माड्साप!

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

  माड्साप! कुरो त्यस्तै ६०/६१ सालतिरको होला, हाम्रो गाउँबाट झन्डै डेढ कोश परको खूबै नाउँ चल्या बोर्डिङ स्कुलमा चार किलासमा पढ्दै थिएँ म। काभ्रे र भक्तपुरको साँधैमा भएर होला, हेडसरले दुबैतिरका भुराहरु तान्न सफल भएका थिए। राम्रो पढाई हुने अनि हेडसर  नि मिजासिला भएर हाम्रो स्कुल 'राइसरको स्कुल' भनेर ओरपरका २-३ गा. वि. स. मा राम्रैसँग चिनिएको थियो। तेस्माथि अघिल्लो साल पैलो पाली एस. एल. सी. दिनेमा चारैजना फस्ट डिभिजनमा पास, एउटाले त अस्सी नै कटाइदिएछ! अनि त के चाहियो र, "राइको छोरोले राम्रो पढाउँदो रैछ," भनेर एक भुँडी तातो भातको भरमा हिँडेर पुगिने गाउँ-टोलका सबैले आफ्ना भुरा-भुरी त्यही स्कुलमा पठाउन थाले। हेडसर पनि स्कुललाई अझ राम्रो बनाउन तत्पर देखिन्थे।   बोर्डिङ स्कुल भएकोले "नेपाली कक्षा बाहेक अरु बेला अङ्रेजीमा बोल्नू," भन्ने उर्दी जारी गरेका थिए माड्सापले, नत्र जस्ले पनि उनलाई लगेर पोल लगाउन पाउने नियम थियो। पोल लगाउनेले स्याबासी पाउँथ्यो, अनि नेपाली बोलेर माड्सापको नियम मिच्ने चाँही पोलिन्थ्यो उनको रिसको आगोमा। सजाँय कि त स्कुल पछाडिको खेतमा लहलह हुर्केको नर्कटको लौरीले हत्केलामा सुम्ला बस्ने गरी १-२ लाठि हुन्थ्यो, कि भने दुबैतिराका कन्सिरीका रौँ समातेर मान्छे नै उचाल्थे हेड्सर! नानी देखिन लाग्या बानी न पर्‍यो, नेपालीमा जस्तो अङ्रेजीमा साथीहरुलाई गाली गर्न र तथानाम भन्न मज्जा नआउने, तेस्माथी उबेलाँ अहिलेको जस्तो 'एफ वर्ड', बीचको औँला तेर्स्याउने देखिन लिएर अन्य अङ्रेजी गाली-गलौजको त्यती ज्ञान नि थिएन। एक बाजी रिसको झोँकमा एउटा साथीलाई "मुजी" के भनेछु, एउटा कुरौटे बाहुनले सुराकी गर्न भ्याइहालेछ। "जातले पाको, खा साले; तेरा नि पालो आउँछ," मनमनै भन्दै लागेँ हेडसरको अपिसतिर।    "डु नट स्पिक इन नेपाली, सुमन! दिस इज अ बोर्डिङ स्कुल!!" माड्साप कड्किए। "सरि सर!" के भन्दै थिएँ, माड्साप मेरा कन्सिरीतिर आफ्नो हात तन्क्याउन थालिसक्या थिए। त्यो दिन मलाई कन्सिरीका १०-१२ रौँमा कति ताकत हुन्छ थाहा भो; मेरा देब्रे कन्सिरीका रौँ सामतेर दुई फन्का घुमाएर मलाई त हावामै उचाल्दे हेडसरले! हातले कन्चट सुम्सुम्याउँदै कक्षातिर लागेँ। गर्व गर्ने कुरो त होइन, तैपनी लेख्दिम क्यारे। मेरा राता कन्चट र कान देखेर मुख छोपेर हाँस्ने सुराकी बाहुनलाई त्यही हप्ता पैँचो तिर्ने मौका मिल्यो। मोहन सरले सोसल स्टडिज पढाउनु हुन्थ्यो, डिक्टेसन लिँदा एउटाको कापी अर्कोले जाँच्ने अनि कापी जाँच्नेले जति गल्ती छ त्यती झापड हान्ने नियम थियो। मलाई बाहुनको कापी परेछ, "ल कान्छा, गाला मास्तिर फर्काएर बेन्चमा मुन्टो राख," भनेँ। १३ गोटा स्पेलिङ बिगार्या थ्यो चतुरेले, भोलिपल्ट स्कुल आउँदा गालामा मेरा तीन औँलाको छाप टद्कारै देखिन्थे।  हेडसर अङ्रेजी बोल्नुपर्ने कुरोमा मात्र होइन, अनुशासनको बिषयमा नि उत्तिकै कडक थिए। आफ्नो स्कुललाई बाँदरहरुको रंगशाला बन्न कुनै हालतमा दिदैनथे। नङ देखि लिएर जुत्ताको पालिस सम्म सबै चिटिक्क हुनुपर्थ्यो, नत्र कक्षा पस्नै नदिइ कन्सिरी तताएर घर फर्काइदिन्थे! नौ बजे स्कुल पसेपछी एकैचोटि ४ बजे छुट्टी भएपछी मात्र बाहिर जान पाइन्थ्यो। खाजा कि घरबाट ल्याउने, कि आया दिदिलाई पैसा दिएर स्कुलको गेट बाहिरको पसलमा किन्न पठाउने। तर हामी दुई-चार साथीहरुको नराम्रो लत बसेको थियो - हलुवा-पाउरोटीको! एक रुपैयाँ दिएपछी एउटा पाउरोटीमा जाम दलेको जसरी तर एक गतिलो पन्यु तात्-तातो हलुवा दलिएर आउँथ्यो, औधी मिठो हुन्थ्यो! आया दिदी त्यो पसल अलि टाढा भएकोले जान मन्दिनथिइन्, कहिलेकाहिँ हाफ टाईममा भागेरै भए नि गैन्थ्यो। एकबाजी भागेर पसलतिर जाँदै गर्दा हेडसरले भेट्टाएर स्कुलतिर खेदाएका थिए। पछी अपिसमा बोलाएर हातका पछील्तिर फोकै-फोका हुने गरी सिस्नु-पानी लगाए, तैपनी भागेर हलुवा-पाउरोटी खान जाने क्रम बन्द भएन।  जे जस्तो भए नि हेडसरले मलगायत अरु साथीहरुलाई अनुशासनको राम्रो पाठ पढाए, अनुशासित हुन सिकाए। पाँच किलास सम्म उनले सोझ्याउँदै गए, र हामी नि सोझिँदै गयौं। हाम्रो गुटमा अरु साथीहरुले के सोच्थे त त्यती थाहा भएन, तर मलाई चाँही हेडसर आफ्नो वैरी भन्दा नि 'आफ्नै साइडको' जस्तो लाग्न थाल्या थियो। एक हिसाबले उनी मेरा लागि एक असल मान्छेको उदाहरण भएका थिए र मेरो उनिप्रतिको आदर पनि बढ्दै गएको थियो। एसो सोच्दा लाग्छ, ती अनगिन्ती कन्सिरी उखेल्याइ, नेवारको खेतमा मौलाएको नर्कटको लौरी, अनि सिस्नु-पानी नखाको भए आज शायद आज यहाँसम्मन आइपुगिन्नथ्यो होला, कतै आवारा भएर हिँडिराख्या हुन्थेँ अहिले। पाँच किलास सकेपछी राम्रो शिक्षा र आचरणको लागि राइसरलाई धन्यवाद दिएर अर्कै स्कुलको बाटो ताताएँ मैले। गएको बर्ष हिउँदमा छोटो समयको लागि भए नि नेपाल फिरेको थिएँ। बजारबाट हल्का मर-मसला किनिसकेर घर जाने बस चढेँ। धुलाम्मे सिट, तेसमाथि असाध्यै साँघुरो! अग्लो मान्छे परियो, जसो-तसो घुँडा अटाएर बसेँ। असजिलो भएर बस कहिले हिँडाउला जस्तो भैराख्या थियो। एत्तिकैमा "भाइ, यो सिट खाली हो?" भन्दै हेडसर मेरो छेउमा बस्न आइपुगे। झल्यास्स सरले कन्सिरी समातेर उचाल्या याद आयो! "खाली हो सर, बस्नुस्!" भनेँ "मलाई चिन्नु भएन कि के हो सरले? म सुमन! प्रल्हाद सरको छोरा।" मेरा बा पनि मास्टर भएकाले राम्रो चिनजान थियो राइसरको। "कतै देखे जस्तो त लागेको थियो भाईलाई, बल्ल चिनेँ। कता, के गर्दै छौ आजकल?" हेडसरले कुरो अगाडि बढाए। कुरा गर्दै जाँदा हेडसरले स्कुल अरुलाई सुम्पेर आफु अन्तै क्याम्पसमा पढाउन लागेको थाहा पाएँ। त्यस्तो नाम कमाइरहेको स्कुल किन छोडे चाँही खुलेर भन्न चाहेनन्।   सरसँग छुट्टीएर घर पुगेर खाना खाइसक्दा नि मेरो कौतुहल कम भएन। "त्यस्ता असल मान्छे, खूब चलेको स्कुल, छोड्नैपर्ने के कारण होला त्यस्तो। फेरी सोध्दा खुलेर यो बिषयमा कुरा गर्न नि चाहेनन्, के रहेछ कुरो पत्ता नलगाइ भएन," सोच्दै हाम्रो गुटको एउटा साथी - सत्यलाई फोन घुमाएँ। ऊ स्कुल नजिकैको बासिन्दा भएकोले केही पक्कै थाहा होला भन्ने लागेको थियो। धेरै पछी कुरा भएको हाम्रो, हलुवा-पाउरोटी देखी लिएर पाँच किलासमा एउटी अती नै च्वाँक केटीलाई बेक्काममा रुवाएको सम्म सबै कुरा ताजा गरियो। तर हेडसरको बारेमा सोध्दा उस्ले पनि कुरा खोल्न मानेन। अलि निकै बेर किचकिच गरेपछी बल्ल सबै बेली बिस्तार सुनायो साथीले। त्यस्तो रसिक मान्छे, सबैले वाह्-वाह् गरेका राइसर - स्कुल छोड्नुपरेको कारण अलि जटिल नै रैछ। मगज सड्केर आफुले ट्युसन पढाउने गर्या एउटी तरुनी च्यापेर हप्ता-दशदिन गायब भएछन, फर्केर आउँदा त टोलबासीहरुले पाता फर्काएर गोदेछन् नि! केटी बिहे गर्ने र आइन्दा त्यो स्कुलमा नपढाउने सर्तमा त्यहीँ बस्न दिने भएछन टोलेहरुले उनलाई।   एकबाजी त पत्याउनै मन लागेन सत्यको कुरा, कहाँ अनुशासनको नमुना कहाँ आफ्नो आधा उमेरकी केटी टिपेर भाग्ने टप्परटुँइया! तर बुढा रैछन् चाँही एक नम्बरका स्याल - तीन किलासमा अङ्रेजी पढाउने कमल सर जस्तै; तिनले नि उसैगरी केटी लिएर बेपत्ता भाका त हुन नि! जन्तरे

jantare1 · Mar 6, 2013 10:49 PM · 17,487 views

5 Replies

लोल जन्तरे खतरै परेछ हेडसर त - अब एक बार दिल आएपछि अनुशाशन गया तेल लेने हुन्छ नि मखुला - बिचार हेडसर को पनि के दोष रमाइलो लाग्यो पढ्दा - गज्जब

serial · Mar 7, 2013 10:09 AM

प्रतिक्रियाको लागि धन्यबाद लहरे दाइ. मन पराइदिने अरुलाई पनि धन्यबाद! आफ्लाई चाहिँ हेडसरको भन्दा नि त्यो केटीको बढी चासो छ, मोरी अझै पनि भेट हुँदा राम्रोसंग बोल्दिन!

jantare1 · Mar 8, 2013 8:11 PM

 जन्तरेको किस्सा ...के जन्तारेको भन्नु हेडसरको किस्सा भखर पढियो ..... ल अरु किस्सा पनि सुनाउदै जानु !!

bhakte dai · Mar 8, 2013 8:23 PM

उहिले लाइक ठोकेर बल्ल बक्दैछ नभन्नु ल....  दामी गयो 'माड्साप को ह्रासलिला' को कहानी........जन्तरे ज्यु अरु पनि लेखम न ....यस्तो राम्रो लेख्नाहुदोरैछ ..   - थाने

ThahaChaena · Mar 27, 2013 1:02 PM

 मन पराइदेकोमा भक्ते दाई, थाने ब्रो र अरु सप्पैलाई धन्यवाद। समय मिलेसम्म लेख्दै गरम्ला, नत्र त यो खोपडीमा बचेको धेर-थोर नेपाली नि अमेरिकन स्टेक र बर्गरसँगै पोलेर खाइएला जस्तो छ!

jantare1 · Apr 3, 2013 9:54 AM

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion

You might be interested in...

Recent Classifieds View all
Upcoming Events View all
Service Providers View all