सरस्वती माता मलाई शक्ति देउ

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

म पढ्छु, म पढेको पढ्यै छु । आफू भन्दा ठूलो कितावको भारी बोकेर पाठशाला जान शुरु गरेदेखि आजसम्म निरन्तर पढिरहेको छु, किताब पनि अनि जीवन पनि । म पढ्छु ज्ञानको कुरा, विज्ञानको कुरा, धर्मशास्त्र र दर्शनशास्त्रको कुरा, म अर्ती र उपदेश सुन्छु, प्रवचन र भाषण सुन्छु । म सुन्छु गुरु र पण्डितका कुरा, दार्शनिक र विद्वानका कुरा, पत्रकार र राजनीतिज्ञका कुरा । मलाई थाहा छ के राम्रो अनि के नराम्रो ? कुन कालो र कुन सेतो ? म सबै छुट्याउन सक्छु । म ठुल्ठुलो कुरा गर्छु, ज्ञानगुनको कुरा गर्छु, असल बन्नुपर्छ भनेर म सबलाई सिकाउछु । तर कताबाट हो कुन्नी एउटा झुटको किरा, एउटा लोभको किरा, एउटा पापको किरा, एउटा रिसको किरा, एउटा अहम्को किरा, स्वात्त मेरो मस्तिष्कमा छिर्छ, अनि उखर्माउलो मच्चाउन थाल्छ । यार्सागुम्बाको लार्भामा चढेको फङगस जस्तै बिस्तारै मलाई नियन्त्रणमा लिन थाल्छ । अनि म निर्देशित हुन्छु । म कालोलाई सेतो मात्र होइन रंगीचंगी देख्छु । म जे सोच्छु, म जे भन्छु, र म जे गर्छु, उचित त्यसैलाई मान्छु, सत्य त्यसैलाई जान्छु । मैले पढेको र जानेको ज्ञानहरु, मैले बुझेको र सिकेको विज्ञानहरु, कुनै कुनामा मुन्टो लुकाएर बस्छन् । अनि जब त्यो किराले उपद्रो मच्चाउन छोड्छ, म झल्यास्स हुन्छु । एउटा पराजित मन लिएर आत्मग्लानीको अनुभूति गर्छु । अनि मनमा एउटा प्रण गर्छु, अब कहिल्यै पराजित हुने छैन । तर फेरि यस्तै हुन्छ, सधैं सधैं यस्तै हुन्छ । हे सरस्वती माता! तिमीले मलाई ज्ञान धेरै दियौ, अब मलाई शक्ति देउ । यदी तिमी आफूले दिएको ज्ञानलाई निरिह र पराजित देख्न चाहन्नौ भने त्यो झुटको किरासँग, त्यो लोभको किरासँग, त्यो पापको किरासँग, त्यो रिसको किरासँग, त्यो अहम्को किरासँग, संघर्ष गर्ने शक्ति देउ पराजित गर्ने शक्ति मलाई देउ । अनि हामी सबैलाई देउ ।।

Geology Tiger · Feb 21, 2013 11:09 PM · 2,447 views

3 Replies

धेरै राम्रो लाग्यो बाघ दाइ :)

durbarmargnepal · Feb 22, 2013 11:03 AM

 अचेल देबी सरस्वतीलाई पनि माता भनी सम्बोधन गर्दा रिसाउञ्छिन रे नि त ... त्यति बुढी भैसकेकी छैन भन्छिन रे .. ( जोक मात्र )    बाघ दाई को कबिता सदा झैँ सरल , यथार्थवादी र भावपूर्ण अभिव्यक्ति ....

rahulvai · Feb 22, 2013 11:38 AM

धन्यवाद दरबारी,  ठुल्दाइ !

Geology Tiger · Feb 23, 2013 12:00 PM

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion

You might be interested in...

Recent Classifieds View all
Upcoming Events View all
Service Providers View all