किसान कंगाल, नेटवर्कवाला मालामाल

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

  किसान कंगाल, नेटवर्कवाला मालामाल झूटो प्रचार र प्रलोभनका कारण किसानहरूको एक अर्बभन्दा बढी झ्वाम चार महिनाअघिसम्म ललितपुरको थेचो चोकबाट पश्चिम ओरालो झरेपछि आउने गहुँबारी छिचोलेर एउटा कान्लोमा पुगेपछि देखिन्थ्यो, २२ रोपनीको बारीमा घिउकुमारी (एलोभेरा)को खेती। यतिखेर त्यो जमिनमा जेठको चर्को गर्मीलाई चिर्दै मकै बालीले जबरजस्त पालुवा हालिरहेको छ। प्रश्न उठ्न सक्छ, कहाँ गए घिउकुमारीका त्यत्रा बिरुवा ? कसले, किन मास्यो ? घिउकुमारीको असफल खेतीको कथा जान्नुअघि १५ पुस ०६७ मा फर्किनुपर्छ।  कथाका मूल पात्र हुन्, पेसाले मूर्तिकार पाटनका राम महर्जन, ५१। उनले एकदिन सुने, घिउकुमारीको खेतीमा भविष्य छ र एक हेक्टर खेतमा ९ लाख २४ हजार ९ सय लगानी गर्दा वर्ष दिनमै न्यूनतम पनि १७ लाख ७५ हजार १ सय रुपियाँ फाइदा लिन सकिन्छ। पुस्तैनी पेसाबाट वाक्क भएका महर्जन आम्दानीको गजब उपाय फेला परेपछि हौसिए। उनले ११ जना साथी जम्मा पारे र यती एग्रोटेक नामक कम्पनी दर्ता गरे। वाषिर्क तीन लाख रुपियाँ भाडा तिर्ने गरी ललितपुरको थेचोमा ६० रोपनी जग्गा लिए र सुरुमै २२ रोपनीमा घिउकुमारी लगाए। तर, तीन महिनामै घिउकुमारीको बेर्ना उत्पादनबाट आम्दानी हुने विश्वासमा त्यतिखेर तुषारपात भयो, जब बिरुवा हुर्किनुको सट्टा मर्न थाले। पहिलो वर्षमै आम्दानी हुने सपना तुहिए पनि उनीहरूले हरेस खाएनन्। दोस्रो वर्षको सुरुमै उनीहरूले फेरi १० हजार बिरुवा थपे। जब अघिल्लो वर्षका बिरुवाका पात बिक्रीका लागि योग्य भए, तब भनेको बेला कम्पनीले पात किनिदिएन। कराउँदा कराउँदै पुस लाग्यो। बेच्न ठिक्क भएका सबै पात तुषारोले कुहिए। यसरी राम महर्जन र उनका साथीहरूको सपना तुहियो। न बिरुवाले बेर्ना उत्पादन गर्न सक्यो, न पात नै बढ्न सके। उल्टै भकाभक बिरुवा मर्न थाले। महिनैपिच्छे बढ्दो खर्च र शून्य आम्दानीले उनीहरू आत्तिए। जग्गाधनीलाई तेस्रो वर्षको भाडा बुझाउने समय आयो। उनीहरूले पैसा जम्मा गर्न सकेनन्। अन्ततः सोच्दै नसोचेको परiणाम आयो। जग्गाधनीले खेत जोतिदिए र मकै छरे। घिउकुमारीको सुन्दर सपनामा बज्रपात भयो र ३२ लाख रुपियाँ स्वाहा। महर्जन भन्छन्, "झूटा सपनामा फसियो।" अर्बभन्दा बढी स्वाहा खासमा एलोभेराको नेपाली नाम नै घिउकुमारी हो। करबि दुई सय जैविक तत्त्व पाइने यसको पातभित्रको जेललाई नै मुख्य उपयोगी तत्त्व मानिन्छ। पूर्व तथा दक्षिण अपि|mका हुँदै यो बिरुवा दक्षिण एसियामा भित्रिएको हो। यसको जुस स्वास्थ्य र सौन्दर्यका लागि फाइदाजनक मानिन्छ। स्टेभियालाई चाहिँ बोलीचालीको भाषामा चिनी बिरुवा पनि भनिन्छ। अत्यधिक गुलियोपना भएको स्टेभिया कोलेस्ट्रोलशून्य वनस्पति हो, जसको पात सुकाएर धूलो बनाएपछि गुलियोका लागि विभिन्न स्वरूपमा प्रयोग गरिन्छ। तर, नेपालमा यी दुवै बाली प्रविधि र पद्धतिको अभावमा गुणस्तरीय उत्पादन दिन असक्षम छन्। त्यसमाथि ती उत्पादनको बजारको समेत कुनै ग्यारेन्टी छैन। वनस्पति विभागका महानिर्देशक अन्नपूर्ण दास भन्छन्, "यी उत्पादनको नेपालमा बजार नै छैन र बजारको ग्यारेन्टी गर्न सक्ने आधार पनि छैन।"  यद्यपि, घिउकुमारी र स्टेभियाको खेतीबाट सजिलै धेरै रकम कमाउन सकिने लोभमा परेका महर्जनजस्ता अरू पनि थुप्रै छन्, जसले यसमा लाखौँ रुपियाँ डुबाइसकेका छन् (हेर्नूस्, बक्स)। यसरी झूटो सपना देखाएर किसान फसाउने प्रमुख कम्पनी हो, पाम एग्रोटेक एन्ड बायो एनर्जी नेपाल प्रालि। जसको आश्वासनको पहिलो सिकार बनेका थिए, महर्जन र उनका साथीहरू।  घिउकुमारी र स्टेभियाको व्यावसायिक खेती गर्ने भन्दै तीन वर्षअघि स्थापित त्यस कम्पनीले अहिले ५५ जिल्लामा खेती गराइरहेको छ। त्यसमा आबद्ध झन्डै दुई सय किसानले करबि सात सय बिघामा खेती गररिहेका छन्। तीमध्ये प्रत्येकले न्यूनतम पनि ५ हजार ५ सय बिरुवा अर्थात् २ लाख ४० हजार रुपियाँ (प्रतिबिरुवा ४० रुपियाँ) बराबरको बिरुवा लगाएका छन्। अधिकांशले चर्को मूल्यमा जग्गा भाडामा लिएका छन्। जग्गा भाडा, मल, औषधी र ज्याला गरी औसतमा प्रत्येक किसानले पाँच लाख रुपियाँ लगानी गरेका छन्। यस हिसाबले घिउकुमारी र स्टेभियामा करबि एक अर्ब रुपियाँ लगानी भइसकेको छ। पामले जस्तै बिरुवा बेचिरहेको बुटवलस्थित अर्को कम्पनी सहारा एनर्जी एन्ड एग्रो इन्डस्ट्रीसँग आबद्ध झन्डै एक सय कृषकले करबि ७० बिघामा घिउकुमारी र स्टेभिया खेती गररिहेका छन्। उक्त कम्पनीका प्रबन्ध निर्देशक राजेश केसी करबि चार करोड रुपियाँ यसमा लगानी भइसकेको अनुमान गर्छन्। त्यस्तै घिउकुमारीको खेती विस्तार गररिहेको अर्को कम्पनी हो, घार इन्टरनेसनल, जसले करबि दुई सय रोपनीमा झन्डै ३० लाख रुपियाँ लगानी गरसिकेको छ।  झूटो प्रचार आन्तरकि बजार र निर्यातको सम्भावना नै अध्ययन नगरी भइरहेको खेतीबारे न सरकार जानकार छ, न यसका लागि दक्ष प्राविधिक नै नेपालमा छन्। तर, निजी क्षेत्रका कम्पनीहरूले भने नेटवर्किङ् शैलीकै सिको गर्दै आफ्नो कारोबार बढाइरहेका छन्। मासिक लाखौँ रुपियाँ आम्दानी हुने भन्दै गरिएको प्रचारको जालोमा सोझा किसानहरू फसिरहेका छन्। यी कम्पनीले किसानलाई महँगो मूल्यमा बेर्ना बेच्छन् भने उनीहरूले हुर्काएको बेर्नाचाहिँ निकै सस्तोमा किन्छन्। बिरुवा हुर्किएपछिको उत्पादन (घिउकुमारी र स्टेभियाको पात) आफूलाई मात्र बिक्री गर्नुपर्ने सर्त तेस्र्याउँछन्। तर, उनीहरूले त्यो पनि किनिरहेका छैनन्। किनिहाले पनि किसानले पैसा पाउँदैनन्।  यद्यपि, पाम एग्रोटेकका प्रमुख रुद्र गिरी किसानको जतिसुकै परिमाणको उत्पादन आफ्नो कम्पनीले किन्ने दाबी गर्छन्। उनी किसानलाई आफ्नै फ्याक्ट्री रहेको बताउँदै त्यसका निम्ति आवश्यक कच्चा पदार्थ (घिउकुमारी र स्टेभियाको पात) पर्याप्त नभएको दाबी गर्छन्। तर, उनले आफ्नो भनी दाबी गरेको घिउकुमारीको जुस उत्पादन कम्पनी उनको नभई भरतपुरका ध्रुवतारा लामिछानेको हो। गिरीले प्रतिलिटर १८ रुपियाँ तिर्ने सर्तमा उनको कम्पनीबाट काम चलाइरहेका छन्।  गिरी आफ्ना किसानले उत्पादन गरेको स्टेभियाको अन्तर्राष्ट्रिय बजार दाबी गर्नसमेत पछि पर्दैनन्। भन्छन्, "मैले रुसमा रहेका परशुराम पोखरेललाई १०-१२ क्विन्टल स्टेभिया बेचिसकेँ। तर, रूसमा रहेर स्टेभियासम्बन्धी कारोबार गररिहेका कृषिविज्ञ पोखरेलले नेपाललाई इमेल गर्दै गिरीको कुरा सरासर झूटो भएको बताएका छन्। उनले आफ्नो इमेलमा नेपालको स्टेभिया अन्तर्राष्ट्रिय बजारका निम्ति योग्य नरहेको बताउँदै सोझा किसानलाई ठग्ने काम भइरहेको बताए। "नेपालका निजी क्षेत्रका केही बिचौलियाले सम्भावना नै नभएको खेतीमा किसानलाई डुबाइरहेका छन् भने सरकार रमिते बनिरहेको छ," पोखरेल आफ्नो इमेलमा लेख्छन्।  घिउकुमारी र स्टेभियामा अरबौको लगानी भइसक्दा पनि सरकार भने बेखबरजस्तै छ। कृषि मन्त्रालय अन्तर्गतको कृषि विभागका नायब कार्यकारी निर्देशक वीरेन्द्र हमाल यी दुवै उत्पादन जडीबुटी अन्तर्गत पर्ने भएकाले आफ्नो क्षेत्राधिकारभित्र नपर्ने बताउँछन् र यसबारेमा जानकारी लिन वनस्पति विभागतिर देखाउँछन्। वनस्पति विभागका महानिर्देशक दास किसानले बुझ्दै नबुझी लगानी जोखिममा पाररिहेको बताउँछन्। जडीबुटी वर्ग अन्तर्गतको घिउकुमारीलाई विभागले खेती प्रविधि अनुसन्धान कार्यका लागि प्राथमिकता प्राप्त जडीबुटीहरूको सूचीमा राखेको छैन। दास भन्छन्, "यसको अर्थ नेपालमा यी दुवैको खेतीको व्यावसायिक सम्भावना छैन भन्ने नै हो।"  कृषिविज्ञ पोखरेल नेपालको स्टेभिया अन्तर्राष्ट्रिय बजारमा बिक्नै नसक्ने दाबी गर्छन्। भन्छन्, "नेपाली उत्पादनको गुणस्तरको कुनै आधार छैन।" उनका अनुसार अहिले युरोपेली र अमेरिकी बजारमा चिनियाँ स्टेभियाको माग मात्रै उच्च छ। किनभने, चिनियाँ स्टेभियामा ग्लुकोसाइडको मात्रा ११ देखि १५ प्रतिशत हुन्छ, जबकि भारत र नेपालमा उत्पादन हुने स्टेभियामा चारदेखि सात प्रतिशत मात्रै। पोखरेलले नेपाललाई इमेल गरी अमेरिका र युरोपको बजारले नेपाल र भारतको स्टेभियालाई नपत्याएको उल्लेख गरेका छन्। मूल्यमा मनपरी निजी कम्पनीहरूले देखाएको दिन दुईगुना रात चौगुना आम्दानी गर्न सकिने प्रलोभनमा किसानहरूचाहिँ बुझ्दै नबुझी हामफालिरहेका छन्। त्यसको सबैभन्दा ठूलो उदाहरण हो, लाखौँ खर्चिने किसानलाई आफूले खेती गरेको घिउकुमारी र स्टेभिया कुन प्रजातिको हो भन्नेसमेत थाहा नहुनु। जबकि, घिउकुमारीका सयौँ प्रजाति अस्तित्वमा छन् भने स्टेभियाका ९० भन्दा धेरै प्रजाति। त्रिभुवन विश्वविद्यालय माइक्रोबायोलोजी विभागका अध्यापक गिरीराज त्रिपाठी नेपालमा उत्पादन हुने स्टेभिया कम गुणस्तरको रहेको बताउँछन्। भन्छन्, "किसानलाई कमसल बिरुवा महँगो मूल्यमा बेचिएको छ।"  निजी कम्पनीहरूले घिउकुमारी र स्टेभियाको मूल्य आफूखुसी तोकिरहेका छन्। पाम एग्रोटेकले किसानलाई एलोभेरा र स्टेभिया प्रतिबिरुवा ४० रुपियाँका दरले बेच्छ। तर, त्यस्तै बिरुवा बुटवलको सहारा एनर्जीले क्रमशः २० र २५ रुपियाँमा बेचिरहेको छ। जबकि, सीमावर्ती भारतीय बजारमा त्यही गुणस्तरको एलोभेरा चार रुपियाँ (भारतीय रुपियाँ)मा पाइन्छ। भारतीय कम्पनीहरू आफ्नो उत्पादन पाँच रुपियाँमा नेपालको सिमाना कटाइदिने बताउँछन्। भारतीय सहर राजस्थानस्थित अमृत सञ्जीवनी फार्मले नेपालसँगको इमेल कुराकानीमा चार रुपियाँ भारुमा घिउकुमारीका बेर्ना उपलब्ध गराउन सक्ने बताएको छ। त्यस्तै हानेमान च्यारिटेबल मिसन सोसाइटीका बजार विभाग प्रमुख प्रशान्त चतुर्वेदीले नेपालको इमेल प्रश्नमा घिउकुमारीका प्रतिबेर्ना १ रुपियाँ ५ पैसा भारुमा बेचिरहेको उल्लेख गरेका छन्।  यसरी ठगिन्छन् किसान  पाम एग्रोटेकले न्यूनतम ६ कट्ठा जग्गाका लागि किसानलाई बिरुवा किन्न बाध्य पार्छ। जसमा किसानले सुरुमै २ लाख ४० हजार रुपियाँ खर्चिनुपर्छ। महँगोमा बिरुवा बेचेर किसान ठग्ने शंृखला यत्तिमै सकिँदैन। पाम एग्रोटेकको ब्रोसरमा एक हेक्टरमा ९ लाख २४ हजार ९ सय लगानी गर्दा १७ लाख ७५ हजार १ सय रुपियाँ आम्दानी हुने उल्लेख छ।  भुक्तभोगी किसानहरूको बयान भने बेग्लै छ। सम्झौता अनुसार कम्पनीले समयमै पात नकिनिदिने र सम्झौताअगावै भनिएका सर्तहरू पूरा नगर्दा किसानको रकम डुबिरहेको छ। घिउकुमारीको बिरुवा किन्नेलाई स्टेभिया पनि किन्न बाध्य पार्नु कम्पनीको अर्को रणनीति हो। जस्तो : न्यूनतम ५ हजार ५ सयवटा घिउकुमारीको बिरुवा किन्नेले पाँच सयवटा स्टेभियाको बिरुवा किन्नुपर्ने बाध्यकारी व्यवस्था कम्पनीले लादेको छ। किसानले आफैँ ग्राहक खोजेर बिरुवा बेचेको खण्डमा पनि प्रतिबिरुवा १० रुपियाँका दरले पामलाई कमिसन बुझाउनुपर्छ। कम्पनीको जबरजस्ती नियमले किसानहरूको आफ्नै बालीमा स्वामित्व छैन।  कम्पनीले भने अनुसार आम्दानी नहुने, पात र बिरुवा समयमै नकिनिदिने, विदेशी बजारमा बेच्न नसकिने र अनेक रोग लागेर बिरुवा मर्दा पनि उपचार नहुने भएकाले घिउकुमारीले धेरैलाई घर न घाटको बनाएको छ। जस्तो : चितवन, क्षेत्रपुरका रामनाथ अधिकारीले साढे चार लाख रुपियाँ लगानी गरेर सुरु गरेको घिउकुमारी खेतीलाई भाइरसले खत्तम पार्‍यो। उपचारको ग्यारेन्टी दिएको कम्पनीले पनि रोगको उपचार गर्न नसकेपछि उनका हजाराँै बिरुवा मरे। अधिकारी भन्छन्, "कम्पनीले केही गर्न सकेन।"  सम्झौतामा भएका सर्त पालना नगर्ने र किसान डुब्ने भएपछि केही किसान प्रतिरोधमा समेत उत्रेका छन्। करबि एक महिनाअघि कम्पनीले नकिनेर लाखौँको पात खेतमै कुहिएपछि दैलेखका किसान भीमप्रसाद रेग्मीले जिल्ला छिरेका पाम कम्पनीका प्रतिनिधि ऋषिप्रसाद अधिकारीलाई थुनेरै राखे। पात नकिनेसम्म कर्मचारीलाई नछाड्ने भन्दै उनी जिल्ला प्रशासन कार्यालयदेखि जिल्ला प्रहरी कार्यालयसम्म धाए। अन्ततः ६ दिनपछि समयमै पात र बिरुवा किन्ने सर्तमा उनले कर्मचारी छाडिदिए। त्यस्तै पात नकिनेकै कारण अघिल्लो महिना मात्रै रूपन्देहीको छपियामा किसानहरूले कम्पनीको गाडी नै नियन्त्रणमा लिएर चार दिनसम्म राखेका थिए। घिउकुमारीमा लाखौँ रुपियाँ डुबाएका शंकरनगरका जगन्नाथ गौतम भन्छन्, "छँदाखाँदाको व्यवसाय छाडेर कृषिकर्ममा हात हालियो। आफू त डुबियो नै, अरू साथीभाइ पनि डुब्दै छन्।"  पश्चिम नेपालका घिउकुमारी किसानहरू पनि यतिखेर लगानी जोखिममा परेको भन्दै पछुताइरहेका छन्। कम्पनीले सम्झौता अनुसारको पात नउठाउने र उठाइहाले पनि महिनौँसम्म पैसा नदिँदा किसान ठगिएका छन्। बाँकेकै अशोक विष्ट र कालीबहादुर खत्रीलगायतको घिउकुमारीमार्फत आर्थिक छलाङ मार्ने योजनाले फेल खायो। सहमति अनुसार कम्पनी पात र बिरुवा लिन नआएपछि उनीहरूको सपना भत्कियो। "अनेक सपना देखाएर बिरुवा बेच्यो। पछि पात लिन आएन," विष्ट भन्छन्, "किसानलाई धोका भयो। एक हिसाबले ठग्यो भने पनि हुन्छ।"  घिउकुमारीको बिरुवा, मल र औषधी बेच्दै आएको पाम एग्रोटेकले नै खेती गर्न चाहने अधिकांशलाई भाडामा जग्गा खोजिदिन बिचौलियाको भूमिका पनि खेल्छ। कम्पनीका प्रमुख गिरी माटोको परीक्षण र मौसम नहेरीकन खेतीका लागि किसानलाई नसुझाएको बताउँछन्। भाडा (लिज)को जग्गामा खेती गररिहेका किसान अहिले कि जग्गा छाड्दै छन्, कि त बिरुवा उखेलेर अन्यत्र सार्दै छन्।  अरूको त कुरै छाडौँ, गिरी आफँैले समेत भाडामा लिएका जग्गाबाट घिउकुमारी उखेलिरहेका छन्। जस्तो कि, शरदपुरस्थित अगन्धर कँडेल दाजुभाइको साढे दुई बिघा जग्गामा लगाएको घिउकुमारी गिरीले उखेलेर अन्यत्रै सारसिकेका छन्। कँडेल भन्छन्, "बिरुवा त उखेलेर लगे नै, तीन महिनाको भाडा पनि पाएको छैन।" गिरीले ६ वर्षका लागि भाडामा लिएको शरदपुरको विष्णु कँडेलको सात कट्ठा जग्गा पनि डेढ वर्षमै छाडे। कँडेल भन्छन्, "उनले बिरुवा निकालेपछि मैले खेत जोतिदिएँ।" आफ्नो खेतीबाट आफँैले फाइदा लिन नसकेपछि गिरी अरू किसानलाई बिरुवा बेचिरहेका छन्। कतिसम्म भने घिउकुमारी नै नहुने काठमाडौँ उपत्यका वरिपरिका डाँडामा समेत घिउकुमारी हुने सम्भावना देखाउँदै बिरुवा बेचिरहेका छन्।  बाहिरबाट आएका अधिकांश किसानले खेती गररिहेको शरदपुर क्षेत्र चितवनकै सुक्खाग्रस्त क्षेत्रका रूपमा चिनिन्छ। काठमाडौँका बद्री कार्की र उनका साथीहरूले सोही ठाउँमा ११ कट्ठा ८ धुर जग्गामा गरेको घिउकुमारी खेती अहिले खडेरीले संकटग्रस्त छ । कार्की भन्छन्, "पहिले कम्पनीले पानी चाहिँदैन भन्यो, अहिले पानीको अभावमा बिरुवा धमाधम मर्दै छन्।"  कार्कीजस्तै अन्य चार समूहले पनि सोही स्थानमा जग्गा भाडामा लिएर लाखौँ लगानी गरेका छन्। तर, तिनले कम्पनीले भने अनुसारको मुनाफा गर्न सकेका छैनन। बरू बिरुवा मर्ने र घिउकुमारीमा लाग्ने अनेकन् रोगको उपचार नभेटिँदा दिक्क भएका छन्। खेती थालेको १५ महिना भइसक्दा पनि अपेक्षित प्रतिफल हासिल गर्न नसकेका कार्की भन्छन्, "साथीभाइ र चिनेजानेकालाई बिरुवा बेचुन्जेल त आम्दानी होला तर पात नै बेचेर कमाउन सक्ने सम्भावना छैन भन्ने बल्ल बुझियो।" यतिखेर आठ लाख रुपियाँ बराबरको लगानी मात्रै उठाउन पाए हुन्थ्यो भन्ने ध्याउन्नमा छन् उनी।  नेटवर्ककै अर्को रूप      पाम एग्रोटेकले घिउकुमारी र स्टेभिया खेतीलाई नेटवर्ककै शैलीमा विस्तार गररिहेको छ। जस्तो ः न्यूनतम ६ हजार बिरुवा किन्ने किसानले अर्को किसानलाई कम्पनीसँग जोडेमा उसले १० प्रतिशत कमिसन पाउँछ। धेरैभन्दा धेरै किसानलाई खेतीमा आबद्ध गराउनकै लागि कम्पनीले एजेन्सी, प्राइम एजेन्सी र सुपर एजेन्सी तोकेको छ। ग्राहक बढाउँदै लगे यी प्रत्येकले कमिसन पाउँछन्। स्रोतका अनुसार कम्पनीका झन्डै ४० जना एजेन्सी छन् भने दोलखा र पोखरामा सुपर एजेन्सीहरू छन्। सुपर एजेन्सीले कम्पनीसँग जोडिदिएबापत १५ प्रतिशत कमिसन पाउँछ भने अन्यले क्रमशः १० र ५ प्रतिशत। तर, कम्पनीका प्रमुख गिरी भने आफ्नो कम्पनीले नेटवर्क शैलीमा व्यापार नगरेको दाबी गर्छन्। भन्छन्, "कम्पनीका सबै कुरा बताउन मिल्दैन। तर, सेवा गर्नेलाई केही प्रतिशत कमिसन दिनु नेटवर्किङ् होइन।" अनौठो त के छ भने किसानले आफ्नो बिरुवा अरू कुनै नयाँ किसानलाई जति रुपियाँमा बेचे पनि प्रतिबिरुवा १० रुपियाँका दरले पामलाई कमिसन बुझाउनुपर्छ। गिरी भने यसलाई कम्पनीको आन्तरकि नियम भन्छन्।  उनले स्यूचाटारका रामेश्वर भट्टराईलाई मुख्य एजेन्सीका रूपमा कार्य गर्ने जिम्मेवारी दिएका छन्। उनीहरूबीच भएको सम्झौतापत्रमै मुख्य एजेन्सी लिएबापत दोस्रो पक्षले १० प्रतिशत कमिसन प्राप्त गर्ने उल्लेख छ। १६ महिनाअघि झन्डै चार लाख रुपियाँको लगानीमा पाँच रोपनी क्षेत्रफलमा ६ हजार बिरुवा लगाएका भट्टराईको बारीमा अहिले मुस्किलले एक हजार बिरुवा मात्रै बाँकी छ। भट्टराई भन्छन्, "प्रलोभनमा परेर मेरो झन्डै चार लाख रुपियाँ फस्यो।"  गोदावरीकी कल्पना सिलवालले ०६८ भदौमा ६ हजार घिउकुमारीका बिरुवा लगाउँदा २ लाख ४० हजार रुपियाँ खर्चिन्। त्यसबापत पामको मुख्य एजेन्ट चन्द्रकला लिम्बू र देवकुमारी लिम्बूले पाँच प्रतिशत अर्थात् १२ हजार रुपियाँ कमिसन प्राप्त गरे। तागेरा इन्टरनेसनल नामक कम्पनी नै खोलेर बसेकी देवकुमारी आफैँले पनि चितवनमा तीन बिघा र इलाममा १५ रोपनीमा घिउकुमारी र गोदावरीमा १३ रोपनीमा स्टेभिया खेती गरेकी छन्। उनीमार्फत अहिले गोदावरीस्थित नारी शक्ति बचत तथा ऋण सहकारी संस्थाका अन्य सात सदस्यले पनि घिउकुमारीमा लगानी गरेका छन्। अर्थात्, ती सबैलाई सदस्य बनाएबापत देवकुमारीले कमिसन पाउँछिन्।  कल्पनाचाहिँ तिनैमध्येकी एक हुन्, जसले दुई रोपनीमा लगाएको घिउकुमारी ६ महिनामै सखाप भयो। ०६८ भदौमा लगाएको बिरुवा सोही वर्षको माघमा परेको तुषारोले खाइदियो। पछि कम्पनीले बाँकी रहेको बिरुवा फिर्ता त लियो तर उनले गोडमेल, ज्याला र अन्य खर्च गरी झन्डै दुई लाख रुपियाँ गुमाइन्। अहिले कल्पनाले सोही ठाउँमा १६ रोपनीमा स्टेभिया खेती गरेकी छन्। भन्छिन्, "फाइदा हुन्छ भन्ने सुनेर लगानी गरेकी हुँ।"  लामो समयसम्म घिउकुमारीकै कारोबारमा लागेको घार इन्टरनेसनल पनि नेटवर्किङ्कै शैलीमा चलिरहेको संस्था हो। यसका प्रमुख रुदे्रश्वर राई तिनै हुन्, जसले आठ वर्षअघि नेटवर्क कम्पनी एलो नेपाल चलाएर घिउकुमारी खेती गर्ने भन्दै किसानहरूको लाखौँ रुपियाँ डुबाइदिएका थिए। उनको कम्पनीमा ग्राहक बनेर पुगेको नेपाल प्रतिनिधिसँग राईले एक किसानले अर्को किसानलाई कम्पनीसँग जोडिदिए १० प्रतिशत कमिसन दिने आश्वासन दिए। घिउकुमारी खेती गररिहेका उनी अहिले भने उस्तै शैलीमा अश्वगन्धाको खेती विस्तारमा लागिपरेका छन्।  बुटवलमा रहेको सहारा एनर्जी एन्ड एग्रो इन्डस्ट्रीले पनि किसानहरूलाई घिउकुमारी र स्टेभियाको बिरुवा बेचिरहेको छ। नेटवर्क शैलीमै व्यापारलाई विस्तार नगरे पनि कम्पनीको निहित उद्देश्य त्यही देखिन्छ। कम्पनीका प्रबन्ध-निर्देशक राजेश केसी आफूहरूले नेटवर्क शैलीमा व्यापार नगरेको तर कम्पनीसँग किसान जोडिदिनेलाई केही सहुलियत दिने गरेको बताउँछन्। उनका अनुसार उक्त कम्पनी अन्तर्गत झन्डै डेढ सय किसानले करबि ७० बिघाभन्दा धेरै क्षेत्रफलमा स्टेभिया र घिउकुमारी खेती गररिहेका छन्। औसतमा उक्त कम्पनीमार्फत किसानले झन्डै चार करोड रुपियाँ लगानी गरसिकेका छन्। घिउकुमारीको एउटा बिरुवालाई २० रुपियाँमा बेच्ने र किसानबाट ६ रुपियाँमा किन्ने उक्त कम्पनीको नीति किसानको हितमा नै रहेको केसी दाबी गर्छन्। भन्छन्, "हामी अरूजस्तो ठगी धन्दामा विश्वास गर्दैनौँ।"  मौसम र जग्गाको जाँच नै नगरी भइरहेको खेती, प्राविधिक परामर्शको अभाव र कमाउने उद्देश्य मात्र बोकेका निजी कम्पनीले देखाउने प्रलोभनको सिकार किसानहरू भइरहेका छन्। नेपाल कृषि अनुसन्धान परिषदमातहतको तरकारी तथा बीउबिजन कार्यक्रमका प्रमुख भरत पौडेल स्वदेशी बजार नभएको र विदेशी बजारमा निर्यात हुने सम्भावना नै नभएको घिउकुमारी र स्टेभियाको खेती गर्न उक्साएर किसान फसाउने काम भइरहेको बताउँछन्। भन्छन्, "बिरुवा मात्रै बेचुन्जेल चल्ने, केही मानिस धनी बन्ने र किसानहरू मर्ने खेल हो यो।"  जो ठगिए सामुदायिक वनबारे विद्यावारिधि गरेकी काठमाडाँै किमडोलकी अनिता मानन्धरले दुई वर्षअघि मकवानपुरको बसामाडीमा घिउकुमारी खेती सुरु गरनि्। घिउकुमारी लगाउनेको बढ्दो संख्या देखेर नर्सरीका रूपमा साढे दुई बिघा जग्गामा उनले २० हजार बिरुवा रोपेकी थिइन्। कुल १७ लाख रुपियाँ लगानी गरेकी उनले जब घिउकुमारीको बजार नै नरहेको पत्तो पाइन्, तब कौडीको मोलमा अधिकांश बिरुवा बेचिदिइन्। अहिले पनि उनको बारीमा झन्डै दुई हजार बिरुवा बाँकी छन्। घिउकुमारीको असफल लगानीबाट उनले निकालेको निष्कर्ष एउटै छ, "नेपालमा यसको बजार छैन र अन्तर्राष्ट्रिय बजारमा हामी प्रतिस्पर्धा गर्न सक्दैनौँ।" दुई वर्षपछि त्यसबाट हात झिक्दा उनले झन्डै १७ लाख रुपियाँ गुमाइसकेकी थिइन्।  दैलेख, मेहलतोलीका भीमप्रसाद रेग्मी पनि एक पीडित हुन्। आठ रोपनी क्षेत्रफलमा घिउकुमारीको बिरुवा लगाएका उनले दुई वर्ष दुई महिनाको अवधिमा ७ लाख १३ हजार रुपियाँ लगानी गरसिके। कामदारको ज्याला र मासिक १६ हजार रुपियाँ तलब दिएर राखेको कर्मचारीको दुई वर्षको हिसाब जोड्दा झन्डै १० लाख रुपियाँ खर्च पुग्छ। तर, उनको अहिलेसम्मको आम्दानी ७० हजार रुपियाँ मात्रै हो। जसमध्ये उनको हातमा जम्मा १५ हजार रुपियाँ परेको छ। बाँकी ५५ हजार रुपियाँ कम्पनीले कहिले दिने हो, पत्तो छैन। कम्पनीले सम्झौता अनुरूप काम नगरििदँदा आफूले झेल्नुपरेका समस्याको लामै फेहरस्ति छ उनीसँग। भन्छन्, "घिउकुमारीले घर न घाटको बनायो, वाषिर्क १२ मुरी मकै र १३ मुरी गहुँ फल्ने खेत त्यसै खेर गयो।" बुटवल, शंकरनगरका जगन्नाथ गौतम छँदाखाँदाको फर्निचर उद्योग बेचेर मासिक लाखौँ आम्दानी हुने लोभमा घिउकुमारी खेतीमा हाम फाले। अहिले उनलाई यही खेती निल्नु न ओकल्नु भएको छ। ०६८ जेठमा पाँच हजार घिउकुमारीका बिरुवा रोपेका गौतमले सोही वर्षको फागुनमा आफ्नो खेतीलाई विस्तार गरे। पाम एग्रोटेकबाट बिरुवा किनेका गौतम त्यतिबेला खुसी भए, जब एउटै बिरुवाले ८ देखि १० किलोसम्मको पात दिन थाल्यो। तर, अघिल्लो वर्षको जेठमा बेच्न ठिक्क भएका पात किन्नका लागि उनले कम्पनीलाई बारम्बार ताकेता पनि कम्पनीले टेरपुच्छर लगाएन। अन्ततः जे नहुनु थियो, त्यही भयो। झन्डै ५० क्विन्टल पात बारीमै कुहियो।  भक्तपुरका पुण्यराम राजलवट र उनका दुई साथीले चितवनको शरदपुरको ११ कट्ठामा लगाइएको घिउकुमारीबाट आठ महिनासम्म कुनै फाइदा लिन सकेनन्। पानी नै नचाहिने ठाउँमा खेती गर्न दिइएको सल्लाह मानेका उनीहरू बिरुवा मर्न थालेपछि हतास भए। "सम्झौता गर्दा पानी नचाहिने भनेको कम्पनीले पछि पो पानी जरुरी छ भन्न थाल्यो," राजलवट भन्छन्, "अनि, बिरुवा मर्ने र बोट बढ्दै नबढ्ने भएपछि बिरुवा सार्ने निष्कर्षमा पुगेँ। त्यसपछि ६ वर्षका लागि भाडामा लिने गरी गरिएको सम्झौता आठ महिनामै रद्द गरेँ।"  झन्डै ६ वर्ष दक्षिण कोरियामा मजदुरी गरेर फर्केका सामाखुसीका माधव भेटवालले मनग्गे आम्दानी हुने सुनेर घिउकुमारीमा लगानी गरे। पाम एग्रोटेकसँग सम्झौता गरेर खेती सुरु गरेका भेटवाल एक वर्षमै आत्तिए। उनले वाषिर्क ५० हजार रुपियाँ तिर्ने गरी पश्चिम चितवनको गीतानगरमा २२ कट्ठा जग्गा भाडामा लिएका थिए। पहिलो चरणमा सात कट्ठामा बेर्ना लगाएका उनले कम्पनीले भनेझै ६ महिनामा एक पैसो आम्दानी त गरेनन् नै, हरेक महिना बढ्दो खर्च र बिरुवा मर्दै गएको देखेर आत्तिए। एक वर्षसम्म उस्तै गति रहेपछि आजित भएका भेटवालले ६ वर्षका लागि भाडामा लिने गरी गरेको सम्झौता जग्गाधनीसँग अनुनयविनय गरेर तोडे र खेतीबाट हात झिके। भेटवाल भन्छन्, "महिनैपिच्छे लगानी र बजारको शून्य सम्भावना देखेर मैले झन्डै पाँच लाख रुपियाँ माया मारेर खेती जग्गाधनीलाई नै सुम्पेँ। अघिल्लो साता माधवले छाडेको जग्गामा पुग्दा जग्गाधनी खेम दाहाल पसिना बगाइरहेका थिए। भन्दै थिए, "बिचरा आम्दानी गर्छु भनेर त्यतिका धेरै पैसा डुबाए, अन्तमा रित्तो हात फर्के।"  नारायणगढका प्रह्लाद प्रधान, जसले १४ महिनामा १३ लाख डुबाए। भन्छन्, "लाखौँ आम्दानी हुन्छ भन्दै फसाइयो।" सुरुका किसान चिनेजानेकालाई घिउकुमारीको खेतीमा लागेर लगानी नडुबाउन सल्लाह दिँदै हिँड्छन्। १५ कट्ठामा खेती गरेकी गीतानगरकी मनु कोइरालाको अहिलेसम्म ज्याला र अन्य सबै खर्च जोड्दा आठ लाख रुपियाँ खर्च भइसक्यो। तर, यस अवधिमा उनको आम्दानी भनेको १ लाख ३० हजार रुपियाँ मात्रै हो। कोइराला भन्छिन्, "त्यही पात बेच्न पनि सयौँपटक फोन गरेर कराउनुपर्‍यो।" समयमै पात नकिनिदिनाले उनको बारीमा झन्डै ५० क्विन्टल पात कुहियो। बल्लतल्ल पात त बेचे पनि पूरै भुक्तानी कहिले हुने हो, पत्तो छैन। भन्छिन्, "आफ्नो उत्पादनको पैसा लिन पनि सास्ती झेल्नुपर्छ।"  (साथमा, जनक नेपाल/नेपालगन्ज, भीम घिमिरे/विराटनगर, विजय तिमल्सेना/हेटौँडा) काभ्रेको नारायणस्थानका मिलन टासी लामा, ५०, अब आफ्नो मूल थलो र्फकन नसक्ने भएका छन्। विदेशबाट आयातीत घिउकुमारीका जुस र अन्य उत्पादन नेपालमा बेच्दै आएको रोबियस इन्टरनेसनलमा उनका जेठा छोरा विजय लामा बजार प्रतिनिधिको काम गर्थे। भोजपुरका रुद्रेश्वर राईको नेतृत्वमा रहेको समूहले झापामा कम्पनी खोलेर घिउकुमारीको खेतीका लागि नेटवर्किङ् कम्पनीको प्रस्ताव ल्यायो। एकपटक १ लाख ३५ हजार लगानी गरे तीन वर्षपछि सात लाख फाइदा लिन सकिने भन्दै अघि सारिएको योजना विजयलाई मन पर्‍यो। उनले बुबालाई फकाए। गाउँमै साबुन उद्योग चलाएर बसिरहेका टासीले नमान्ने कुरै थिएन। उनी आफ्नो उद्योग बन्द गरेर झापा हान्निए।  उनले आफ्नो, छोराको र छोराको साथीभाइको समेत गरी पाँच लाख जम्मा गरिदिए। ढुंगामा सुन फलाउँछाँै भन्ने नारा दिएर ०६३ मा खुलेको एलो नेपाल प्रालि नामको नेटवर्किङ् कम्पनीले दमकमा कार्यालय खोल्यो। पत्याएर छिटो रकम जम्मा गरेकाहरूलाई सदस्यता विस्तारमा हौस्याउन पाँचवटा मोटरसाइकल पनि बाँड्यो। रतुवा माई वृक्षरोपण आयोजनाको आठ बिघा जमिन लिएर खेती थालेको एलोको सदस्यताको नियम कडा थियो। जस्तो : १ लाख ३५ हजार जम्मा गर्ने, आफू वा आफूले खटाएका एक जनालाई साइटमा दैनिक काम गर्न पठाउनुपर्ने। घिउकुमारी हुर्काउन थालेको दोस्रो वर्षमा कार्यक्रममा सुस्तता आयो। तेस्रो वर्ष नलाग्दै एलो निष्त्रिmय भयो। कार्यालय बन्द भयो। सञ्चालक बेपत्ता भए। केरखास्थित उक्त आयोजनाका निमित्त प्रमुख भक्ति गौतम भन्छन्, "पाँच वर्षका लागि लिएको जग्गा तीन वर्ष नपुग्दै छाडेर गयो।" घिउकुमारीमा लागेर घाटा बेहोरेका विजय अहिले काभ्रेको नार्केमा शिक्षण गररिहेका छन्। भन्छन्, "घिउकुमारीले जिन्दगी नै बर्बाद पार्‍यो। झापा धरमपुरस्थित लक्ष्मीनारायण माविका भूपू प्रधानाध्यापक भवानीप्रसाद नेपालले पनि त्यही मेसोमा डेढ लाख गुमाए। भन्छन्, "रिटायर्ड भएपछि खाने मेलो होला भनेको, थाङ्नामै सुताए।" रोबियस नेपालका सञ्चालक रविन तामाङ काठमाडौँमा पक्राउ परेपछि एलो नेपाल पनि निष्त्रिmय भएको धरमपुरका अम्बिका सिटौला बताउँछन्। http://www.ekantipur.com/nepal...  

_____ · May 27, 2013 9:07 AM · 6,222 views

6 Replies

 "घिउकुमारीले जिन्दगी नै बर्बाद पार्‍यो। झापा धरमपुरस्थित लक्ष्मीनारायण माविका भूपू प्रधानाध्यापक भवानीप्रसाद नेपालले पनि त्यही मेसोमा डेढ लाख गुमाए। भन्छन्, "रिटायर्ड भएपछि खाने मेलो होला भनेको, थाङ्नामै सुताए।" रोबियस नेपालका सञ्चालक रविन तामाङ काठमाडौँमा पक्राउ परेपछि एलो नेपाल पनि निष्त्रिmय भएको धरमपुरका अम्बिका सिटौला बताउँछन्। http://www.ekantipur.com/the-k... According to the study, a single person was found to be involved in several dhukutis to pay the loan of one dhukuti. That’s why such persons are more likely to get into debt.  The study has also shown reduced possibility of defaults on loans provided by dhukutis as the transactions are carried out among familiar people. However, if defaults occur, hardly few report to the police, according to the study. These dhukuti people may be "collectively" helping each other to pay the "bank loans" of the Nepali house/land bubble they were in a few years ago. I know a person who's about to retire (72 years old) and who put all of his saving to buy a stupid piece of land. He bought at the height of land/housing boom and didn't sell for extra profit when there were people to buy within the next few weeks. He's still working everyday and his paycheck (as the CEO of whatever he does) goes towards the interest rate payments. Bubble and bursts are dangerous every economy. All you need is to go "insane" for a moment and its gone like magic. Last edited: 27-May-13 10:00 AM

beautifool · May 27, 2013 9:41 AM

अम्रिका बस्दा बस्दा वाक्क भएर म पनि नेपाल गएर घ्यूकुमारी खेती गर्ने सोच्दै थिए .... नेपालमा त हुनु नहुनु सबै भैसकेको रहेछ ... तर पनि म अझै आशावादी छु ... उचित बजार व्यवस्था, उचित जातीको छनौट र सानो क्षेत्रबाट सुरु गर्न सक्यो भने अझै पनि यसमा संभावना छ जस्तो लाग्छ .... नेपालमा घ्यूकुमारी खेती सम्बन्धी नालिबेली बाडेकोमा धर्केलाई धन्यवाद !

Geology Tiger · May 27, 2013 9:59 AM

 What a scam! How could people do such things playing with someone's hardworking money, son of guns

Gorikopoi · May 27, 2013 6:05 PM

    हचुवाका भरमा खेती घिउकुमारी र स्टेभिया - गिरिराज त्रिपाठी  अहिले किसानहरू बिस्तारै नयाँ खेती प्रणालीमा आकषिर्त भइरहेका छन्। तर, त्यसले जोखिम बढाइरहेको छ। घिउकुमारी र स्टेभियामा जस्तै। उत्पादन त गर्ने तर त्यसको बजार कहाँ हो ? त्यसको ग्यारेन्टी छ कि छैन ? उत्पादनको सम्बन्ध उद्योगसँग छ कि छैन भन्ने अहिलेको अहं प्रश्न हो। व्यावसायिक रूपमा जानका लागि हाम्रो उत्पादन गुणस्तरीय हुनुपर्छ,  प्रविधि पनि उच्चस्तरको चाहिन्छ।  यसको ठीक उल्टो छ, घिउकुमारी र स्टेभियामा। उत्पादनको गुणस्तरको ग्यारेन्टी कसरी र कसले गर्ने भन्ने अर्को महत्त्वपूर्ण पक्ष हो। हाल स्टेभिया उत्पादनमा चीन संसारमै अग्रणी स्थानमा छ। चीन यसको औद्योगिकीकरणमा गइसक्यो। जापानले चीनबाटै स्टेभिया आयात गर्छ। हालको अवस्थामा हामी चिनियाँ बजारसँग गुणस्तर र मूल्य दुवैका हिसाबले प्रतिस्पर्धा गर्न सक्दैनौँ। अहिलेको ढंगले उत्पादन विदेश निर्यात हुने कुरामा विश्वास गर्न सकिँदैन। गुणस्तरको प्रत्याभूति त्यसको पहिलो सर्त हो। अहिले न हाम्रो उत्पादन विदेश निर्यात हुने गुणस्तरको छ, न त त्यसको नेपाली बजारमा सम्भावना सुनिश्चित गरिएको छ।  नेपालमा उत्पादनमा भइरहेको स्टेभियाको गुणस्तर कमसल छ। कतिपय किसानले त झन् कमसल खालको स्टेभिया लगाइरहेका छन्। त्यसका निम्ति सरकारी अनुसन्धान निकाय या विश्वविद्यालयले चासो देखाउनुपर्ने हो। तर, दुवैले त्यस्तो काम गरेका छैनन्। घिउकुमारी पहाडी भेगमा र अरू बाली उत्पादन नहुने जमिनमा पनि भएको देखिन्छ। तर, व्यावसायिक रूपमा हामीले प्रतिस्पर्धा गर्न सक्ने कुनै आधार देखिँदैन। अहिले जसरी भारतबाट बिरुवा ल्याइरहेका छौँ, त्यसको जाँच गर्ने पद्धति पनि हामीले लागू गरेका छैनौँ। विदेशबाट बिरुवासँग हामीले रोग पनि ल्याइरहेका हुन्छौँ। नेपालमा भित्रिएका धेरै वनस्पतिजन्य रोग विदेशबाटै भित्रिएका हुन्। जस्तो ः आलुमा लाग्ने रोग बंगलादेशबाट आएको हो। सुन्तलामा लाग्ने रोगहरू पनि विदेशबाटै भित्रिएका हुन्।  नेपाल भित्रिएका स्टेभियाका अधिकांश बिरुवा कि कटिङ्बाट निकालिएका बिरुवा छन् कि माउ बोटबाट थारेर। जसले गुणस्तरीय उत्पादन दिन सक्दैन र बिरुवा छिट्टै बूढो हुन्छ। यसैले किसानहरू बिरुवामा धेरै ठगिएका छन्। सरकारले जिम्मेवारी नलिँदा कृषि क्षेत्रमा धेरै विसंगति निम्तिएका छन्। सरकारले कुनै जिम्मेवारी लिइरहेको छैन। यो पंक्तिकारले नै पछिल्ला आठ महिनायता नेपालभित्र स्टेभियाको बिरुवाका कति प्रकार रहेछन् भनेर संकलन गररिहेको छ। झन्डै १० प्रकारका बिरुवा त संकलन भइसके। तीमध्ये कतिपय अत्यन्तै कम गुणस्तरका छन् भने कतिपयमा गुलियोको मात्रा भए पनि अन्तर्राष्ट्रिय बजारमा पुग्ने गुणस्तर छैन।  घिउकुमारी र स्टेभिया विदेश निर्यात गर्नका निम्ति पनि पहिले गुणस्तरका आधार तयार हुनु जरुरी छ। हाम्रो उत्पादनको गुणस्तरको आधार के हो भन्नेबारे सरकार वा विश्वविद्यालयका अनुसन्धान निकायले अध्ययन र अनुसन्धान गर्नु जरुरी छ। अहिले उत्पादन भइरहेको स्टेभियाको बिरुवामा स्टेभियोसाइट र रेभिडियोसाइट 'ए'को मात्रा कति छ भन्ने कसैलाई थाहै छैन। हल्लाका भरमा किसानहरू ठगिने शृंखला जारी छ। भारतबाट सस्तोमा बिरुवा किन्ने र नेपालमा ल्याएर महँगोमा बेच्ने काम केही वर्षयता निकै फस्टाइरहेको छ। यसलाई नरोक्ने हो भने कृषि क्षेत्रबाट धेरै निरुत्साहित हुनेछन्।  घिउकुमारी र स्टेभिया खेतीका लागि माटो परीक्षण गरी अम्लियपन पत्ता लगाएर मात्रै पुग्दैन। माटोमा हुने क्यालसियम, फस्फोरस र म्याग्नेसियमजस्ता अन्य तत्त्वको पनि परीक्षण गर्न जरुरी हुन्छ। तर, किसानहरूले गररिहेको अन्धाधुन्ध खेतीले गर्दा बेर्ना बेच्नेले कमाउने र खेती गर्ने सधँै घाटामा जाने भइरहेको छ। केही समयअघि मात्रै भक्तपुरमा मेगा एग्रोटेकले भारतबाट बिरुवा ल्याएर गरेको झन्डै ४० रोपनी स्टेभिया खेती असफल भएको थियो। यस्ता उदाहरणबाट किसानले पाठ सिक्नु जरुरी छ। आम्दानीको लोभमा भइरहेको अन्धाधुन्ध खेतीबाट किसान कहिल्यै उँभो लाग्न सक्दैनन्। सरकारी निकायको मौनताले पनि यस्तो अन्धाधुन्ध खेतीलाई मलजल गररिहेको छ। सरकारले नीति-नियम ल्याएर व्यवस्थित नगरेसम्म केही हुनेवाला छैन। तर, नेपालमा सरकारी तवरबाट यस्तो काम हुन सकेको छैन। नयाँ खालका बिरुवाको खेती प्रणालीमा कम्तीमा सरकारी अनुमति लिने व्यवस्था गर्ने हो भने किसानको लगानी डुब्दैन। समुचित अनुसन्धानबिना हचुवाका भरमा भइरहेको स्टेभिया र घिउकुमारी खेती दिगो हुने देखिँदैन।  -त्रिपाठी त्रिभुवन विश्वविद्यालयको बायोटेक्नोलोजी केन्द्रीय विभागका सह-प्राध्यापक हुन्।)

_____ · Jun 2, 2013 12:19 PM

 जनकराज सापकोटा   बेखबर सरकार घिउकुमारी र स्टेभियामा किसान ठगिँदा पनि क्षेत्राधिकार विवादमा सरकारी अधिकारी घिउकुमारी र स्टेभियामा किसानको अर्बांै लगानी डुबिसक्दा पनि सरकारी निकाय भने बेखबर छ। किनभने, यो विषय कृषि मन्त्रालय अन्तर्गतको कृषि विभाग र वन मन्त्रालय अन्तर्गतको वनस्पति विभागमध्ये कसको क्षेत्राधिकारभित्र पर्छ भन्ने नीतिगत अन्योल कायमै छ। भन्सारबाट वनस्पति भित्र्याउँदा लाग्ने शुल्क र क्वारेन्टाइनमा असुलिने शुल्कमा कृषि मन्त्रालयकै हिस्सेदारी हुन्छ। तर, मन्त्रालयका पदाधिकारीहरू भने जडीबुटी अन्तर्गत पर्ने भएकाले घिउकुमारी र स्टेभिया दुवै आफ्नो जिम्मेवारीमा नपर्ने बताउँछन्। कृषि विभागका उपमहानिर्देशक वीरेन्द्र दाहाल भन्छन्, "यी दुवै वनस्पतिको उत्पादन, वितरण र बजारीकरण हाम्रो क्षेत्राधिकारभित्र पर्दैन। त्यो हेर्ने वनस्पति विभागले हो।" कृषि विभागका उपमहानिर्देशकद्वारा जिम्मेवार ठहर्‍याइएका वनस्पति विभागका महानिर्देशक अन्नपूर्ण दास कृषियोग्य जमिनमा ठूलो स्केलमा खेती भइरहेकाले यस विषयमा कृषि मन्त्रालय नै जिम्मेवार हुनुपर्ने भन्दै पन्छिन्छन्। भन्छन्, "वन मन्त्रालय अन्तर्गतको विभाग भएकाले यसको अधिकार वनक्षेत्रभित्र मात्रै हुन्छ।" कृषि मन्त्रालयका प्रवक्ता प्रभाकर पाठक यो विषय मन्त्रालयको म्यान्डेटभित्र नपर्ने र मन्त्रालयसँग यी दुवै नयाँ बाली हेर्ने विज्ञ नभएको लाचारी व्यक्त गर्छन्। नेपाल हब्र्स तथा हर्बल उत्पादन संघका अध्यक्ष गोविन्द घिमिरे भने जडीबुटी भनेर कृषि मन्त्रालय पन्छिन नपाउने जिकिर गर्छन्। भन्छन्, "अबार्ंैको ठगी भइरहँदा सरकार चुप लागेर बस्न मिल्दैन।" कृषिमन्त्री टेकबहादुर थापा घर्तीको भनाइ पत्याउने हो भने यस विषयमा सरकारले अध्ययन गर्नै बाँकी छ। भन्छन्, "अध्ययनपछि मात्रै के गर्ने भनेर भन्न सकिन्छ, किसानले पनि फस्नुअघि आफैँ सोच्नुपथ्र्यो।" कृषि अनुसन्धान परिषदका पूर्वयोजना तथा समन्वय निर्देशक भोलामानसिंह बस्नेत सरकारले प्रमाणित गरेर सफल हुने ठहर गरेका बालीबाहेक अन्य वनस्पतिमा गरनिे लगानी जोखिममा पर्ने औँल्याउँछन्। भन्छन्, "अहिले त्यही भएको हो। त्यसैले केही मोटाउने र किसान डुब्ने खेल चलेको छ।" कारोबारीहरूको प्रचार र प्रलोभनमा परेर घिउकुमारी र स्टेभिया खेतीमा देशभरका किसानले एक अर्ब रुपियाँभन्दा बढी रकम डुबाएको सामग्री नेपालमा प्रकाशित भएपछि झन्डै पाँच लाख रुपियाँ घाटा बेहोरेका कञ्चनपुरका किसान डम्बर बोगटी र सिन्धुपाल्चोक बाह्रबीसेका मनोज श्रेष्ठ अनि चार लाख रुपियाँ घाटा सहेका काठमाडौँ स्युचाटारका रामेश्वर भट्टराईले महानगरीय प्रहरी प्रभाग तीनकुनेमा पाम एग्रोटेकविरुद्ध लिखित उजुरी गरेका छन्। किसानलाई फोस्रा आश्वासनमा पारेर ठगेको, सम्झौताका सर्तहरू पालना नगरेको, महँगो मूल्यमा बिरुवा बेचेको र दक्ष प्राविधिक छन् भन्दै झुक्याएको उनीहरूको उजुरीमा उल्लेख छ। उजुरीकर्ता बोगटी भन्छन्, "न्याय नपाएसम्म लडिरहन्छौँ।" महानगरीय प्रहरी वृत्त नयाँबानेश्वरका प्रहरी नायब उपरीक्षक भीम ढकाल पाम एग्रोटेकका अध्यक्ष रुद्र गिरीलाई बोलाएर अनुसन्धान गररिहेको बताउँछन्। घिउकुमारी र स्टेभियाको खेती गरेर डुबेका दाङ, पोखरा र नुवाकोटका किसान पनि नेपालको सम्पर्कमा आएका छन्। नुवाकोटको थानापतिमा १७ महिनायता चार रोपनीमा गरएिको घिउकुमारी खेतीमा तीन लाख रुपियाँभन्दा बढी खर्चिसकेका रामचन्द्र थपलिया किसान फस्दा पनि सरकार जिम्मेवार नभएको गुनासो गर्छन्। नेपाल हब्र्स तथा हर्बल उत्पादन संघका अध्यक्ष गोविन्द घिमिरे घिउकुमारीको खेती र त्यसको जुुस व्यवसायमा लागेका पुराना व्यवसायी हुन्। ०६० देखि उनले सुरु गरेको घिउकुमारीको जुसको व्यापार करबि करबि बन्द भइसकेकाले चिउरी र बेलको जुस उत्पादन र बिक्रीवितरणमा सक्रिय छन्। उनको अनुभवमा भारतबाट आउने सस्तो मूल्यको जुससँग महँगो लागतमा उत्पादन हुने नेपाली उत्पादनले प्रतिस्पर्धा गर्नै सक्दैन। भन्छन्, "नेपाली घिउकुमारीको न गुणस्तरको ग्यारेन्टी गर्न सकिने अवस्था छ, न जुस उत्पादनका लागि योग्य प्रशोधन केन्द्र नै छन्।"  खरिद भारु १, बिक्री नेरु ४०   नेपालमा घिउकुमारी र स्टेभियाका बिरुवाको कारोबारमा संलग्न भरतपुरस्थित पाम एग्रोटेकले भारतबाट एक भारु (भारतीय रुपियाँ)मा बेर्ना ल्याएर नेपालमा किसानहरूलाई ४० रुपियाँमा बेचिरहेको खुलासा भएको छ। भारतको राजस्थानस्थित राज हर्बल एन्ड बायोटेकबाट पाम एग्रोटेकले उक्त मूल्यमा विभिन्न मितिमा बिरुवा किनेको भैरहवा भन्सार कार्यालयको तथ्यांकले देखाउँछ। विसं ०६८ र ०६९ का विभिन्न मितिमा उक्त कम्पनीले पाँचपटक भैरहवा भन्सार कार्यालयबाट एक रुपियाँ भारुका दरले बिरुवा भित्र्याएको देखिन्छ। विभिन्न मितिमा उक्त कम्पनीले १ लाख ५० हजार घिउकुमारीका बिरुवा र १ लाख ६ हजार स्टेभियाका बेर्ना नेपाल भित्र्याएको भन्सारको तथ्यांक छ ।   http://www.ekantipur.com/nepal...

_____ · Jun 9, 2013 6:39 AM

आज बिस्वमै साना किसान बिल्लीबाठ भएका छन् | भारतमा कटन उद्योगमा लागेका किसान हरुले आत्महत्या गरेको कुरा साझा पाठक ले बिर्सनु भएको छैन होला ? हचुवा कै भरमा देश चलेको छ अरु कुरा के गर्नु ?

Magorkhe1 · Jun 9, 2013 6:48 AM

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion

You might be interested in...

Recent Classifieds View all
Upcoming Events View all
Service Providers View all