नेपाली पुस्तकलाई भारत भित्र्याउन समस्या

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

        नेपाली पुस्तकलाई भारत भित्र्याउन समस्या नयां दिल्ली, माघ २३ - भारतीय राजधानी नयां दिल्लीमा यो साताको पूर्वार्धमा शुरु विश्व पुस्तक मेला पुग्दा, त्यहांस्थित एकमात्र नेपाली स्टलमा भेटिएका प्रकाशक तथा व्यवसायीहरु नेपालबाट भारत पुस्तक भित्र्याउनका लागि झेल्नुपरेका समस्याका फेहरिस्त सुनाउंदै थिए । नेपाली पुस्तक वा नेपालबाट प्रकाशित कृतिहरु भारत ल्याउनु पर्दा चार प्रतिशत भन्सार तिर्नुपर्ने प्रावधान रहेछ । तर भारतबाट पुस्तकहरु नेपाल पठाउंदा भने त्यस्तो व्यवस्था रहेनछ । एकातिर अन्तर्राष्ट्रिय बजारमा बढ्दो प्रतिस्पर्धा, त्यसमाथि यस्तो प्रावधान भएपछि सानो बजारमा सीमित रहेको नेपाली भाषा साहित्यले थप अप्ठ्यारो परिस्थिति भोग्नुपरेको छ ।   'यो असमान व्यवस्था हट्नुपर्छ,' हिमाल किताब प्रालिका अध्यक्ष वसन्त थापाले भने, 'विश्वभर पुस्तकमा त्यस्तो कर लगाउने चलन कहींकतै छैन ।' ज्ञानको वाहक भएकाले पुस्तकमा त्यस्तो किसिमको कर तिर्नु नपर्ने भन्नेसम्बन्धमा राष्ट्रसंघीय निकाय युनेस्कोको सन्धि पनि छ । नेपाली पुस्तक प्रकाशकहरुको पीडा यतिमै सकिदैंन । भारत भित्र्याउन खेप्नुपरेका अप्ठयारा त छंदैछन्, मुलुकभित्रै एउटा जिल्लाबाट अर्कोमा पुर्याउन लाग्ने हुलाक शुल्कले ठूला पिरलो थपिदिएको रहेछ, उनीहरुमाथि । पत्रिकाहरुलाई जस्तै पुस्तकहरुलाई पनि हुलाक छुट दिनुपर्ने तर्क थियो थापाको । 'जुम्लामा बसेको नेपालीले पनि काठमाडौंमा प्रकाशित भएको नयां कृति समयमै त्यही मोलमा पढ्ने वातावरण बनाउन सक्यो भने नेपाली भाषाको उत्थानमा केही मात्रा भए पनि योगदान पुग्ने थियो,' थापाले भने । ठूलो असन्तुलन नेपालमा जाने विदेशी पुस्तकहरुको ९९ प्रतिशत हिस्सा भारतीय प्रकाशनहरुले नै ओगटेका छन् । बांकी विदेशी पुस्तकहरु पनि भारतीय व्यवसायीमार्फत् नेपाल पुग्ने गर्छन् । भृकुटी एकेडेमिक पब्लिकेसन्स्नका प्रोप्राइटर लिखतप्रसाद पाण्डेले व्यापार प्रवर्द्धन केन्द्रको पछिल्लो तथ्यांक उद्यृत गर्दै भने, 'वर्षेनि भारतबाट नेपालमा ४ करोड मूल्य बराबरको पुस्तक जाने रहेछ । नेपालबाट बाहिर जानेको परिमाण भने १२ लाखमात्रै छ ।' यो असन्तुलन हटाउन के गर्न सकिन्छ त ? थापाको विचारमा नेपाली साहित्यिक कृतिहरु तथा अन्य प्रकाशनहरु भारत भित्र्याउन हाल रहेका व्यवधान हटाउन सके, त्यो एउटा प्रस्थान विन्दु हुन सक्छ । 'भारतमा लाखौं नेपाली रोजगारी, अध्ययन वा विभिन्न प्रयोजनका लागि बस्छन् । नेपाली भाषा बोल्ने, लेख्ने भारतीयको ठूलो संख्या पनि भारतमा छ,' थापाले भने, 'तर हामीले त्यो बजारमा छिर्न सकिरहेका छैनौं । ' पत्रिकाको समस्या झन् चर्को नेपालका पत्रिकाको हकमा समस्या अझ जटील छ । नेपालमा प्रकाशित भएका पत्रिका भारत भित्र्याउन पाइंदैन जबकि भारतीय पत्रिकाहरु प्रकाशन भएकै दिन काठमाडौं पुगिसकेका हुन्छन् । नेपाली पत्रिका रोक्ने भन्ने लिखित व्यवस्था वा भारतीय सरकारी निकायको औपचारिक निर्णयमा कहींकतै छैन । 'तर स्थानीय निकायले नेपाली पत्रिकाहरु भारत भित्र्याउन बन्देज लगाइरहेको हुन्छ । भारत ल्याउन अनुमति पाइहाले पनि पत्रिकाहरुलाई एक वा दुई दिनको कुलिंग पिरियडका लागि भन्सारमै थन्काइदिएपछि सम्बन्धित पाठकको हातसम्म पुग्दा पुरानो भइसकेको हुन्छ,' थापाले भने ।  

_____ · Feb 5, 2013 8:23 AM · 1,035 views

Replies
No replies yet.

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion

You might be interested in...

Recent Classifieds View all
Upcoming Events View all
Service Providers View all