एक रुपैयाँको लाल मोहन !!!!

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

 एक रुपैयाँको लाल मोहन हिजो कुखुरा बाजेको जन्म दिन . कुखुरा बाजे अर्थात प्रफुल्ल, कुखुराको बिषयमा विद्यावारिधि गर्दैगरेकाले सोही अनुसार घरेलु नाम रहन गएको. अड्डाबाट फर्किने बेलाँ “ आज मर्स्याको पसलमा छिरम है, केही ग्रोसरी गर्नु छ “ भन्ने मेसेज आयो. अड्डा नजिकैको इन्डियन ग्रोसरी पसलमा गएँ. कुखुरा बाजे त्यहीं कुरी राख्या . “दाइ आज मेरो बर्थ डे “  बाजेले धक नमानी भने . “लौ बधाई र शुभकामना – अर्को बर्थ डे सम्ममा झ्याई होस्” – मैले आफ्नो शुभाशिष दिएँ . “भरेको भात संगै बिशेष गर्ने हैन त ? लौ के खाने आज ? “ मैले कुराको थालनी गरें . “अहिले समोसा खुवाउनु दाई , मर्स्याको पसल आए पछी त्यो तातोतातो समोसाले तान्छ मलाई .” “समोसा त अहिले खुवाउला भरे के खाने ?” “लाल मोहन खाने दाई, बाहुन न ठहरिएँ . जहाँ गुलियो त्यहाँ बाजे भुलियो “.... हाहाहा . कुखुरा बाजेको सदा झैँ रसिक पारा . अन्य सरसामान सहित लालमोहन अर्थात गुलाबजामुन एक क्यान र समोसा २ गोटा नि किनियो . समोसा चाही पसल बाहिर नै झ्वाम . “थुक्क !! मर्स्याले चिसो समोसा दिए छ.” बाजेको आक्रोसमा समेत ठट्यौली थियो . भान्साको जिम्मेवारी नि बाजेकै थियो. खसीको मासु भात खुवाउछु भन्दै पहिलेइ नै गोअट मिट किनेर ल्यैसक्या रहेछ. भात खाइयो ढ्याउ गर्दै . लाल मोहन अरु मित्रहरुको लागि सरप्राइज प्राइज थियो . मन तातो हुने गरी माइक्रोवेभ गरेर लाल मोहन पस्किंदा अरु दुइ मित्रहरु चकित भएका थिए. बडा मिठो लालमोहन है भन्दै दुइ ट्वाक भात संगै अरु ५ ओटा मोहनलाल हजम पारे अर्को साथीले . लाल मोहन महात्म्य सुनाउन थाले अर्कोले . पुल्चोकमा पढ्दा नयाँ लाइब्रेरी अगाडीको क्यान्टिनमा लाल मोहन साहुको आँखा छली झ्वाम पार्दा तातो परेर तालु पोलेको रमाइलो किस्सा सुनाए . लाल मोहनको रमाइला किस्साहरु सिलसिलामा म भित्रको एउटा कहानी मुख सम्म आउँदा नि भनिन . बाजेको जन्म दिनको त्यो रंगिन पललाई बिथोल्न चाहिन. तर त्यो लाल मोहनले भने मलाई पछ्याई रह्यो.   कुरो छ किलास पढ्दाको हो . पूर्ब ब्याबसायिक शिक्षा भन्ने बिषय पढ्नु पर्थ्यो. सिकर्मी, डकर्मीको काम , खेती र किसानीको काम को साथ साथै पाक शिक्षा समेत पढ्नु पर्ने. त्यति बेलाको शैक्षिक थिंक ट्यांकहरुले यति सोच्न सकेन कि ती बिषय भनेको पढाउने हैन सिकाउने कुरा हो तर ६ किलास मा हैन हाइ स्कूलमा हो . खैर, पढ्नु पर्ने पढिन्थ्यो अझ भनुं घोकिन्थ्यो, बेला बेला खोकिन्थ्यो. पाक शिक्षाको पालो आए पछी पूर्ब ब्याबसायिक पढाउने संगीता म्याडमले क्रान्तिकारी घोषणा गर्नु भयो – शुक्रबार हाफ छुट्टी पछी लालमोहन र रसभरी बनाउन सिकाउने र बनाएर सबैले खाने... . खान न नि पाउने सिक्न न पाउने, सोह्र माथि सत्र , सब दंग ... “ लाल मोहन र रसभरी बनाउन खर्च लाग्ने भएकोले सप्पैले एक एक रुपैया लिएर आउने “ मिस को यो घोषणाले भने म लगायत अरु केहीको मुटुमै हथौडा ठोकेको थियो. ब्वाइजको पैसा राहुलले र गर्ल्स को पैसा रश्मीले उठाएर बिहिबार सम्म मलाई दिने . थप कार्यादेश मै माथि ? आउनु स्वाभाबिक थियो . किलासको फस , सकेन र थर्ड सबै गर्ल्स थिए. त्यस पछीको चौथो पोजिशनमा यहि राहुले. यसमाने मा अघोषित मनिटर. सबको नाम लेख्दै एक एक रुपैया जम्मा गर्दै गएँ. तर आफ्नो नाम लेख्न सक्ने हैसियत भएन म संग त्यति बेला. एक रुपैया ... त्यति बेला पनि धेरै हैन त्यो. तर परिस्थितिजन्य कारणले त्यो हजारौंको मुल्यमा थियो एक रुपैयाँ. कमाउने बुबा अस्पतालमा इन्तु न चिन्तु अवस्थामा. घरको चिसो चुलो आमाको गरगहना झोसेर गरम पारिराखेको बखत,  फगत एक रुपैयाको मूल्य पनि अमुल्य थियो. कसरी एक रुपैया जम्मा गर्ने, कुनै उपाय देखि रहेको थिएन. आमा संग मागुं कि ? एक मनले भन्यो . हैन हैन त्यो १ रुपैया बाबाको ओखातिमा काम आउछ , अर्को मनले साउती गर्र्यो.  कुना काप्चा खोजखाज गरें . साठी पैसा जम्मा भो . दिमागमा अचानक दिब्य ज्योति आयो .. पूजा कोठीमा ... भगवानलाई चढाइएको ... द्रुत गतिमा बुइँगल ( घरको माथिल्लो तल्ला ) मा लागें . खोसरखासर गर्दा अर्को न्हैन त्या ( ३० पैसा) भेटियो . एक एक पैसा पटक पटक गन्दा नि कहिले ९० हुने कहिले उनान्नब्बे हुने . निराश निराश थिएँ . बिहिबार, पैसा बुझाउनु पर्ने. १० पैसा त हो नि आमा संग माग्छु भन्ने सोचमा थिएँ. त्यो दिन बिहानै आमा अस्पताल गैसक्नु भएको रहेछ, फर्किने ठेगान हुँदैनथ्यो . अर्को फसाद . के गर्ने के नगर्ने? गरिबी र परिस्थितिले फेरी अर्को घोडे लात हान्यो. थचक्क बसें . किलास हाप्न न न मिल्ने, मनिटर र पैसा उठाउने जिम्मेवारी बोकेको निरही राहुले . ९० पैसालाई ससुम्सुम्याउँदै एक इपिसोड रोएँ . १० पैसा बाटोमा भेटियोस प्रभु, निष्ठुरी दैबलाई पुकारें. झ्याल बाहिर टोलाउँदै गर्दा पुन बीर  सिंह साहुको घरमा काम गर्ने आशमाइ तताजु ( तताजु = दिज्यू) तौला ( जन्म दिनमा बनाइने तील को लड्डु ) सहित चिबा ( चैत्य )मा पूजा गर्न आएको देखें . पुन बीर सिंह साहुको घरमा कसैको बर्थ डे हुनु पर्छ . दूर क्षितजमा आशाको किरण पलायो . अब धौ बजी दिन्छ . धौ बजी अर्थात दहि च्युरा – जन्म दिनको उपलक्षमा दही च्युरा, फलफुल एक-दुइ टुक्रा , तौला एक ओटा र प्राय १ पैसा सहित टोलका केटा केटीहरुलाई बाड्ने नेवार समुदायमा चलन अद्यापि छदै छ. तर पुन बीर सिंह साहु को घरबाट दिने धौ बजीमा भने घटीमा १० पैसा हुने अनुभवले हौस्यायो . त्यसो त ४ किलास पुगे पछी कसैको घरमा धौ बजी लिन गएको थिएन. अलि ठुलो भएको ४-४ किलास पढ्ने जस्तो . तर त्यो दिन ६ किलास पढ्ने ढडडु लाजै पचाएर बसें . कुन बेला “ हे मस्त धौ बजी का वा “ ( हे केटाकेटी हरु धौ बजी लिन आउ ) भनेर आशामाई तताजूले आवाज दिनु होला र दौडिएर पुगुँ भनेर कानेगुजी सफा गर्दै बसें. बल्ल साढे नौ बजे, आशमाइ तताजु को चीर प्रतिक्षित आह्वान गुन्जियो. एक निमेष मै पुन बीर सिंह साहुको आँगनमा , स्कूल मा कहिलेइ फस नभए नि आज  फस भएँ . धौ बजी लिएँ . मानौ एउटा ठुलो लडाईं जितें. धौ बजी भन्दा नि त्यो १० पैसाको पित्तलको ढ्याकलाइ हेरी रहें. धौ बजी खाइन, दही च्युरामा लतपतिएको पहेलो ढ्याकलाई धोएर जतन का साथ गोजीमा राखें र स्कूल तिर लागें . खुशीको सीमा रहेन . आफ्नो नाम सबै भन्दा अगाडी गर्बका साथ लेखि दायाँ तिर लेखें –एक रुपैयाँ . अस्तु !!! Last edited: 26-Feb-13 11:55 AM

rahulvai · Feb 26, 2013 11:38 AM · 25,492 views

16 Replies

Few stories have the ability to say so much and strike so many chords as yours. Engrossing, heartwarming, and beautiful. धेरै धेरै मन पर्यो ठुल्दाई!

annehathaway · Feb 26, 2013 11:59 AM

 बडो गजबको प्रस्तुति rahuldai दाजु / एउटा गृहकार्य गर्न बसेको सार्है नै अल्छि लगेर एस्सो साझा खोलेको त रहूल्बाई को कथा , अनि के चहियो यो नाथे लै . भन्छन नि उसै त कुन्ताको बुहारी झन् भटमास खैकी भन्या जस्तै भयो . उसै त पद्न मन नलागेको तेसमथी साझा मा साहित्य. ल आज को दिन को सुरुवात राम्रो नै भयो . ल दाजु आब चिती दोस्रो अद्याहा प्रस्तुत गरेर कल्याण गर्नु होला. 

Karnali Blues · Feb 26, 2013 12:07 PM

कथाको पहिलो प्रसँगले भने मलाई आफ्नै बाल्यकालको सम्झना गरायो ...   काठमाडौको बाक्लो नेवार टोलमा हुर्केको म ... त्यो बेलाका धेरै बाहुनहरु कुखुरा र अन्डा खाँदैन थिए होला शायद म चाँही आफ्नो घरबेटीकोमा गएर मजाले जे जे छ त्यो बजाउथे ... त्यसमाथी अलि सानामा अलि रोगी भएकोले होला मामाहरु लोकल कुखुराको अन्डा खोजी खोजी खुवाउथे मलाई ... त्यसैले मेरो नाम नै अन्डा बाजे थियो टोलमा ...   कथाको दोस्रो प्रसँगले भने मन नै चिसो बनायो ... सानै बिषयबस्तु भए पनि ठुल्दाइको प्रस्तुती अत्यन्त मार्मिक लाग्यो ..

Geology Tiger · Feb 26, 2013 12:40 PM

Dherai man paryo thuldai. Mobile bata like gareko multiple likes huna gayechha!

ne0 · Feb 26, 2013 12:55 PM

लाल मोहन बनाएर खानु भयो त ठुल्दाई - कस्तो भयो त्यो लालमोहन र रसबरी को स्वाद - गज्जाबाई भएको हुनु पर्छ - त्यति मिहिनेत गरेर खोजेर दिमाग लगाएर जम्मा पारेको पैसा ले खानु को स्वाद नै बेग्लै होला. सदा झैँ मार्मिक हृदयापर्शी कथा - ट्वाक्क पिरो अचार खाएको जस्तो,  

serial · Feb 26, 2013 12:57 PM

I am trying to write some reports and like always can't stopped myself to read your stuff. Very nice indeed. Thank you for reminding me of epic words like "Purba Bebasahik sichya", "dhau baji", "chibaha" :)  " Teso ta  "tole ma dhau baji daan garda ta manau kunai ek prakar ko thulai chadparba jasto nai hunthyo lol" , ani sachhi rahul dai! mailay ni purba bebasahik sichya padheko thiyen, teti bela malai khub manparne bisaye, yeso sochthey "ma ni sano tino" "Handyman" nai hunthye ki bhanera.....tara aafsos bhaena!!!!

atomic · Feb 26, 2013 1:35 PM

"बडा मिठो लालमोहन है भन्दै दुइ ट्वाक भात संगै अरु ५ ओटा मोहनलाल हजम पारे अर्को साथीले" कस्तो संजोग! हिजै धोतीको पसलबाट ल्याएर खूब मुख मिठ्याउँदै खाइया थ्यो. "बाहुन न ठहरिएँ. जहाँ गुलियो त्यहाँ बाजे भुलियो", कुन बेला ठुल्दाईको कथामा घुस्न पुगिएछ पत्तै भएन! कथा र लेखाइ दुवै सटीक लाग्यो, हिजोको लालमोहनलाइ नि हराबरा खेलाउने! 

jantare1 · Feb 26, 2013 1:37 PM

 ha ha.. dhaubaji kawa masta dhaubaji kawa.. you reminded me nostlagic memory. well written, I can feel you.

gone12 · Feb 26, 2013 4:19 PM

 Anne,  मन पराइदिएकोमा धन्यबाद . २-४ ओटा कठिन अंग्रेजी शब्दावलीको अर्थ सिक्न पाएकोमा एक और धन्यबाद !!! कर्णाली ब्लुज,  यो कथा को अन्त्य यहीं हो . लाल मोहन  र रसभरी ..... मन भरि खाइयो . सम्झिदा एउटा आँखामा आँशु छछल्किन्छ भने अर्को आँखामा मुस्कान . मन पराइ दिएकोमा धन्यबाद . बाघ दाई,  यताको कुखुरा बाजे उता को अण्डा बाजे मिट लाइ दिउँ कि क्या हो . तर दुवै बाजे झक्कास छन् . जीवन्त मित्र पाएकोमा गर्ब छ . टिप्पणीको लागि धन्यबाद . नियो ,  ३ पल्ट लाइक हान्दिनु भएकोमा ३ पल्टइ धन्यबाद टक्र्याउँछु.  ३ पल्ट नै स्विकार गर्नु होला .  लहरे,  पिरो अचारमा नून पुगेको हो कि हैन नि ?? पीरो मात्र भएर नून पुगेन भन्ने सून खाए नि चुन जस्तो हुन्छ रे नि त . मार्मिक टिप्पणीको लागि हार्दिक धन्यबाद .  एटोमिक,  धौ बजी  को संकृति हराउने क्रम मा छ , अचेल हाम्रो टोल तिर मोडिफाइड धौ बजी दिने लिने चलन नि घात पुगिसक्यो . धौ बजी एउटा सामाजिक संजाल नै थियो भन्नु मा अतिसयुक्ति न होला नै . धन्यबाद .  जन्तरे,  पहिलेइ लाल मोहन खाएको कुरा थाहा पाएको भए कथामा जन्तरे बाजे जनै हल्लौदै प्रवेश गरेको दृश्य नि सानदार संग राख्न पाइन्थ्यो नि , भन्नु पर्दैन ??  धन्यबाद मित्र, मेरो लेखाइमा प्रबेशिनु भएकोमा .  gone12, तपाईं को नि धौ बजी को अनुभव छ हैन त ... त्यो धौ बजी को मज्जा नै बेग्लै .... टिप्पणीको लागि धन्याबाद .  साथै सम्पूर्ण मित्रहरु ( लाइक गर्नु हुने  र पढ्नु हुने  )मा आभार . यहाँहरुको प्रेमले केही लेख्ने हौसला दिएको छ नै . लेख्ने कोशिश जारी रहन्छ नै . 

rahulvai · Feb 27, 2013 9:25 AM

haha.."dhau baji" used to be a good tradition to celebrate birthdays i don't think people do it anymore..ah happy childhood memories though..thanks for bringing up anyways..

free_nirvana · Feb 27, 2013 3:12 PM

येसपाली लाई रोक्नई सकिन  राहुल दाई को लेख ,प्रस्तुति र भाषा सैली बाट I हरेक पल्ट पढथे तर प्रतिक्रिया आफै संग राख्थे पुरा जतन का साथ I दाई को लेख पढे पछि... दिन पूर्ण भएको ठान्दथे I धन्येबाद दाई .......   जय सम्भो ........

samvoo · Feb 27, 2013 11:42 PM

ठुल्दाइको कथा पढेर सबै भन्दा पहिले त लालमोहन खान मन लाग्यो, हिजो मित्ररास्ट्रको पसल त गएको, तर समोसा देख्नासाथै लालमोहन बिर्से। मलाइ नि सानोबेला एक रुपियाको सार्है खाँचो पर्थ्यो र दिदीको ब्यागतिर सर्च गर्थे, एउटा डबल भेट्टाइहाल्थे, तर दिदीले कहिले थाहा पाउनु भएन। किन भने म भन्दा दरो सर्च मेरो भाइले गर्दो रैछ। हे हे! शंका त त्यसैमा जाने भयो। दाइको जीबन संघर्षमा धेरै सकारात्मक उर्जा पाउछु, त्यस्तो चुनौतिपूर्ण समयमा पनि संयम र स्थिरता कायम राख्न सक्नु नै जीबनको सार्थकता हो जस्तो लाग्छ मलाइ।  

crazy_love · Mar 1, 2013 8:00 AM

  ठुल्दाई को कथा आयेछ , बल्ल पढ्ने फुर्सद भयो,  बडा रोचक र घोचक (गरिबी प्रति) कथा सुनाउनु भयो, अति उत्तम लेखाइ, लाल मोहन जस्तै......

baaramaase · Mar 1, 2013 12:21 PM

राहुलभाई तपाइको कथाको पहिले भागले मेरो वर्तमानलाई सम्झायो भने दोस्रो भागले मेरो भूतलाई झस्कायो |   

IT_Guy · Mar 1, 2013 3:22 PM

 ठुल्दा, क्रेजी को शब्द मा पनि सापट लिन चाहन्छु , साँच्ची नै "दाइको जीबन संघर्षमा धेरै सकारात्मक उर्जा पाउछु, त्यस्तो चुनौतिपूर्ण समयमा पनि संयम र स्थिरता कायम राख्न सक्नु नै जीबनको सार्थकता हो " ......    पछिल्लो कथाले चसक्क घोच्यो मन....हजुरको लेखाइ लै यो थाने को सलाम ....   - थाने 

ThahaChaena · Mar 20, 2013 3:16 PM

 साझामा च्याट गर्दा गर्दै फेरी एक पल्ट प्रसंग बस यो कथा को याद आयो . फर्केर हेर्दा धन्यबाद ज्ञापन गर्न बिर्सेको रहेछु .    फ्री निर्वाण, शम्भू , क्रेजी जी, थाने भाइ , आइ टी गाइ, बाह्रमासे लगायत सबै मा धन्यबाद "टिप्पणी लेखेर हौसला बढाई दिएकोमा मा आभार " . 

rahulvai · Sep 24, 2013 3:28 PM

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion

You might be interested in...

Recent Classifieds View all
Upcoming Events View all
Service Providers View all