तिप्लिङमा येशु

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

 http://nepalihimal.com/article... तिप्लिङमा येशु     - फुर्पा तामाङ उहिल्यै राजा आवश्यकता पर्दा तिप्लिङवासीले गोरखाको बारपाकबाट घले राजकुमार चोरेर ल्याएछन्। राजाका सैनिकले भेट्टाउलान् भनेर बालक राजकुमारलाई बिजुलीको वेगमा ल्याएकाले गाउँको नाम तिप्लिङ भएको रे! तामाङ भाषामा बिजुली चम्किनुलाई 'तिप्लिङ फि्लक्प' भनिन्छ।   तस्बिरः फुर्पा तामाङ 'मेन्दोमाया' नृत्य अघि 'सेर्किम' गर्दै गुम्बाका लामा मिङमार घले । उत्तरी धादिङको तिप्लिङ तामाङहरूको पुरानो वस्ती हो। यहाँ घले थरका तामाङहरू धेरै छन्। काठमाडौंबाट तिप्लिङ पुग्न तीन दिन लाग्छ– पहिलो बास रसुवाको स्याफ्रुबेसी वा गत्लाङ र दोस्रो बास धादिङ–रसुवा सिमानामा पर्ने श्योमदाङ (सोमदाङ) बाट सबेरै हिंड्दा तेस्रो साँझ् ठ्याक्क तिप्लिङ पुगिन्छ। धादिङबेसी र नुवाकोटको किम्ताङ–बोम्ताङबाट पनि तिप्लिङ जान सकिन्छ, तर रसुवातिरकै बाटो बढी चल्तीमा छ।   दुर्गम कुनोमा रहेको यो सुन्दर गाउँमा लघु जलविद्युत्को उज्यालो छ। मूलतः तामाङ वस्ती भए पनि यहाँ गुरुङ संस्कृतिको अनुपम सम्मिश्रण देख्न पाइन्छ। इसाई मिसनरीहरूले शिक्षा, स्वास्थ्य आदिमा लगानी गरेकाले यहाँका सफासुग्घर टोलका घर–घरमा चर्पीको व्यवस्था रहेछ। आतिथ्यमा पनि यो गाउँ अगाडि रहेको बुझने साइत हामीलाई गएको दशैंअघि जुरेको थियो। अविस्मरणीय यात्रा यात्रामा दुई जर्मन ओलाफ र उली, विपिन लामा, गोम्बो तामाङ, ल्हाक्पा छोवाङ, लोकबहादुर राना र म गरी हामी आठ जना थियौं। रसुवाको बाटो गाडीको अन्तिम गन्तव्य गत्लाङमा बेलुकाको भोजनपछि गत्लाङ पर्यटन विकास समितिका सदस्यहरूले पश्चिमी रसुवाको नुप्पा नाच देखाए। भोलिपल्ट ढुंगाको गारो, काठको बुट्टेदार झयालढोका र काठैको छानो भएको यो बस्तीबाट परम्परागत पोशाक लगाएका तामाङहरूले बिदा गर्दा उली र ओलाफ ज्यादै प्रभावित देखिए। आधुनिकताले उति नछोइसकेको गत्लाङ– वासीलाई देखाउँदै उलीले 'यी मानिसहरू कति हँसिला, संस्कृतिका कत्रा धनी' भन्दै खुशी व्यक्त गर्दा मैले गम्केर 'एस्–एस्' भन्न पाएँ। छोदिङमो (पार्वतीकुण्ड) को उकालो चढुन्जेलसम्म मेरो नाक फुलिइरह्यो। विपिन र गोम्बोले गत्लाङका मानी र क्षोर्तेन गनेछन्– १०८ वटा। यो संख्या सुनेर उली र ओलाफ छक्क परे। बौद्ध संस्कृतिमा १०८ पुण्य प्राप्तिको संख्या हो। ओलाफले भने, “तिमीहरूका पुर्खा वास्तवमै महान रहेछन्!”     'प्रोटेस्टेन्ट चर्च खुर्पु भन्ज्याङको उकालो र ओरालो पछि केही तेर्सो हिंडेर पाल्दोर र गणेश हिमालको फेदीमा रहेको श्योमदाङ पुगियो, दोस्रो बासका लागि। त्यहाँ सागर वाइबाले श्योमदाङ भ्याली गेष्टहाउस खोलेका रहेछन्। उनले भोलि तिप्लिङ नपुगी खाना पाउनुहुन्न भन्दै कर गरी–गरी साह्रै मीठो भात ख्वाए। नभन्दै, श्योमदाङबाट हिंडेपछि पङसाङ भन्ज्याङ (३७७० मि.) चढ्नै चार घण्टा लाग्दोरहेछ। दिउँसो १२ बजे डाँडाको कङनी (अग्लो द्वार), दक्र्ष्यो (बौद्ध झ्ण्डा) र लुङदर (तोरण) मुनि उभिएर तल लब्दुङ र तिप्लिङ गाउँ हेर्दै खाजाको पोको फुकायौं। हामी लब्दुङबाट अझै ६ घण्टा टाढा थियौं।   खर्कहरू छिचोल्दै लब्दुङ (२३०० मि.) तिर लाग्दा भेटिएका गोठालाहरूले आफूहरू बौद्ध धर्म छाडेर इसाई भएको बताए। किन त? उनीहरूको सरल जवाफ– बिरामी भएपछि कुखुरा, बोका काटेर भूत फाल्नुपर्छ। चामलको तोर्माे बनाउनुपर्छ। गरीबले सधैं त्यस्तो गर्न सक्दैन। तर, इसाई भएपछि बाइबल पढेर प्रार्थना गर्दा भूत आफैं भाग्दा रहेछन्। हामी लब्दुङ र तिप्लिङवासीलाई सताउने गरीबी र अशिक्षाको भूतबारे गम खाँदै अगाडि बढ्यौं। गुम्बाको साटो चर्च बौद्ध गाउँहरूमा पस्दा रिसाङ गोम्बो (बौद्ध मन्दिर) हरू भेटिन्छ। खोला भएको ठाउँमा क्षुखोर्मो (पानीले घुमाउने मानी) पनि हुन्छ। तर, ती चिजहरू लब्दुङमा हराइसकेका रहेछन्। चौतारो पनि मानी र क्षोर्तेनविहीन थिए। गाउँ सिरानको सानो गुम्बा भत्किन लागेको रहेछ। गुम्बा मुनिको बीच बाटोको ढुंगामा क्रस चिन्ह देखियो। केही तल मानी र क्षोर्तेन भेटियो, तर न तिनलाई दाहिने पारेर घुम्ने बाटो थियो न त उचेन लिपिमा 'ओम मानी पेमे हुङरी' लेखिएको ढुंगाका पाताहरू नै थिए। गाउँको पुछारमा रहेको पुरानो क्षोर्तेनको सुरको ढुंगा पनि खस्नै लागेको रहेछ। मर्मत गरे एकै दिनको काम हो त्यो। यो पुरानो बौद्ध गाउँमा संस्कृतिका धरोहरहरू धमाधम लोप हुँदैरहेछन्। धार्मिक आस्थामा आएको परिवर्तनसँगै यस्ता धरोहरहरूप्रतिको वास्ता घटेको रहेछ। लब्दुङमा अर्को एउटा गुम्बा र तीन वटा चर्च भएछन्। कक्षा ६ मा पढ्ने सुशीला घलेले हिजोआज लब्दुङमा रक्सी, चुरोट नपाइने बताइन्। यो त राम्रो भएछ– जाँडरक्सी छोडेपछि बचत भयो होला, झै–झ्गडा पनि घटे होलान्, तर यो सँगै मौलिक संस्कृति लोप भयो। मानिसहरूका नामसमेत परिवर्तन भए। क्राइष्ट बाहेक अन्य सबै देवदेवीलाई शैतान भनिंदो रहेछ। भन्नेलाई सजिलो होला, तर सुन्नेलाई अप्ठ्यारो भयो। तिप्लिङ प्रवेश गर्दा भने मेन्दाङ मानी भेटियो। 'ओम मानी पेमे हुङ्री' खोपेको ढुंगाका पाताहरू पनि देखिए। गाउँमा एडविन तामाङले भर्खरै होमस्टे खोलेका रहेछन्, दुई वटा बेड भएको। उनले तात्तातो चिया पछि 'सर्भ' गरेको छिप्पिएको छ्याङ जर्मनहरूले थपी–थपी खाए। एकछिनमा दुइटा भालेले स्वादिलो बनाएको भान्सापछि विदेशीलाई बेड र हामीलाई अर्कै घरको न्यानोमा सुताए, एडविनले। भोलिपल्ट बिहान स्थानीय युवा क्लबले तामाङ समुदायको 'मेन्दोमाया' नृत्य देखाए। गाउँका युवा इसाई भए पनि संस्कृति संरक्षणमा लागेका रहेछन्। उनीहरूले नाचगान गर्नुअघि गुम्बाबाट लामा बोलाएर परम्परा अनुसार रक्सीको 'सेर्किम' पनि गराए। आगामी वैशाखमा मानी नाच पनि देखाउने योजना रहेछ।     'भत्कन लागेको क्षोर्तेन । तिप्लिङमा दुइटा चर्च रहेछन्। 'मेन्दोमाया' को रमरम बोकेर हामी प्रोटेस्टेन्ट चर्चमा गयौं। चर्चभित्र ड्रम, गितार र मादल थिए, तर डम्ङेन (टुङ्ना), पिवाङ (तामाङ सारङ्गी), पुली (एक प्रकारको मुरली), ढ्याङ्ग्रो आदि थिएनन्। इसाई प्रचारकले प्रभु येशुको सुसमाचार सुनाएपछि सिकिस्त बिरामी आमा निको भएकाले आफूले पनि यो धर्म ग्रहण गरेको बेलिबिस्तार लगाए, चर्चका पास्टर कुमबहादुर तामाङले। तिप्लिङका पहिलो इसाइ पनि उनी नै रहेछन्। इसाईकरणको शुरूका दिनहरूमा लामा र बोन्पोहरूसँग कुटाकुटसम्म भएछ। कहिले चर्च त कहिले गुम्बा र मानीहरू भत्काउने नाकाम पनि भएछन्।   गाउँको सिरानमा रहेको पुरानो गुम्बाका बहुमूल्य मूर्तिहरू चोरी भएछन्। छानो चुहिएर लेउ परेको गुम्बाभित्रका दिब्री (थाङ्का चित्र) ले भने यो गाउँमा बौद्ध धर्मको विकास र प्राचीनता देखाइरहेकै छन्। गुम्बाका प्रमुख लामा मिङमार घलेले गरीबी र अशिक्षाग्रस्त गाउँमा विदेशीहरूले पहिला सेवा अनि पछि इसाइकरण गरेको गुनासो गरे। “गरीबी हाम्रो ठूलो शत्रु भयो”, सुस्केरा छाड्दै उनले भने, “उनीहरू बिरामी जाँचेर ओखति दिन्छन्, स्कूलमा पढाउँछन्। लामाले त्यस्तो गर्न सक्दैन। अनि के गर्ने?” इसाई त हामी गुम्बाका लामा, चर्चका पाष्टर र गाउँलेहरूसँगको कुरा सुनेपछि रनभुल्लमा परेका हाम्रा जर्मन साथीहरूले जोड दिएर आफ्नो कुरा राख्न चाहे। उनीहरूको भनाइ थियो– वास्तवमा इसाई त हामी हौं, यहाँका तपाईंहरू असली बौद्ध हुनुहुन्छ र बौद्ध नै रहनुपर्छ। इसाईबारे हामीलाई धेरै थाहा हुन्छ भने बौद्ध धर्मबारे तपाईंहरूलाई। यो क्षेत्रमा बौद्ध र बोन्पो धर्मको अस्तित्व धेरै पुरानो छ। यहाँको पर्यटन र आर्थिक समृद्धिको लागि बोन्पो धर्म–संस्कृतिको उत्थान आवश्यक छ। विदेशी पर्यटकहरू आउने नै यहाँका मौलिक जीवनशैली, धर्म–संस्कृति, भाषा–भेषभूषा र कला हेर्नलाई हो। चर्च नै हेर्न त कोही किने आउने? धर्मको नाममा मानवीय सेवा आफैंमा राम्रो हो। इसाई मिसनरीहरूले नेपालका सुविधासम्पन्न शहरदेखि दुर्गमका गाउँ–गाउँसम्म मानवीय सेवासँगै चर्च बिस्तार गरिरहेका छन्। हाम्रा बौद्ध लामाहरू भने शहरमा महँगो गुम्बा बनाएर बसिरहेका छन्। गाउँका गाउँ मानिसहरू इसाई भएपछि गुम्बामा बुद्धको पूजा गर्न को आउलान्? धर्म परिवर्तन गरायो भन्दै अरूलाई दोष दिएर बस्ने कि धर्मलाई मानवीय सेवासँग जोडेर आफ्नो धरोहर जोगाउनतिर पनि लाग्ने?

_____ · Feb 18, 2013 7:00 AM · 1,807 views

1 Reply

कुनै दिन एस्तो पनि आउला कित पादरी यात इस्लाम मात्रै मुख्य धर्म बाकि माइनोरिटी मा पुग्ने छन् | डलर खोल्तिमा हाल्न पाए पछि कुना काप्चा च्याउ उम्रिए झैँ उम्रिञ्छन |

magorkhe1 · Feb 19, 2013 11:36 AM

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion

You might be interested in...

Recent Classifieds View all
Upcoming Events View all
Service Providers View all