कथा– घृणा

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

लेखक : सुबिन भट्टराई source: www.ekantipur.com/kantipur/news/news-detail.php बूढीका आँखा त्यसैकी बुहारीले सधैँ बुनिरहने सुइटरको काँटाले रोपिदिनू जस्तो लाग्छ । हेर्न पनि सधैँ एकनाशले आफ्ना आँखाका नानीसमेत नहल्लाई सुइरोले झैँ हेर्छे । बर्षौदेखि आफ्नो घरको बार्दलीबाट मेरो आँगनमै एकनाशले हेरिरहनु नै उसको दिनचर्या बनेको छ । म कलेज जाने बेलामा हेर्छे । कलेजबाट फर्केर आएपछि पनि हेर्छे । भित्र पस्दा हेरिरहेकी हुन्छे । बाहिर निस्किँदा हेरिरहेकी हुन्छे । बूढीको घर र मेरो घर ठ्याक्कै आमनेसामने छ । 'टाढै बाबू ?' देखेसम्म हरेकपल्ट बूढी मलाई जानेबेलामा एकपल्ट यो सोधेरै छाड्छे । त्यसैले मलाई भरसक बूढी नभएको मौकामा मात्र घरबाट बाहिर निस्किन मन लाग्छ । तर बूढीको स्वभाव कस्तो भने ऊ घरी घरी मात्र आफ्नो बार्दली छाड्छे । चिया र फलफूलसम्म त ऊ बार्दलीमै बसेर खान्छेे । त्योभन्दा माथ्लो स्तरको खानेकुरामात्र  भित्र पसेर खान्छे । मलाई लाग्छ, बुहारीले बाहिरै ल्याइदिए ऊ खुसीखुसी मेरै घरतिरै हेर्दै हसुर्दी हो ।  अतः प्रत्येकपल्ट आफ्नो घरबाट बाहिर निस्कने बेला बूढीले गर्ने प्रश्न सुनेर मेरो रगत उम्लिन्छ ।' घरमा कोही आउनै हुँदैन ।  'को आ'को बाबु ?' भनेर सोध्छे । एकपल्ट 'तलाइँ के चासो बूढी ?' भन्ने जवाफ फर्काउन मन लाग्छ । तर म सामाजिक हुनुको ढोङ्ग गर्दै लुत्रुक्क परेर नाटकीय आवाजमा सही सही जवाफ दिन्छु । अनि एकपल्ट आफैँले आफैँलाई कायर भनेर उक्साउँछु । तर त्यो स्व-उक्साहट मेरो सामाजिक हुनुको अभिनयसँग पराजित अनुभव गर्छ । र म बूढीलाई एउटा तिरस्कारको हेराइ हेरेर काम चलाउँछु । लाग्छ, उसलाई मेरो आँगनमा म कतिबेला निस्किन्छु भनेर प्रतीक्षा नै रहेको हुन्छ । दाँत मोल्ने बेलामा मलाई आँगनमा निस्केर टहल्दै दाँत मोल्नुपर्छ । बूढी, त्यतिबेला पनि आफ्नो बार्दलीमा भएको कुर्सीमा बसेर मैले दाँत मोल्दै गरेको एकटकले हेरिरहन्छे । मुखभरि थुपि्रएको मञ्जनले बूढीको मुखैमा थुकिदिउँ पनि लाग्छ ।  मलाई कुनै कोणबाट मन पर्दैन बूढी । बूढीको त्यस्तो बानी देखेर होला मलाई समस्त बूढाबूढीको जातप्रति नै घृणा लाग्न थालेको छ । कस्तो चासो राख्नुपरेको अर्काको कुरामा ? एकदिन त बूढीले हद नै गरी । सधैँ कलेज जाँदा गेटबाट बाहिर निस्केर म पश्चिमतर्फको बाटो लाग्थेँ । त्यो दिन पूर्वपट्टकिो बाटोमा घर भएको एकजना परिचितलाई भेटेरै जानुपर्ने काम थियो ।  निस्कने बेलामा बूढी मलाई हेरिरहेकी थिई । सधैँझैँ 'टाढै बाबू ?' भन्ने प्रश्न सोधी । मैले आंशिक झर्किँदै सीधा जवाफ दिएँ । तर म पूर्वतिर किन लागेँ, यो बूढीले सोधिन । यस्तो पनि भएको थियो, बूढीले त्यो प्रश्न सोध्न नभ्याओस् भनेर हतार हतार म त्यो बाटोतर्फ दौडिसकेको थिएँ ।  धन्न ! यो कुराको स्पष्टीकरण बूढीलाई दिनुपरेन । मन ढुक्क थियो । तर बेलुकी र्फकँदा बूढी उस्तै पोजमा बार्दलीमा बसिरहेको फेला परी । 'आज किन यताबाट नगएर उताबाट बाबु ?' सोध्न भ्याइहाली । कन्सिरी तात्यो । दिनभरि यै सोध्न पर्खेर बसेजस्तो गरेर बूढीले मलाई यो सोधी । एकपल्ट गएर बूढीको जगल्टा उखेल्नुजस्तै लाग्यो । तर रिसले म नसुन्याझैँ गरेर छिटोछिटो आफ्नो घरभित्र छिरेँ ।  अब बूढीले गाउँ हल्लाउँदी हो । 'फलानाको छोरो आजकाल बोल्दा पनि नबोली हिँड्छ ।' एकपल्ट त्यस्तै भएको थियो । बूढीको हरेक प्रश्नको उत्तर दिँदादिँदा हैरान भइसकेको म, एक दिन नबोली हिँडिँदिएको थिएँ । भोलि, पर्सिपल्ट गाउँमा फलानाको छोरो ठूलो भो रे भन्ने हल्ला व्याप्त । घरका सदस्यले मलाई गाली गरेपछि पो थाहा पाएँ ।  'कसैसँग बोल्दिँदा तँ ठूलो हुन्छस् ?' म के भनूँ ? त्यो बूढीसँग अरू बेला बोलेकै छु नि ! एकैपल्ट नबोलेको त हुँ ! घरी घरी त्यो बार्दलीमा बूढी नहँुदा मलाई विछट्ट आनन्द लाग्छ । आँगनमा गएर खेलूँ खेलूँ लाग्छ । कुटायममा भए पनि ब्रस गर्न मन लाग्छ । हावाको स्वाद लिन मन लाग्छ । तर हतपत बूढी मलाई त्यो सुख दिन कहाँ तयार देखिन्छे ? उसलाई त आफ्नो बार्दलीमा तैनाथ रहेर मेरो सम्पूर्ण गतिविधिमाथि चियो राख्नु छ । म कहाँ जान्छु ? कुन बाटो जान्छु ? किन जान्छु ? उसलाई सब चाहिन्छ । ऊ आफ्नी बुहारीसँग बाझ्दा 'म कान नसुन्नेलाई...,' वा 'म आँखा नदेख्नेलाई...' भनेको म आफ्नो आँगनबाट सुनिरहेको हुन्छु । तर उसका आँखा चुस्त छन् मेरो गतिविधि नियाल्न । उसका कान सधैँ सुनिरहन्छन् मेरो घरको गेट बजेको । मेरो घरमा कोको किन आउँछन् बूढी सब जानकारी बरोबर पाई नै रहेकी हुन्छे । हो, यसैले त म घृणा गर्छु त्यो बूढीलाई । म मनमनै बूढीलाई निकै सराप्ने गर्छु । 'मर्न नसकेकी बूढी,' 'अलच्छिने...' आदि आदि । साँच्चै म बेला बेलामा बूढी मरेको कल्पना गर्छु । कति आनन्द आउँदो हो ! कति हलुको हुँदो हुँ म त्यस दिन ! वर्षौँदेखि बूढीले भन्दै आएकी छे, 'अब कति नै बाँच्छु र ? डाँडामाथिको घाम ।' हो डाँडामाथिको घाम । तर यस्तो लाग्छ, पश्चिमको डाँडामाथिको घाम नभई पूर्वको डाँडामाथिको घाम हो बूढी । लाग्छ बूढीलाई अझै धेरै बाँच्नु छ । मेरा धेरै गतिविधिहरूको चियो नराखी बूढीलाई मर्नु छैन । र बूढी कहिल्यै मर्दिन । न मभित्रको बूढीप्रतिको घृणा नै मर्छ । मर्छ त केवल बूढी मरोस् भन्ने मभित्रको आस । बूढीले मेरो अर्थोक केही बिगारिदिएकी छैन जसका लागि म बूढीलाई यतिविधि घृणा गरूँ । मलाई आफूभित्र भएको घृणाको परिमाणदेखि डर लाग्छ कहिलेकाहीं । यो यतिविधि घृणा केको द्योतक हो ? कोही कसैलाई यतिविधि घृणा गर्छ र ? आफैँ पहिल्याउन असमर्थ छु । यसर्थ मेरो मनको एउटा कुनोमा बूढीप्रति भएको यो भावप्रति म कहिलेकाहीं स्वयम् क्षुब्ध हुन्छु । यो के ? कतै म ठूलो पाप त गरिरहेको छैन ? बूढाबूढीलाई कत्रो सम्मान दिने गर्छ यो समाज ? देशले नै ज्येष्ठ नागरिक भत्ता दिने गरेको छ । गाडीमा यात्रा गर्दा बूढाबूढी उभिएका छन् भने, जवानहरू जुरुक्क उठेर उनीहरूलाई सिट छाडिदिन्छन् । जता पनि सहुलित, सम्मान र सहयोग पाउँछन् उनीहरू, केवल उनीहरूको उमेरकै कारण । तर म ? म त केवल एकोहोरो घृणा मात्र गरिरहेछु । Last edited: 23-May-13 12:30 PM

Rudramati · May 23, 2013 12:27 PM · 4,847 views

2 Replies

यो सब सोचिसकेपछि पनि ममा त्यो बूढीप्रतिको धारणामा कुनै परिवर्तन आउँदैन । बूढाबूढीको बुद्धि नष्ट हुँदै जान्छ रे । बुझेको छु । तर पनि मलाई त्यो सत्य बुझेर त्यस बूढीप्रतिको व्यवहारमा कुनै परिवर्तन ल्याउन मन लाग्दैन । 'बूढी चाँडोभन्दा चाँडो मरोस्,' मनमा यही भाव निरन्तर विद्यमान छ । बूढी दिन बिराएर मेरो घरमा पनि आउँछे । नआओस् पनि किन ? गुलियो चिया खान पाउँछे । पाक्दै गरेको तरकारी र अचार चाख्न पाउँछे । बूढीकै भाषामा भन्दा 'उसकी बुहारीले बनाएको भन्दा मीठो' खान पाउँछे । तर सबभन्दा ठूलो कुरा बुहारीका बद्ख्वाइँ गर्न पाउँछे । खूब दोस्ती छ बूढीको मेरा घरका महिला सदस्यसँग । दोस्ती नहोस् पनि किन ? बूढीले आफ्नी बुहारीलाई तथानाम गर्दा आगोमा घ्यू थप्ने काम गर्न जो पाइन्छ ! तर पुरुष सदस्य कोही पनि बूढीलाई फुटेका आँखाले देख्न सक्तैनन् । भाउजूहरू बूढीलाई मज्जैले उकासिदिन्छन्, 'हजुर त साख्यै हाम्रै आमाजस्तै लाग्छ । एकदिन आउनुभएन भने पनि कस्तो शून्य लाग्छ !' अनि निस्कने बेलामा सबैजनाजसोको कोठा कोठामा पस्दै 'गएँ है बाबु,' वा 'गएँ है नानू' भन्दै चियो गर्ने निहुँले संस्कारी हुनुको ढोङ्ग गर्छे । म सकेसम्म बूढीलाई मेरो कोठामा नपसोस् र चियो गर्ने अवसर ननिक्लोस् भन्ने हेतुले बूढी आफ्नो कोठामा आउँदै गरेको भेउ पाउनासाथ ट्वाइलेटतिर लस्किहाल्छु । lll .....र एकदिन बूढी मर्छे । यता धेरैदिनदेखि बूढी अस्वस्थ थिई । बूढीलाई दम थियो रे । गाउँघरतिरको हल्ला । बूढीलाई वीर हस्पिटलमा आईसीयू मा भर्नै गरिएको थियो । टोलछिमेकका सबैजसो बूढीलाई हेर्न गइरहेको चर्चा भने म निरन्तर सुनिरहेको थिएँ । मलाई लागिरहेथ्यो, बूढीले चाहिने भन्दा बढ्तै सहानुभूति पाइरहेकी छे । मेरा घरका पनि सबै सदस्य लावालस्कर लागेर फलफूल, हर्लिक्स आदि बोकेर गएको म जानकारी पाइरहेको थिएँ ।&nbsp; 'तँ पनि जा एकपल्ट, अब अन्तिमैजस्तो छ । फेरि देख्न नपाउलास् !' एकपल्ट मलाई पनि यसो भनियो । म भने यता नभएको एक्जाम तेस्र्याएर आफू बेफुर्सदी भएको बताइरहेको थिएँ ।&nbsp; 'फेरि देख्न नपाउलास् ।' आहा ! यो सुनेर चैँ मनमनै रमाएँ । कति आनन्द हुन्थ्यो होला बूढीलाई फेरि देख्न नपाए । उसै पनि बूढी हस्पिटलाइज भएदेखि मलाई मेरो घरको आँगन १९४७ पछिको भारतको भूमिझैँ लागिरहेथ्यो । 'एक्जाम छ' भन्ने कुरा सुनेर चैँ सबै चुप ।&nbsp; अनि एकदिनमध्ये दिउँसो १२ बजे बूढी खसेको जानकारी घरमा आइपुगेछ ।&nbsp; मलामी जानुपर्ने भो । मलामीचैँ खुरुक्क गइदिएँ । कुनै बहाना बनाइनँ । अबउप्रान्त बूढीको चियो र चासोको झन्झटमा फस्नुपर्नेछैन । अन्तिमै हो ।&nbsp; सिधै आर्यघाट गएँ । बूढीको दाहसंस्कारको अन्तिम तयारी हुँदै रै'छ । मनमा उमङ्ग थियो । त्यो बाहिर पनि प्रकट होला कि भन्नेमा धेरै नै चनाखो भइरहेँ । अनुहारमा जबरजस्ती गाम्भीर्य सोहोरेर आफूलाई त्यो माहोलमा बस्नयोग्य तुल्याउने प्रत्यत्न गर्दै थिएँ । 'मैले दुःखी हुनैपर्छ, यो दुःखको क्षण हो ।' भनेर आफूलाई भित्रैदेखि दुःखी तुल्याउने चेष्टा गरिरहेको थिएँ ।&nbsp; केही छिनमा म भित्रैदेखि साँच्चै दुःखी नै पो हुन थालेँ ।&nbsp; 'ज्या ! बूढी मरी त ! कठैबरी च्व च्व !' एकाएक बूढीप्रति सहानुभूति पो आयो है ! म मलामी आएका एक एक मान्छेलाई नियालिरहेको थिएँ । सब दुई वा तीनजनाको समूहमा एकदमै नर्मल भएर कुराकानी गरिरहेका थिए । कोही कोही हाँसिरहेका पनि थिए । बूढीकै छोरा बुहारी पनि आमा/सासू मरेको पीरभन्दा पनि 'काम' सक्नुपर्ने चटारोको पीर बढी लिइरहेका थिए ।&nbsp; मैले मेरो विगत नियाल्न लागें । यसो सोचिहेर्दा पत्तो लगाएँ, म जीवनमा पहिलोपल्ट मलामी आइरहेको रै'छु । मलाम आउँदा के गर्छन् ? रुनुपर्ने हो कि ! मृतकका नजिकका आफन्तसित कस्तो व्यवहार गर्नुपर्छ ? केही पत्तो थिएन । त्यसैले एक किसिमले रनभुल्लमा परेको थिएँ । एक्लै कुनामा बसिरहेको थिएँ । यसो हेर्दा सब विनोदमा देखिन्थे । मचैं बित्थामा किन नचाहिँदो भावुकता सोहोरेर त्यसलाई मरेको बिरालोझैं काखी च्यापिरहेछु ? बूढीलाई जलाउन लागियो । दागबत्ती दिइसकेपछि बूढी तिहारमा केटाकेटीले पड्काउने बारुदझैं पट् पट् पडि्कन लागी । कति मीठो आवाज त्यो । म 'बूढी मरे पनि हुन्थ्यो,' भनेर सराप्थें । आज साँच्चै बूढी मरी नै । अब बार्दलीमा सुइटर बुन्ने काँटाझैं तीखो दृष्टिले हेर्दै 'टाढै बाबु ?' भनेर सोध्ने आवाजले मलाई हरेक दिन घोच्नेछैन । दिन बिराएर मेरो घरमा गुलियो चिया र पाक्दै/बन्दै गरेको तरकाली/अचार चाख्न र त्योभन्दा बढ्ता चासो राख्ने निहुँले मेरो कोठामा बूढी आउन पाउनेछैन । म फेरि फुरुक्क परें । अनि तुरुन्तै आफैंलाई धिक्कारेँ । दुःखी हुनुपर्ने ठाउँमा म किन फुर्केको ? मान्छे मर्&zwj;या ठाउँ आएर पनि कोही फुर्किन्छ । कसैले नोटिस गर्&zwj;यो भने ? मलाई गाउँभरि 'पापी, मान्छे मर्दा खुसी हुने' भनेर हल्ला फिजाइनेछ ।&nbsp; फेरि मनको तर्कनाले कोल्टो फेर्छ । मर्ने बेला भएकी बूढिया मरिन् त के ? मैले मार्&zwj;या हो र ? भित्रभित्रै खुसी हुन पनि नपाउनु ? मन यस्तै यस्तै तर्कना गर्दै थियो । बूढीको लास जल्दै थियो । एकपल्ट त्यहाँ भावुक माहोल बन्यो । बुहारीचैं रोइदिइन् । छोरो पनि आँखा पुछ्दै थियो । स्थिति ह्वात्तै मोडियो । अघि विनोदमा भएका सब मलामीहरू नाटकीय पारामा भावुक हुन लागे । म पनि सतर्क भएँ । आँसु ल्याउन सके सायद रोइदिन्थे नै हुँला । तैपनि सक्दो कनी कनी भावुक हुन खोजिरहेको थिएँ । र केहीबेरमै मनस्थितिलाई सन्तुलनमा ल्याउन सफल भएँ पनि । बस्, आँखामा आँसु थिएन । अनुहारमा हुनुपर्ने भाव भने आइसकेको थियो ।&nbsp; काम सकियो । अब त्यहाँ 'मलामी ख्वाउने' भन्ने चर्चा सुनिन लाग्यो । लौ ! मलाम आएकालाई पनि ख्वाउनुपर्ने अरे ! मान्छे मरेको ठाउँमा पनि कोही खान्छ ? मलामीहरू पनि खान नपाएका झैं गरी ताँती लागेर खान गए । 'खाइदिनैपर्छ ।' भित्रभित्र खान पाइँदै छ भन्दै फुर्कदै गइरहेका हुँदा हन् । तर मचैं फुत्त एकातिरबाट भागें । त्यस्तो किसिमको माहोलमा मुखमा केही हाल्नै मन लागेन । घर आइपुगें । गेट खोलेर भित्र छिर्ने बेलामा बूढीको बार्दलीमा आँखा परिहाल्यो ।&nbsp; 'कता गएर बाबु ?' बूढीले मलाई यो प्रश्न गरेको जस्तो लाग्यो । 'तपाईंको मलामी गएर आएको ।' मनभित्र यस्तो कुरा फुरेछ । ताज्जुब ! एक्लै हाँसें । घरभित्र छिरें । जनै फेरें । नुहाएँ । बाहिर आँगनमा निस्कें । किन किन निस्किउँ निस्किउँ लाग्यो । आँखा बूढीकै बार्दलीमा गएर ठोक्कियो । रित्तो बार्दली । किन किन बूढीको घरको त्यो रित्तो बार्दली देखेर पहिलोपल्ट मजा आएन । शून्य लाग्यो । बाहिर निस्केर ब्रस गर्न थालें । हावाको स्वाद अघाउँन्जेल लिन थालें । कति निस्किनु बाहिर ? कसैले भित्र जा भन्दिए हुन्थ्योजस्तो लाग्न थाल्यो । <span style="text-align: left; text-transform: none; background-colo

Rudramati · May 23, 2013 12:29 PM

अनि निकै दिनपछि मस्तिष्कमा एउटा चेत आयो । बूढीलाई म धेरै घृणा गर्थें । चरम घृणा । त्यसमा पनि एउटा मजा रै'छ । फेरि जीवनको उही थोत्रो दर्शनको आत्मबोध हुन्छ । बूढी थिई । घृणा थियो । मजा थिएन । आज बूढी छैन । घृणा पनि छैन । र मजा पनि छैन । मेरो जीवनबाट मैले धेरै घृणा गर्ने एउटा मान्छे यस धरतीबाट शून्यमा विलीन भएको छ । प्रेम गर्नलाई मात्र कोही चाहिन्छ र ? घृणा गर्ने कोही भएन भने पनि त जीवन खल्लो हुँदो रहेछ ।&nbsp; र आजकाल साँच्चै म बूढीलाई खूब मिस गर्न थालेको छु ।&nbsp; प्रकाशित मिति:&nbsp;२०६९ आश्विन २७ १०:५३

Rudramati · May 23, 2013 12:29 PM

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion

You might be interested in...

Recent Classifieds View all
Upcoming Events View all
Service Providers View all