'नेपाल बोक्ने ट्रक'लाई नेपाल सरकारले सहयोग गरेन

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

हिजोआज हामी मध्ये केहीले फेसबुक तथा अन्य वेबसाइटहरुमा एउटा ५३ फुट लामो ट्रकमा नेपालको पर्यटकीय आकर्षणका विविध पक्षहरु चित्रण गरेर अमेरिका र क्यानडाको बाटोहरुमा, शहरहरुमा लैजादै गरेका एक जना हँसिला नेपालीको बारेमा पक्कै पनि पढेका छौ, अनि तस्बिर र भिडियोहरु हेरेका छौ । अमेरिका तथा क्यानडाभरि नै नेपालको प्रचारप्रसार गर्दै हिंड्ने ती हँसिला व्यक्तिको नाम हो नरबहादुर टन्डन । दाङ जिल्लामा जन्मेर केही समय काठमाडौंस्थित क्यानडियन कन्सुलर अफिसमा सेवा गरेपछी करिब ८ बर्ष अघि उनी क्यानडा आएका थिए । २ बर्ष विभिन्न पेशामा संलग्न रहेपछि बिस्तारै उनी ट्रकचालकको पेशाप्रति आकर्षित भएका थिए र छोटो  समयको अन्तरालमै आँफैले ट्रक खरिद गरी राप्ती ट्रान्सपोर्ट इंक नामको कम्पनीमार्फत आफ्नो व्यवसायलाई अगाडि बढाए ।       नरबहादुर टण्डनसँग मेरो परिचय नेपाल देखिकै हो । पछिल्ला समय फोनमा उनीसँग कुराकानी हुँदा उनी बारम्बार नेपालको लागि केही गर्न चाहेको बताउथे यसै क्रममा एक दिन उनले आफ्नो ट्रकमा नेपालको चिनारी दिने प्राकृतिक तथा साँस्कृतिक सम्पदाहरुको चित्र राखेर यसलाई अमेरिका तथा क्यानडाको विभिन्न शहरहरुमा लैजाने आफ्नो योजनाको बारेमा बताए र सहयोगको लागि अमेरिका र क्यानडास्थित नेपाली राजदूतावास र एनआरएन प्रतिनिधिसँग कुरा भइरहेको सुनाए  । म उनको यो योजना सुनेर अत्यन्त उत्साहित भए र चाँडै नै यसलाई यथार्थतामा परिणत गर्न सफल हुन शुभकामना पनि दिए । शुरुमा त अमेरिका तथा नेपालस्थित नेपाल सरकारका प्रतिनिधिहरु र एनआरएनका प्रतिनिधिहरुले उनको योजनामा राम्रै चाख देखाए र सहयोगको आश्वासन पनि दिए । तर नेपालीको बानी न हो, कुरा त सधैं चिल्ला र मिठा हुन्छन् तर यथार्थमा केही सहयोग हुँदैन । अमेरिकाको लागि नेपाली राजदूत डा. शंकर शर्माले उनलाई हुन्छ हुन्छ भनेर झुलाउदै गरे भने प्रथम सचिव अर्जुनप्रसाद मैनालीले " टन्डनजी, तपाईं खुरुखुरु आफ्नो काम नगरेर किन यस्तो लफडामा फसेको ?" भनेर उल्टै आफ्नो मुफ्तको सल्लाह दिएर पठाएँ । एनआरएन अमेरिकाले पनि केही सहयोग गरेन । अन्त्यमा एनआरन क्यानडा, क्यानडास्थित नेपाल सरकारको प्रतिनिधि, त्यहाँस्थित नेपालीहरुको सामाजिक संस्थाको थोरै सहयोग र बाँकी आफ्नै व्यक्तिगत लगानीमा उनले नेपाल चिनाउने विभिन्न चित्रहरु राखेर आफ्नो ट्रक रंगाए र नेपाललाई चिनाउदै अमेरिका र क्यानडाको सडकहरुमा ट्रक कुदाउन थाले । थोरै समयमा विदेशमा रहेका धेरै नेपालीले उनको कार्यलाई मन पराए, उनकलाई स्याबासी दिए र उनको ट्रकलाई 'नेपाल बोक्ने ट्रक' भनेर नाम दिए ।   उनले बताए अनुसार उनी १ दिनमा 'नेपाल बोक्ने ट्रक' चलाएर औसत १,१०० किमी दुरी पार गर्छन् । यस क्रममा उनी 'नेपाल बोक्ने ट्रक'लाई बजार क्षेत्र, रेस्ट एरिया र ट्रक स्टपहरुमा रोक्छन्, जहाँ थुप्रै अमेरिकी नागरिकहरु उनको ट्रक वरिपरि झुम्मिन्छन् र ट्रकमा राखिएको चित्रहरुको बारेमा उनलाई सोध्छन् । अनि उनी सगरमाथालाई देखाउदै भन्छन्, 'नेपालमा रहेको विश्वको सबै भन्दा अग्लो शिखर माउन्ट एभरेष्ट', उनी लुम्बिनीलाई देखाउदै भन्छन्, 'नेपालमा रहेको बुद्धको जन्मस्थल, लुम्बिनी ।' शुरुमा उनीसँग ट्रकको अगाडिको भाग जसलाई ट्र्याक्टर भनिन्छ त्यो मात्र थियो । उनी जुन कम्पनीको सामान ढुवानी गर्ने हो त्यही कम्पनीको पछाडिको भाग जसलाई ट्रेलर भनिन्छ त्यसमा आफ्नो ट्र्याक्टर जोड्थे र निर्धारित गन्तब्यमा पुराउथे । तर जव उनले नेपालको पर्यटनलाई सहयोग गर्ने योजना बनाए, उनले आफ्नै ट्रेलर किन्न पर्ने भयो । अनि ट्रेलरलाई रंगाउने अवधिभरि उनले ट्रक चलाऊन पनि पाएनन् । यसरी ट्रेलर रंगाउन करिब ६,००० अमेरिकी डलर मात्र लागे पनि उनले 'नेपाल बोक्ने ट्रक' तयार पार्न सबै गरेर करीव २०,००० अमेरिकी डलरको लगानी गरे । तर उनी आफ्नो लामो समयदेखिको प्रयासको बाबजूद एनआरएन, क्यानडा; त्यहाँको एउटा सामाजिक संस्था; त्यहाँ स्थित नेपाली राजदूतावास र कोलोराडोबाट संचालित वेबसाइट बिआरटी नेपाल आदिको सहयोगबाट जम्मा १,७०० अमेरिकी डलरको आर्थिक सहयोग मात्र उठाउन सफल भए।   यो एनआरएन भन्ने संस्थाले नेपाल र नेपालीलाई केही सहयोग गर्छ भन्ने कुरामा थोरै नेपालीलाई मात्र विश्वास छ होला । यिनीहरुको काम त नेपाल र नेपालीको लागि के के न गर्छौ भनेर गफ हाँक्ने र नेपालबाट सक्दो सुबिधा लिने मात्र हो । नत्र भने यिनीहरु नेपाल सरकारले १० बर्षे परिचयपत्र लगायतको अनेकौ सुविधा दिदा दिदै पनि केही नगरी खाली दोहोरो नागरिकताको माग गर्दै बसेका छन् । अरु त अरु यिनीहरु नेपालमा गएर सम्मेलन गर्दाको खर्च पनि नेपाल सरकारलाई व्योहर्न लगाउछन् । केही समय अगाडि यिनै एनआरएनहरुले नेपालको जलविद्दुत बिकास गर्न एनआरएनले १ अर्ब लगानी गर्ने भयो भनेर सारा नेपालीलाई हँसाए । जलविद्दुत सम्बन्धी सामान्य जानकारी भएको जो कोहीले सजिलै  भन्न सक्छ एउटा मध्यम स्तरको जलविद्दुतको आयोजना तयार पार्न कति लगानी चाहिन्छ भन्ने कुरा । वास्तवमा एनआरएनले 'नेपाल बोक्ने ट्रक' लाई सहयोग गरेन भनेर गुनासो गर्ने ठाउँ छैन किनकी यो संस्था नैतिक रुपमा नेपाल र नेपालीको विकास गर्न जिम्मेवार भए पनि अधिकारिक रुपमा यसको लागि जिम्मेवार छैन । तर नेपाल सरकारको अधिकारिक प्रतिनिधिको रुपमा कार्यरत एक संस्था जसको प्रमुख उद्देश्यहरु मध्ये नेपालको पर्यटन उद्दोगलाई अगाडि बढाउन बिदेशमा नेपालको प्रचारप्रसार गर्नु पनि हो, त्यस कार्यमा कुनै एउटा नेपालीले अग्रसरता लिदा पनि उसलाई कुनै सहयोग नगरी बस्छ र शब्दहरुको जालमा झुलाई रहन्छ भने त्यो सार्है नै निराशाजनक अवस्था हो । अमेरिकास्थित नेपाली दूतावासले यस अघि पनि वासिङ्टन शहरमा रहेको एउटा बस कम्पनीसँग सम्झौता गरेर त्यो कम्पनीको बसको भित्ताहरुमा नेपालको पर्यटन सम्बन्धी यस्तै किसिमको विज्ञापनहरु राख्न लगाएको थियो । तर त्यस्तै प्रचार सामाग्री एउटा नेपालीले राख्दा उसलाई किन असहयोग ? जसले जे भने पनि, जतिनै ठूला गफ हाँके पनि, जति ठूला योजना बनाए पनि नेपालको आर्थिक विकासलाई दिगो रुपमा माथि उठाउने स्रोत भनेको पर्यटन नै हो । देशमा रहेका राजनैतीक दलहरुले शासनको लागि लुछाचुडी बन्द गर्नासाथ र देशमा अलिकति स्थिरता हुनासाथ देशको पर्यटन क्षेत्र फेरि अगाडि बढ्ने छ र नरबहादुर टन्डनको यस अभियानले निश्चय नै यसमा केही सहयोग गर्नेछ । तर नरबहादुर टन्डनको यस अभियानले निरन्तरता पाउन भने उनलाई पक्कै हामी सबैको सहयोगको आवश्यकता पर्नेछ । सामान्यतया ट्रक चालकले ट्रकलाई महिनामा एक पटक मात्र धुन्छन् तर नेपाल बोकेर हिंड्न थालेदेखि ट्रक हेर्ने र ट्रकसंगै बसेर फोटो खिच्ने मान्छेहरु धुइरिने कारणले नरबहादुर टन्डन आफ्नो ट्रकलाई हफ्तामा कम्तिमा दुई चोटि धुन्छन् यसको लागि हफ्तै पिच्छे करीब १४० अमेरिकी डलर खर्च गर्छन् । यस बाहेक पनि नियमित रुपमा ट्रेलरको टायर फेर्ने खर्च पनि उनले व्योहर्न पर्ने छ । आजसम्म उनलाई धेरै नेपाली शुभचिन्तकहरुले शुभकामना र स्याबासी दिइसकेका छन् । तर नेपाली राजदूतावास लगायत सबै नेपाली संस्थाहरु उनलाई सहयोग गर्न उदासिन रहेको अहिलेको अवस्थामा उनको यस अभियानलाई जिउदो राख्न हामी सबैको शुभकामना र स्याबासीसँगै आर्थिक सहयोगको पनि उत्तिकै आवश्यकता परेको छ ।  

Geology Tiger · Feb 22, 2013 2:04 PM · 2,546 views

3 Replies

यो एनआरएन भन्ने संस्थाले नेपाल र नेपालीलाई केही सहयोग गर्छ भन्ने कुरामा थोरै नेपालीलाई मात्र विश्वास छ होला । यिनीहरुको काम त नेपाल र नेपालीको लागि के के न गर्छौ भनेर गफ हाँक्ने र नेपालबाट सक्दो सुबिधा लिने मात्र हो । नत्र भने यिनीहरु नेपाल सरकारले १० बर्षे परिचयपत्र लगायतको अनेकौ सुविधा दिदा दिदै पनि केही नगरी खाली दोहोरो नागरिकताको माग गर्दै बसेका छन् । अरु त अरु यिनीहरु नेपालमा गएर सम्मेलन गर्दाको खर्च पनि नेपाल सरकारलाई व्योहर्न लगाउछन् । केही समय अगाडि यिनै एनआरएनहरुले नेपालको जलविद्दुत बिकास गर्न एनआरएनले १ अर्ब लगानी गर्ने भयो भनेर सारा नेपालीलाई हँसाए । You have hit the nail in its head. NRN is infested with crooks from Nepal who want to create the similar filthy playground outside of Nepal they were playing in Nepal. Bunch of Nepali theives who want to take advantage of Nepal and Nepali people back home. We nepalese are not that well off in the foreign land. 90% of nepali barely make the ends need. The other so called rich own few gas stationa and they barely have extra cash to invest large in Nepal. All they can invest on is few anas of land in Nepal. These suckers are not going to help Nepal get into next level. There are more rich people in Nepal than effin NRNs combined. These sore losers just want to suckle on a Nepal via NRN and its Rhetorics.

SAP Dude · Feb 22, 2013 4:05 PM

 ठुल्दाई तपाइको कुरा एकदमै चित्त बुज्यो / बिदेशी भुमि मा रहेर पनि नेपालको परिचय दिदै हिडेका नरबहादुर दाईलाई हृदय देखि नै मुरी मुरी धन्यवाद र सलाम पनि छ / नेपाल र नेपालीको नाम लिएर बाघ मारेको जस्तो पुरुसार्थ गर्ने यिनी नेपाली संघ सस्थाहरु प्रति मेरो पनि कहिलेपनि माया इज्जत गएन तर ठुल्दाई एक वर्षा मा एकचोटी आउने त्यो ANA Convention को फोटो हरु देख्छु तब भने अचम्म लाग्छ मलाई / भए भर क नेपाली दाजु भाई तथा दिदि बहिनि हरु त्येही सम्मेलन मा गएर नाच्ने देखि गाउने सम्म गरेको देख्छु . येस अर्थ मा हेर्दा खेरि त कहिले कहिँ हामी ले नै यी संघ सस्था हरु जन्माएका हौ अनि हामीले नै यिनीहरु लाई रामराज्य गर्न दिरहेका छौ जस्तो लाग्छ मलाई / हुन त ठुल्दाई को कुरा काट्न खोजेको त हैन मैले तर तपाई आफु नै भन्नु न आखिर कहिले सम्म यिनै संघ सस्था को कुरा सुनेर मात्र बस्ने बरु नेपाल सरकार लाई भनेर यी संघ सस्था हरु लाई नै खारेज गर्न मिल्दैन भनेको / यिनीहरु ले स्वदेश मा खाएर नपुगेर अब विदेश मा आएर पनि खादै बसेका छन् / 

Karnali Blues · Feb 22, 2013 6:47 PM

खाने ले छाल गनेर पनि खान्छन : खाने मुखका हजार उपाय : यिनी हरु यही बर्गमा पर्छन ; राजनीति गर्नु छ एउटा अखडा खोलि हाले |

Magorkhe1 · Feb 24, 2013 9:04 AM

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion

You might be interested in...

Recent Classifieds View all
Upcoming Events View all
Service Providers View all