गरीव देशको धनी भनेर चिनिने मन छैन –उपेन्द्र महतो, संस्थापक अध्यक्ष, गैरआवासीय नेपाली संघ जब उपेन्द्र महतो गैरआवासीय नेपालीका रुपमा विश्वव्यापी सञ्जाल बनाउने अभियानमा हिँड्न थाल्नुभयो, त्यसबेलादेखि नै आम नेपालीहरुले उहाँलाई धनी नेपालीका रुपमा चिन्न थालेका हुन् । रसियालाई कर्मभूमि बनाएर व्यवसायमा जमेका उपेन्द्रको सञ्जाल अहिले युरोप र अफि्रकाका मुख्य देशहरुमा फैलिएको छ । उहाँको सम्पत्ति कति छ भनेर अहिलेसम्म कसैले पनि किटान गर्न सकेको छैन । न त उहाँ आफै यसबारे केही भन्न चाहनुहुन्छ । टेलिकम, अस्पताल, रियलस्टेट र पूर्वाधार विकाशमा अन्तराष्ट्रिय लगानीकर्ताको छवि बनाउनुभएका महतो नेपालमा एनसेलका साझेदार समेत हुनुहुन्छ । पछिल्लो समय नेपालमा खासै नयाँ परियोजनामा लगानी नगरेका उपेन्द्रसँग हालै फिलिपिन्सको राजधानी मनिलामा आयोजित एनआरएन एशिया प्यासिफिक क्षेत्रको क्षेत्रीय सम्मेलनका दौरान अनलाइनखबरका प्रधान सम्पादक धर्मराज भुसालद्वारा लगानीका योजना र आफुले भोगेका समस्याबारे गरिएको कुराकानीको अंश­ : यहाँले पछिल्लो दिनमा नेपालबाट लगानी फिर्ता गरिरहनुभएको छ, ठूलो लगानी रहेको एनसेलको सेयर पनि बेच्नुभयो । नयाँ क्षेत्रमा लगानी पनि थप्नुभएको छैन । नेपालमा लगानी गर्न डराउनु थाल्नुभएको हो ? –एनसेलमा इन्टरनल स्टक्चरमात्र परिवर्तन भएको हो सेयर बेचेको हैन । नेपालमा लगानी गर्न म डराएको पनि छैन र लगानी झिकेर बाहिर लगेको पनि छैन । नयाँ क्षेत्रमा लगानी गर्नका लागि पुरानोलाई बेचेको मात्र हो । अहिले पनि एनसेलमा तपाईको लगानी छ ? –निरजगोविन्द श्रेष्ठ सन् १९८९ देखि नै मेरा पार्टनर हुनुहुन्छ । उहाँलाई मेरो सेयर ट्रान्सफर गरेको मात्र हो, मैले पूरै छाडेको वा नेपालमा लगानी गर्नै छाडेको भन्ने हैन । एनसेलमा हामी छौं र रहिरनेछौं । एनसेलजस्तो उच्च प्रतिफल दिने कम्पनीको सेयर पनि तपाईले बेच्नुभयो । तर, नयाँ कुनै क्षेत्रमा लगानी थप्नुभएन । त्यसका आधारमा धेरै मानिसहरुले उपेन्द्र महतोले नेपालमा लगानी गर्ने भनेर गफमात्र गर्छ, आफुचाहिं नेपालको सेयर बेचेर युरोपतिर लैजान्छ भनेर टिप्पणी गर्न थालेका छन् नि ? –मेरो मुख्य उद्देश्य नेपालमा विदेशी लगानी आओस्, यहाँ रोजगारी सिर्जना होस् र नेपालको विकास होस् भन्ने हो । एउटा कम्पनीमा नाफा भयो भनेर हात बाँधेर बस्ने मेरो बानी छैन । नयाँ नयाँ क्षेत्रमा पनि विदेशी लगानी भित्राउनुपर्‍यो नि । त्यसैले चलेका कम्पनीको सेयर बेचेर नयाँमा लगानी भित्राउन कोशिस गरिएको हो । मैले नेपालको सेयर बेचेर युरोपमा लगानी गरेको छैन । युरोपमा लगानी गर्नु मेरो प्राथमिकता हैन । म त नेपाल र अफ्रिकन मुलुकहरुमा लगानी गर्न र रिस्क लिन रुचाउँछु । नेपालभन्दा निकै खतरनाक मुलुकहरुमा लगानी गरेर आइसकेको हुनाले मलाई नेपालमा लगानी गर्ने विश्वास नभएको भन्ने हैन । म एक्लैले मात्र नयाँ नयाँ क्षेत्रमा लगानी गरेर केही हुनेवाला छैन । हामीलाई परिमाणसँगै गुण पनि चाहिएको छ र नेपालमा लगानी गर्नु सुरक्षित छ भन्ने सन्देश दिन पनि हामीलाई विदेशी लगानीकर्ता चाहिएको छ । त्यसैले मेरा नयाँ प्रोजेक्टहरु आउन अलि ढीला भएको मात्र हो । तपाईं एनसेलको स्थापनादेखि नै यससँग संलग्न हुनुहुन्छ । पछिल्लो समयमा यसको लाइसेन्स किनबेचमा निकै ठूलो घोटाला भएको कुरा युरोपको एक पत्रिकाले छापेको थियो । त्यो घोटलाको मुख्य योजनाकार नै तपाई हो भन्ने टिप्पणी हुन थालेको छ नि ? –एनसेल यहाँसम्म आइपुग्यो, यो नै ठूलो कुरा हो । हामीले एनसेल लिनुअघि के-के भएको थियो भनेर हामीलाई हेर्ने फुर्सद पनि भएन र हेर्नु पनि हुँदैन । यदि केही गलत काम भएको थियो भने सरकारका निकायहरु छन् छनविनका लागि । यहाँ ठूला ठूला कर्पोरेट गेमहरु हुन्छन् । कसैलाई कुनै कम्पनी किन्न मन लाग्यो भने त्यसका बारेमा नानाभाँती लेखाइदिने र मूल्यांकन कम गराइदिने खेल हुन्छन् । युरोपका पत्रिकाले कसले के लेखे भनेर मैले टाउको दुखाइँन । किनभने यो कर्पोरेट कन्फिलक्टको एउटा अंश हो । र, हाम्रोभन्दा पनि सम्बन्धित देशको चासोको बिषय हो । अब नेपालमा कुनकुन क्षेत्रमा नयाँ लगानी थाल्दै हुनुहुन्छ ? –अहिलेको सवैभन्दा ठूलो लगानी भनेको अस्पतालमा हो । करिव १ सय मिलियन (१० अर्ब) रुपैयाँको लगानीमा काठमाण्डौंको भैंसेपाटीमा नयाँ अस्पताल बनाउने काम भइरहेको छ । ४ सय बेड क्षमताको यो अस्पताल ३ बर्षभित्र सञ्चालनमा ल्याउने लक्ष्य छ । तत्कालका लागि अस्पतालको नाम ‘आश्विन मेडिकल’ राखिएको छ । त्यस्तै हामीले ठूलो लगानीमा हर्बल उद्योग खोल्दैछौं । पहिलेदेखिकै मेरो सपना थियो कृषि क्षेत्रमा केही गर्ने । किनभने नेपालमा सरकार वा निजी क्षेत्रबाट निकै ठूलो ठूलो लगानी गरेर ब्यापक मात्रामा रोजगारी सिर्जना भइहाल्ने अवस्था छैन । सेल्फ इम्प्लाइमेन्ट नै एकमात्र उपाय हो । कृषि क्षेत्रले सेल्फ इम्प्लाइ बनाउने भएकाले मैले यस क्षेत्रमा लगानी गर्न थालेको हुँ । अस्पतालमा तपाईको एकल लगानी हो कि सामूहिक ? –दक्षिण पूर्वी एसियाका माथिल्ला स्तरका अस्पतालको नाम लिनुपर्दा यसको पनि आवोस् भन्ने योजनाका साथ हामीले काम गरिरहेका छौं । यसमा म एक्लैले लगानी गरिरहेको छु । तर, कुनै राम्रो विदेशी साझेदार भेटियो भने मिलेर काम गर्ने भन्ने योजना पनि छ । अहिले नेपालमा सुरुमै लगानी गर्न आऊ भन्दा कसैले पनि पत्याउँदैनन् । त्यसैले काम सुरु गरेर उनीहरुलाई आकषिर्त गर्न खोजिरहेका छौं । अहिलेकै अबस्थामा त नेपालमा लगानी गर्न खोज्नेहरु पनि निरुत्साहित भएर भाग्ने अवस्था छ । त्यसैले अस्पतालको निर्माण कार्य सुरु भइसकेको छ । नेपालमा यस्ता यस्ता ठूला विदेशी लगानीकर्ताले लगानी गरिरहेका छन भनेर नयाँहरुलाई आर्कषिर्त गर्न पनि हामीलाई विदेशी लगानीकर्ता चाहिएको छ । त्यसैले मैले विदेशीसँगको साझेदारीलाई जोड दिएको छु । तपाईँजस्ता अन्तराष्ट्रिय नेटवर्क र एक्सपोजर भएका बिजनेस म्यानले पनि अहिले नवधनाढ्य वर्गले तिब्र लगानी गरिरहेको स्वास्थ्य र शिक्षा क्षेत्रमै लगानी गर्न थाल्नुभयो । ठूलो स्तरका पूर्वाधार विकासका परियोजनामा तपाईहरुको संलग्नता हुनुपर्ने हैन र ? –नेपालमा सबैभन्दा सम्भावना बोकेको क्षेत्र भनेको पर्यटन हो । त्यसका लागि नेपालमा पूर्वाधार चाहिन्छ । राम्रा अस्पताल, एअरलाइन्सको नेटवर्क र राम्रा होटेल चाहिन्छन् । उनीहरुले विश्वास गर्न सक्ने अन्तराष्ट्रिय स्तरको अस्पताल नेपालमा नभएकैले मैले यसमा लगानी गर्न थालेको हुँ । नेपालमा पेट्रोलियमपछि सबैभन्दा धेरै पैसा विदेश जाने भनेकै स्वास्थ्य र शिक्षामा हो । यी चिजमा लगानी नबढाई नेपालको पैसा बाहिर जानबाट रोकिँदैन । सञ्चार, स्वास्थ्य र शिक्षा पनि मुलुकका महत्वपूर्ण पूर्वाधार हन् । हिजो एक लाइन टेलिफोनका लागि मन्त्रीको तोक लगाउनुपर्ने अवस्था थियो, कम्तिमा हामीले एनसेल ल्याएपछि त्यो अवस्था हट्यो । हर्बल उद्योगमा कुन परिमाणको लगानी हो ? –एउटा ठूलो हर्वल उद्योग स्थापना गर्दैछौं, जसमा हामीले जडीवुटी प्रसोधन र मार्केटिङको काम गर्छौं भने किसानहरुले उत्पादनको काम गर्नेछन् । नेपाल र भारत यसको मुख्य बजार हुनेछ । देशका बिभिन्न क्षेत्रमा प्रसोधन प्लान्टहरु स्थापना हुनेछन । ब्राण्डका बिषयमा छलफल भइरहेको छ । त्यसमा कम्तिमा पनि एक लाख परिवारलाई जडिबुटी खेतीमा संलग्न गर्ने योजना छ । उनीहरुले उत्पादन गरेर राम्रो मूल्यमा अन्तै बेच्न पनि पाउँछन्, यदि बिक्री भएन भने हामीले पनि किनिदिने ग्यारेन्टी गरिदिन्छौं । हर्बल उत्पादनमा संलग्न परिवारलाई प्रविधि र सीप सिकाउँछौं । मलाई के लाग्छ भने नेपालमा स्वरोजगारका लागि यो सबैभन्दा राम्रो उपाय हो । यो सफल भयो भने नेपालमा लाखौं परिवारको रोजगारीका लागि नयाँ तरिका स्थापित हुनेछ । सुरुसुरुमा तपाईले हाइड्रोमा लगानी गर्ने कुरा गर्नुहुन्थ्यो । पछिल्लो दिन एनआरएनकै सामूहिक लगानी सुरु हुन लाग्दा तपाईको व्यक्तिगत लगानी जलविद्युतमा किन रोकियो ? –जलविद्युतमा लगानी गरिरहेकै छु । व्यक्तिगतरुपमा पनि सानिमा हाइड्रोमार्फत् काम भइरहेको छ । तर, एनआरएन इन्भेष्टमेन्ट कम्पनीमार्फत् सामूहिक लगानीलाई जोड दिएका छौं । हाइड्रोमा लगानीका लागि धेरै समस्या छन् । मैले सरकारका मानिसहरुलाई सधैं के भन्ने गरेको छु भने यदि जलविद्युतको उत्पादन छिटो बढाउने हो भने यति बर्षभित्र उत्पादन भइसक्ने बिजुलीलाई धेरै पैसा दिएर किन्छु भनेर किन आकषिर्त नगर्ने ? यदि हामीलाई १० हजार मेगावाट बिजुली चाहिएको हो भने सुरुको ५ हजार मेगावाटका लागि किन दुई पैसा बढी रेट अफर नगर्ने ? त्यसो हुँदा लगानीकर्ता आर्कषिर्त हुन्छन् । नेपालमा राजनीतिक स्थायित्व छैन, सुरक्षा छैन भन्ने कुरा पनि होला । तर, लगानीकर्तालाई मुख्य चासो मैले लगानी गरेपछि नाफा पाउँछु कि पाउँदिन भन्ने हो । हामीले लगानीकर्तालाई लोभ्याउने गरी पोलिसी बनाउनुपर्छ । त्यसो भयो नेपालभित्रैबाट पनि र बाहिरबाट पनि जलविद्युतमा लगानी बढ्छ । अफगानिस्तान, इराक जस्ता देशहरुमा लगानी गर्नेहरुको लाइन छ, अनि हामीकहाँ चाहिँ लगानी गर्न कसरी असुरक्षित हुन्छ ? ती देशका तुलनामा त नेपाल स्वर्ग हो । सरकारले लगानीकर्तालाई आर्कषिर्त गर्ने केही चिज दियो भने त उनीहरु नेपालमा लगानी गर्न आउँछन् नि । सरकारले केही कामै नगरेको पनि त हैन नि । राष्ट्रिय गौरवका आयोजना भनेर केही ठूला परियोजना सूचीकृत गरेको छ, लगानी बोर्ड गठन गरेर त्यहाँमार्फत् फाष्टट्रयाक काम गर्ने भनिरहेको छ । ठूला लगानीकर्ता आकषिर्त गर्न यी काम पर्याप्त छैनन् र ? –नेपालमा लगानी बोर्ड त गठन भयो, तर जुन किसिमले सबैको ध्यान एउटै कुरामा लगाउने भनेर भनिएको थियो, त्योअनुसार भएजस्तो मलाई लागेन । लगानी बोर्ड र सरकारका अन्य निकायवीच अधिकार बाँडफाँडमा पनि समस्या देखियो । मुख्य कुराचाहिँ लगानी बोर्डले परियोजनाका विषयमा पर्याप्त तयारी नै गरेको छैन । हामीले विदेशी लगानीकर्तासँग कुरा गछौर्ं । तर, यो प्रोजेक्टमा यसरी लगानी गर्नुस् भन्ने चीज नै छैन । राष्ट्रिय गौरवका परियोजना भनेर सरकारले खाका बनाएको छैन र ? –तपाईले नै सोध्नुस् ती गौरवका भनिएका परियोजनाको कुनचाहिँ एउटा ब्रोसर बनाएको छ भनेर सरकारी अधिकारीहरुलाई । त्यसपछि तपाई आफै स्पष्ट हुनुहुनेछ सरकारले कति काम गरेको छ । प्रोजेक्टमाथि सरकारले कुनै तयारी नै गरेको छैन, खाली लगानी गर मात्र भनेर त भएन नि । तपाईजस्तो अन्तराष्ट्रिय स्तरको नेटवर्क भएको र आफै पनि बिभिन्न देशमा लगानी गरिरहेको मानिसले ठूला लगानीकर्ताहरुलाई नेपालमा लगानीका लागि उत्प्रेरित गर्नुपर्ने हो । तर, त्यस्तो हुन सकिरहेको छैन । तपाईले खासै उत्साह नदेखाएको हो कि लगानीकर्ताहरु ढुक्क हुने वातावरण नै नबनेको हो ? –हामीले पैसा लगाऊ आऊ भनेर मात्र हुँदैन । उनीहरुलाई आकषिर्त गर्नुपर्ने हुन्छ । हामीकहाँ लगानीकर्ताको कुनै कमी छैन । किनभने जुन देशमा ल एण्ड अर्डर छ, ती देशमा लगानीकर्ताको अभाव छ । त्यहाँ सबै कुराको विकास भइसकेको हुन्छ । हाम्रोजस्तो मुलुकमा प्रसस्त सम्भावना छन् । मैले आफै पनि धेरै लगानीकर्ताहरुलाई नेपाल ल्याउन प्रयास गरिरहेको छु । तर, परियोजनाहरुको विस्तृत अध्ययन र प्रतिवेदन नै बनेको हुँदैन, कसरी नाफा कमाउन सकिन्छ भन्ने खाका नै हुँदैन । मैले व्यक्तिगतरुपमा कैयौं मल्टीबिलेनियरहरुलाई नेपाल ल्याएर लगानी गर्न उत्प्रेरित गरेँ । तर, यही ठाउँमा लगानी गर भन्ने अवस्था छैन । ठूला परियोजनाहरु कि त सरकारले बनाउनुपर्यो, किबिक्रीमा राख्नुपर्यो । विदेशीहरुले त्यसमा लगानी गर्छन् । तपाईलाई त नेपालीहरुले सबैभन्दा धनी नेपाली नागरिकका रुपमा चिन्छन् । तर, यही वर्षमात्रै विनोद चौधरीलाई फोर्ब्स नामक पत्रिकाले नेपालको पहिलो बिलिनियर र सर्वाधिक धनी भनेर सूचीकृत गर्‍यो । तपाईको सम्पत्ति पर्याप्त नभएको हो कि सूचीकरणका लागि पहल नै नगर्नुभएको हो ? –विनोद चौधरी फोर्ब्सको सूचीमा पर्नु नेपालका लागि गौरवको विषय हो । यसले नेपालमा गरीवहरुमात्रै छैनन्, धनी पनि छन् भन्ने सन्देश दियो । तर, फोर्ब्सको सूचीकरणका पनि आफ्नै नियम र परिधिहरु छन् । आफैले सम्पर्क गरेर, मेरो सम्पत्ति यति छ, ल भ्यालुएसन गर भन्नुपर्छ । मैले त्यो कहिले पनि भनिँन । किनकि गरिव देशको धनी ब्यक्ति भनेर चिनिन मलाई गौरव लाग्दैन, लाज लाग्छ । त्यस्तो दिन आओस्, जुन दिन नेपाल विकासको गतितिर लम्किदै छ है, नेपालले विकासको फड्को मार्दै छ है भन्ने होस । अनि त्योबेलामा ल हामी पनि छौं है भन्नेछु । फोब्र्सले के भन्ला, अरुले के भन्ला भन्नेतिर मलाई मतलव छैन । फोर्ब्स नाम लेखाउँ भनेर कहिले पनि रहर लागेन ? –वास्तमा मलाई सुरुसुरुमा पैसा कमाउँदा जति आनन्द लाग्थ्यो, पछि त्यस्तो अनुभूति हुन छाड्यो । जब नेपालको अवस्थाबारे सोच्न थालियो, त्यसपछि आफ्नो देशको अवस्था देखेर चिन्ता हुन थाल्यो । जब नेपालीका रुपमा किन इज्जत छैन भनेर हेर्न थालियो, त्यसबेला पीडा हुन थाल्यो । यो देशलाई कसरी विकाश गर्ने भन्ने चिन्ता हुन थाल्यो । तपाई ढुक्क हुनुस, यो देशको इज्जत नबढ्दासम्म, यो देशको विकासमा अगाडि नबढ्दासम्म मेरो नाम धनी मानिसका रुपमा कतै पनि आउँदैन । तपाईले अहिले रसिया र नेपालबाहेक अन्य कुन-कुन देशमा लगानी गरिरहनुभएको छ ? –रसिया, बेलारुस, साइप्रसबाहेक अफि्रकन देशहरुतिर लगानी गरिरहेको छु । तान्जानिया, बुरुण्डी, रुवाण्डा, कंगोलगायतका देशमा पनि लगानी विस्तार गरिरहेको छु । कस्ता क्षेत्रमा लगानी गर्नुभएको छ ? –टेलिकम्युनिकेसन र रियल स्टेटमा धेरै लगानी छ । नेपालमा टेलिकम्युनिकेशन मार्केट अब साँघुरिदै गएको हो ? –नेपालमा त टेलिकम्युनिकेसनको खास बजार सुरु भएकै छैन । अहिले पनि नेपालमा सरकारले विदेशी लगानीकर्ताहरुलाई अलिकति पनि सहज बनाइदियो भने ठूलो विदेशी लगानी आउन सक्छ । कुनै पनि देशमा कम्तिमा ४/५ वटा राम्रा टेलिकम अपरेटर हुनुपर्छ । हाम्रो अहिले नेपाल टेलिकम र एनसेल न हो । अरु तीन चारवटाका लागि अझै नेपालमा मार्केट छ । एनसेल र एनटीसीको बजार विस्तार अलि सुस्त हुन्छ भन्ने अनुमान सही हैन त्यसो भए ? पटक्कै सही हैन । किनकि नेपालाम अप्टिक फाइवर, ब्रोडब्याण्ड लगायतको सर्भिस सुरु नै भएको छैन । नेपालमा ३ करोड त जनसंख्या छ, धेरै टुरिष्ट आउँछन् । बजारको कुनै अभाव छैन । एनसेलले त झन विदेशी लगानीकर्तालाई कन्पिmडेन्स बढाइदिएको छ । टेलिकममा अझै ठूला विदेशी लगानीकर्ता आउन सक्छन् । तपाई नेपाली पासपोर्ट बोकेरै हिड्नुहुन्छ ? –बिल्कुल । मैले नेपाली पासपोर्ट नै बोकिरहेको छु । कुन रंगको ? किनभने तपाईले अलिक बिशिष्ट खालको पासपोर्ट बोकेर हिँड्नुहुन्छ भन्ने चर्चा पनि हुने गरेको थियो । –आम नेपाली नागरिकले बोक्नेजस्तो हरियो रंगको पासपोर्ट नै बोकेर हिँडेको छु । कुनै बिशिष्ट प्रकारको वा फरक रंगको पासपोर्ट बोकेको छैन । - See more at: http://www.onlinekhabar.com/20...
_____ · May 23, 2013 8:19 AM · 2,339 views
Warren Buffett from Nepal.
beautifool · May 23, 2013 9:17 AM
I actually have lots of respect for this guy. This guy has never said anything about Jatiyata...keeps a low profile and keeps on doing good business.
SAP Dude · May 23, 2013 3:31 PM
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion