अपरिचित 'राष्ट्रिय गौरव’ फागु विश्वकै सर्वाधिक पुरानो पुष्पमहोत्सव हो, नेपालमै जन्मिएको, नकि भूमध्यसागरीय होली । २७ फागुनको कान्तिपुरमा सम्पादकीय पृष्ठमा उल्लिखित वसन्तोत्सव -होलीपूणिर्मा) भन्ने वाक्यांशप्रति यो लेख लक्षित छ । डा. वासुदेवकृष्ण शास्त्रीजस्तो तत्सम्बन्धी विज्ञलाई समेत ती दुई पर्यायवाची हुन् भन्ने लागेपछि यो परम्परागत र व्यापक नेपाली भ्रम अब तोड्नैपर्ने भएको छ । फागुको अर्थ फागु सालको परागकणलाई भनिन्छ । सम्भवतः यो थारू शब्द फल्ग्वाबाट आएको छ, जसको शाब्दिक अर्थ अचेल हल्का पहेँलो रङ भन्ने लाग्छ । र साल -सरिया रोबस्टा) समउष्ण हिमालय क्षेत्र अर्थात् भारतको उत्तर प्रदेशदेखि नेपाल हुँदै भारतकै आसामसम्म १ सय ५० मिटरदेखि १५ सय मिटरसम्म मात्र पाइन्छ । श्रीलंकादेखि चीनसम्म पाइने जिनस सरियाका करिब २ सय प्रजातिमध्ये यो भेगमा यही एक प्रजाति रोबस्टामात्र पाइएको छ । र रोबस्टा यसकारणले पनि कि विशाल भनेको पनि यही हो । सालको उल्लेख नेपालको भैसालोटनका भनिएका वाल्मिकीले ३५ सय वर्ष अघिको आफ्नो रामायणमा साललाई ठाउँ-ठाउँमा उल्लेख गरेका छन् । इसापूर्व ६ सयका पाणिनिले अष्टाध्यायीमा सालको पर्याय संकेत गर्ने फाल्गुणी (९-४.१/४.२) पटक-पटक लेखेका छन् । उनको अर्काे नाम नै सालंकायन अर्थात् सालको रूखमुनि आराम गर्ने भन्ने अर्थ पनि लगाइन्छ । वसन्तको पर्याय वसन्त शब्द पहिलोपटक कम्तीमा ७ हजार वर्षभन्दा अघि लेखिएको यजुर्वेदमा (१३.२५) मा आएको छ । यजुर्वेदमा प्राप्त जीवजन्तु र वनस्पतिका १ सय २१ नाममध्ये ९० वटा अर्थात् ७५ प्रतिशत नेपालका रैथाने हुन् । करिब १० वटा अन्यत्रका छन् भने २० वटाका खास अर्थ लोप भइसकेका छन् । अर्थात् यजुर्वेद नै तत्कालीन नेपाली ऋषिमुनि एवं-एवं ब्राह्मणहरूले लिपिबद्ध गरेको बुझिन्छ, जसमा स्थानबोधक शब्द तुरगमात्र परेको छ, जुन टर्कीबाट आएको घोडाका निम्तिमात्र हो । वसन्त ऋतु मनाइन्छ, खास फागुनमा, जतिबेला साल फुल्छ । नभन्दै भैरहवा, दमौली, पर्सा, इनरुवा, रौतहट, बैतडी आदिका वसन्तपुर, दैलेखको वसन्तमाला, रौतहटको वसन्तपट्टी, धनकुटाको वसन्तटार र अझ कैलालीको वसन्तावन साल पाइने ठाउँ हुन् । वसन्तावन सालको जंगल नै हो । थारूको फल्ग्वा रङलाई परम्परागत नेपालीमा वासन्ती भनिन्छ । अर्थात् साल र वसन्त यहाँनिर पर्यायवाची हुन् । नभन्दै पाणिनिले वसन्तादिभ्यष्टक (४.२), ग्रामे धरणी वसन्त -६.२/६.३.५) लेखेकै छन् । यजुर्वेदले वसन्त र कपिन्जललाई बराबर राखेको छ -२४.२०) । यो विज्ञानको भाषामा पासर रुटिल्यान्स नामको भँगेरा हो, नकि काकाकुल -स्किर्पस चिला) जुन पश्चिम नेपालमै पाइन्छ, तेजपातको रूख सुरु हुने सीमारेखामा । मायादेवीको मूर्ति एक लुम्बिनीविज्ञ (बिडारी) ले मायादेवीले समातेको रूख अशोकको हो भन्ने जिकिर गर्दै जर्नलमा लामै लेख सन्दर्भ-सूचीसहित दिएका छन् । जुन सन्दर्भ-सूचीका लेखकहरू सबैजसो पश्चिमा हुन् । तर जुन अशोक वृक्षले सीतालाई शोकमात्रै दियो, त्यही इक्ष्वाकु कुलका शुद्धोदनले किन आफ्नो परिवेशमा दुःखदायी अशोक लगाए होलान् ? यथार्थ के हो भने यो शैलीलाई संस्कृतमा सालभञ्जिका शैली भनिन्छ । काठमाडौंका मन्दिरका टुँडालहरूमा पनि पाइन्छ । अर्थात् खुसियालीबोधक शैली, जसले आदियुगमा चलेको सालको हाँगा भाँचेर एक-अर्कोमाथि फागु वर्षा गर्दै झ्याम्टा हान्ने उत्सवलाई बुझाउँछ । (यद्यपि यहाँनिर अशोक र इक्ष्वाकुको प्राचीन लाक्षणिक अर्थ अर्कै रहेको कुरा उल्लेख गर्नु अनिवार्य भएको छ । महिलाको, अझ नवयौवनाको बूढीऔंलाले मात्र छोयो भने पनि अशोकमा बेग्लै रङको फूल फुल्छ भन्ने मान्यताले गर्दा शोकहरण गर्ने अर्थात् उल्लासको प्रतीक मानियो, अशोकलाई । यसैले वाल्मिकीले यसैका मुनि सीतालाई लगेर राखिदिए । अशोकको प्रयोग प्रतीकात्मक हो । तर संस्कृतमा इक्ष्वाकुको अर्थ गुलियो लौका वा चिन्डा हुन्छ, जसको गुदी झिकेर फालेपछि कमन्डलु बन्दछ । अर्थात् साधु भएर जंगल लागेका राम, महाभिनिष्क्रमणमा निस्किएका बुद्ध, स्वामी रणबहादुर शाह, स्वामी षडानन्द, योगी नरहरिनाथ, देउपाटनको साधु, वसन्तपुरको नागा, भक्तपुरको जंगम, थापाथली पुलका उदासी, वैरागी र संन्यासी, बालाजुका नानक पन्थी सबै इक्ष्वाकु वंशकै हुन्, जो कमन्डलु बोकेर हिँड्छन् वा हिँड्ने परम्पराका हुन् । इक्ष्वाकु वंशको अर्थ हो (जोगी, साधु वर्गको । बुद्ध रघुवंशका होइनन् नै ।) आधा अंग पीपलसँग मंगलिनीको विवाह गर्ने परम्परा आएपछि भारतमा पत्नीलाई श्रीमती भन्ने चलन चल्यो । किनभने पीपलको अर्को नाम श्रीमत हो । तर नेपालमा सुवासनी भनिन्छ । किनभने सम्भवतः यसैबाट वासना शब्द आएको होस् । तर 'फागुने बैंस' थामिनसक्नु, सम्हालिनसक्नु मानिन्छ नेपाली परम्परामा, जुन यही फागुन महिनासँग सम्बन्धित छ । बैंस वयसन्धि अर्थात् जीवन वसन्तकै लाक्षणिक रूपान्तरण हो । यही कारण वसन्तोत्सवको अर्को नाम मन्मथोत्सव हो । मन्मथ कामदेवको पर्यायवाची हो । ध्रुवे हात्तीमाथि टिप्पणी गर्दा चितवनका रेञ्जर (कुँवर) ले हात्तीको आँसु मुखमा पर्‍यो भने मात्तिन्छ भनेका छन्, जुन गलत हो । मुन्ड (टाउको) बाट मद (झोल) र्झन थालेपछि हात्ती मात्तिन्छ । मुन्ड भनिए पनि अंगचाहिँ कान हो । यसैबाट प्रागैतिहासिक मेमथ (नेपालको कम्तीमा एकदेखि तीन लाख वर्ष पुरानो आर्किडिस्किडोन प्लेनिफर्मिस) को नाम बन्दछ, नकि पछिल्लो हिमयुगमा हात्तीको अवशेष पाइएको साइबेरियालाई हेरेर अंग्रेजी शब्दकोश (लर्नर्स) ले मेमथको व्युत्पत्ति रूसी भाषामा खोजेजस्तो । होलीबारे हिरण्यकशिपु -सुनौलो केश भएको मानिस) भूमध्यसागरको हो, जसकी बहिनी होलिका (अग्निरूपा) थिई । जिब्राल्टरबाट समुद्र ओइरिएपछि अहिलेको भूमध्य उपत्यकामा प्रलयको हद (प्रह्लाद) भयो । त्यहाँ घटेको यस प्राचीनतम दुर्घटनालाई पश्चिममा पनि हलोइन र हलिपलिका रूपमा सम्झना गरिँदै छ, जुन इसाई मत स्थापनापूर्वको चाड हो । हिरण्यकशिपुको एक सहयोगी थियो मुर, जो मौरिटानिया र मोरक्कोको हो । उसको अर्को सहयोगी थियो शंखासुर, जो समुद्रमै हुन्छ । अर्को सहयोगी थियो बकासुर (पछि दक्षप्रजापति) जो इरानको ठानिन्छ । उसको एक नगरवासी बर्बर (लिबियाको) लाई सगर (समुद्र) ले हराएको थियो । यसरी साहित्यमा प्रतीकवाद फ्रान्सका कविद्वय बदलेयर र मलार्मेबाट होइन, संस्कृतमै जन्मिसकेको थियो, जसलाई नचिनेर नृसिंहपुराण भनिँदैछ । यो चाड इजिप्ट वा ग्रीस (दुवै भूमध्यसागरका किनारमा छन्) बाट आएको हो भन्ने एक भारतीय लेखक -श्रीगुप्ते) लाई खण्डन गर्दै पीबी काणेले गुप्तेले भारतीय प्राचीन ग्रन्थ नपढेको बताएका छन् । तर यहाँनिर काणे नै गलत देखिन्छन् । ग्रीकमा हेलियोको अर्थ अग्निदेव (सूर्य) हुन् । यसैले विज्ञानले सूर्यमुखी फूललाई हेलियान्थस, सूर्यभक्ति फूललाई हेलियोट्रोपियम भन्दछ । होली चाड सम्पूर्ण रूपमा इसाई यताका पुराण (भविष्योत्तर) हरूको उपज हो । र तराईकाहरूले वा दलितहरूले अन्यथा नठानुन् होलीलाई, भारतीय विज्ञहरू (शर्मा १९७४) ले नै शूद्रको चाड भनेका छन् । फेरि साल लिम्बुहरूले यस सासिङवाको धूप प्रयोग गर्छन्, जुन सुश्रुतसंहितामै सर्जरालको नामले उल्लिखित छ । आठपहरे रामेछापका मगर, थामी र रौतहटका माझी, बोटे, चितवनका थारूका निम्ति पनि पवित्रतम धूप हुँदै हो । तामाङहरू त भन्छन् नै, 'दक्षिणका देवतालाई सालको धूप अर्पण गर्छु' -ह्वाइ रिमठिम) । याक्खा, लोहोरुङ राई, पहरी, राजीका निम्ति पनि अत्यावश्यक मानिन्छ, यसको पात । कुसुन्डाले पूजासामग्री चढाउने सालको रूखमुनि नै हो । दुरा केटीले विवाहअघि जंगलमा सालका दुइटा रूखलाई टीका लाइदिनुपर्छ । किसान जातिलाई पाँचवटा सालको बोट चाहिन्छ, हरेक पूजामा । नेवारहरूका निम्ति 'पोरे सिं' हो, अर्थात् जगमा गाड्नुपर्ने काठ यही नै हो । यसैले अग्रकाठ भएको हो । बोटेहरूको खम्बादेवी यसैबाट खडा हुन्छ । मानन्धरहरूको सालदेवताको जगमा यही छ, जहाँबाट आउँछ, साल्मी शब्द । सतारहरूको निम्ति सरज (साल) माथि वाण लागेपछि त्यही नै प्राथमिक बस्ती बन्न गयो । थारूहरू यसैको पातबाट देवतालाई चढाउने पवित्रतम रक्सी बनाउँछन्, सामपाङ राईहरू यसैको फूलबाट देवतालाई चढाउने रक्सी । दाङका थारूहरूका निम्ति यसको चोप भियाग्रा बराबर हो । यी सबै कारणले यसको नाम सखुवा (सुख दिने) बन्यो । जोखनामा आउने शब्द सल्लिबिसल्ली यही सालविशालको रूपान्तरण हो । अरू सबैका मुढा नितान्त मुढा हुन् । यसकै मात्र मुढाले गर्गन्डा भन्ने नाउँ पाएको छ । अरू सबैका जंगल, जंगल नै हुन् । यसको जंगलचाहिँ खोरिया हो । फाल्गुनप्रति फाल्गुन नक्षत्र हो- वायुपुराणका निम्ति, जसका भौगोलिक नामहरू नेपाल नाघेर तिब्बत र चिनियाँ भूभागतिर लाग्छन् (जीपी गुप्ताको अनुवाद) । फाल्गुनीको अर्थ हो- जुन दिनको संस्कारले व्यक्तिलाई सुन्दर बनाउँछ । फाल्गुन र लिंग पर्यायवाची पनि हुन् । फाल्गुन शिवलाई विशेष पुज्ने महिना हो । फाल्गुन सौभाग्यशयनको महिना हो, सम्झे हुन्छ, फाल्गुने बैंस । फागुपूणिर्मालाई चन्द्रमाको जन्मदिन मानिन्छ, जुन नेपालका शिवको शिरको गहना ठानिन्छ । यसैले विक्रम संवत्को एउटाचाहिँ महिना हुनपुगेको छ । अब यति भइसकेपछि पृथ्वीनारायण शाहले फागुलाई राष्ट्रिय पर्व मानेनन् भनेर -पोखरेल) गुनासो गर्न कसरी मिल्छ ? जुन शब्द दिव्योपदेशमै छैन । अन्त्यमा, जापानको 'चेरी फेस्टिबल' विश्वविख्यात छ । तर त्यो साकुरा -प्रनस जापोनिका) नेपालबाट लगिएको पैयुँ (प्रनस नेपालेन्सिस) बाट विकसित हो भनेर १७ वर्षको अनुसन्धानपछि जापानीहरूले नै पुष्टि गरिसकेका छन् । पारिजात -निक्यान्थेस आर्बर टिस (टि्रस) को चोरीको प्रसंग र संस्कृति अवश्य आउँछ, नेपाली परम्परामा । तर त्यो कथा १४ सय वर्षमात्र पुरानो हो । देउखुरी र बर्दियाका थारूहरूले सिमल (बम्बाक्स साइबा) लाई बीचमा गाडेर उत्सव मनाउने गर्छन् । तर त्यो होलीको रूपमा हो । पर्वत राज्यमा मयल (पाइरस पाइसिया) को हाँगा गाडेर फागु मनाउने चलन थियो, जुन अठारौं शताब्दीको मात्र प्रसंग हो । ताप्लेजुङमा लालीगुराँस -रोडोडेन्ड्रन आर्बाेरियम र अन्य) महोत्सव मनाउन थालिएको सन् १९९९ देखिमात्र हो । अर्थात् फागुपूणिर्माको नाममा मनाइने सालभञ्जिका महोत्सव थाहा भएसम्म ७ हजार वर्षभन्दा पनि पुरानो, विश्वको सबैभन्दा प्राचीनतम र नेपालमा जन्मिएको पर्व हो । अत्यन्त गौरवशाली परम्परा हो यो, जसलाई भूमध्यसागरको पराई होलीले छोपेर विकृत बनाइदियो । त्यसमा पनि यसको मुख्य स्रोत चारकोशे झाडीमाथि भारतीय रेलवे स्लिपरहरूका निम्ति उतिबेलै बि्रटिसहरूको आँखा लाग्यो -जेभी कलियरको फरेष्ट्री इन नेपाल) । यो मासिँदै गयो अनि सालसिडकै तेलले सालसिडको पिठोलाई पकाएर कुनै बेला बनाइने 'सेल'समेतको अनुहार त्यसरी नै बिर्सिइयो, जसरी विज्ञानले नभन्दासम्म चन्द्रमा पृथ्वीबाट छुट्टएिर गएको उपग्रह हो भनेर संसारले मानेन । http://ekantipur.com/nep/2069/...
_____ · Mar 20, 2013 8:01 AM · 1,933 views
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion