नागरिकता लिन खोज्ने २२ भारतीयको सिफारिस रद्द

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

  नागरिकता लिन खोज्ने २२ भारतीयको सिफारिस रद्द   (1 Vote)   1 2 3 4 5       कान्तिपुर संवाददाता २           गुलरिया, वैशाख ३१ - वंशजका आधारमा नागरिकता वितरण थालिएपछि झूटो विवरण पेस गरी नागरिकता बनाउन खोज्ने २२ जना भारतीयको सिफारिस रद्द गरिएको छ । आमाको नामबाट नागरिकता प्राप्त गर्न भारतबाट आएका २२ जनाले गुलरिया नगरपालिकामा सिफारिसका लागि निवेदन दिएका थिए । विवरण नमिलेपछि उनीहरूको सिफारिस रद्द गरिएको हो । आमाका नामबाट नागरिकता सिफारिस माग गरेकाको विवरण नमिलेपछि रद्द गरिएको नगरपालिकाका नायब सुब्बा विश्व अधिकारीले जनाएका छन् । भारतीयसँग वैवाहिक सम्बन्ध भएकाको सन्तानले नागरिकता प्राप्त गर्न झूटो विवरण पेस गर्न थालेपछि प्रशासनले उनीहरूमाथि निगरानी राख्न नगरपालिका र गाविसलाई निर्देशन दिएको छ । नागरिकता नबनेपछि कतिपयले भारतीय जिल्ला अधिकारी (डीएम) बाट भारतीय नागरिकता त्यागेको पत्रसमेत बनाउन लागेको स्थानीयले बताए । झूटो विवरण पेस गरी नागरिकता बनाउन लागेकी एक भारतीय महिला जिल्ला प्रशासनको हाताबाट फरार भएकी छन् । भारतीय नागरिकसँग वैवाहिक बन्धनमा बाँधिएकी गुलरिया ६, सुहेलवा घर बताउने रेश्मा दर्जी अविवाहित भएको भन्दै सिफारिससाथ प्रशासनमा पुगेकी थिइन् । उनको विवरण झूटो भन्दै स्थानीयले उजुरी दिएपछि फरार भएको प्रमुख जिल्ला अधिकारी मानबहादुर विकले बताए । प्रजिअ विकले झूटो विवरण पेस गरी नागरिकता बनाउन खोज्नेलाई पक्राउ गर्न सम्बन्धित निकायलाई निर्देशन दिएको जनाए । ०६३ सालको टोलीमा झूटो विवरण पेस गरी नेपाली नागरिकता बनाएकाहरू भारत बस्दै आएका छन् । उनीहरू झूटो विवरण पेस गरी नागरिकता बनाएको र अहिले आफ्ना सन्तानलाई वंशजका आधारमा नागरिकता बनाउन नेपाल पठाउन थालेको महम्मदपुर १ का आलाउद्दीन शेषले बताए । ०६३ मा झूटो विवरण पेस गरेका पाँच भारतीयको गृह मन्त्रालयले केही समयअघि नागरिकता खारेज गरिसकेको छ । गुलरिया ७ का रामप्रसाद लोनिया, गुन्नु गडरिया, गुलरिया १२ का चेतराम भुर्जी, मन्साराम भुर्जी र वैद्यनाथ भुर्जीको नागरिकता खारेज गरेको थियो । यस्तै गुलरिया १४ का सञ्जय सिंहको नागरिकता कारबाहीका लागि गृह मन्त्रालयमा पठाएको छ । प्रशासन कार्यालयका अनुसार सिंह भारतीय नागरिक भएको प्रमाणसहित उजुरी परेको थियो । जिल्ला प्रशासनमा आधा दर्जनभन्दा बढीको उजुरी परेकाले छानबिन भइरहेको मुद्दा फाँटले जनाएको छ । हाल छानबिनमा रहेका राजापुरस्थित ११ जना भारतीय नागरिकलाई नागरिकता प्राप्त गरेको उजुरी अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा परेको छ । आयोगले उक्त नागरिकता छानबिन गर्न टोलीसमेत खटाएको प्रशासनले जनाएको छ । ०६३ सालको टोलीले वंशजका आधारमा ३५ हजार ६ सय १५ र २ हजार ७ सय ९९ जन्मसिद्द नागरिकता वितरण गरेको थियो । किर्ते नागरिकता बनाउने पक्राउ बारा किर्ते कागज पेस गरी नागरिकता बनाउन खोज्ने दुई भारतीय नागरिकसहित ४ जनालाई प्रहरीले पक्राउ गरेको छ । कवहीगोठमा सञ्चालित एकीकृत घुम्ती शिविरमा हर्दिया ६ का इमरित यादवले भारतीय नागरिक २१ वषर्ीय मुक्तिनारायण यादवलाई छोरो बनाएर नेपाली नागरिकता बनाउन लागेको अवस्थामा पक्राउ गरिएको जिल्ला प्रहरीका प्रवक्ता प्रहरी निरीक्षक रामनाथ घिमिरेले जानकारी दिए । उनीहरूसँग रहेको गाविस सिफारिस, जन्मदर्ता प्रमाणपत्रलगायत कागजात किर्ते रहेको शंका लागेपछि प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो । पक्राउ परेकामाथि अनुसन्धान गर्न प्रहरीले जिल्ला अदालतबाट म्याद थप गराएको छ । यसैगरी सिम्रौनगढमा एकीकृत घुम्ती सेवामा भारतीय नागरिक मनोजकुमार साहलाई छोरो बनाएर नेपाली नागरिकता बनाउन खोज्ने हरिहरपुर ४ निवासी हृदयनारायण साह कानुलाई प्रक्राउ गरिएको प्रनि घिमिरेले जनाएका छन् । साहले पनि गाविस सिफारिस, जन्मदर्ता प्रमाणपत्रलगायत कागजात किर्ते गरी नागरिकता बनाउन प्रयास गरेका थिए ।               प्रकाशित मिति: २०७० वैशाख ३१ ११:२५ 

_____ · May 14, 2013 6:31 AM · 1,071 views

Replies
No replies yet.

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion

You might be interested in...

Recent Classifieds View all
Upcoming Events View all
Service Providers View all