www.nconepal.org/# काठमाडौं- अनाथ बालबालिकालाई आश्रय दिँदै आएको नक्सालस्थित बालमन्दिर आर्थिक अभावले आफैं अनाथ भएको छ। सरकारी सहयोग नपाउँदा २०२२ सालमा स्थापित नेपालकै पुरानो बालमन्दिरलाई १ सय ४८ अनाथ बालबालिकालाई पालनपोषण गर्न समस्या भएको छ। पर्याप्त खान नपाउँदा भर्खरै बोल्न थालेका नानीहरूको ओठ कलेटी पर्न थालेको छ आर्थिक संकटले यहाँ आश्रय लिँदै आएका अनाथ नानीहरूले लिटो र ल्याक्टोजिन समेत खान पाएका छैन। पर्याप्त खान नपाउँदा भर्खरै बोल्न थालेका उनीहरूको ओठ कलेटी पर्न थालेको छ। 'कतैबाट पनि सहयोग नपाएपछि गृहमा रहेका १ सय ४८ बालबालिकाको खानपिनमा समस्या आएको छ,' नेपाल बाल संगठनका निर्देशक रमेश भूमिले भने, 'उनीहरूलाई जेनतेन साँझ–बिहानको खाना जुटाउँदैछौं। उनीहरूका लागि अन्य आवश्यकता पूरा गर्न सकेका छैनौं।' बालमन्दिरमा ३ महिनादेखि १५ वर्षसम्म उमेरका बालबालिका छन्। 'बच्चाको पेट भर्न हामीले उधारोमा खानेकुरा ल्याउने गरेका छौं,' उनले भने, 'कहिले कोहीसँग, कहिले कोहीसँग माग्दै गुजारा चलाउँदै आएका छौं।' नानीहरूका लागि स्टेसनरी, लत्ता–कपडा, खैलौना किन्ने पैसासमेत अभाव रहेको उनले सुनाए। नेपाल सरकारले बजेट नदिने र अन्य दाताहरूले पनि सहयोग गर्न छाडेपछि बालमन्दिर अहिले चरम संकटमा परेको उनले सुनाए। 'कर्मचारीले दुई वर्षदेखि तलब पाएका छैनन्,' उनले भने, 'बच्चाहरूको आधारभूत आवश्यकता पूरा गर्नसमेत समस्या छ।' बालबालिकाको आधारभूत आवश्यकता र कर्मचारीको तलब गरी मासिक ६ लाख जति लाग्ने उनले सुनाए। एउटा बच्चालाई खानपिन र अन्य खर्च गरेर दैनिक औसत १ सय रुपैयाँ लाग्ने उनले सुनाए। बालगृहमा २१ कर्मचारी रहेको उनले बताए। स्वदेशी तथा विदेशीले यहाँका बच्चालाई धर्मपुत्र स्वीकार गरेबापत आउने आम्दानीले जेनतेन चल्दै आए पनि अहिले धर्मपुत्र लिन विदेशी नआएकाले समस्या परेको हेा। 'यहाँका कतिपय कर्मचारी कोही आएर बच्चा ग्रहण गरे तलब पाइन्थ्योकि भन्ने आसमा देखिन्छन्,' बालमन्दिर स्रोतले भन्यो, ' यो अत्यन्त दुःखलाग्दो अवस्था हो।' अनाथालयमा रहेका बच्चालाई धर्मपुत्रको रुपमा ग्रहण गरेबापत नेपालीले ७५ हजार रुपैयाँ तिर्नुपर्छ भने विदेशीले ५ हजार अमेरिकी डलर (४ लाख जति) तिर्नुपर्छ। नेपाल बाल संगठनका केन्द्रीय महासचिव कृष्णशंकर साहले बालमन्दिर सरकारी निकायको बेवास्ताको सिकार बनेको सुनाए। नक्सालस्थित बाल मन्दिरमा रहेका ३ महिने बालक सम्राट। उनी भिमसेनगोलास्थित बागमती पुलको तल बेवारिसे अवस्थामा भेटिएका थिए। तस्बिर – उपेन्द्र लामिछाने
Masane · May 12, 2013 11:18 AM · 1,862 views
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion