लिम्बुवानमा पूर्खाको थरबारे किचलो काङ्सोरे वनेम हुन् कि खेवा ? १ जेठ, धरान । लिम्बुवानका ऐतिहासिक सेनापति काङ्सोरे कुन थरका लिम्बू थिए भन्ने विषयमा यतिबेला लिम्बू समुदायमा विवाद देखिएको छ । भर्खरै बजारमा आएको पुस्तक ‘हज्सन पाण्डुलिपिमा गोर्खा-खम्बुवान-लिम्बुवान युद्ध’मा अर्जुनबाबु माबुहाङले काङ्सोरेलाई वनेम लिम्बु भएको उल्लेख गरेपछि विवाद शुरु भएको हो । माबुहाङको पुस्तकले भ्रम फैलाएको भन्दै खेवा वंशावली संकलन तथा प्रकाशन समितिले काङ्सोरे खेवा जातिका पूर्वज वीर लिम्बुवानी सेनापति भएको दाबी गरेको छ । समितिले १५ वर्षअघि नै खेवा वंशावलीमा काङ्सोरे खेवाका पूर्वज भएको तथ्य प्रकाशित गरिसकेको भन्दै विज्ञप्ति जारी गरेर विरोध जनाएको छ । लेखकले भने आफूले उल्लेख गरेको तथ्य गलत नभएको दाबी गरेका छन् । पुस्तकमा माबुहाङले हज्सन पाण्डुलिपिमा उल्लेखित सबै याक्थुङवा (लिम्बू) हरुले लडाइँ लडेको तथ्यलाई समेत बंग्याएर एउटा वंशले मात्रै लडेको भ्रम फैलाएको खेवा वंशावली संकलन तथा प्रकाशन समितिको आरोप छ । माबुहाङले हज्सन पाण्डुलिपिको अपव्याख्या गर्दै लिम्बू-गोर्खा युद्ध बाह्रबिसे, धुपु, स्याबुन, वाना जस्ता ठाउँहरुमा भएको हवाला दिँदै गोर्खा-लिम्बुवान युद्ध अरुण-सभाको दोभानमा भएको र इतिहासकार इमानसिं चेम्जोङबाट अरुण-सभा दोभानमा बाटो माथि रघुराना र बाटोमुनि कांसोरेको चिहान रहेको तथ्यलाई समेत बंग्याएर उक्त समाधिस्थलसमेत अमूक बंशमा पार्नकै लागि बाह्रबिसेको कथित सभा दोभानमा भएको भ्रम फैलाएको आरोप लगाएको छ । बाह्रबिसेमा लंकुवा खोला, सभाखोला र भोटी खोलाको त्रिवेणीलाई समेत कांसोरे उक्त वंशमा पार्नकै लागि नियोजितरुपमा ‘सभा दोभान’ बनाएको समितिका अध्यक्ष लोकेन्द्र तिगेलाले दाबी गर्नुभयो । उहाँले विज्ञप्तिमा भन्नुभएको छ ‘हामी खेवा जातिको अनुमतिविना हामीलाई होच्याउनेखालका किर्ते कागजातहरु समेत पुस्तकमा प्रकाशित गरेका छन् । यसर्थ सस्तो लोकपि्रयताका लागि यस्तो कार्य नगर्न नगराउन सम्बन्धित तथाकथित लेखकलाई सचेत गराउन चाहान्छौं ।’ माबुहाङसंगै सहलेखन गरेका मुन्धुमविद भरत तुङघङले कांसोरेका बारेमा र खेवा वंशलाई अपमानित गर्ने कागजात पुस्तकमा लगाउने कुरामा सहमत नहुदा नहुँदै राखिएको विज्ञप्तिमा दाबी छ । माबुहाङका पुस्तकमा यसअघि लेखक एवं मुन्धुमसावा रणध्वज लिम्बू (सिरेङ चोङबाङ) ले केही महिनाअघि पत्रकार सम्मेलन गरेर माबुहाङले पाण्डुलिपि चोरेको आरोप लगाएका थिए भने वि.सं.०६३ सालमा नक्कली लालमोहरलाई सक्कली लालमोहर भनी आफ्नो पुस्तकमा प्रकाशित गरेर झुटो इतिहास पढाएको आरोप समेत उनीमाथि लगाइएको थियो । लेखकको प्रतिक्रिया पुस्तकका अनुवादक माबुहाङले भने त्यो कितावमा पाण्डुलिपीसमेत उल्लेख गरिएको बताउँदै त्यही पढे वास्तविकता पत्ता लाग्ने दाबी गरेका छन् । ‘हामीले कपोलपल्पित गर्ने कुरै हुँदैन, पाण्डुलिपिमा के लेखिएको छ, त्यो हेरे भैहाल्छसाथीहरुले पनि अनुसन्धान गरे हुन्छ ।’ माबुहाङले अनलाइनखबरसँग भने- ‘पाण्डुपिपि र मुन्धुम कसैको निजी हुँदैन, त्यसैले यसलाई कसैले चोरेको आरोप लगाउनु हास्यास्पद कुरा हो । आफूले ०६३ मै काङसोरे वनेम हुन् भनेर लेखिसकेको र इतिहासकार रमेश ढुंगेलले उनलाई भोटे हो भनेर हिमालमा लेखेको माबुहाङले बताए । - See more at: http://www.onlinekhabar.com/20...
_____ · May 15, 2013 5:50 AM · 1,472 views
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion