पैसा खोज्ने काम मेरो जिम्मा आयो। उद्योग वाणिज्य मन्त्रीबाट हटेको पनि करीब ६–७ वर्ष भइसकेको थियो। धेरै नयाँ उद्योगपति, व्यापारीहरू आइसकेका थिए तर मलाई चिन्दैनथे। यस कुराको सल्लाह लिन म मेरा मित्र पुनमचन्द्र अग्रवालकहाँ गएर यो सबै कुरा राखें। उनी पनि त्यो बेला नेपालको ठूलो व्यापारीमा गनिन्थे। उनको आयात–निर्यातको ठूलो व्यापार थियो। उनले मसँग प्रष्ट शब्दमा भने– “नवराज, तिम्रो प्रस्तावअनुसार काम गर्ने हो भने निकै पैसा कमाउन सकिन्छ तर मैले आजसम्म दुईनम्बरी धन्दा गरेको पनि छैन, गर्दा पनि गर्दिनँ। हुनत म काङ्ग्रेस समर्थक हुँ तर तिमी मेरो नजिकका मित्र छौ, सहयोग, सल्लाह माग्न आयौ, म मद्दत गर्छु। तिम्रो काम हुन्छ, भोलि बिहान १० बजे मकहाँ बागबजार आऊ।” पुनमको यस्तो कुराले पैसाको जोगाड हुने आश पलायो। म पनि अर्को दिन ठीक १० बजे पुनमचन्द्र अग्रवालको घरमा पुगें। उनसँग एउटा मोटो, कालो धम्मरधुस व्यक्ति बसेर गफ गरिरहेको थियो। पुनमले मसँग त्यस व्यक्तिको परिचय गराए। ती रहेछन् नाम चलेका व्यापारी चोथमल जाटिया। यिनलाई त्यो दिनभन्दा अगाडि मैले देखेको थिइनँ। यिनको ठूलो कारोबार थियो। यिनलाई दुईनम्बरी व्यापारको जनक पनि भनिन्थ्यो। आजकल दुईनम्बरी धन्दाबाट पैसा कमाउने धेरै छन्। तर त्यस समयमा यस धन्दामा उनको एकछत्र राज थियो। त्यस बेला मलाई एकनम्बरी, दुईनम्बरी केही मतलब थिएन। खालि पञ्चायत जिताउन पैसा चाहिएको थियो। उनीसँग मैले सबै कुरा राखेपछि उनले भने– “मन्त्रीज्यू, तपाईं र प्रधानमन्त्री सूर्यबहादुर थापाज्यूलाई त्यो पनि पञ्चायत जिताउन खालि साढे तीन करोड चाहिएछ, यो त साहै्र लाजमर्दो कुरा भयो। म आजै दिन सक्छु तर पैसा दिने भएपछि मैले केही सुविधा पनि पाउनुपर्छ।” उनले अगाडि भने– “मेरा तीन शर्त छन्”– (१) गृहमा कारबाही हुँदैछ, चाँडै नागरिकता पाउँ (२) एक ठूलो कटन मिल (सूती कारखाना) काठमाडौंमा खोल्न पाउँ (३) मसँग सर्पको छाला छ, विदेश निकासी गर्न पाउँ। चोथमल जाटियाका यी तीन शर्त सुनेपछि मैले उनलाई भनें, “यसबारे अन्तिम जवाफ आज साँझ तपाईं, म र प्रधानमन्त्रीज्यूको कुरा भएपछि पाउनुहुन्छ। साँझ आठ बजे प्रधानमन्त्रीनिवास बालुवाटार आउनुस्। म गेटमा हुन्छु” भन्दै म उठें। उठ्तै उनले पनि भने, “तपाईं र प्रधानमन्त्रीज्यूले मेरा यी तीन शर्त जिम्मा लिनुहुन्छ भने साढे तीन करोड होइन, पञ्चायतलाई जति चाहिन्छ, जति बेला चाहिन्छ, म नै सबै रकमको व्यवस्था गरिदिन्छु।” चोथमल जाटियाका यी भनाइबाट अब पञ्चायत जिताउन सकिन्छ भन्ने खुशी मनमा लिंदै म सिंहदरबार पुगें। प्रधानमन्त्रीज्यू मलाई पर्खेर बसिरहनुभएको रहेछ। सबै कुरा सुनेपछि उहाँमा पनि खुशी छायो, “नवराजजी, तपाईंले आज ठूलो काम गर्नुभयो। तपाईंलाई धन्यवाद छ।” बेलुका जाटियासँग भेटी कुरा भयो। उनले पनि हतार छैन, मेरो काम जनमतको चुनावपछि गरिदिनुभए हुन्छ भने, हामी दुवैले उनको शर्त मञ्जुर गर्‍यौं। यसपछि पञ्चायतलाई पैसाको चिन्ता भएन। यहाँ अरू दुई कुरालाई पनि उल्लेख गर्नु उपयुक्त हुन्छ। एक दिन श्री ५ वीरेन्द्रले मलाई हुकुम भयो, “हेर न नवराज! मलाई गिरिजाले अप्ठ्यारोमा पो पारे। उनी पूरा मन्त्री एक, राज्यमन्त्री तीन र दुई सहायक मन्त्री माग्दछन्। मैले एक राज्यमन्त्री र पाँच सहायक मन्त्री दिन्छु भनें। त्यो उनले मानेनन्। मैले उनलाई सम्झाउँदै भनें– श्रीभद्र शर्मा पनि नेपाली काङ्ग्रेसका महामन्त्री थिए। उनलाई मन्त्रिपरिषद्मा समावेश गर्दा राज्यमन्त्रीबाटै शुरू गराएँ। पछि उनी मन्त्रीपदमा प्रमोशन (पदोन्नति) भए। त्यस्तै डी.पी. अधिकारी पनि नेपाल कम्युनिष्ट पार्टीका महामन्त्री थिए। उनलाई पनि राज्यमन्त्रीबाटै मन्त्रिपरिषद्मा समावेश गरें। अतः तिमीलाई एकै पटक मन्त्रीपद दिंदा परम्परा तोडिने भयो। त्यसकारण तिमी राज्यमन्त्रीमा बस, अरू तिमीले नाम दिएका व्यक्तिहरूलाई सहायक मन्त्रीमा नियुक्त गर्छु। यो मेरो कुरा मानेनन्। बिदा हुने बेलामा मेरो पार्टी नेपाली काङ्ग्रेसलाई सरकारले बचाइदिनुपर्छ भन्दै मबाट बिदा भए।” राजाको यस्तो कुरा सुनेपछि प्रतिकार गर्दै मैले 'मानिबक्सनुपर्थ्यो' भनें। यो २०४३/४४ सालतिरको कुरा हो। त्यस बेला म राष्ट्रिय पञ्चायत र पञ्चायत नीति तथा जाँचबुझ समितिको अध्यक्ष थिएँ। कुन सूत्रबाट कसरी गिरिजाप्रसाद कोइरालासँग कुरा भयो श्री ५ बाट मलाई हुकुम भएन, मैले पनि सोधिनँ। यस्तै अर्को एउटा घटनामा २०४२/४३ को जननिर्वाचन हुनुभन्दा केही समयअगाडि नेपाली काङ्ग्रेसले एक प्रस्ताव अगाडि सार्‍यो। त्यो थियो– एउटै चुनाव चिह्नबाट सबै क्षेत्रहरूमा चुनाव लड्ने। त्यसो गर्नलाई चुनावमा उठ्न वर्गीय संगठनको अनिवार्य सदस्यता हुनुपर्ने त्यस बेलाको कानूनको दफा हटाउनुपर्ने भन्ने प्रस्तावमा थियो। यो प्रस्ताव पनि दरबारलाई मान्य भएन। उपर्युक्त दुई कुराले प्रमाणित गर्छ– पञ्चायतको अन्त्य हुनमा दरबार र हामी जस्ता कार्यकर्ताहरूको अदूरदर्शिता नै प्रमुख कारण हो। http://nepalihimal.com/article...

_____ · May 29, 2013 10:20 AM · 1,194 views

Replies
No replies yet.

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion

You might be interested in...

Recent Classifieds View all
Upcoming Events View all
Service Providers View all