राजमार्गको साहूजीसँग एक संवाद (वक्रासन) Monday, 01 April 2013 19:54 नागरिक विनोदविक्रम केसी- मिनरल वाटरको कति हो? ५० रुपैयाँ, सर। सूर्य चुरोटको कति? खिल्लीको १५ रुपैयाँ, सर। आलु एक प्लेटको कति? ८० रुपैयाँ, सर। किन यस्तो महँगो? कहाँ महँगो छ र, सर? सत्कारको मूल्य धेरथोर जोडेको न हो। खै, कहाँ गर्नुभो तपाईंले सत्कार? तपाईंलाई सरको सर लगाइरहेको छु। यति नम्र भएर बोलिरहेको छु। सत्कार भन्या यही होइन र, सर? मलाई सर नभनेर मिनरल वाटर २० रुपैयाँमा दिन मिल्दैन? मिल्दैन सर। यो हाम्रो आचार संहिताविपरीत हुन्छ। तपाईं यहाँ लुट्न बसेको हो? हो, लुट्नै बसेको हो। लुट्ने कला अलि कम भएर राजमार्गको छेउमा होटल चलाएर बसेको हुँ। लुट्ने कला बढी भएको भए के गर्नुहुन्थ्यो? सिंहदरबार पस्थेँ। त्यहाँ के गर्नुहुन्थ्यो? खाजा, खाना बेचेर बस्नुहुन्थ्यो? शक्तिकेन्द्रको मानहानि गर्न नखोज्नुस् तपाईं। त्यहाँ पुगेपछि बेच्ने कुरा विशिष्ट हुन्छन्। जस्तो? विचार, सिद्धान्त, निष्ठा, लज्जा, नदीनाला, आदि-आदि। अघि लुट्ने कला कम छ भन्नुभएको होइन? तपाईं त लुटप्रवीण लाग्नुहुन्छ। यो देशमा कसले लुटेको छैन? मैले कसैलाई लुटेको छैन। त्यसो भए तपाईं यो देशको नागरिक होइन। किन होइन? मसँग नागरिकता छ। देखाइदिऊँ? नागरिकता हुँदैमा देशको नागरिक भइन्छ? नागरिक हुनका निम्ति राष्ट्रिय चरित्र हुनुपर्छ। लुट्नु हाम्रो राष्ट्रिय चरित्र भइसक्यो भन्न खोज्नुभएको हो? ठीक बुझ्नुभो। तर, यो देशमा त करोडौँ मानिस यस्ता छन्, जो पाखुरा बजाएर खान्छन्, जो छक्कापञ्जा जान्दैनन्। ती कहाँ नागरिक हुन् र? को हुन् त त्यसोभए? दुःखी मनुष्य हुन्, निरीह मनुवा हुन्, कमजोर मान्छे हुन्, झ्यास प्राणी हुन्। लुटेर खान नजान्ने झ्यास प्राणी? अनि के त? तपाईंको वशमा हुन्थ्यो भने तपाईं तिनलाई देशनिकाला गर्नुहुन्थ्यो जस्तो लाग्छ? तिनलाई किन देशनिकाला गर्नुपर्‍यो र? एउटा सिटामोल नपाएर मर्नु, जिन्दगीभर एक पेट टन्न खान नपाउनु, सुविस्ताको एक झरो सास फेर्न नपाउनु देशनिकालामा पर्नु होइन र? देशभित्रै देशनिकालामा परेकालाई किन दोहोरो देशनिकाला गर्नुपर्‍यो? भनेपछि लुट्न जान्नेमात्रै यो देशका नागरिक हुन्? बल्ल कुरो बुझ्नुभो। यो लुटेराहरूको देश हो। लुटाउनेहरूका लागि एउटा इँटाकार भूगोल उपलब्ध छ, जसलाई उनीहरू देश भन्न रुचाउँछन्। भन्नु बेग्लै कुरा हो, हुनु बेग्लै। लुटशास्त्रमा पीएचडी गरेजस्तो कुरा गर्नुहुन्छ। पीएचडी चाहिँ होइन, बीएसम्म गरेजस्तो भन्नुस् न। भनिहालेँ नि, लुट्ने कलामा माहिर भएको भए म यस देशको गरिमामय पदमा आसीन भएको हुन्थेँ। प्रधानमन्त्री हुन्थेँ होला। कुनै पार्टीको शीर्षस्थ नेता त अवश्य हुन्थेँ। लुटेराहरूमात्रै गरिमामय पदमा पुग्छन्? अनि को पुग्छन् त? यो देशमा एकजनामात्रैको नाम भन्नुस्, जो नलुटेर ठूलो मान्छे भएको छ। अथवा, जसले ठूलो मान्छे भएर नलुटेको छ? तपाईं पोलिटिक्स किन ज्वाइन गर्नुहुन्न? अघि नै भनेँ नि, लुट्ने कलामा म पारंगत छैन।
True Nepali · Apr 1, 2013 9:57 AM · 1,918 views
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion