दमयन्ती

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

दमयन्ती, आज तिम्रो चिठीको उत्तर लेख्दैछु । लेख्ने अर्को प्रयास गर्दै छु । यो सक्छु सक्दिन केहि थाहा छैन । सके भनेपनि तिमीलाई पठाउँछु, पठाउँदिन त्यो पनि थाहा छैन । तर शुरु गरेको छु । एक फेर तिम्रो चिठीको थियो, आशा छ यसले अर्को फेर भेट्टाउने छ । जीवनमा एउटा अनिवार्य आयाम हुन्छ, समयको । समयले जीवनका तत्वहरुलाई आकार दिन्छ, वजन दिन्छ, चिनारी दिन्छ । यो आयाम बिना जीवन शुन्य भइदिन्छ । भुत, भविष्य र वर्तमान एकै बिन्दुमा बसिदिन्छन् । जीवन प्रसारण हुँदैन । तर केहि भोगाई हुन्छन, जो समयले छुँदैन, भिज्दैन । तिमीसँगको सम्झंना, त्यसपछिका भाव मेरो जीवनमा काल बिहिन बसिरह्यो । समयले निकै लेप लगायो, निक्कै ढाको । अहँ यो पाकेन, उस्तै छ । आज किन हो, म बिगतमा पुगेको छु । म सँग अहिले तिमीसँगको हिजो आज भएर आएको छ, म अनुवृत्त बनेको छु । तिम्रो चिठी उत्तर मैले कहिले लेख्न सकिन । जब जब लेख्छु भनेर कलम उठाँए, कलम गह्रौं भइदियो, लेखेका अक्षरहरु मक्किदै गए, बाक्यहरु बाँधिएनन् । म कमजोर भए । मैले उत्तर पठाउन कहिले सकिन । तर मलाई सँधै केहि अपुग जस्तो भयो, असहज भयो । आज फेरि मन पोलेको छ, त्यसैले म लेख्दै छु । आशा छ यो चिठी पुरा हुनेछ । म सफा नै छु । सन्चै छु । सामान्य उतार चढावहरु अविछिन्न नै छन्, जीवन बित्दो नै छ । बिहे गरिन, मलाई जाँगर पनि लागेन । धैर्य चाहिन्छ, मसँग थिएन । आफन्तले निकै प्रयास गरे, मैले सकिन । अहिले प्रसंङग छुटेको घटना भइसक्यो । एक्लै बस्छु, अर्को तिर भाइहरु बस्छन् । बात मार्न, रक्सि खान साथ मनग्गे छ । १-२ बर्षमा फेरिन्छन केटाहरु । जागिर त्यहि नै हो । बुढो साइकल जस्तो छ । म चलाउँदै छु, धानेकै छ । यो त भए तिम्रा शुरुका प्रश्नहरु को उत्तर । तिमीले प्रश्न सोधेको पनि ७ बर्ष हुन लागेछ । अब यी उत्तरहरुको पनि खासै औचित्य छैन, तर पनि लेख्दै छु । तिमीले सोधेकि थियौं, म जवाफ दिदै छु। म ढीलो नै भए तर उत्तर दिन मन लाग्यो । तिमीले हाल खबर सोध्यौ, मलाई सन्चै छु भन्न मन लाग्यो । तिमीले छोएर गएपछि म नजाँनिदो ब्यत्ति भए आफैसँग । म बिस्तारै आफ्नो छाँयासँग अपरिचित हुन थाले, बिगतको म मलाई परदेशी लाग्न थाल्यो । मेरो छाँया म भन्दा निकै पर पुग्यो, म भने तिम्रो स्पर्शबिन्दुमै अडिए । यो बढो असहज परिस्थिति बन्यो, म गुज्रिए । मलाई सत्य सापेक्षिक लाग्दथ्यो तर यहाँ आयाम परिवर्तन हुँदैथ्यो । मलाई लाग्थ्यो परिबर्तनमा हलचल हुन्छ, आवाज हुन्छ, क्रान्ति हुन्छ । तर अँह, यो त मौन हुँदो रहेछ, शान्त हुँदो रहेछ । मैले पाएको बुद्धत्व यहि हो । तिमीसँगको सम्बन्ध निकै छोटो भयो, मैले प्रसङ्गसँग मेरो कथा भन्न कहिले सकिन् । तिमीलाई मेरो भोगाईको पहिलो श्रोता बनाउने इच्छा हो, त्यसैले तिमीलाई सुनाउँदै छु ।   क्रमश:  meaninglessthinkings@somewhereondearth

somewhereondearth · Mar 7, 2013 10:59 PM · 30,767 views

17 Replies

"मलाई लाग्थ्यो परिबर्तनमा हलचल हुन्छ, आवाज हुन्छ, क्रान्ति हुन्छ । तर अँह, यो त मौन हुँदो रहेछ, शान्त हुँदो रहेछ । मैले पाएको बुद्धत्व यहि हो ।"  तँपाइ जीवनलाई निचोरेर चुक निकाल्नुहुन्छ दाइ...लभ्ड इट...अर्को भाग चाँडै पाउँ

fucheketo · Mar 7, 2013 11:41 PM

 ल बल्ल साझामा मज्जा आउने भो ... मिस्सिंग योउर  stories.... कीप going... ....

Aakinchan · Mar 9, 2013 7:36 PM

भाग २ तिमीले दिएको अन्तिम विषेशण जस्तो गम्भिर म कहिले थिइन । म त मनमोजी थिंए । जानिनु, चिनिनु मेरा सन्तुष्टिका अवयव थिए । म खुल्ला दौडन्थे, उफ्रन्थे, मचिन्थे । जागिर भयो, गज्जबको । एक्लो अल्लारे, मेरा बानि छिप्पिए । जीवन उत्सव थियो अनि यौवन आरति । म माझिंदै गए, कुरा गर्न, कुरा बुन्न । यौवन छिप्पिदै जाँदा यस्ता ब्यक्तिगत निपुणताले दिशा लिन थाल्दछन् । अनि तिनै परिचय बन्दछन, ब्यक्तिका । मानिस त्यसमा रमाउँन थाल्दछ । कसैको जीवन यीनै परिचयमा गुज्रिन्छ । कोहि छोटो समयमा यसको भेउ पाउँछन् । कोहि घटनाले मात्र बिउँझिन्छन् । म तेस्रो फेरा मा परे । तिमी सँगको सम्बन्ध पछि, म बिउँझिए । त्यहि बेला मैले मेरो परिचय हराउँदै गए, आफैं सँग अपरिचित हुँदै गए ।   साथीको जन्मदिन, कोहि कसका तर्फबाट, कोहि कसका तर्फबाट । म एक्लै गएको थिँए । मेरो कौशलता यौवन चिन्नुमा थियो, सौख चाख्नुमा । कालो चोलो, मेरो पहिले आँखा तिम्रो वक्षमै थियो । तिमी भरिएको यौवन बोकेर आएकि थियौ, मेरो तारो बनिहाल्यौ । अरुको म जान्दिन, म मोहित भए । तिमी  पनि एक्लै कुनिएकि थियौ । केहि हेराइ, केहि वातावरण विचारको कुरो थियो, म तिमीसँग पुगि हाले । बाँकि कुरो तिमीलाई थाहै छ । कुरा केहि छल्किए, कहिले तिमीले कहिले मैले । बढो रमाईलो भयो । बाघपटुका मेरो कलाकारिता थियो, म तिमीलाई बाँध्दै गए । हो त्यहि दिन, मलाई केहि हुन थाल्यो । मनमा एउटा हलुका काउकुति लाग्न थाल्यो । म अनेक शिकार गरेको मान्छे, तिमीलाई ताक्दा मलाई अर्कै ढुकढुक भयो तर अनुभवले त्यसलाई पन्छायो । म तिमी तिर लम्किए । एकतर्फी बाटो काट्न गाह्रो । तिमी सजिली थियौ, बेर लागेन । भेट बढ्न थाले, म नजाने ‘पार्टी’ पनि जान थाले । समय बगिरह्यो, मलाई रंङ्गिन बनाउन खरो भइरह्यो । अनि एक दिन, तिमी विबाहित भएको कुरो थाह भयो । एकैछिनलाई बिचार थामियो । तर म अनेक स्त्री भोगि हिडेको मान्छे, तिमी पहिलो बिवाहित आइमाई थिइनौ । कलाकारिता एकोहोरो हुन्छ । तिमी शुरु गर्छौ, बिचमा छोड्न अफ्ठायारो हुन्छ । जानी जानी पनि तुह्याउन सकिदैन । श्रृजना कलाकारको आडम्बर हो । जस्तो होस, सजिलै त्याग्न सक्दैनन् ।  मेरो कलाकारिता नारी भोगमा थियो । म पर्न लागेको दाउ त्यसै कहाँ छोड्थे र । मौका आयो, दिन आयो । शुक्रबारको रात थियो । पार्टी सकियो, तिमीले घर पुर्याउन भन्यौ । म त्यहि मौका खोजेर बसेको । बातहरु बत्तिन थाले । हलुका नशा तिमीलाई पनि थियो, मलाई पनि । प्रसंङ्गहरु उत्ताउला बने। म मनमनै सचेत खुशी थिए । एउटा अर्को विजय हुँदै थियो । म तिम्रैमा बस्ने भए । के चाहियो, मैले मेरा दाउ फाले । तिमीलाई सबै दाउ लाग्दै गए । हात बाट शुरु भयो । नारीका हात नरम नै हुन्छन् । लोग्नेमान्छेका साह्रा । सबैले जानेकै कुरा हो । हामी फेरि जान्दै थियौ । तिमीले यौवनको फुकायौ, मैले तिमीलाई बिस्तारै बाँधे । बिहान भयो, म बिदा हुने सुरमा थिंए । निकै अनुभवले सिकाएको थियो, रात बेश्यै सँग बिताए पनि हँसिलो मुखले बिदा हुन । तिमीले चियाको प्रस्ताव राख्यौ, मलाई नौलो आग्रह थियो  । जितले खुसी दिन्छ, म खुसी थिए । कहिले काँहि आक्कल झुक्कलको हाम्रो सम्बन्ध नियमित नै हुन थाल्यो । तिमी सजिली हुँदै गयौ । हो, ठिक त्यहि सजिलोपन बाट म छुट्टीन थाले, तिमी सँग, तिम्रो सम्बन्ध सँग, म आफै सँग । क्रमश: meaninglessthinkings@somewhereondearth

somewhereondearth · Mar 12, 2013 12:01 AM

"मलाई लाग्थ्यो परिबर्तनमा हलचल हुन्छ, आवाज हुन्छ, क्रान्ति हुन्छ । तर अँह, यो त मौन हुँदो रहेछ, शान्त हुँदो रहेछ । मैले पाएको बुद्धत्व यहि हो ।" - अति नै राम्रो |

Maverick · Mar 12, 2013 2:28 AM

 भाग ३,४,५,६....को आशा मा....

dkhanal · Mar 12, 2013 11:12 AM

 wow!!..kasto philosophical tara pani kasto grounded.. sabda sangai bageko lekhak ko anubhuti ani bich bich ma pathak lai ekchin rokayera chintan garauna sakne khubi...ekdum gajjab ko lagyo...juugh pachi nepali katha padeko...suru mai hiraa paryo

Alias_ · Mar 13, 2013 8:11 AM

Well. Patience to wait for stories has worn out I guess when somebody writes in this caliber and keep us waiting. Don't make wait more dude.  I think San should just collect all these stories and publish a e book out of it, and then give royalties to writers. it would be great business I think. 

Juggy · Mar 13, 2013 9:38 AM

वाह क्या गज्जब कथा - अर्को भाग को प्रतीक्षामा - धेरै नकुराउनु होला -

serial · Mar 13, 2013 9:49 AM

नारीका हात नरम नै हुन्छन् । एउटा साथीको हात त क्या कडा थ्यो साहिला, तिमीले एकचोटि उसङ हात मिलाएर हेर्नु पर्ने, कर्याक कुक्रुक हुन्थ्यो एकछिनसम्म। जे होस्, धेरै पछि आएको छौ साझामा, एकदम राम्रो प्रस्तुति छ, दमयन्तिको मनसम्म अबश्य हामीलाइ पुर्‍याउनेछौ भन्ने आशामा! धेरै ढिलो नगर अर्को भाग लेख्न, नत्र --------------------------------------------------------------------------------------------------------------- ----------------नत्र हामी कुरि रहनेछौ।  

crazy_love · Mar 13, 2013 6:08 PM

" श्रृजना कलाकारको आडम्बर हो । जस्तो होस, सजिलै त्याग्न सक्दैनन् ।"  आडम्वरी दाई Rocks..lets continue this आडम्वर ।।। Seriously...रातभरी यहि line मनमा खेलीरहनेछ.Thousand meanings...Thousand emotions... मन पर्यो दाइ,साह्रै मन पर्यो...

fucheketo · Mar 14, 2013 12:38 PM

 << जीवन प्रसारण हुँदैन । तर केहि भोगाई हुन्छन, जो समयले छुँदैन, भिज्दैन ।>> <<तिमीले छोएर गएपछि म नजाँनिदो ब्यत्ति भए आफैसँग ।..... मेरो छाँया म भन्दा निकै पर पुग्यो, म भने तिम्रो स्पर्शबिन्दुमै अडिए>> सोम-दाइ हजुर को लेखाइको जति प्रसंसा गरुम कमै लाग्छ ......धेरै पहिला देखिको हजुरको प्रसंसक हुँ....धेरै पछि कथा पढ्न पाइयो हजुरको ..... सरस , सरल भैकन कति गहिरो कति ओझ भएको भाव बाट्नु हुन्छ शब्दमा   ........  सोम दाइ लेखुम न बाँकी पनि .... पढ्न आतुर भैसक्यो ....    - भाइ थाने

ThahaChaena · Mar 27, 2013 12:45 PM

 ए दाइ कथा खै त ...किन रोक्नु भएको हो ? 

Aakinchan · Mar 28, 2013 7:12 AM

 अन्तिम भाग एउटा युद्ध हुन्छ, त्यसमा विपक्षी हुन्छ, जित हुन्छ, हार हुन्छ । अर्को नदि हुन्छ, त्यो आफैं बगिरह्छ, अपवादहरुबाट मुक्त, सागर छुन्छ । यि दुई को कडि नै फरक छ । अनि एउटा संम्झेर अनुभव संगाल्दै जाँदा बीचैमा अर्को भएको भेउ पाउँदा गाह्रो हुन्छ। यो अनुभव जटिल हुन्छ । त्यति बेला न यो युद्ध रहन्छ न बहाव । मेरा हात सफा थिए, निकै युद्ध लडेको योद्धा जस्तो ।  मैले अरु केटी सजिलै छोप्न नसकेको होइन । तर तिमीसँगको जीत, जीत नै लागेन, यो फरक थियो । म तिमीसँग को सम्बन्ध म युद्ध संम्झेर लडेको । यो युद्ध हुनबाट तुह्यो, भावनाको बहावको संज्ञा पनि लिन सकेन । । जब ब्यस्तता हराउँछ, बोकेको भार गह्रौं हुँदै जान्छ । तिमी माथिको सजिलो विजय मलाई बोझिलो हुन थाल्यो, म त्यसैमा जडिए । । तिमी संग जति भेट्थे त्यती टाढा हुँदै गए,  तिमी सँग पनि म सँग पनि। तिमीसँगका सम्बन्धबाट म भित्रको म निसासिन थाल्यो । मेरो हाउभाउ बिस्तारै परिवर्तन हुन थाल्यो । भित्र हजार विचार पाक्दै थिए, केहि ब्यवहार मा उछिट्टिए । लोग्नेमान्छे एकोहोरिएको राम्रो देखिएन । साथीभाईले सोध्न थाले । भन्नेले भनि दिए, खुला पंक्षी थियो मायामा बाँधियो । मेरो परिवर्तित हाउभाउ मा माया को लेप लाग्यो । एउटा संज्ञामा म बयान भए । तर दमयन्ती, मेरो सत्य फरक थियो । मेरो मनको आँधि अर्कै थियो । माया बहाव हो, यसको आकार हुँदैन । यो एकोहोरो हुन्छ, अपवादहरु बाट मुक्त । त्यसैले त प्रेमीहरुलाई पागल भन्छन् । म पागल थिइन, मलाई मेरो सत्य थाहा थियो । तिमीसँग माया कहिले पलाउन पाएन । म तिम्रा लागि एकोहोरिइन । म त नारी स्वादको युद्ध लड्ने लाठे, माया त मेरो लागि अर्कै आयाम थियो । तर यहाँ ठेस जित हारको पनि थिएन । तिमी झन राम्री हुँदै गयौ । झन मादक हुँदै गयौ । तिम्रो अदृष्य खसम कहिले समस्या भएन । तिमी निपूण भइसकेकि थियौ । बैवाहिक चोरी मलाई पचिसकेको बिषय बस्तु थियो । म अर्को पाटोमा कहिले उभिइन, त्यो भाव मलाई थाहा भएन । मेरो पाटोमा स्वाद थियो, म चाख्दै गए । कहाँ काँचा केटिको जीउ, कहाँ तिम्रो । कहाँ तिनको अनभिज्ञता/कौतुहलता, कहाँ तिम्रो कलाकारीता । तिमीलाई आज म सत्य लेख्दै छु । मैले बिशिष्ट अनुभव पाए । यो त एउटा अनुभवि बरको दाँई जस्तो थियो । अनि तिम्रो निपूणताले मलाई मेरो मनमा गढेको द्वीचारले बिस्तारै आकार पाउँदै गयो  । मेरो समस्या जीत हार भन्दा पनि योद्धाको अस्तित्वको थियो ।  जितले खुसी दिन्छ, म खुसी थिए । कहिले काँहि आक्कल झुक्कलको हाम्रो सम्बन्ध नियमित नै हुन थाल्यो । ब्यस्त त भए, तर सजिलै जितेको ठूलो युद्ध, केहि छुटेको जस्तो भयो । मेरो क्रान्तीको पहिले झिल्को त्यहि थियो । मैले घटना हरु केलाउँन थाले, कोट्याउन थाले । अनि जति जति सम्झँदै गए, त्यति बिचारले दिशा लिन थाल्यो । । म पो माछा रहेंछु, जाल त तिमीले फालेको रहेछ । म केटी फकाउँदै उनको शरिर भोग्ने जादुगर । योद्धा त तिमी रहिछौं, म त मेरै युद्धको पात्र । जित एउटा शिखर हो, जित्ने तरिका अर्को । मेरा अनेक शिखरको चुमाई, तिमीले कति सजिलै खंङ्ग्रङ्ग पार्यौ । यो चोट ठुलो थियो । कला जे सुकै होस, जब कोरिरहेको चित्रको आकारले आफैंलाई कोरिरहेको सत्यबोध हुन्छ, अनुभव घनघोर हुन्छ ।  तिमीले मेरै कलाकारितामा मलाई जितेकि रहिछौं । मलाई मेरो सत्यबोधले कट्कटी खायो । हो त्यहि बेला तिमीले चिठी लेख्यौं । तिम्रा प्रश्नहरु त पढें । तर म लल्याक-लुलुक्क भएर बसेको थिए । उत्तरहरु त थिए, तर बाक्य बनाउन सकिन । बुद्धत्व पाउनु एउटा कुरा होला, त्यसलाई बताउन सक्नु अर्कै । निर्वाण सम्भोगको मीलन बिन्दु जस्तै हुन्छ जहाँ भुत भविष्य र बर्तमान गाभिन्छ । समयको आयाम त्यो क्षणलाई हराउँछ । त्यसपछिको शिथिलता तिमीले पनि राम्ररी जान्दछ्यौं । म मेरो यथार्थता को बुद्धत्व पछिको शिथिलतामा थिए । म अशोक बनेर स्तम्भ बनाउदै हिड्न थाले । समाजका काम गर्न थाले । तिमीलाई उत्तर दिन खोजे  तर ढिलो भइसकेको थियो । तिमी बिवाहित नारी, तिम्रा आफ्नै कमजोर पाटाहरु थिए । तिमीले ढाक्न पर्थ्यो, जोगाउन पर्थ्यो । एउटै पात्रमा निकैबेर अड्कन नहुने त त्यो खेलको नियम नै हो । तिमी किन कुर्दथ्यौ त ! अनि आज म यहाँ छु, समयको यो कुनामा । दिन बितेकै छन् । म अझै भावनामा बग्न सकेको छैन । यो नियोजित हुँदैन, आयो भने बगाउला । न आए पनि समस्या छैन ।  अलिबेरको अनुभव पछि, अशोक पनि मलाई मुक्त लागेन । म अचेल युद्धको पश्चातापमा स्तम्भ बनाई हिड्दिन । म मनमोजी नै छु, खालि मोजको परिभाषा अलग छ । एउटै कुरामा पीडित छु , तिम्रो जवाफ । आफूलाई टटोल्दा, यहिं गाह्रो हुन्छ, त्यसैले तिम्रो चिठीको उत्तर लेखेको । म त मेरा विचारको लँडाईले छुट्टिए तिमीसँग । मलाई तिमीसँग न गुनासो छ न आभार । आशा छ यो चिठी तिमी सम्म पुग्छ, यो सत्य तिमी सम्म पुग्छ ।   यति नै ।   meaninglessthinkings@somewhereondearth

somewhereondearth · Mar 28, 2013 7:35 PM

सोमे साहिला, यो पाली कथा एकदम राम्रो शब्द संरचना उत्क्रिष्ट तर तिमीले अलि छोटो बाटो रोज्यौ, कथाको घटनाक्रमहरु अति संक्षिप्त लाग्यो। हुन सक्छ, तिम्रो ब्यस्तताले कथालाइ यसरी समाप्त गर्‍यो, तर कथा धेरै क्लिष्ट पाँए। तिम्रो कथा पढ्न पाउनु नै हाम्रो अहोभाग्य हो, तैपनि मनमा लागेको कुरालाइ भन्नै पर्‍यो, अर्को कथाको आशामा! Regards, CLhttp://sajha.com/sajha/chat/sm...

crazy_love · Mar 29, 2013 12:21 PM

समय बदलिदो छ सोम दाई, सधै आफू माथि छु भन्ने सोच्न हुन्न है! लेखाईमा धेरै दम छ। दमायन्तीलाई दमायन्ती मनपर्यो

damayanti · Mar 29, 2013 11:39 PM

 Dai , I must say I am addicted to your spice..तँपाइको शव्दमा " झुम्म भयो !" वाँकी त तपशिलका कुरा...

fucheketo · Mar 29, 2013 11:55 PM

 सबैलाई धन्यबाद ।  fucheketo, aakinchan, maverick, dkhanal, alias_, juggy, serial, सांहिली, thahachaena, damayanti : thank you for your words. It means alot.  साहिंली, यो पाली घटनाक्रम संक्षिप्त नै राख्न मन लाग्यो । यो पाली अन्तरद्वन्द नै बढी भइदियो । यो बेला यसरी नै भुत लागे! -somewhereondearth

somewhereondearth · Mar 30, 2013 10:56 PM

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion

You might be interested in...

Recent Classifieds View all
Upcoming Events View all
Service Providers View all