जातीय राज्य अग्रगमन होइन, पश्चगमन हो– हिरण्यलाल श्रेष्ठ बुद्धिजीवी Posted by admin in अन्तर्वार्ता, प्रमूख समाचार on April 25, 2013 9:14 am / no comments ० एमाओवादी अध्यक्ष पुष्पकमल दाहालको हालै भएको चीन भ्रमणले के सन्देश दिन्छ? – साँध–सीमा जोडिएको छिमेकी देश चीनमा नयाँ नेतृत्व आएको छ। त्यस देशले नेपालको ठूलो दल एनेकपा (माओवादी)का अध्यक्षलाई दक्षिण एसियाकै नेताहरूमध्येको पहिलोमा बोलायो। र, त्यहाँ गाउँ तहदेखि राष्ट्रपति अर्थात् पार्टीको महासचिव तहसम्मले भेटघाट र छलफल गरेकाले त्यस मानेमा यो भ्रमण महत्त्वपूर्ण नै रहेको देखिन्छ। ० नेपाल पछिल्लो समय किन विदेशीको क्रीडास्थल हुँदै गएको होला? – पहिलेभन्दा नेपालमा विदेशीको चलखेल बढेको छ। नेपालको राजनीतिक स्थितिले गर्दा संक्रमणकाल लम्बिएको हुनाले अनिश्चितता र अन्योलको स्थितिमा बाह्य शक्तिहरूको चलखेल बढेको यथार्थ हो। ० रेग्मी सरकार गठनमा पनि विदेशीको हात छ भनिन्छ नि? – यो सरकार गठन भएपछि देशभित्र अझै सबै दलहरूलाई चुनावमा सहभागी गराउने वातावरण तयार गर्न नसकेको स्थितिमा बाह्य शक्तिहरूले भने गठनलगत्तै स्वागत–समर्थन गरेको देख्दा बाह्य छाताअन्तर्गत चार दलको सहमति र उनीहरूकै प्रस्तावबाट निर्दलीय सरकार गठन भएको प्रस्ट बुझिन्छ। ० राजनीतिमा निकै सक्रिय मान्छे, अहिले कता हराउनुभयो? – मनमोहन अधिकारीको देहान्तपछि मैले स्वेच्छाले सक्रिय राजनीति छोड्ने, लेखपढमा लाग्ने भनेर पार्टीबाट राजीनामा दिएको हुँ। र, पार्टीको विरोधमा गएनँ पनि। आफूलाई लेखनमै व्यस्त बनाएको छु। देश–विदेश घुम्ने र पुस्तकहरू लेख्ने काममा लागेको छु। पछिल्लो मेरो पुस्तक सय देशसँगको सम्बन्ध ‘मित्रताका सयपत्री फूल′ प्रकाशित भएको छ। त्यसपछि पनि नेपाल–क्यानडा सम्बन्ध छापिइसकेको छ। ३० वटा किताब निस्किए, ३२ वटा देश घुमें। कम्तीमा अन्तर्राष्ट्रिय राजनीति र कूटनीतिक क्षेत्रमा आफ्नो अनुभव नयाँ पुस्तालाई लेखेर छोडिदिउँ भनेर लागिरा’छु। ० पार्टीहरुसँग सम्पर्क छैन? – पार्टीहरूले बेलाबखत मागेको बेलामा परराष्ट्र मामिलामा सल्लाह दिने गरेको छु। ० ७२ वर्ष पुग्नुभयो, दिनचर्या चाहिँ कसरी बित्छ? – बिहान चार बजे उठ्छु। हल्का व्यायाम गर्छु। आफैं बे्रकफास्ट बनाउँछु। चिया, कन्फेक्स, कफी बनाएर खाएर पढ्न जान्छु। सहरको एउटा घर बेचेर काठमाडांैभित्रै दुईवटा घर बनाएको छु। एउटा बस्ने घर र अर्को पुस्तकालय घर। पुस्तकालय घरमा बसेर लेखपढ गर्छु। ० दैनिक कति घन्टा पढ्नुहुन्छ? – सालाखाला नियमित छ घन्टा पढ्छु। ० तपाईं केन्द्रीय सल्लाहकार भएर काम गरेको पार्टी नेकपा (एमाले)ले पार्टीबाहिर रहेकाहरूलाई मूलधारमा भित्र्याउने अभियान थालेपछि तपाईंसँग पनि संवाद भएको छ? – केही अप्रत्यक्ष्प सम्पर्कहरू भएका छन्। तर, मैले राजीनामा गरेर छाडेको हुँ। कहिल्यै पार्टीको विरोधमा लागिनँ। आफ्नो उमेर, स्वास्थ्यलगायत विभिन्न कारणले गर्दा मैले पार्टीको सक्रिय राजनीति छाडेको हुँ। र, पार्टीले आफ्ना पुराना नेता कार्यकर्ताहरूलाई फर्काउनु, निर्वाचनअघि नयाँ माहोल सिर्जना गर्नका लागि आफ्नो संगठनहरूलाई पूर्णता दिन खोज्नु स्वाभाविक हो। तर, मैले चाहिँ यो उमेरमा सक्रिय राजनीति नगर्ने विचार गरेको छु। त्यसो भनेर विचार र दृष्टिकोणविहीन भने होइन। सकेको नयाँ पुस्तालाई सघाउने हो, परराष्ट्र मामलामा विशेष रूपले। र, राष्ट्रिय सवालमा अहम् मुद्दाहरूमा कहिलेकाहीँ बोल्ने गरेको छु। ० एमाले केन्द्रीय सदस्यदेखि माले हुँदै शाही सरकारमा राजदूत हुन जाँदा केही विस्मात लागेको छैन? जबकि त्यही घटनाक्रमलाई तपाईंको राजनीतिक जीवनमा उधोगति सुरु भएको रूपमा बुझिन्छ! – त्यति छोटो रूपमा मलाई राजनीतिक रूपमा जोड्न मिल्दैन। त्यो त मेरो लामो राजनीतिक जीवनको एक अंश मात्र हो। म त २०१३/०१४ सालमै जेपी हाइस्कुलको युनियनको सभापति थिएँ। त्यसपछि योङ कम्युनिस्ट लिगको प्रथम महासचिव भएँ। ०१४ सालमा पहिलोपल्ट ७ दिन जेल गएँ। वाईसीएलको महासचिव भएको कारणले नै म पञ्चायतकालमा ६ वर्ष जेल बसेँ। मैले राजनीति गर्दा एमाले भन्ने पार्टी जन्मिएको थिएन। एउटै कम्युनिस्ट पार्टी रहँदाखेरी पुष्पलालजीहरूले तालिम दिनुभएको थियो। पार्टीको कक्षाहरू मनमोहनजीहरूले दिनुभयो भने निर्मल लामाहरूले वाइसीएलमा रहँदा ‘पिटी’ सिकाउनुभयो। हामीले राजनीतिक कक्षाहरू सञ्चालन गर्थ्यौं र जेलभित्रै उमेर पुगेपछि अब पूर्ण पार्टीको सदस्य भयो भनेर त्यसबेला काम गरिएको हो। मेरो युवा कालको सबैभन्दा महत्त्वपूर्ण खण्डमा ६ वर्ष जेलमा परंे। जुन तुलनामा तपाईंले उल्लेख गर्नुभएको काल साह्रै कम हो। त्यसपछि पढाउन थाल्दा पनि ०३२ सालमा सहाना प्रधान, अर्जुननरसिंहलगायत हामीहरूलाई निकाल्या थियो। प्राज्ञिक क्षेत्रको इतिहास मेरो ‘इन्टे्रस्ट’को कुरा हो। विदेश सम्बन्ध र पार्टीको कमिटीमा पनि विदेश मामिला हेर्ने, संसद्मा पुग्दा पनि परराष्ट्र तथा मानवअधिकार समितिको सभापति भएर काम गरें। संसद्भित्र छायाँ मन्त्रिमण्डलमा पनि परराष्ट्रको जिम्मेवारी लिएर काम गरें। ० त्यो त हो। तर, शाहीकालमा राजदूत हुन किन जानुभयो त? – पार्टी छाडिसकेपछि मन्त्री बन्ने कि राजदूत बन्ने भन्दा मैले किशोर अवस्थादेखि नै पार्टीमा लागेको हुनाले मन्त्री भएर पार्टीको हितविरुद्ध काम गर्नुभन्दा सिंगो विषय परराष्ट्र भएकाले राजदूत भएर जाने निर्णय गरें। म पार्टी छोडेर राजदूत हुन गएको होइन। पार्टी छोडेर वर्षौंसम्म अलग्ग बसिरहेको मान्छेलाई मेरो क्षेत्रअनुसार मिल्ने रुसको राजदूत भएर काम गर्न अनुरोध भएकाले काम गरेको हुँ। जसले गर्दा मलाई व्यावहारिक रूपमा परराष्ट्र क्षेत्रको अनुभव पनि भयो। ० अकस्मात सक्रिय राजनीति परित्याग गर्नुपर्नाको कारण के थियो? – दुईवटा कारण थिए। एउटा, मलाई पार्टीमा महाकाली सन्धिका कारण भेदभाव गरियो। विरोधमा मत दियो भनेर जहिले पनि एउटा लबीले लखेट्ने काम गर्‍यो र जिम्मेवारी राम्रो दिएनन्। पार्टीको विदेश विभागमा बस्दा पनि नेताहरूको भारत भ्रमण चाहिँ पत्रिका पढेर थाहा पाउनुपर्ने अवस्था आयो। यसैकारण पनि केही असन्तुष्टि थियो। यसबाहेक पनि अर्को मुख्य कारण म ६० वर्ष पुगेपछि सक्रिय राजनीति छाड्छु, नयाँ पुस्तालाई सघाउँछु भन्ने थियो। स्वास्थ्यका कारण पनि पहिले जस्तो साह्रोगाह्रो ठाउँमा जाने, काम गर्ने स्थिति थिएन। त्यसकारण आफ्नो स्वास्थ्य, उमेर इत्यादिका कारण पनि राजनीति छोडेको हुँ। कुनै पक्षलाई समर्थन वा विरोध होइन वाम राजनीतिको मूल विचारहरूप्रति नै आफूले बोल्ने–लेख्ने गरेको छु। ० मन्त्री नपाएको झोकमा पार्टीबाट निष्त्रि्कय हुनुभयो भन्ने आरोप छ नि? – त्यो केही हदसम्म हो। तर, त्यो नै मुख्य कारण होइन। किनकि, महाकाली सन्धिको विरोधमा मत हाल्दा सांसद पद जान सक्छ भन्ने मलाई थाहा थियो। त्यसैले आफ्नो विचारका लागि पदको सौदाबाजी गर्ने म होइन। पदका लागि पछि लागेर हिँड्ने मान्छे होइन। आफ्नो विवेकले देख्या कुरा लेख्छु, बोल्छु। त्यस दृष्टिकोणले तपाईंले मेरो लेखन र अभिव्यक्तिहरू हेर्नुभयो भने राष्ट्रिय स्वाधीनता र लोकतन्त्रको पक्षमा आफ्नो विचार निरन्तर जारी राखेको छु र बाँचुञ्जेल जारी नै राख्नेछु। ० महाकाली सन्धि साँच्चै राष्ट्रघात हो? – हो मलाई त्यस्तै लाग्छ। ० तर, पार्टीले अनुमोदन गरेर हि्वप जारी गरेको अवस्थामा व्यक्तिगत असन्तोष भए पनि मान्नुपर्ने होइन र? – पार्टीभन्दा देश ठूलो हुन्छ। मैले त्यही भनेर नै मत हालेको हुँ। आजसम्म पनि मलाई त्यो सही नै लाग्छ। अहिलेसम्म त्यो सन्धि कार्यान्वयन हुन सकेको छैन। पश्चिमबाट सूर्य उदाउँछ भन्थे। अहिलेसम्म कार्यान्वयनको स्थिति नहुँदा मध्यराति हतार गरेर पारित गर्नु जरुरत थिएन भन्ने नै देखिन्छ। ० एमालेमा रहँदाका केही बिर्सन नसकिने अनुभवहरू छैनन्? – एमाले मात्र होइन, कम्युनिस्ट आन्दोलनको धेरै कठिन मोडमा काम गरियो। जेलनेल खाने बेलामा गरियो। पद पाउने बेलामा नपाए पनि केही थिएन। तर, भेदभाव र पक्षपात हुन थाल्यो। मदन भण्डारी र मनमोहन अधिकारीको अवशानपछि नेतृत्वबाट ममाथि भेदभाव भएको महसुस गरें। मैले के पाएँ, के पाइन भन्ने कुरा मैले जहिले पनि गौण नै राखेको थिएँ। ० हरेक पार्टीभित्र नीति निर्माण तहमा विदेशी गुप्तचर संस्था हाबी हुन्छन् रे हो? – हो। तर, हरेक दलभित्र देशभक्तहरू पनि छन्। हरेक दलभित्र बाहिरको स्वार्थलाई पोषण गर्नेहरू पनि छन्। बहुमत देशभक्तहरूकै छ। त्यसैले सबै दल, क्षेत्रका देशभक्तहरू एकजुट हुनुपर्छ। राष्ट्रिय हितलाई प्रवर्द्धन गरौं भन्न चाहन्छु। सबै दलभित्रका पद र शुभलाभका लागि अरूको सेवा गर्नेहरूका लागि नंग्याऔं। राष्ट्रिय स्वाधीनता र लोकतन्त्रका लागि सँगै अघि बढ्नुपर्छ भन्ने मेरो मान्यता हो। ० गणतन्त्र आएपछि नेपाल–भारत सम्बन्धमा तुलनात्मक रूपमा किन भारत बढी हावी भएको होला? – पहिलेदेखि नै भारतले बढी अभिरुचि राख्यो भने चीनले चाहिँ आफ्नाविरुद्ध गतिविधि नभए हुन्छ भन्ने गर्थ्यो। भारतले चाहिँ उसको विरुद्ध गतिविधि नभएर होइन आफ्नो अनुकूल शक्ति नेपालमा आओस् भन्ने चाहना राख्दै आएको छ। गणतन्त्र आइसकेपछि पहिलेभन्दा बढी उनीहरू सक्रिय रहे। तर, नेपालभित्रका राजनीतिक दलहरू र नेतृत्वले राष्ट्रिय स्वाधीनताको अडान र लोकतन्त्रलाई सँगै गाँसेर लगेको भए राम्रो हुन्थ्यो। ० संविधानसभाको चुनाव होला कि नहोला? – चुनाव हुनुपर्छ। किनकि, एक अवधिको जनमत सर्वकालिक हुँदैन। त्यसैले जे जति मुद्दाहरू, राष्ट्रियता र लोकतन्त्रका अहम् सवालहरू छन्, ती जनतामा गएर कसलाई बहुमत दिन्छन्, त्यसले टुंंग्याउने कुरा हुन्। त्यसैले नयाँ जनमत जनताबाट प्राप्त गर्नका लागि चुनाव आवश्यक छ। तर, त्यो चुनावमा सबैलाई भाग लिन सक्ने वातावरण तयार गर्नुपर्छ। व्यावसायिक क्षेत्रमा पनि सिन्डिकेट भन्या राम्रो कुरा होइन। राजनीतिक क्षेत्रमा पनि चार दलीय सिन्डिकेट त्यो पनि अरूको छाताभित्रको, त्यो कुराको अन्त्य भएर सबैले सहभागी हुन सक्नेगरी चुनाव गर्ने र त्यसले निकास दिन्छ भन्ने मलाई लाग्छ। ० मोहन वैद्यहरूको फुटलाई राष्ट्रिय स्वाधीनतासँग जोडेर व्याख्या गरिएको छ, यस मानेमा फुट सही छ? – राष्ट्रिय स्वाधीनताको कुरामा उहाँहरूको अडान ठीक छ। तर, दुवै पार्टीको एकल जातीय राज्य बनाउने कुरामा मेरो विमति छ। ० किन उत्पीडित समुदायलाई अधिकार नदिने? – त्यो भए हामी २ सय ४० वर्ष अगाडि फर्किने? किनकि, जातीय राज्य त त्यसबेला थियो। त्यो अग्रगमन होइन, पश्चगमन हो। अहिलेको बेला त एकले अर्को जाति, क्षेत्र, धर्मका लागि परस्पर सम्मान गर्ने, समान व्यवहार गर्ने र शासक र शासितको हैसियतमा कोही छैन, हामी साझेदारीमा रहन्छौं भनेर संविधानको प्रस्तावनामा नै बहुदलीय प्रजातन्त्रका साथै बहुजातीय प्रजातन्त्रको कुरा ‘गाइडिङ प्रिन्सिपल′को रूपमा उल्लेख गर्नुपर्छ। माथिल्लो सदनलाई जातीय सभा बनाउने र जुन जातको जति प्रतिशत जनसंख्या छ, त्यो आधारमा हुनुपर्छ। तर, जातीय आधारमा प्रान्तको भौगोलिक अंंशबन्डा गर्नु हुन्न। किराँतमा म गएर चुनाव लड्न पाउनुपर्छ र किराँतहरू काठमाडौंं आएर चुनाव लड्न पाउनुपर्छ। संघीयता हुनुहुन्न भन्ने होइन। ० तपाईंको विचारमा संघीयता कस्तो हुनुपर्छ? – कोसी प्रदेश, गण्डक प्रदेश, कर्णाली प्रदेश र बाग्मती प्रदेश हुनुपर्छ। विकासका लागि केन्द्रीकृतभन्दा पनि संघीय राम्रो हुन्छ तर जातीय आधारमा होइन। जातीय पहिचान र सम्मान दिनुपर्छ तर अहिलेको जमानामा पूर्व–पश्चिम राजमार्ग बनिसक्यो, एक जाति अर्को ठाउँमा गइसक्यो। नयाँ पुस्ताले आफ्नो रोजीअनुसार अन्तरजातीय विवाह गर्न थालेका छन्। जनजाति नेताका सन्तान अमेरिका गएर अमेरिकी नागरिक भएको मैले देख्या छु। तर यहाँ चाहिँ अलग राज्य चाहिन्छ भन्ने? यहाँ क्रिश्चियनहरू दश दोब्बरभन्दा बढी भइसके। आफ्नो विश्वासअनुसार धर्म लिन सकिन्छ तर हाम्रो गरिबीमाथि डलरको खेतीद्वारा विदेशी लगानी गरेर आस्था मेट्न पाइँदैन। धर्म जस्तो सहिष्णु र एकता कायम भएको नेपालमा विदेशी लगानीद्वारा गतिविधि बढेर यो संवेदनशील क्षेत्रमा समेत बाह्य चलखेल बढ्दा चिन्ता लाग्छ। ० संघीयता सवालमा एमाले दृष्टिकोणसँग त पूरै सहमत देखिनुभयो नि? – त्यस मानेमा धेरै हदसम्म सहमत छु। ० एमालेले पूर्ववत् जिम्मेवारी वा सल्लाहकारका रूपमा भित्र्यायो भने फर्किनुहुन्छ? – पार्टीले आवश्यकता सम्झेर मसँग सम्पर्क गर्‍यो भने बेलाबखत मैले जानेको विषयमा सरसल्लाह दिने गरेकै छु। म देशको हितको पक्षमा आफ्नो क्षमताले दिएको योगदान गर्न तयार छु। तर, सक्रिय राजनीतिभन्दा पनि प्राज्ञिक अनुसन्धानमा लाग्छु।
_____ · Apr 25, 2013 6:35 AM · 1,145 views
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion